प्रत्येक श्वासमा आनन्द

खगेन्द्र गिरि ‘कोपिला’
५ जेष्ठ २०८०, शुक्रबार
प्रत्येक श्वासमा आनन्द

प्रत्येक श्वासमा आनन्द

‘हिमालको सौन्दर्य हेर्न त बिहान छिटै उठ्नुपर्छ’ तेजबहादुर पुरीले भनेका थिए हिजै राती ।
‘पिसाङ्को सूर्योदय नहेर्दासम्म यहाँ डुल्न आएको के स्वाद ?’ सुनाएका थिए अर्का यात्रीले पनि ।
हामी पनि सूर्योदय हुँदै गर्दाको हिमाद्री सौन्दर्य हेर्नबाट बञ्चित हुन चाहन्नौं ।

२०७९ साल चैत्र १५ गतेको बिहानी उदाउन त सदाझैं आफ्नै समयमा उदायो । तर हामीलाई भने आज छिटै उदाइदिए हुन्थ्यो जस्तो लागेको छ । उज्यालैमा नित्यक्रम सकेर सूर्य उदाउनुअघि झिसमिसे पनि नहुँदै पुगिसकेका छौं होटेलको बार्दलीमा । हिउँ धेरै पर्ने भएकोले छतमा हिउँ नअडियोस् भनेर यतातिर घरका छत र पाखाहरु ठाडा बनाइएका हुन्छन् । झ्याल र बार्दली पनि उतिसारो हुन्नन् । होटल माउन्टमा भने बाटोको छेउनिर बसेर हिमालय हेर्ने बार्दलीजस्तो ठाउँ बनाइएको रहेछ ।

उज्यालोका धर्साहरु बिस्तारै फिंजिन थाले आकाशमाथि । पहिले सबैभन्दा माथिका हिमचुचुरामा छरियो उज्यालो । तलतिरका खोंच र फाँटहरु घना अँध्यारोमा डुबिरहेको बेला माथिमाथिका हिमचुचुरामा छरिएको उज्यालोले अर्कैअर्कै अनौठो अनांैठो दृश्यावली देखाइदियो । एउटै दृश्य भएको भए पो दृश्य भन्न हुन्थ्यो । यहाँ त क्षणक्षणमा दृश्यहरुको रुप र रङ् फेरिदै छ । यी दृश्यहरु पनि दृश्यकै पङ्क्ति अर्थात अवली भएर फेरिदै रहे । हामी आँखा च्यातिच्याति हेरिरह्यौं ।

एकैछिनमा घामका किरणले माथिमाथिका हिमचुचुरालाई अँगालो हाले । हेर्दाहेर्दै सेता चुचुराहरु सुनजस्ता पहेंला देखिए । हिउँ पग्लिएर काला भएका चट्टानहरु उज्यालिए । पिसाङ्को हरियो वन घामका किरणको स्पर्श पाएर झन् हरियो भएर चहकियो । तल गहिरोगहिरोमा लुकेर बगिरहेको मस्र्याङ्दीको सेतो जलमा पनि नयाँ उच्छलन आयो । प्रकृतिको कलामा कुतुकमय लीला चलिरह्यो । हामीले प्रत्येक श्वासमा नयाँ दृश्य हेरेर आनन्दभोग गरिरह्यौं ।

हिजो राती पनि अलिअलि हुरीबतास चलेकै थियो । माथिमाथिका चुलीहरुमा हिउँ त थपिएकै रहेछ । तल्लो पिसाङपल्तिरको पाखोमा त तलैसम्म हिउँ देखियो । हिजो त्यहाँसम्म त्यति धेरै हिउँ देखिएको थिएन । मनाङ्मा पानी पर्दैन भन्ने सुनेको थिएँ । यहाँ त हरेक राती हुरी, बतास र हिउँ परेको देखियो । प्रकृतिले आफ्नो बानी फेरेको हो या मनाङ्मा पानी पर्दैन भन्नेले ढाँटेका हुन् ? खै कुन्नी !

मनाङ्मा बोलिने गुरुङ् भाषामा पिसाङ् भनेको वन रहेछ । पिसाङ्को सौन्दर्य भनेको पनि सल्लाकै वन रहेछ । यिनै सल्लाका वनभित्र लुकेको छ यहाँको सौन्दर्यको रहस्य । काला पहाडी चट्टानहरुलाई साक्षी राखेर श्वेत हिमाद्री र हरियो वनले आँखा जुधाएर गरिरहने मौन वार्तालाप नै त रहेछ यो पिसाङ्को रहस्य भन्नु । माथिल्लो पिसाङ् मान्छेको जिब्रोमा अचेल अपर पिसाङ् र तल्लो पिसाङ् लोअर पिसाङ् भएर बसेका छन् ।

घाम राम्रैगरि उज्यालिएपछि पदयात्रीहरु हिड्ने सुरसार गर्न थाले । ‘यहाँ हिड्ने भनेको बारह बजेअगाडि सम्ममात्रै त हो । त्यसपछि त हावा चलेर हिड्नै दिदैन’ ।
आडिलो नास्ता के खाने अलमलमा थियौं ।

‘डाई पाइन नट ब्रेड खानु ल आडिलो हुन्छ’ । ब्रेड भनेपछि मैले नाक खुम्च्याएको देखेर गुरुप्रसाद बुलबुल फकाउन थाले—‘सल्लाको रोटी हो अङ्कल, मीठो हुन्छ खाउँ है ?’ ।
‘सल्लाको रोटी?’ मेरोलागि पहिलोपल्ट सुनिएको वाक्य थियो । बुलबुलले भने खाइसकेका रहेछन् । होटेलमा धेरै रोटीहरु पकाएर हट्केशमा राखिएका थिए । मगाएर खायौ. हामीले पनि । यो त हाम्रो पश्चिमतिर पकाउने चामलको माडाजस्तो हुने रहेछ । स्वाद भने त्योभन्दा पनि मीठो । थपेर अर्को पनि खान खोजेको थिएँ । साहुनीले भनिन्—‘डाई पहिलो डिन खानु भएको रहेछ । डुइटा नखानु पखाला लाग्ला !’ साहुनीले नै नखानु भनेपछि खाने कुरै भएन ।

अरु पदयात्रीहरु माथिल्लो पिसाङ्को पाखैपाखो हिडे । हामी तल्लो पिसाङ्पट्टि ओर्लियौं । माथिमाथि घ्यारु, ङावल र नारजस्ता गाउँ घुम्दै मनाङ्गाउँ ओर्लिने बाटो पनि रहेछ । हामीलाई भने मस्र्याङदीको किनारैकिनार हिड्दा दुबैतिरका हिमाल देख्न पाइने रहरले तानेको छ ।

दुईटा पिसाङ्लाई मस्र्याङ्दी नदीले छुट्टयाएको छ भने मस्र्याङ्दीका दुईटा साँघुले जोडेका छन् । तल्लो पिसाङ्को पश्चिमपट्टि अन्नपूर्णको पाखोबाट बगेर आउने छार्ताङ् खोलाको पुलनिर उभिएर फर्केर हे¥यौं दुबै पिसाङ्लाई ।

मनाङ्लाई हिमालपारिको मरुभूमी भन्थे । यहाँ त हाम्रा आँखा अगाडि छरिएको पिसाङ् उपत्यकाले हरियो मुस्कान छरिरहेको छ । यस्तो हरियो ठाउँलाई मरुभूमि किन भने होलान् ? त्यो उपमा जोड्नेहरुले मनाङ्माथि अन्याय नै गरेका हुन् !

पिसाङ्को हरित सौन्दर्यलाई नियालेर मन भरिएकै थिएन । हिड्नु परिहाल्यो । ‘जाउँ अङ्कल धेरै छ हिड्नु’ गुरुप्रसाद बुलबुलको वाणिले भङ्ग भयो मेरो ध्यान । परै पुगुञ्जेल पनि पिसाङ्का हरिया दृश्यहरुलाई फर्किफर्कि हेरिरह्यौं ।

बाटोमा प्रत्येक पाइलासितै देखिने हिमाली भुगोलका कुतुकमय दृश्यहरु लोभ्याउन थाले । जुन दृश्यमा आँखा ठोक्किन्छन् ती दृश्यले नौलो उत्सुकता छल्काउँछन् । पानी बग्दाबग्दै सुकेकाजस्ता देखिने खोल्साहरु, पहाडी चट्टानहरु बग्दाबग्दा बाँकी रहेकाजस्ता देखिने माटे ढिस्काहरु, श्वेत हिउँको स्पर्शले काला भएका ढुङ्गाहरु र कतै नाङ्गा, कतै ढकमक्क देखिने सल्लाका बोटबुट्टानहरुमा एकप्रकारको प्रतिष्पर्धा छ भूगोललाई सुन्दर देखाउने । हुन्डे नपुगुञ्जेल प्रकृतिको लीला यही लयमा चलिरह्यो । मस्र्याङ्दी आफ्नै सुरमा बगिरहिन् । हाम्रा पाइलाले पनि मनाङ्को माटो टेकिरहे ।

हुन्डे नामको सानो बस्तीमा आइपुग्यौं । यो पनि तल बेंसीमैं छरिएको फराकिलो बस्ती रहेछ । पातलापातला घरहरु सल्लाको वनभित्र परपरसम्म फिंजिएका छन् । पारिपट्टिका खिङ्रिङ्ग परेर उभिएका माटे पहाडहरु भन्दा वारिपट्टिका पाखाहरु नै केही रसिला देखिए । पिसाङ् जति त यो सम्पन्न लागेन । माटो र ढुङ्गालाई चिनेर बनाइएका पुरानो शैलीका घर देखिए धेरै यहाँ । बाटोछेउ प्रहरी चौकी पनि रहेछ । कानैसम्म तानेर ऊनी टोपी लगाएका प्रहरी हामीलाई देखेर फिस्स हाँसे । किन हाँसे थाह भएन । न केही सोधें न केही टिपे ।

हुन्डेमा विमानस्थल पनि रहेछ । तर विमान आएको, गएको, उडेको, बसेको हिजोदेखि सुनिएको छैन । मस्र्याङ्दीको छेउमा सल्लाका रुखहरु माझमा लमतन्न तन्किएको छ हुन्डेको उदासउदास विमानस्थल । लोग्ने परदेश गएर वर्षौदेखि घरको पिढी कुर्दै बसेकी उदास महिलाजस्तै देखियो हुन्डेको विमानस्थल । पैदल हिड्ने पर्यटकहरु पनि मस्र्याङ्दीको पारिपारि हिड्दा रहेछन् । विमान नआए पनि तिनै पदयात्रा गरिरहेका पर्यटकहरुको लर्कोलाई हेरेर चित्त बुझाइरहेजस्तो लाग्यो हुन्डे । एउटा साइनबोर्डमा लेखेको देखियो समुद्र सतहबाट ३३५३ मिटर उँचाई । नेपालमात्र हैन संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल हो रे यो ।

पिसाङ्बाट डेड घण्टाजतिमा पुगेका हौं हामी हुन्डे । यहाँबाट एक घण्टा जतिमा पुग्यौं भ्राका भन्ने ठाउँमा । भ्राकाबाट सडक मस्र्याङ्दी तरेर पारिपट्टि गयो । मस्र्याङ्दीको दाहिनेपट्टिको बगरैबगर कुद्न लाग्यो सडक । अगाडि भेटियो ब्रागा भन्ने सानो बस्ती । भ्राका र ब्रागा उस्तैउस्तै लागे । पिसाङ् र चामेमा पुगेको विकासको गति यहाँसम्म आइनपुगेजस्तो लाग्यो । गाउँको माझैमाझै तन्किएको धुले सडकमा कुद्ने जीपको धुलोले बेलाबेला यी गाउँको ध्यान तान्छ । नत्र सडकमा हिड्ने पर्यटकहरुपट्टि आँखा लगाउने जाँगर भ्राका र ब्रागामा खासै देखिएन । भ्राकाभन्दा अगाडि बाटोको दाहिनेतिर ठाउँठाउँमा देखिन थाले बौद्धद्वार र गुम्बाहरु । तलतिर फराकिलो र माथितिर साँगुरो पार्दै ढुङ्गा राख्दै टुप्पोमा एउटा मात्र ढुङ्गो राख्ने शैलीका यी बौद्ध देवालयहरुको आकार फरकफरक भए पनि आकृतिमा भने समानता देखियो ।

हुन्डे काटेपछि भूगोेलले सुस्तसुस्त आफ्नो रुप फेर्न लाग्यो । अघिसम्मको हरियाली एक्कासी हरायो । बोटबिरुवाहरु पातलिन थाले । क्षणक्षणमा फेरिने प्रकृतिको चित्रगाथाले आँखालाई विष्मित पार्न लाग्यो । ब्रागा पुगुञ्जेल त मनाङ्को सर्वाङ्ग आकार निर्वस्त्र भै हाल्यो । अघिसम्म हरिया बोटबिरुवाले ढाकिएका थुम्काहरु नाङ्गा देखिन लागे । ठूलाठूला सल्लाका रुख उतै छुटे । कतैकतै देखिन थाले पातलापातला काँडेझाडीहरु ।

माथिमाथिका अग्लाअग्ला हिमपाखाहरु भने उस्तै छन् । तलतलका चट्टानी पाखाहरुको रङ् झन्झन् गाढा कालो देखिन थाल्यो । हरियाली नभएका पाखा पखेराहरुका आकार अनौठाअनौठा देखिन थाले ।

उत्तरतिरका चुलु, लुगुला र खुम्जुङ्गार हिमचुलीहरु ठिङ्ग उभिएका छन् आफ्नै ठाउँमा । उनीहरु उभिएको श्रृङ्खला अलि परै हो जस्तो लाग्छ । दक्षिणपट्टिको अन्नपूर्ण श्रृङ्खला भने आँखाकै छेउनिर आएर आफ्नो कुतुकमय लीला छरिरहेको छ । अन्नपूर्णका अनगन्ती चुलीहरु कतिखेर एकअर्कोको पछिल्तिर लुकेर हाम्रा आँखाबाट छेलिन्छन् त कतिखेर हामीलाई नै अँगालो हाल्न खोजेजस्तो गर्छन् । कुनैकुनै हिमचुली त हामीभन्दा पनि होचा देखिए । हिउँ छरिएका पाखाभन्दा माथि छ कि क्या हो हामी हिडिरहेको बाटोझैं आभास भैरह्यो । सिंगुचुली, थार्पुचुली र गंगापूर्णचुलीलाई छोएर आएको चिसो बतासले सुटुक्क आएर ओंठ र गालामा म्वाइँ खाएजस्तो गरिरहेको छ ।

चिस्यानको एक धर्सो लहर दौडिदै छातीसम्म पुग्छ । शरीरभरि नयाँ अनुभूति फैलिन्छ । अक्सिजनको न्युनताको कारणले होला सास छिटोछिटो फेरिएजस्तो अनुभूति पनि हुन्छ । हिडाईको गतिमा सुस्तता आएजस्तो पनि भैसकेको छ । तर नाकले फेरिरहेको प्रत्येक श्वासमा दौडिरहेको छ आनन्दको छुट्टै तरङ्ग ।

भूगोलको आकृति फेरिदाफेरिदा पुरै भुइँ ढुङ्गा फोरेर गिट्टी थुपारेझैं देखिन थाले । फुङ्ग धुलो उडिरहेका पाखाहरु देखिन थाले जताततै । सके भूगोलको यही विचित्रता नै रहेछ माथिल्लो मनाङ्को चिनारी । पहाडी पाखाहरुमा कलाकारले बनाएका अमूर्त चित्रजस्ता माटो र चट्टानका ठाडा र चुच्चो परेका अनौठा आकृतिले हिमालको सौन्दर्यलाई पनि फिका बनाइदिएको छ । हामी यिनै आकृति हेर्दै मनाङ् पुग्यौं ।

मनाङ्को बसपार्कबाट बस्तीतिर उक्लिदा बेतोडको हावा चल्न थालिसकेको छ । अथवा यसो भनौं हावाको वेगले हामीलाई स्वागत ग¥यो मनाङ् पुग्दा । मरुभूमिको माझमा टुक्रुक्क बसेको छ मनाङ् । नाङ्गा चट्टानहरु, हिउँले डढेका पहाडहरु, मरुभूमिजस्तो माटे भूगोल, निरन्तर चलिरहने चिसो बतास र बेतोडले उडिरहेको धुलोलाई व्यहोर्दाव्यहोर्दा मनाङ् आफै थकित भएको त हैन ? यस्तै भनिरह्यो मनाङ्को उदासीले । यस उदासीलाई रङ्गीन बनाउने दायित्व भने तिनै माथिमाथिका हिमचुचुराहरुले मात्रै लिएका रहेछन् कि क्या हो ?

यही मनाङ् गाउँको नामबाट हो मनाङ् जिल्लाको नाम रहेको । राजा महेन्द्र पहिलो पल्ट २०२२ सालमा यहाँ पुगेका थिए रे । आफ्नै भौगोलिक सौन्दर्यमा रमाइरहेको मनाङ्ले त्यसपछि मात्रै आफ्ना आँखा खोलेर परपरको संसारसित मितेरी लगाउन पाएको हो रे ! मनाङ्वासीहरुलाई राष्ट्रिय मूलधारमा मिसाउन राजाद्वारा उनीहरुले विदेशबाट ल्याएका सामाग्रीलाई करमुक्त गर्ने घोषणा गरिएको थियो रे ! त्यसरी व्यापारमा हात हालेका मनाङ्वासीहरु छ दशकको अन्तरालमा देशकैं प्रमुख व्यापारिक समुदायको रुपमा चिनिने भैसकेका छन् । अचेल त मनाङ्वासीहरुले व्यापारमा आफूलाई यसरी लिप्त गरिसकेका छन् कि यहाँ खेती किसानी गरेको कतै देखिदैन । त्यसै त मनाङ्का नाङ्गा पाखापखेराहरु झन् खेती किसानी नै गर्न छाडेपछि त भैसकेका छन् झनै नाङ्गा ।

हामीले खाएको पाइन नट ब्रेड समेत यहाँको स्थानीय रहेनछ । यहाँ यति बाक्लो सल्लाको वन भए पनि रोटी बनाउने सल्लाको पिठो त बाहिरबाटै आउने रहेछ । यहाँका सल्लाका रुख केवल फर्निचर बनाउन मात्रै प्रयोग हुँदा रहेछन् । सल्लाको फललाई टिपेर पिठो बनाउने प्रबिधि अझैं यहाँ भित्रिएको रहेनछ ।

टङ्की र मनाङ् नामका दुइटा गाउँ मिलेर बनेको मनाङ् यो जिल्लाकै सबैभन्दा ठूलो बस्ती रहेछ । ठूलाठूला घर, भवन, होटल, चाक्लाचाक्ला बाटा र झकिझकाउ पसल देखिए मनाङ्मा । स्थानिय कला र मौलिकतालाई आधुनिकताले बिस्तारै थिच्दै ल्याएजस्तो लागिरह्यो । बौद्ध गुम्बाका भित्ता, झ्याल ढोका र द्वारभन्दा बाहेक अन्यत्र यहाँको मौलिकता कतै भेटिन्न । आधुनिकताको रङ्मा डुबेर आफैमा मग्न छ मनाङ् ।

मनाङ्मा खाना खाउँ कि नखाउँ जस्तो भयौं । खाने समय त भैसकेको छ । तर बिहान पिसाङ्मा खाएको पाइन नट ब्रेड पचेकै छैन । पेट रित्तो नभए के खानुँ ?

‘भो अङ्कल नखाउँ भरे खाङ्सारमैं खाउँला फेरि पाइन नट ब्रेड !’ गुरुप्रसाद बुलबुलले यसो भनेपछि मैले पनि खाने रहर गरिनँ । एकोहोरो चलिरहेको बतास छिचोल्दै तलदेखि माथिसम्म एक फन्को मा¥यौं बस्तीको । यति गरेपछि एकैछिनमा सम्पन्न भयो हाम्रो मनाङ्को भ्रमण ।

‘खाली छ.. खाली छ.. खाङ्सार ..खाङ्सार…!’ मनाङ्बाट ओरालो झर्दै गर्दा चिच्याएको सुनियो एकजना मान्छे । खाङ्सार जाने जीपका ड्राइभर रहेछन् । बेतोडले चलिरहेको छ चिसो हावा । यस्तो हावामा एघार किलोमिटर बाटो हिडेर खाङ्सार पुग्न सकस नै हुने देखियो । खाङ्सार नपुगुञ्जेल बाटोमा बस्ने व्यवस्था कतै छैन । यसो सुनेदेखि खाङ्सारसम्म हिडेर जान अल्छी लाग्न थालेको थियो । जीप ड्राइभरको निम्तोले हाम्रो हिड्ने जाँगर झन् सुस्तायो ।

‘बरु उताबाट फर्किदा बिहानको समय पारेर यहाँसम्म हिडेर आउँला हुन्न ?’ मैले यसो भनेपछि गुरुप्रसाद बुलबुलले पनि सहमति जनाइहाले । हामी त्यही जीपमा चढ्यौं । मिनप्रसाद विश्वकर्मा रहेछ जीपचालकको नाम । खाङ्सार जाने दुई जनामात्रै यात्रु भएकोमा निराश छन् उनी । ‘उताबाट पाइने मान्छे आशाले रित्तै पनि जान लागेको हुँ सर नत्र दुई जनाको हजार रुपियाँले त तेल पनि पुग्दैन’ पोखिहाले दुःखेसो ।

मनाङ्बाट पश्चिम दिशालाई गन्तव्य बनाएर कुद्यो जीप । जीपले उडाएको धुलो र हावाले उडाएर ल्याएको धुलोको मिलनले धुलाम्य भएको छ वातावरण । ठूलाठूला ढुङ्गाका बार लगाइएका नाङ्गा खेतवारीको माझैमाझैबाट अविरल कुदिरह्यो धुले बाटो । हामीले काटेर आएको अघिको बाटोजस्तो यतातिरिको बाटो सजिलो रहेनछ । तलमाथि, बाङ्गोटिङ्गो, दायाँबायाँ घुम्दै अघि बढिरह्यो । बाटो वरपर हेर्ने आकर्षक कुरा केही छैनन् । माथिमाथि आँखा लगाउने हो भने हिमचुलीहरु देखिन्छन् । तिनै उज्याला हिमचुलीभन्दा बाहेक सबै कुरालाई यतातिर उजाड बनाएको छ प्रकृतिले ।

मस्र्याङ्दीको उत्तरपट्टिको बगरमैं एकोहोरो कुदिरह्यो बाटो । उसै त नाङ्गो छ पहाड । बोट, वनस्पति, रुख, विरुवा, कतै नभएपछि सारा वातावरण नै सर्वाङ्ग उदाङ्ग देखिएको छ । वर्षामा उम्रेका बुट्यान र झाडीहरु पनि सुकिसकेका छन् । अन्यत्रबाट ढुङ्गा र माटो बोकेर ल्याई यहाँ छरपष्ट पारेर थुपारेको जस्तो लाग्छ भूवनोट । डोजरले खनेको, खोस्रेको बाटोले झन् सिङ्गो धर्तिलाई नै उल्टाइदिएको जस्तो लागिरह्यो ।

पुग्यौं श्रीखर्क नामको सानो बस्तीमा । बस्ती पनि के भन्नु ? अवस्था त यहाँको खर्कजस्तै छ । यद्यपि ‘खर्क’ ले गोरु र गाईबस्तुको संकेत गरे पनि यहाँ न मान्छेको चहलपहल देखियो र गाईबस्तुको उपस्थिति । बरु बाटो वरपर चरिरहेका छन् दुईचार वटा कालाकाला अजङ्गका चौरीगाई । हरियो घाँस पात, पतिङ्गर केही पनि नभएको शुष्क माटोमा यी चौरीगाईले के चरेका होलान् ? चरेको नभएर चरेको अभिनय गरेका मात्रै हुन् कि ? यस्तै भनिरहेको छ मन ।

बाटो एक ठाउँमा मस्र्याङ्दीको बगर छोडेर माथिमाथि उक्लियो । उक्लिदाउक्लिदै अलि माथि नै पुग्यो । पुरै चिस्यान छ बाटो वरपर । बाटोको माथिपट्टि हिउँका थुप्रा देखिए । पग्लिदै रहेछ हिउँ । हिउसंग सानासाना ढुङ्गा पनि बगिरहेका छन् । पानी बगेको हो ? या ढुङ्गामाटो बगेको हो ? अलमलिए आँखा एकछिन त ।

‘यो त हेर्दाहेर्दै ठूलै पहिरोजस्तो बन्न बेर लगाउन्न कहिलेकाहीं त !’ बोले जीप चालक मिनप्रसाद विश्वकर्मा । ‘हिजो रातीको हिउँ हो । दिउँसो घाम चर्किदै गएपछि हिउँ पग्लिन थाल्छ’ सुनाउँदैछन् उनी ।
हिउँले भिजाएको माटे बाटोमा जतनपूर्वक कुदाइरहे उनले जीप ।

दुई किलोमिटर जति तेरपायाँतेरपायाँ कुदेपछि पुग्यौं खाङ्सार । ठूलाठूला अक्षरमा स्वागतम् लेखिएको ढुङ्गे द्वारको सिढि चढ्दै खाङ्सारको बस्तीमा उक्लियौं । चारैतिर शुष्क भूवनोट भए पनि बस्तीको बाटो भने चिसै छ । हिजो राती परेको हिउँ पग्लेर भिजेकोले रहेछ ।

हामी पुग्यौं मेसोकान्तोला होटेलमा । भेटिइन् साहुनी छिरिङ किन्जोङ् गुरुङ् । होटलको वातावरण सुनसान नै भए पनि कोठा भने सजिलै पाइएन । कोठा लिएर बसेका पर्यटकहरु घुम्न हिडेका रहेछन् । ‘उसो भए अर्को होटलमा राख्छु त’ हाम्रो जीपका चालकले भनेपछि साहुनीले बल्ल एउटा कोठा दिइन् । अर्को पटक यात्रु नल्याइदेला भन्ने पिरले जीप चालकको चित्त भरसक नदुखाउने चलन रहेछ यतातिर । कोठा पाएपछि झोला राख्यौं । वाईफाईको पासवर्ड टिप्यौं । साहुनी भने आफ्नी एउटी स्टाफलाई हाम्रो खानाको व्यवस्था गर्न लगाएर हिडिहालिन् ‘मिथा पर्वमा अनिवार्य उपस्थिति हुनु पर्ने नियम छ सर । नगए घण्टाको हिसाबले दण्ड तिर्नु पर्छ’ भन्दै । हामीलाई घाम नडुब्दै खाना खानु थिएन । बिहानको पाइन नट ब्रेड पचेकै छैन । तातोतातो चिया पिउँदा जिउमा नयाँ फुर्ति आएपछि हिड्यौ खाङ्सारको परिभ्रमणमा ।

हामीलाई लोभ्याएको छ मिथा पर्वले । दौडिदै पुग्यौं स्थानिय आधारभूत प्राथमिक विद्यालयको प्राङ्गणमा । भेला भएका छन् थुप्रै मान्छेहरु । केही युवाहरु स्थानिय पहिरन लगाएर धनुष प्रतियोगीतामा जुटेका छन् । पेमा छिरिङ गुरुङ् नाम गरेका भेटिए एकजना बृद्ध । उनैसित गफिन लागेँ म ।

‘यसमा त बाजी हुन्छ । दुई लाख पच्चिस हजारसम्म पुगिसकेको छ आजको बाजी’ सुनाए उनले । हामी बसेकै होटलका साहुजी कान्छा गुरुङ्ले लगाएको कान छोप्ने लामो टोपी मागेर लगायौं । उनकै घनुष समातेर फोटो खिच्यौं । धनुषको आकार बडेमानको हुने रहेछ । ठूलाठूला तारले गितारलाई बाँधेजसरी धनुष पनि तारैतारले बाँधिएको हुने रहेछ । प्रतियोगिता चलिरहेकोले धनुष हान्ने अवसर भने पाइएन ।

मिथाको रौनक चलिरह्यो । यता मनभित्र हाम्रो पनि खाङ्सार वरपर डुल्ने रहरले छाल हानिरहेको छ । निस्कियौं त्यहाँबाट । बस्तीभन्दा बाहिरको खुला वातावरणमा बेतोडले चलिरहेको बतासले हाम्रो डुलाईलाई अवरोध गर्न लाग्यो । यो निर्दयी बताससंग जोरी खोज्नु पनि भएन । हावाबाट कान र ओंठ जोगाउन सकिएन भने बिरामी पर्ने पिर छ ।

दक्षिणपट्टिको खाङ्सार र अन्नपूर्णका लहरै चुचुराहरु भने नाकैनिर आएर उभिएका देखिए । उत्तरतिर चीनको सीमानामा उभिएको लुगुला हिमाल र अलि पश्चिमतिरको थोराङ्ला र तिलिचो हिमाल हेर्न त अलि माथि नै उक्लिनु प¥यो । एक किलोमिटर जति माथिको पाखोमा पुग्न पनि सकिनौं । श्वास बढेर ढक्क छाती फुलेपछि खुट्टा पनि फतक्कै गल्दा रहेछन् । यो पाखोमा दुई तीन पल्ट तलमाथि ग¥यो भने हिमाली उँचाईसंग हाम्रो शरीरले तालमेल मिलाउला भन्ने आशले खाङ्सारका नाङ्गा पाखामा तलमाथि गरिहेका छौं । योजना त हाम्रो तिलिचोसम्मै पुग्ने छ । तिलिचोसम्मको यात्राको उत्सुकताले खाङ्खारका सबै उकालाओराला हिडेर भ्याउनु छ आज र शरीरलाई पार्नु छ बलियो ।

३७५६ मिटरको उँचाईमा छ यो खाङ्सारको बस्ती । माथिल्लो मनाङ् उपत्यकाको पल्लो पुछारमा रहेको खाङ्सारभन्दा पर गाउँ छैनन् । मनाङ्को यस अन्तिम गाउँमा पुगेपछि उर्लिएका उत्सुक रहरहरु कुनै बेला डर बन्न खोज्छन् कुनै बेला खुसी बन्न खोज्छन् । नाकले छिटोछिटो तानिरहेको प्रत्येक श्वासमा कुतुहल र जिज्ञासामात्रै होइन आनन्द पनि दौडिरहेको आभास भैरह्यो ।

घाम पनि पश्चिमपट्टिको हिमालको काखमा लुक्न जान तम्सिदै छ । थाकेका खुट्टा लिएर हामी फर्कियौं उही मेसोकान्तोला होटेलमा । साहुसाहुनी आइसकेका छैनन् । एउटी लजालु युवतिले तातो चिया पिलाइन् । आगो बलिरहेको फलामे चुलोको वरिपरि झुम्मियौं । यी लजालु नानी ‘अँ दाइ र नाइँ दाइ’ भन्दा अरु केही बोल्दिनन् । खाने कुराहरु माग्न पनि असजिलो भयो साहुसाहुनी नआउँदासम्म हामीलाई । गुरुप्रसाद यी नबोल्ने नानीलाई अनेक कुरा सोधेर बोल्न थाले । उनी भने केवल पुलुक्क हेरेर लजाउँछिन् र मुन्टो लुकाउँछिन् मात्रै । ‘अँ दाइ र नाइँ दाइ’ भन्दा अरु शब्द उनको मखबाट निस्किन्न ।

पछि साँझपख साहुनी आएपछि पो थाह भो यिनी त राम्ररी नेपाली पनि बोल्न नजानेर पो लाज मान्दिरहछिन् । राधनी गुरुङ रहेछ यिनको नाम । धार्जे नाउँको विकट गाउँबाट काम गर्न आएकी रहिछन् यहाँ । उमेरले बीस वर्षकी रहिछन् । तलब कति छ ? भनेर सोध्दा मुन्टो मात्रै हल्लाउँदै बुझेर हो या नबुझेर हो थाह छैन मात्रै भने जस्तो गरिन् । किन ? भनेर नसोधिरहन सकिनँ । उनी आफ्नो उही शैलीमा ‘खै डाई’ भनेर उसैगरि निहुरिन् ।

त्यस्ती अबोध, निश्छल र आफ्नै नैसर्गिक स्वभावमा सीमित रहेकी युवतीलाई देख्दा हामी पनि अचम्भित भएका छौं । ‘यस्ती सोझी युवति कुन दुष्टको फेला परेर बिग्रिने हुन् है अङ्कल’ पिर मानिरहे गुरुप्रसादले ।

अँध्यारोले खाङ्सारलाई आफ्नो आगोसमा बाँध्दै गएपछि चिसो झन्झन् बढ्न थाल्यो । माथिमाथि आकाश गर्जिन थाल्यो हिजोकै जस्तो गरेर । उँचाईको कारणले हो या चिसोको कारणले हो टाउको अलिअलि भारी भएजस्तो भयो । हिमाली भेगमा जाँदा सबैभन्दा बढी जोगाउनु पर्ने ओंठ र कान हुन् हिजो तेजबहादुर पुरीले भनेको सम्झिएँ । दिउँसो हिड्दा हेलचेक्रयाइँ भै हाल्यो । ओठमा मास्क लगाएकोले ओठ फुट्नबाट त जोगिएँ तर कान छोप्न भने बिर्सिदोरहेछु । मन लागुञ्जेल फोटो खिचेर धीत मार्दा ध्यान दिइएन । दिउँसो डुल्दा कानबाट पसेको त्यही चिसो बतासले हुन सक्छ टाउको गरुङ्गो भएको । शरीरले अस्वस्थताको संकेत गरे पनि मन भने आफ्नै आनन्दमा आल्हादित छ । प्रत्येक श्वासमा आनन्दको अनुभूति गर्दै टाउको गरुङ्गो भएको यथार्थलाई बिर्सिने चेष्टा गर्न लागें ।

खाङ्सारको पहिलो बिहान भने हाम्रो पक्षमा दिएन । हिजो नाङ्गै देखिने खाङ्सारभन्दा माथिमाथिका पाखाहरुले अहिले त हिउँको काम्लो ओढेका छन् । हिजो पिसाङ्को न्यानो बिहानजस्तो छैन खाङ्सारको यो बिहान ।
‘यस्तो मौसम बिग्रेको बेलामा नजानुहोस् दाई तिलिचो । तपाइँहरु नयाँ हुनुहुन्छ । दुःख पाउनु होलाजस्तो लाग्यो’ साहुजीले यस्तो भनेपछि हाम्रो पनि मन मरेर आयो ।

‘समय मौसम र स्वास्थ्यले साथ दियो भने कुनै दिन फेरि आउँला अनि भेटौंला । आजलाई तिमीसित यहींनिरबाट छुुट्टिएँ है तिलिचो’ भनें मनमनै । अनि मेरो सुस्वास्थ्यको कामना गरिरहने आफन्तीहरुलाई सम्झेर फेसबुकमा यो मुक्तक पोष्ट गरेँ खाङ्सारबाट फर्किनुअघि ः

उकालो चढ्न दिएन हजुरको सम्झनाले
बाटोमा लड्न दिएन हजुरको सम्झनाले
एकोहोरो पर्खाइरह्यो गोरेटोमा केवल
अगाडि बढ्न दिएन हजुरको सम्झनाले ।

प्रत्येक श्वासमा आनन्द

खगेन्द्र गिरि ‘कोपिला’