साङ्रिलाको आँगन

खगेन्द्र गिरि ‘कोपिला’
२२ बैशाख २०८०, शुक्रबार
साङ्रिलाको आँगन

संस्मरण

साङ्रिलाको आँगन

निकै उज्यालो र चहकिलो भएर उदायो चामेको पहिलो बिहान । पूर्वतिर उभिएको मनासुलु हिमाल माथिबाट आएका रश्मीहरुले टलक्क टल्किएको छ चामे । हिजो साँझको चिसो स्याँठ र रातीको हुरीबतासको कुनै प्रभाव छैन । एकै रातमा मौसमको यस्तो परिवर्तित चर्तिकला देखेर विस्मित भएको छु म ।

जीपमा जाउँ कि ? पैदल जाउँ ? एकछिन निर्णय गर्न अलमल भयो । ‘ढिकुरपोखरी नपुगुञ्जेल हेर्दै जाने कुरा खासै केही छैनन । जीपमा गए पनि हुन्छ’ भन्दैछन् कोही । ‘हिमालको आँगनमा आएपछि त हाम्रा लागि जे पनि कुतुकमय छन् । जे देखिन्छ त्यही हेरेर रमाउने हो’ भन्दै छ मेरो मनले ।
‘यता हिडेर शरीरको उर्जालाई किन खेर फाल्नु हुन्छ ? बरु ढिकुरपोखरी वा पिसाङ्सम्म जीपमा गएर उतातिर हिड्दा हुन्छ नि ?’ श्वेत स्तूप होटेलका भाइको सल्लाह पनि नराम्रो त होइन ।

‘यहाँभन्दा माथि जीप पाउनु र जीप पाए पनि सिट पाउनु भाग्यकै कुरा हो’ भने श्वेत स्तूप होटेलका अर्का भाइ रमेश चौधरीले ।

उनको कुरा सुनेपछि भने मलाई चामेभन्दा माथि जीपबाट जाने जाँगर हरायो ।

सम्झिएँ लालजङ्ग भण्डारीभाइले भनेको कुरो पनि—‘दादा चामेभन्दा माथि त हिडेरै गयो भने मात्रै मनाङ्को वास्तविक सौन्दर्य के हो थाह पाइन्छ ।’

हामी डुल्न र डुलेको ठाउँको सौन्दर्यमा डुब्न आएका मान्छेलाई जीपको दुगुरादुगर यात्रा किन गरिरहनु प¥यो र ? अन्ततः हिडेरै जाने निर्णय गरियो । नास्ता खाएर हिड्यौं साङ्रिलाको भूमि अर्थात् माथिल्लो मनाङ्तिर । घडीको सुइले जनाउ दिइरहेको छ साढे सात बजेको ।

बाटो उही मस्र्याङ्दी नदीको दाहिने छेवैछेउ एकोहोरो उँभोउँभो कुद्यो । उस्तै ढुङ्गेबगर, उस्तै कच्ची सडक, उस्तै साँगुरो बाटो र उस्तै निर्जन वातावरण । अनि आँखाभरि उस्तै कुतुहलता र मनभरि उस्तै जिज्ञासा । मनाङ्को यो भागमा मानवबस्तीको उपस्थिति त्यति देखिएन । कोणधारी बोटवृक्ष र असरल्ल छरिएका ढुङ्गा मात्रै देखिन्छन् आँखाको दृष्टि पुगुञ्जेल परपर र माथिमाथिसम्म । माथिमाथिका चुचुराहरुमा भने श्वेत हिउँ टलक्क टल्किरहेको छ । कतै पहाडको भिरालो खोस्रेर बनेको बाटो, कतै नदीकै बगरमा कुदिरहेको बाटो । कतै फन्को मारेर तलमाथि गरिरहन्छ बाटोले । कतै सललल बगिरहन्छ नदीकै छेउछेउमा नदीसितै लय मिलाएर । । देब्रेपट्टि बगिरहेको मस्र्याङ्दी र माथितिर मुस्कुराइरहेको लमजुङ् हिमाललाई धीत मारेर हेर्दै हिडिरह्यौं हामी पनि । आँखाको व्यस्तताले बाटो काटेको थाहै भएन ।

दुई घण्टा जतिमा भ्राताङ् पुग्यौं । ‘ओओओ यु आर भेरी लेट’ हाम्रो ढिलो हिडाई देखेर लेघ्रो तान्दै बोले एक जना पर्यटक । चामेभन्दा अलि वरै भेटिएका थिए थाइल्याण्डबाट आएका ती पर्यटक । एक्लै हिडिरहेका थिए । उनी भ्राताङमा पुुगेर चिया पिउँदै रहेछन् । उनलाई गुरुप्रसाद बुलबुलको मोबाइलमा फोटो खिच्न लगायौं । ‘नेपाल इज भेरी ब्युटिफुल कन्ट्री’ भन्दै अनेक पोजका खिचिदिए फोटो ।

एउटा नाङ्गो ढुङ्गे पहाडको काखमा थपक्क बसेको भ्राताङ् सानै गाउँ रहेछ । एक दर्जनभन्दा बढी घर देखेनौं भ्राताङ्मा । कतै यो एउटै स्याउ फाराम नै पो हो कि भ्राताङ भन्नु ? जस्तो पनि लागिरह्यो । भ्राताङ्लाई मेरो मनले भरतअङ्गको अपभ्रङ्स मानिरह्यो । तारजालीले बेरिएको बारीभित्र पात झरेका स्याउका बोटहरु सकिनसकी उभिएका छन् वसन्त ऋतुको आगमन पर्खेर । स्याउ फारामको रित्तो, उदास र निर्जन वातावरणले मनभित्र उत्सुकताभन्दा बढी उदासी नै ल्याइदियो । बाटो वरपर र स्याउ फारामलाई घेरेको बारभरि धजा फरफरफरफर गर्दै हल्लीरहेका छन् । यहाँको निरवतामा जीवन्तता दिने जिम्मेवारी यी धजाले नै बोेकेजस्तो लाग्यो ।

भ्राताङबाट हिडेपछि केही बेरमा भेटियो अजङ्गको ढुङ्गे पहाडलाई खोपेर बनाइएको साँगुरो बाटो । यस बाटोले हिजो बेंसीशहरबाट पार गरेर आएको जस्तै डरलाग्दो बाटोको सम्झना गरायो । साँगुरो बाटोबाट चेपिएर खुट्टा सारिरहँदा तल मस्र्याङ्दीको सेतो र नीलो पानी छ्याङ्गै देखिएर होला हिजोको जस्तो भयभीत भएनौं । हिजो त नदी केही पनि नदेखिएर माथि पनि भीर, तल पनि भीर देखिएर पो हो कहाली लागेको । आज त माथिपट्टि अजङ्गको चट्टान भए पनि तलतिर छङ्छङ् गर्दै नजिकैबाट बगिरहेको मस्र्याङ्दीले हाम्रो भय हरण गरिदिएको छ ।

‘चिप्लेर खसी हाले पनि त्यही मस्र्याङ्दीमैं पुगिने त होला ?’ यस्तैयस्तै सोचेर ढाडस दियो मनले मनलाई ।

असजिलो बाटो र साँगुरोसाँगुरो हुँदै आएको मस्र्याङ्दी भेटिए एउटा गल्छीजस्तो ठाउँनिर । फलामे पुल रहेछ । पुल तरेर पारिपट्टि गयौं । सल्लाले ढाकिएको वनभित्रको फराकिलो बाटो माथिमाथि उक्लिन थाल्यो । तर जति माथि गए पनि मस्र्याङ्दीले आफ्नो स्वर सुनाउन अल्छी मानेन । सल्लाको वन बाक्लो भएर बिहानबिहान अँध्यारो भए पनि आफ्नो छङ्छङ् स्वर सुनाएर परैसम्म साथ दिइरह्यो मस्र्याङ्दीले ।

मस्र्याङ्दीको पुल तरेपछि भूबनोट पनि केही फेरिएको जस्तो आभास भयो । बाटो वरपरको अफ्ठ्यारो भूबनोट पनि हरायो ।

‘यस्तो सुनसान वनमा हिउँ चितुवाले आक्रमण गर्छ रे अङ्कल’ सुनाए बुलबुलले । ‘यस्तो वनमा एक्लोदुक्लो मान्छे भेटेपछि त ब्वाँसोले पनि झम्टिन्छ रे’ मैले पनि सुनाए आफूले सुनेको कुरो । एकअर्काका कुराले हामी दुइटैका अनुहारमा अव्यक्त त्रासका धर्सा कोरिए । फेरि एकअर्काका भरोसाले आश्वस्त पनि भै हाल्यौं । हामी दुईजना नै भएका छौं एक अर्काका भरोसा र आड ।

धेरै उँचाईमा आइपुगेका त रहेन छौं हामी । सल्लाको वनभित्र तेरपायाँतेरपायाँ बाटो हिडिरहेका छौं । एक्कासी आकाश छ्याङ्ग खुलेजस्तो भयो । पर गहिरोमा ढिकुरपोखरीका रुपौला दृश्य छरिए आँखाअगाडि । आँखामा ढिकुरपोखरी उज्यालिए संगै उज्यालियो मन पनि । माथिमाथिका हिमाली चुचुराले पनि कदाचित देखे होलान् हाम्रो उज्यालिएको मनोदशालाई । हरितिमा शोभा बटुलेर बसेको छ एउटा उज्यालो फाँट । यस्तो लाग्यो साँच्चै साङ्रिला भनिने कुनै कुतुकमय ठाउँमैं आइपुगियो आज ।

ढिकुरपोखरी पुग्न थोरै ओरालो झर्नु प¥यो । तलतल झर्दै गर्दाको ओरालोमा हिजो राती परेको हिउँ पग्लिएर बग्दै गरेको दृश्यले आँखा ताने । हिउसंग ससाना ढुङ्गा पनि बगिरहेका छन् । भित्ताभित्तामा नपग्लिएका हिउँका थुप्राहरु पनि देख्यौं । हिउँ टिप्ने र त्यही हिउँ समातेर फोटो खिच्न खोज्दाखोज्दै हिउँ पग्लिएको दृश्यले रमाइरह्यौं । हिउँ बोकेको हात एकैछिनमा चिसोले कठ्याङग्रीएपछि हेरेरै रहर मेटियो । कालो पहाडको फेदमा थुप्रिएको हिउँ बग्दै गरेको दृश्य हेर्दाहेर्दै झ्याप्पै पुगियो ढिकुरपोखरी ।

सल्लाका हरिया रुखले घेरिएको ढिकुरपोखरीले हामीलाई हाँसेरै स्वागत ग¥यो । ढिकुरपोखरी त तराईजस्तै लाग्ने समतल भुभागमा रहेछ । छेउमैं कलकल गर्दै बगिरहेको छ मस्र्याङ्दी । पारिपट्टि उभिएका सल्लाका रुखले हरियो कला पस्किरहेका छन् । माथिपट्टि आँखा लगाउँदा देखिए काला नाङ्गा चट्टान र त्यसभन्दा माथि हिउँ थुप्रिएका हिमाद्रीहरु । सबै आआफ्नो ठाउँमा थपक्क बसेजस्ता मौन मुद्रामा छन् । हाम्रो मन भने ढिकुरपोखरीको चिसो बतासमा उडुँउडुँ हुन थाल्यो । राता, पहेंला र नीलो रङ्गका घरहरुले शोभामान छ यो सानो बस्ती । एक दर्जनभन्दा केही बढी होलान् यी घरहरु । स्वर्गद्वारी र अन्नपूर्ण हिमालका श्वेत चुचुराहरुले पहरा दिइरहेका छन् दुईतिरबाट यो सानो उपत्यकालाई ।

‘ढिकुरपोखरी नभनेर यसलाई ढिकुरउपत्यका भन्नु पर्ने हैन अङ्कल?’ जिज्ञासा पोखे गुरुप्रसाद बुलबुलले ।

ढिकुरपोखरीको दक्षिणतिरको पाखो अन्नपूर्ण श्रृङ्खलाकै भाग हो । हिजैदेखि मस्र्याङ्दीको पल्लोपट्टि देखिने हिमश्रृङ्खलालाई अन्नपूर्ण नै हो भनेर चिनाउँदै छन् सबै । अन्नपूर्णका चुचुराहरुलाई वान टु थी्र नाम दिइएको रहेछ । यहाँबाट भने अन्नपूर्ण निकै नजिक देखियो । यो यति नजिक देखिन्छ कि चङ्गा उडाएको भए अन्नपूर्णकै टुप्पोमा पुग्दो हो जस्तो लगिरह्यो । गुलेलीमा मट्याङ्ग्रा राखेर हिर्काउने हो भने पनि चुचुरामा लाग्लाजस्तो ! एकछिन लम्किएर उकालो चढ्ने हो भने थुम्को मैं पुगिएलाजस्तो !

अन्नपूर्णभन्दा पनि पूर्वपट्टि ठिङ्ग उभिएको हिमालले विछट्टै लोभ्याइरहेको छ । अरु हिमाली थुम्काभन्दा यस हिमालको थुम्कोमा छरिएको हिउँमा छुट्टै आकर्षण छ । थपक्क मिलाएर, जतनले सम्याएर राखिएकोजस्तो लाग्छ हिमालको शिरमा हिउँ । हिमाली पाखाका दुई खण्डको माझमा मान्छे हिड्ने बाटोजस्तो कालो रेखो देखियो । नियालेर हेर्दा त्यो रेखो चट्टान चर्किएर दुईटा भाग बनेजस्तो पनि देखिन्छ । हिमाली पाखोलाई दुई भागमा अंशबण्डा गर्ने सीमानाजस्तै लाग्छ यहाँबाट हेर्दा ।

‘त्यसलाई स्वर्ग जाने बाटो भनिन्छ’ हामी खाना खाँदै गर्दा सुनाए साहुजीले ।
‘त्यसै बाटोको नामबाट स्वर्गद्वारी हिमाल रहेको हो यसको नाम’ थपे उनैले ।

त्यस बाटोजस्तो आकृतिमा कहिल्यै पनि हिउँ अडिन्न रे ! त्यसैले थपेको छ यस हिमालको सुन्दरतामा छुट्टै कला । अरु दिशातिर मुन्टो फर्काउनै मन लागेन । स्वर्गद्वारी हिमालको पृथक आकर्षणले तानिरह्यो आँखा । तलतिरको समतल भागमा ढकमक्क हरियो वन, माथिपट्टिको पाखोमा श्वेत हिमानीको रास र माथि आकाशमा अडिएका सेतै वादलका बुट्टाहरुलाई संगसंगै हेर्न पाउने अवसर यस ढिकुरपोखरीभन्दा अन्त कहाँ भेटिएला र ? निकै बेर आँखा नझिम्काएर हेरिरह्यौं हिमाद्रीको त्यस अप्रितम सौन्दर्यलाई ।

‘अब हिडौं अङ्कल’ गुरुप्रसाद बुलबुलको स्वरले झस्किएँ म । हिड्नै आएका हौं । बसिरहने कुरा त भएन एकै ठाउँमा । हिड्नु छ, हिडि पनि हाल्यौं । ढिकुरपोखरीबाट मस्र्याङ्दी तरेर पारिपट्टि गयौं । मस्र्याङ्दीको दाहिने किनारमा सल्लाको वनको छेवैछेउ हिड्यो बाटो आफ्नै लयमा । हामीले पनि आफूलाई मिसायौं त्यही लयमा । स्वर्गद्वारी हिमालपट्टि हाम्रो पिठ्यु परे पनि उभिएर फर्किफर्कि हेर्दै छौं त्यसलाई । देब्रतिर छ्याङ्गै देखियो अन्नपूर्ण पनि । ठुस्किने हुन् कि भनेर बेलाबेला आफ्ना दृष्टि त्यतापट्टि पनि फ्याक्दै छौं । दुईटा आँखा कहाँकहाँ पु¥याउनु ? के के हेरौं जस्तो भैरहेको छ ।

बाटो वरपर कुनै चहलपहल छैन । सल्लाको वनभित्र सल्लो बाहेक अरु केही देखिन्न । उभिएका रुख पनि सल्लैका छन् । ढलेर सुकेका रुख पनि सल्लैका छन् । भुइँ पनि सल्लाका सुकेर खसेका पातले पहेंलपुर भएको छ । यस्तो लाग्यो सल्लाले आफ्नो भूमिमा अरु कुनै बोटबिरुवालाई उम्रिन नदिने सल्लाह गरेका छन् । वन र नदीको माझमा फुटबल खेल्न मिल्ने ठुलाठूला चौर पनि देखिए । सबैमा व्याप्त छ उस्तै शूण्यता, उस्तै निरवता र उस्तै ऐकान्तिक चकमन्नता । केही चराचुरुङ्गीले बेलाबेला आफ्नो साङ्गीतिक स्वर गुन्जाएर यहाँको चकमन्नतालाई भङ्ग गर्न खोज्छन् । नत्र सबैकुरा यहाँ ध्यानस्थ मुद्रामैं छन् । हाम्रो मुटुको चालले पनि हाम्रै ध्यानभंग गर्न खोजेजस्तो गरिरह्यो ।

सुस्तसुस्त बाटो उकालोउकालो लाग्न थाल्यो । मुटुको बढ्दो चालले उँचाई बढ्दै गएको जनाऊ दिइसक्यो । हातको लट्ठिको सहाराले हामी पनि उकालोमा अघिकै चालमा हिड्ने यत्न गर्न थाल्यौं । तर समतलमा हिडेजस्तो सजिलो उकालोमा कहाँ हुनु ! ओंठ बन्द गरेर नाकबाट मात्रै लामोलामो सास तान्दै हिड्यो भने सहज हुने रहेछ । तर हामी नेपालीहरु नबोलेर कहाँ मौन रहन सक्छौं र ? स्वामी अवधेशानन्द महाराजका वाणि सम्झिएँ—‘हिड्नु पनि ध्यान गरेजस्तै भयो भने यात्रा पनि उपासना बनिहाल्छ ।’ आजको हिडाईलाई स्वामीज्यूले भन्नु भएजसरी उपासना बनाउन नसकेपनि सन्झना बनाउने त अठोट गरेकै छौं हामीले पनि !

मध्य दिउँसो हुँदै गर्दा पिसाङ्का दृश्यहरु ठोक्किन लागे आँखामा । ढुङ्गा ओछ्याएको चोबाटोनिर कुन् पिसाङ जाने भनेर एकछिन अलमलियौं । तल्लो पिसाङ् जान ओरालो झरेर मस्र्याङ्दीको बगरमैं पुग्नु पर्ने रहेछ । माथिल्लो पिसाङ् जान उकालैउकालो उँभोउँभो जानु पर्ने रहेछ । हामीले उकालो समात्यौं ।

दक्षिणतिर फर्केको पारिलो पाखामा फिंजिएको छ माथिल्लो पिसाङको उज्यालो बस्ती । मध्यान्हपछि हिमाली भेगमा बेतोडले हावा चल्छ भन्थे हो रहेछ । ‘जोमसोमे बजारमा बारह बजे हावा सरसर’ भन्ने एउटा गीत नै छ । पिसाङ त झन् जोमसोमभन्दा पाँचसय मिटर उँचाईमा छ । यहाँ पनि हावाको बेग निकै चर्को भैसकेको छ । हिमाली क्षेत्रको हावामा बालुवामात्र हैन ढुङ्गा पनि उडेर आउँछन् । ‘तराइतिर जाँदा पेट जोगाउनू, पहाडतिर जाँदा नाक जोगाउनू । हिमालतिर जाँदा कान र ओठ जोगाउनू’ साथि विजयराज श्रेष्ठले भनेको सम्झें । मास्कले ओठ र टोपीले कान जोगाउन लाग्यौं हामी पनि ।

फराकिलो पाखाभरि अटेसटमेटस गरेर उभिएका छन् घरहरु । घरभन्दा पनि होटलको सङ्ख्या बढि रहेछ । कोठा हेर्दै, सोद्धै, बुझ्दै जाँदा पुग्यौं होटल माउण्टको आँगनमा । भेटिए कान्छा गुरुङ् । पहिले त कान्छा गुरुङ्ले मेरा साथि गुरुप्रसाद बुलबुललाई एक्लै देखेर होला एउटा कोठाको दुई सय भनेका थिए । मलाई देखेपछि त अढाई सय भन्न लागे । हिमाली क्षेत्रको पर्यटकको चाप हुने ठाउँमा एउटा सिङ्गै कोठाको भाडा एक रातको अढाई सय रुपियाँ भनेपछि त हामी एकछिन दङ्ग नै प¥यौं । अब त्यसमा पनि बार्गेनिङ् गर्ने कुरा आएन । कोठामा एटेच बाथरुम र दुईटा ओछ्यान पनि रहेछन् । सफा र सूरुचिपूर्ण नै रहेछ कोठा । बाईफाईले भने राम्ररी काम गरेन । हामीले कोठा यति सस्तो हुनुको कारण बाईफाईको समस्या नै हो भन्ने निष्कर्ष निकाल्यौं ।

माया गुरुङ् रहेछ साहुनीको नाम । हामीलाई तातो पानी र चिया पिलाएपछि मनाङ्े भाकामा भनिन ‘दाई अब कोठामा गएर आराम गर्नुहोस् । साँझसाँझटिर हावा अलि होलाहोलोे हुन्छ अनि घुम्न निस्किनु होला’ । बिहानैदेखि पाँच घण्टाभन्दा धेरै हिडिसकेका छौं हामी । शरीरले पनि आराम त खोजिरहेकै छ ।

अपरान्हतिर केही घट्यो हावाको बेग । दक्षिण—पश्चिम दिशातिर अन्नपूर्ण हिमालको काखमा लुक्ने तरखर गर्न लागेका सूर्यनारायणको तेज पनि सुस्ताइरहेको छ । लामो पदयात्रामा हिडेका पर्यटकहरु पिसाङ्को माथिल्लो टुप्पोसम्म हाइकिङ् गर्न जाँदा रहेछन् । यस्तो गर्दै अघि बढ्यो भने हाइअल्टिच्युडको समस्याले नसमात्ने रहेछ । हामी भने पिसाङ्को सिरानमा रहेको गुम्बासम्म मात्रै पुग्यौं । हामी बसेको होटेल माउण्ट ३३६० मिटरको उँचाईमा छ । गुम्बासम्म पुग्नलाई फेरि उकालो चढ्नु प¥यो ।

विशाल द्वारमा नेपाली, अङ्ग्रेजी र तिब्बती लिपिमा लेखिएको छ उर्गेन थेगक्षेग क्षोलिङ गुम्बा । तिब्बती बास्तुकलाले सिंगारिएका छन् गुम्बाका भित्ता, ढोका र झ्यालहरु । निकै सूक्ष्म र मसिनो ढङ्गले खोपिएका छन् काठमा र ढुङ्गामा बुट्टा र चित्रहरु । मूल मन्दिरको गर्भगृहमा पसेर ढोग्यौं बुद्ध भगवानलाई एकछिन आँखा चिम्लिएर र प्रार्थना ग¥यौं—हे भगवान हाम्रो यात्रा सफल होस्, उँचाईको कारणले स्वास्थ्यमा कुनै समस्या नआओस् ।

गाउँको माझमा यति ठूलो गुम्बा उभिएको छ । हिमाली क्षेत्रमा धेरै बुद्धिष्टहरु ईसाई धर्ममा रुपान्तरण भएको सुनिन्छ । यहाँको अवस्था के होला ? जान्न उत्सुक भएको छ मन हिजैदेखि । तर कसैलाई सोध्न सकिरहेको छैन ।
एक जना पेम्बा गुरुङ् नाम गरेका युवा भेटिए गुम्बामा ।

‘सुरक्षाको व्यवस्था त केही पनि रहेनछ नि भाइ गुम्बामा ? लामा र आनी पनि कोही देखिनु भएन ?’ म उनैसित गफिन लागें ।

‘यहाँ त गुम्बाको सुरक्षामा अहिलेसम्म त त्यस्तो खासै समस्या आएको छैन तर अन्तअन्त त बौद्ध गुम्बालाई नै चर्च बनाएको पनि सुनिन्छ’ भने उनले । ‘यतातिर चर्च बनेका छैनन् र भाइ ?’ फेरि सोधें । ‘एक दुई जना त जहाँका पनि फाल्टु भै हाल्छन् तर मनाङ्मा आफ्नो धर्म र संस्कृति त्यागेर अर्कोतिर लहसिनेहरु छैनन् दाइ’ निकै उत्साहित भएर बोले उनी । नेपालमा धर्मान्तरणको समस्या सबैभन्दा धेरै बौद्ध धर्मबाट नै भएको देखिन्छ । लेखक मोहन लामा रुम्बाले यो बारेमा निकै कुरा उठाइरहनु हुन्छ सामाजिक सञ्जालमा । यी भाइ पनि मलाई उहाँजस्तै अटल र स्पष्ट लागे ।

निकै बेर गुम्बाको आँगनबाट अन्नपूर्ण हिमालका मनोहारी दृश्य नियाली रह्यौं । घाम अन्नपूर्णको पल्तिर ढल्किएपछि पिसाङ्को पाखोमा गोधुली साँझका धर्साहरु फिंजिन लागे । हामी पनि सुस्तसुस्त ओलियौं होटलतिरै ।

जतिजति अँध्यारो बढ्दै गयो चिसोको प्रकोप त्यही अनुपातमा चुलिदै गयो । खाना पनि सबैलाई एकै पटक पस्केर खुवाउनु पर्ने रहेछ । नत्र चिसो भएर खान नसकिने । फलामे चिम्नीको वरिपरि झुम्मिएर खाना खायौं सबैले । विदेशी पर्यटकहरु प्रायः आफैले बोकेर ल्याएको पृय पदार्थ मात्रै खाँदा रहेछन् । टन्न पेटभरि रोटी, भात र दालतरकारी चाहिने त हामी नेपालीलाई मात्रै रहेछ । कान्छा गुरुङका बुढाबुढीले हाँसीहाँसी खुवाए ।

‘साहुजी होटेल त टन्नै भरिएको छ । तपाइँहरुको पनि हात खाली छैन, कमाई त राम्रै हुँदो होला है ?’ साहुजीलाई सोधेको थिएँ तर उत्तर दिइन् साहुनीले—‘सबै नाटेडारहरु कोही युएस, कोही जापान पुगिसके हामी डुईजाना माट्रै यटै बसेर जसोटसो होटेल चलाइरहेका छौं, यिनै चारपाँच महिनाको कमाईले वर्षभरि खानुपर्छ । बैंकको ऋण पनि टिर्नुपर्छ डाई, केही पोनी बोच्डैन’ मनाङ्े भाकामा आफ्नो पेशाप्रतिको अरुचि पोखिहालिन् उनले । मलाई उनका कुराभन्दा पनि उनको बोल्ने भाकाले सुनुँसुनुँ लागिरह्यो । काम त आफूले गरेको काम कसलाई पो राम्रो लाग्छ र यो जगतमा !

खोटाङका तेजबहादुर पुरी भेटिए होटलमैं । वल्लोपल्लो कोठामा छिमेकी भएर बस्न पुगेछौं आज । एउटा फ्रेन्च घुमन्ते टोलीका गाइड बनेर आएका रहेछन् । कतिखेर अंग्रेजी बोल्छन् कतिखेर फ्रेन्च बोल्छन् त कतिखेर जर्मन बोल्छ । ‘जस्तोजस्तो पुरेत बाजे उस्तैउस्तै स्वाहा जस्तै बन्नुपर्छ सर’ हाँस्दै भने उनले । रातीसम्म ट्रेकिङ् जाँदाका अनेक समस्या र अनुभव सुनाइरहे ।

‘यात्रा सकिएको दिनमा कुइरेले हान्ने झटारो नै हो यस कामको आर्कषण’ । लामो पदयात्रा सकेर काडमाडौं फर्केपछि अन्तिम दिनमा कुइरेले आफ्ना गाइडलाई केही बक्सिस दिन्छन् । यसैलाई झटारो भन्दारहेछन् । भारी बोक्नेहरु पनि यसै झटारोको आकर्षणले पर्यटकका ठूलाठूला भारी बोकेर दुईदुई तीनतीन हप्तासम्म भारी बोक्दै डाँडाकाँडा हिड्दारहेछन् । पचास वर्ष पुग्न लागेका तेजबहादुर पुरीलाई पनि त्यसै झटारोको लोभले यो काम छोड्न मन लागेको रहेनछ ।

मैले मनाङ् मुस्ताङतिर नेपालीलाई अलि हेप्छन् भन्ने सुनेको थिएँ । तेजबहादुर पुरीले सुनाए–‘पहिलेपहिले त नेपालीलाई अलि पक्षपात नै गर्थे । तर यता डुल्न आउने कुइरेभन्दा नेपालीले नै बढी पैसा खर्च गर्छ भन्ने बुझेपछि बरु अचेल नेपालीले बढी मान पाउँछन ।’ रहस्य त यो पो रहेछ । आफ्नो होटलमा बास बस्न आएका हामी दुईजना नेपाली पाहुनालाई सेवासुश्रुवामा कुनै कमी गरका छैनन् कान्छाका बुढाबुढीले पनि । यद्यपि हामीले त्यस्तो खासै खर्च गरेका पनि केही छैनौं !

साङ्रिलाको आँगनमा दिनभरि डुल्दा अनेक भाव उठिरहे मनभरि । मनभित्र छचल्किएका सबै भावहरुलाई राख्न सकिएन समातेर । कोठामा बाईफाईले काम गरेको छैन । हामी उपन्यास पढ्न थाल्यौं । बुलबुलले ‘टुवरा’ का पाना पल्टाए । म ‘मिन्झारी’ पढ्न थालें । एकसय एकतिसौं पृष्ठमा पुगेको छु । यहाँ पनि घुम्न गएकै प्रसङ्ग रहेछ—‘कल्लु र म टीकापुरबाट बेलुका छ बजे साइकल लिएर निस्केका थियौं । दुर्गौली पुग्दा हाम्रो साइकल बिग्रियो । साइकल बनाएर टोरैंयाँपुर पुग्दा झमक्क रात परिसकेको थियो’ ।
पढ्दापढ्दै म त भुसुक्कै निदाएछु ।

खगेन्द्र गिरि ‘कोपिला’
नेपालगंज

साङ्रिलाको आँगन

खगेन्द्र गिरि ‘कोपिला’