डख्खिन टेंर्ही अक्षर उत्सवः एक यात्रा

ललित के.सी.
१० माघ २०८०, बुधबार
डख्खिन टेंर्ही अक्षर उत्सवः एक यात्रा

संस्मरण

डख्खिन टेंर्ही अक्षर उत्सवः एक यात्रा

चिसो मौसम रुघाखोकी लागेर सरीरलाई केही थकान महसुुस भएकोले बिहानै उठ्न पनि सकिएन छ । अब त उज्यालो भयो होला भनेर मोबाइल हेरियो । मोबाइलमा ३ पटक कल आएको रहेछ र नेट खोलेर हेर्दा समेत म्यासेन्जरमा म्यासेज आएको रहेछ । भाई यहि मंसिर २७ गते कैलालीको डख्खिन टेंर्हीमा साहित्यिक कार्यक्रम छ, २६ गते साँझ पुग्ने गरि जानुपर्छ र २८ गते गर्भा दरबार हेरेर घर फर्कौंला । तपाई र म जामला है भाई । वरिष्ठ साहित्यकार खगेन्द्र गिरि कोपिलाको म्यासेज थियो । मैले पनि छोटकरीमा जवाफ फर्काइ हाले । हस सर जामला म त तयार छु । पुनः म्यासेज आयो । रमाइलो हुने भयो भाई । म अब कैलाली जाने तयारीमा जुटिसके । दिउँसोतिर मोबाइलमा कैलालीका पत्रकार तथा गजलकार सागर कुस्मीको म्यासेज पनि आयो । सर २७ गते कार्यक्रम छ कोपिला सर संग सल्लाह गरेर २६ गते बास बस्ने गरि आउनुहोला । झन मलाई खुसी लाग्यो आयोजकले नै बोलाए पछि त अब भने जसरी पनि जानैपर्छ ।

मैले सागरजीलाई कार्यक्रममा को को आउनुहुन्छ भनेर म्यासेज पठाए । जवाफमा दांगबाट नीमबहादुर थापा, छबिलाल कोपिला, गुरुप्रसाद बुलबुल, बाँकेबाट खगेन्द्र गिरि कोपिला, सुर्खेतबाट तपाई, बर्दियाबाट जेबी अनुरागी, कन्चनपुर र कैलालीका अन्य साहित्यकारहरु आउनुहुन्छ । प्राय जसो बाहिरबाट जाने परिचित अनुहार र मन मिल्ने आदरणीय अग्रज व्यक्तित्वहरुको नाम सुन्दा नै खुसी लाग्यो । कतिखेर कार्यक्रममा पुगमलाझंै भई रह्यो ।

२६ गते बिहानै ५ बजे उठेर कोहलपुरको गाडीको लागि ६ बजे नै बसपार्कमा पुगिहाले । मौका पनि कति राम्रो मिल्यो कि, बिहान ६ बजे नै कोहलपुरको लागि गाडी तयारी अवस्थामा रहेछ । कोपिला सरको आदेश थियो कि बिहान ०९ः३० मा कोहलपुर बसपार्कमा आईपुग्नु भनेर । बिहानको चिसोको वास्ता नगरि म पनि ९ बजे नै कोहलपुर पुगिहालें । कोहलपुरमा बिहानको खाना खाएपछि केहीबेरमा नेपालगंजदेखि अग्रज साहित्यकार कोपिला सर कोहलपुर आईपुग्नु भयो । केही समयको भेटघाट र भलाकुसारी पश्चात हामी कोहलपुर देखि कैलालीको लागि मोटरसाइकलको यात्रामा अघि बढ्यो ।

उमेरले ६ दसक लाग्दै गर्नुभएका कोपिला सर अझै प्रष्ट जवान नै देखिने, मीठो बोल्ने, राम्रो व्यवहार गर्ने यहि भएर त होला उहाँ संगको यात्रा साह्रै रमाइलो हुनेगर्छ । बाटोमा कुराकानी गर्दै जाम है भाई, पछाडी फर्कदै मन्द मुस्कान साथ मलाई भन्दै हुनुहुन्थ्यो । म पनि गफ गर्नमा कहाँ कम थिए र ? रमाइलो कुराकानी बीच मोबाइलमा बेलाबेलामा हाम्रो लोकेसन सोधिरहने सागरजीको व्यवहार पनि कति मीठो हो । पुर्व पश्चिम राजमार्ग अति नै व्यस्त राजमार्ग हो । त्यो त सबैलाई थाहा नै छ । हामी केही समयको अन्तरालपछि बबई नदीमा पुग्यो र कोपिला सरको आदेशमा फोटा खिच्ने काम सुरु भयो । केही समयपछि हामीले यात्रालाई निरन्तरता दिन अघि बढ्यौं । केही समयको हाईवेको यात्रा पछि हामी सैनावार चेकपोष्टबाट बायाँतिरको लोकमार्गको प्रयोग गर्याैं । गाउँ नजिक पुग्नसाथ गाउँको मीठो सुगन्ध आयो भनेर कोपिला सरले मलाई भन्दै हुनुहुन्थ्यो । हुन पनि हाईवेको यात्रा भन्दा ग्रामीण भेगको यात्रा सारै रमाइलो हुदोरहेछ । रमाइलो गाउँ सडकको दायाँबायाँ तोरी र गहुँले झनै रमाइलो बनाउने गरेको थियो । केही समय पछिको यात्रा पछि हामी कोठियाघाटको लामो पुलमा पुगेर पुनः फोटो खिचाउने र विश्राम गर्न लाग्यौं ।

दिउँसोको २ बजिसकेको थियो । हामीलाई भने बेलुकासम्म गन्तव्यसम्म पुग्नुपर्ने थियो । तराईको फाँटहरुमा सडकको दायाँबायाँ खेतबारीहरुमा बढिरहेको अन्नबाली र फलफुल सागपातलाई हेर्दै र कोपिला सरको ज्ञानवद्र्धक कुराहरु सुन्दासुन्दै कतिखेर कैलालीको भजनी समेत आईसकेछ । बिस्तारै सुर्यको किरणले पनि बिदा लिनेबेला भईरहेको थियो । यसै बीच करिबकरिब बेलुकी ५ बजेतिर हामी कैलारी गाउँपालिकाको डख्खिन टेंर्ही भन्ने गाउँमा पुग्यौं । जहाँ हामीलाई स्वागत गर्न सागर कुस्मीजी बस्नुभएको रहेछ । सागरजी संग केहिबेरको भलाकुसारी गर्दागर्दै दाङबाट नीमबहादुर थापा, छविलाल कोपिला र गुरुप्रसाद बुलबुलको टोली पनि हामी भएको ठाउँमा आईपुग्नु भयो । झन उक्त ठाउँको वातावरण रमणीय भए झै लाग्यो । बेलुकासम्म आउनुपर्ने सबैजना अतिथिहरु आइसक्नुभएको थियो । आउन बाँकी जेबि अनुरागी समेत केहिबेरपछि आईपुग्नुभयो । टाढाबाट जम्मा भएका पाहुनालाई सागरजीको घरमा राम्रोसँग स्वागत सत्कार सहित भोजन र आवासको व्यवस्थापन भयो । हामीले रातमा भोलीको कार्यक्रमको बारेमा केही छलफल गर्यौं । सबैभन्दा महत्वपूर्ण त उक्त कार्यक्रम सागरजीको एकल प्रयासमा हुनलागेको थियो सो बिषयमा समेत सबैले सागरजीको उच्च प्रसंशा गरे । अन्धकारमय रातको कालो पर्दालाई छिचोल्दै सुन्दर बिहानीले कतिखेर जन्म लिईसकेछ । बिहानको नित्यकर्म संगै हामी कार्यक्रमको तयारीमा लाग्यौं र केही समयपछि बिहानको खानपछि हामी सबैजना कार्यक्रम स्थलतिर लाग्यौं ।

एउटा साहित्यिक कार्यक्रम आयोजना तथा संचलान गर्न कति कठिन हुन्छ । झन सागरजीलाई एउटा व्यक्तिले यतिटाढासम्मका पाहुनालाई बोलाएर गर्न लागेको कार्यक्रमको खुलेरै प्रसंसा गर्नतिर पुग्यौं । सुरुवातमा त कार्यक्रममा उपस्थित कमै होलान् जस्तो अनुमान गरिएको थियो तर बिस्तारै उपस्थितिमा सोचेको भन्दा बढि देखियो । केटाकेटी देखिन युवायुवती वृद्धाहरु सबैको उपस्थितिले कार्यक्रमको रौनक झनै बढाएको थियो । थारु भाषाको विभिन्न गीतरुमा थारु भेषभुसा सहितका कलाकार, चेलीहरु साथै हास्यव्यंग्य कलाकार, विभिन्न ठाउँबाट आउनुभएका साहित्यकारहरुले रचना वाचन र जनप्रतिनिधिको मन्तव्य सहित कार्यक्रम चलेको थियो । सबैभन्दा उपलब्धी त दंगाली साहित्यकार नीमबहादुर थापाको पहलमा उक्त ठाउँका किशोरकिशोरीहरुको उपस्थितिमा कैलारी साहित्यिक मन्च समेत गठन गरि उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो ।

कार्यक्रमको नाम अक्षर उत्सव राखिएता पनि साहित्यका पाटाहरु कविता गजल मुक्तक साथै साँस्कृतिक कार्यक्रम गीत, नृत्य र हाँस्यव्यंग्य कलाकारद्वारा दर्सकहरुमा निकै नै रमाइलोपन छाएको प्रष्ट हुन्थ्यो । मलाई लागिरहेको थियो कि सानोतिनो कार्यक्रम होला तर सोचेको भन्दा नै बढी आनन्दमय कार्यक्रमले नौलोपन ल्याएको थियो । वरिष्ठ गजलकार खगेन्द्र गिरि सरको मर्मस्पर्शी गजल साथै दंगाली साहित्यकार नीमबहादुर थापा दाजुको दर्सक तथा उक्त टोलका किशोरकिशोरीलाई साहित्य सम्बन्धि ज्ञानगुण ओजनदार भनाईहरु र प्रेजिना चौधरी, जुनु चौधरी बैनिको थारु भाषाको भेषभुसामा सुसज्जित पहिरनले थारु कल्चर गीतमा गरेको डान्स प्रस्तुतिलाई कहिले पनि भुल्न सकिदैन । समग्रमा भन्नुपर्दा आयोजकले अथक प्रयासमा सुरुवात गरिएको उक्त कार्यक्रमले छुट्टै पहिचान र सन्देश दिएको उपस्थित सबैले मनन गरेको पाईन्थ्यो । डख्खिन टेंर्ही अक्षर उत्सव कार्यक्रम एक ऐतिहासिक कार्यक्रम हुन गयो ।

अर्को बिहान मंसिर २८ गते गर्भा दरबार हेर्न जाने तयारीका साथ हाम्रो टोली त्यहाँ डख्खिन टेंर्ही गाउँबाट बिदाई भएर नुक्लिपुरका युवा व्यवसायी दिनेश दहितले संचालन गर्नुभएको नुक्लिपुर सामुदायिक होमस्टेमा बास बस्न त्यता तर्फ लाग्यौं । बाटोमा डुढिया गाउँ नजिक जंगलको छेउमा रहेको डुबरी तालको अबलोकन गर्दै कोपिला सर, म र बुलबुलले उक्त तालमा केही समय बिताउदै तालको चौकीदारलाई उक्त तालको बारेमा केही जानकारी लिदै र केही थान फोटाहरु कैद गर्दै केहि समय पछि हामी नुक्लिपुर होम स्टेमा पुग्यौं । होम स्टेमा पुग्ने बितिकै होम स्टे संचालक दिनेशजीको सपरिवार हामीलाई स्वागत गर्न हातमा फुलको माला लिएर बसेको देख्दा छुट्टै अनुभुति भयो । स्वागत ग्रहण पश्चात कोपिला सर अलि बढी थकित महसुस गरेर आराम गर्न थाल्नुभयो तर हामी अन्य भने रात्री भोजनको लागि बिबाह पाटिमा सरिक भएर रमाइलो गर्नतिर लाग्यौं । मलाई भने थारु जातिको बिबाहको पहिलो अनुभव लिन पाउँदा झनै खुसि महसुस भईरहेको थियो । रात्रीकालिन खानपिन पश्चात हामीहरु आरामको लागि होम स्टे तिर लाग्यौं । अन्धकारमय रातको कालो पर्दालाई छिचोल्दै सुन्दर बिहानीले जन्म लिईसकेछ । मोबाइल हेरे मोबाइलको म्यासेज बक्समा सागरजीको म्यासेज देखे । सर कोपिला दाजुलाई चाडो उठाउनु र चाडो हामी गर्भा दरबार हेर्न जानुपर्छ ।

म पनि नयाँ ठाउँमा नयाँ बिषयमा अध्ययन गर्न पाईने भयो भनेर सोच्दै थिए । अचानक घर देखि छिटै आउनु भन्ने फोनले भ्रमण छोट्याएर फर्कनु पर्ने बाध्यता आईपर्यो । उक्त समस्या सागरजी, कोपिला सर र नीमबहादुर सरलाई दर्साएर गर्भा दरबार हेर्ने ढोको मनमा बोकी राख्दै सम्पूर्णबाट बिदा भएर म कैलालीबाट कोहलपुर को गाडिमा घरतिर फिर्ता भए । मेरो गर्भा दरबार हेर्ने ढोको पूरा नभए पनि हाम्रो बाँकी टीमले उक्त गर्भा दरबारको अबलोकन गरेर फर्केकोमा खुसीको अनुभुति संगै पुनः कैलालीले सम्झिएछ भने आफ्नो पनि ढोको पूरा गर्ने आसामा छु । धन्यवाद ।

ललित के.सी.
सुर्खेत

डख्खिन टेंर्ही अक्षर उत्सवः एक यात्रा

ललित के.सी.