स्कूल जाँदाको त्यो खुशी

गुरुप्रसाद कुमाल ‘बुलबुल’
३० चैत्र २०७९, बिहीबार
स्कूल जाँदाको त्यो खुशी

संस्मरण
स्कूल जाँदाको त्यो खुशी

म स्कुल जाने उमेरमा गाई गोठालो थिएँ । बिहानको खाना खाएर मिझ्नी बोकेर बलरामपुरको खरकट्टीमा गोरु चराउन जान्थेँ । हिउँदमा बलरामपुर, सेमरहवाका खरकट्टी अनि बगरहरुमा गाई चर्थे । हामी दिनभरि बगरमा चराका गुँड खोज्ने, बचेरा समाउने अनि रमाउने गर्दथ्यौं । दिउँसो मेरो मिझ्नी दिदीहरुले खाइदिन्थे । मिझ्नी खान नपाएर म रुन्थेँ । दिनभरि भोकै बस्न पथ्र्याे । घर गएर आमासँग भनिस् भने कुटाइ खान्छस् भन्थे । मैले भन्दैनथेँ । अति भएपछि एकदिन आमासँग भनिदिएँ । आमाले ती दिदीहरुलाई गाली गर्नुभयो । अर्को दिनदेखि मेरो मिझ्नी मैले खान पाएँ तर मलाई अर्को सजाय सुरु भयो । गाईहरु है चोर्न जान्थे । अब सबैका गाई घुमाउन मलाई मात्रै जान पर्ने भयो । बगालमा सबैभन्दा चोर गोरु मेरै थियोे । त्यसको नाम लामखोप्री थियोे । बगरमा अरहर छरेको हुन्थ्यो । त्यस गोरुलाई हरियो देख्नै हुन्नथ्यो । है चोर्न दौडिहाल्थ्यो । त्यसले अरहरबारीमा दौडाएर हैरान पाथ्र्याे । मैले फर्काउनै सक्दैनथेँ । फर्काउन नसकेपछि म रुँदै फर्किन्थेँ । अनि फर्काउन ठूलीआमा जानुहुन्थ्यो । ती दिदीहरुले मलाई सताएको सम्झिँदा अहिले बलियाले निर्धाेलाई दबाउने चलन पुरानै रहेछ जस्तो लाग्छ ।

बर्खा लागेपछि खेतमा धान रोपाइँ हुन्थ्यो । राप्ती बढेर बगरमा गाई चराउन लान सकिन्नथ्यो । गाई चराउने ठाउँ हुँदैनथ्यो अनि हामीले वस्तुलाई चराउन वन लान्थ्यौं । गाउँदेखि सातआठ किलोमिटर टाढा विश्वबैंकतिर कहिले करैयाकोटतिर लान्थ्यौं । वनमा पनि उस्तै उटपट्याङ मात्रै हुन्थ्यो । एकपटक रुखमा मौरीको घार फेला पार्याैं । भिमबहादुर दाइले मह काढ्नुभयो । मह, कुट्ठु खाएर म लट्ठ परेछु । वनमौरीको महले होला मलाई मात लागेछ । अर्जुनखोलापारि एक्ले बाँदर नाच्दैछ । यता वारि म नाच्दैछु । गाईगोरु कता छन् पत्तो छैन । तर गाईवस्तु घर फर्किने बेला सबै ओरालो झर्थे । अनि घरतिर लाग्थे । त्यति टाढाबाट घर आइपुग्दासम्म गाईवस्तु भोकाइसक्थे । लामखोप्री गोरु घर नपुग्दै मकैबारीमा छिरथ्यो । त्यसलाई फर्काउनै गाह्रो । अरु गाईगोरु बाँधेर आमा आउनुहुन्थ्यो त्यसलाई फर्काउन । मान्छेले त मलाई सताएसताए लामखोप्री गोरुले पनि मलाई खुब सतायो ।

आठ–नौ वर्षको भएपछि बल्ल म स्कुल जान थालेँ । पहिलो वर्षको नतिजा हेरेर फर्किने बेला मेरो टोलका केटाहरुको बुवाहरू गल्लीमा कुरेर बस्नुभएको थियोे । पहिलो वर्ष म फेल भएको थिएँ । रामबहादुर र मानबहादुर पनि फेल भएका थिए । उनीहरु रुँदै घर फर्किरहेका थिए । तर, म रोएको थिएन । घर पुग्नै लाग्दा बुवाहरुलाई देखेर उनीहरु अर्कै बाटो भएर घर गए । म भने सरासर बुवा भएको ठाउँ गएको थिएँ । त्यस दिन बुवासँग के के कुरा भयो मलाई याद छैन । तर लडेपछि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने पाठ मैले त्यस दिन सिकेको रहेछु । त्यसपछि मलाई फेल हुनुपरेन ।

आजभोलिका विद्यार्थी स्कुल पनि पढ्छन् । त्यतिले नपुगेर ट्युसन पनि पढ्छन् सानै कक्षादेखि । मलाई स्कुलकै पढाइले पुग्थ्यो । कक्षामा शिक्षकले पढाएको ध्यानपूर्वक सुन्ने हो भने र घर आएर पनि त्यसलाई दोहोर्याएर पढ्ने हो भने स्कुलकै पढाइ काफी छ । ट्युसनको जरुरत नै पर्दैन । मैले ट्युसन भनेको के हो धेरैपछि मात्रै थाहा पाएँ । एसएलसीको परीक्षा दिने बेलामा अंग्रेजी विषयको एक महिना र गणित विषयको आधा महिना ट्युसन पढेको थिएँ, त्यो पनि रहरले । सबै ट्युसन जान्थे । एसएलसी त फलामे ढोका हो भनेर डर देखाउँथे । ट्युसनबिना पास हुन सकिन्न भन्ने हल्ला थियोे । मेहनती विद्यार्थीलाई जुनसुकै परीक्षा सजिलो हुनसक्छ । कुनै ट्युसन वा चिटको आवश्यकता पर्दैन । अरु साथीहरू प्रावि देखि नै चिट चोर्थे । छुट्कीघुम्नाका एकजना विद्यार्थी थिए । उनी मभन्दा ठूलो अनि हट्टाकट्टा थिए । परीक्षक बाहिर गएको मौका छोपेर मेरो उत्तरपुस्तिका खोसेर मेरो हेरेर सार्थे । मैले उनले सारुन्जेल लेख्न पाउँदैनथेँ । तर पनि मेरो नम्बर राम्रै आउँथ्यो । उनी प्रथम हुन्थे । मेरो मनमा एक खालको घमण्ड हुन्थ्यो । मेरो सारेर त प्रथम भएको हो । चिट चोरेर त प्रथम भएको हो । माथिल्लो कक्षामा पनि यस्तै हुन्थ्यो । साथीहरू चिट चोरेरै प्रथम हुन्थे । एकपटक मैले पनि चिट चोर्ने आँट गरेँ । सायद कक्षा आठको गणित विषयको परीक्षा थियोे । जुन चिट लगेको थिएँ । ठ्याक्कै त्यही प्रश्न पर्याे । मेडमले चुप लागेर लेख कोही दाँयाबाँया गर्ने हैन भन्नुभएको छ । मैले बडो आँट गरेर गोजीबाट चिट निकालेर लेख्न के लागेको थिएँ । अगाडि राजेन्द्र सर आएर हात थाप्नुभयो । हेडसरले चिट देखेर मागिसकेपछि दिनै पर्याे । मैले पनि चुप लागेर सरको हातमा चिट राखिदिएँ । सर नबोलि फर्केर जानुभयो । त्यसदिनदेखि चिट चोर्न बन्द भयो ।

प्लसटु पढ्नेबेला फेरि एकपटक चिट चोर्ने प्रयास गरेँ । प्लसटु पढ्दा चिट लेख्ने दिन गैसकेको थियोे । साथीहरू गाइड, गेस पेपर बोकेर परीक्षाहल छिर्थे । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको थिएन । गेसपेपर बोकेर परीक्षाहल छिरेँ । “बाहिरबाट निरीक्षक आउँदैछ । तिमीहरुको चिट भेटियो भने सिधै निष्कासित हुन्छौ । जे जे ल्याएका छौ । यहाँ अगाडि ल्याएर राख । पछि फेरि भटियो भने तिमीहरूको खैरियत छैन ।“ परीक्षकले भनेपछि सबै विद्यार्थी थुरथुर भए । गाइड, गेसपेपर के के थियोे सबैले अगाडि लगेर राखे । मलाई पनि डर लाग्यो । मैले पनि अगाडि राखे । निरीक्षण कहाँबाट आउनु, आएन । तर अरु साथीहरूले दुईदुई तीनतीनवटा बोकेर जाने रहेछन् । उनीहरू खुरुखुरु सारेर उत्तरपुस्तिका बुझाएर हिँड्थे । तर मैले कहिल्यै चिट चोर्न सकेन । चिट चोरेर राम्रो अंक ल्याइएला । पछि राम्रो जागिर पाइएला । तर, आफ्नो मनलाई जीवनभर चिटचोर बनाउनु हुँदैन ।

परीक्षाको अघिल्लो दिनसम्म म कुलो लाग्न झराली गएको थिएँ । परीक्षाको पूर्व तयारी कहिल्यै गर्न पाइएन । ठूलो हुँदै गएँ । जिम्मेवारी पनि बढ्दै गयो । घरको आर्थिक स्थिति कमजोर हुँदै गयो । पाँच कक्षा पास भएपछि नयाँ स्कुलमा भर्ना हुनलाई प्रमाणपत्र निकाल्ने आमासँग पैसा थिएन । बुवा कालिकोटको बाटो खन्न गैसक्नु भएको थियो । त्यस वर्ष नाम लेखाउन ढिलो भयो । चौध वर्षको बालखा म अनि दाजुहरू घोराही बजार लेबर काममा हिँड्यौँ ।

छिमेकी दाइले घोराहीमा घर बनाउने ठेक्का लिनुभएको थियो । हामीले उनैको काम गरथ्यौँ । केही समय काम गरिसकेपछि उहाँलाई घाटा हुने देखियो । दाइहरु भाग्ने सल्लाह गर्नुभयो । हामी रातारात घोराही बजारबाट भागेर पनौरा पुग्यौं । त्यस रात आर्मीले भेटेको भए हामी सबैको एउटै चिहान हुन्थ्यो । संकटकाल थियो । हरेक रात कर्फ्यु लाग्थ्यो । राज्य पक्षको नजरमा सबै माओवादी हुन्थे, सबै देशद्रोही हुन्थे । बिहानपख रेडियोले समाचार भन्थ्यो होला । गएरातिको भिडन्तमा यति जना माओवादी छापामारको मृत्यु । पनौरा गएपछि हामी अर्को ठेकेदारकोमा काम गर्न थाल्यौँ । म सानै भएर होला । ठेकेदारले मलाई गाह्रो काममा लगाउँदैनथ्यो । ठेकेदार थारू समुदायका थियो । अहिले उसको नाम बिर्सेँ ।

एकपटक घरको प्लास्टर गर्दा खाटको तल म मसला उठाउँदै थिएँ । खाट भाँचिएर दुईजना मिस्त्रीसहित खाट मेरो माथि खसे । मेरो ढाडमा चोट लाग्यो । त्यो चोटले अझैपनि दुःख दिन्छ । एकपटक ढलानको दिन मेरो टाउकोमा दुईतला माथिबाट कराही खस्यो । काम गर्ने क्रममा यस्ता धेरै दुर्घटना हुन्छन् । ठेकेदार कम्पनीले कामदारको दुर्घटना बीमा गरेका हुँदैनन् । ठेकेदार कम्पनीले यस्ता जोखिमका काममा लगाउनु पूर्व कामदारको बीमा गर्नुपर्ने खाँचो अहिले पनि छ तर बोल्ने को ?

केही महिना काम गरेपछि मेरो स्वास्थ्य बिग्रियो । म घर फर्केँ । कमाएको थोरै पैसा पनि उपचार अनि घर खर्चमा सकियो । स्कुलमा नयाँ भर्ना सुरु हुँदै थियोे । मसँग पैसा थिएन । म साथीहरूसँग गहुँ काट्न भैरहवा गएँ । चैतमासको गर्मीमा पसिना बगाएर कमाएको पैसाले स्कुलबाट सर्टिफिकेट निकालेँ अनि बनगाउँ स्कुलमा भर्ना भएँ ।

रोकिएको मेरो पढाइ सुरु भयो । पुराना स्कुलका ड्रेस धोइधाइ पारेर शरीरमा धारण गरेर पुनः स्कुल जान पाउँदाको त्यो दिन, आहाक्क !! ठुलै युद्ध जितेजस्तै असीम खुसी लाग्यो । नयाँ दशैं आएजस्तो लाग्यो । नयाँ स्कुलको नयाँ ड्रेसको ठेगान थिएन, तै पनि मन हावामा कावा खाँदै सधै स्कुलको बाटो दगुरिरहन्थ्यो ।

अहिले पनि मेरो त्यो बेलाको वयका धेरै बाबुनानी शिक्षाबाट बञ्चित छन् । निःशुल्क शिक्षा त भनिन्छ तर त्यो नीतिनियम भन्नलाई मात्रै छन् । देखाउनलाई मात्रै हो । हामीजस्ता निम्नवर्गका केटाकेटी अझै पनि इट्टाभट्टामा काम गर्दैछन् । ठूलाठूला महल बनाउन पिठ्युँमा इट्टा अनि बालुवा बोकिरहेका छन् । मजदुरी गरिरहेका छन् ।

उनीहरूको स्कुले झोला बोकेर खुसी हुँदै स्कुल हिँड्ने दिन कहिले आउला … ?

गुरुप्रसाद कुमाल ‘बुलबुल’
लमही ४ सेमरहुवा देउखर दाङ

स्कूल जाँदाको त्यो खुशी

गुरुप्रसाद कुमाल ‘बुलबुल’