कविताः भगवान

छविलाल कोपिला
१७ बैशाख २०८०, आईतवार
कविताः भगवान

कविता

भगवान

भेटिदैनन् भगवान मन्दिरमा
भेटिदैनन् भगवान चर्चमा पनि
न भेटिन्छन् मस्जीद, गुम्बामा ।

न सुन्छन् भगवान प्रार्थना कसैको
न देख्छन् कोही पूजा पुजारी
न त ग्रहण गर्न सक्छन्
फूल, अक्षता र दक्षिणा ।

अचेल भगवान लुट्नेहरु
एका बिहानै
अनि समसाँझै
मन्दिरको ढोकामा
चर्च, मस्जीद र गुम्बा अगाडि
ढुकेर बसेका हुन्छन्
थरिथरिका बस्त्रधारीहरु
र, भगवानकै झूठ कसम खाएर
लुट्छन् भगवानहरुकै अगाडि ।

लुटेराहरु
काल्पनिक कैयौंथरि मानवाकृति राखेर
उसैगरि काल्पनिक नाममा राखेर
भगवानको नाममा
यशुको नाममा
अल्लाहको नाममा
अनि बुद्धको नाममा
भ्रमको एउटा दान–पत्र राख्छन्
र लुट्छन् भगवानहरुकै अगाडि ।

छविलाल कोपिला
डेउखर, दाङ

कविताः भगवान

छविलाल कोपिला