नियात्राः कैलालीको डख्खिन टेंर्ही र गर्भा दरबार

नीमबहादुर थापा
११ माघ २०८०, बिहीबार
नियात्राः कैलालीको डख्खिन टेंर्ही र गर्भा दरबार

नियात्राः कैलालीको डख्खिन टेंर्ही र गर्भा दरबार

नीमबहादुर थापा

विषय प्रवेश
कात्तिकको दोस्रो सातादेखि नै कैलाली क्षेत्रका स्थापित पत्रकार तथा साहित्यकार प्रिय भाइ सागर कुस्मीले मंसिरको महिना कार्यक्रम गर्ने मिति मागेका थिए । मैले देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको भवन निर्माण समितिको संयोजक हो र भवनको मंसिर १६ गते उद्घाटन एवं वार्षिक कार्यक्रम पक्का भएको छ । मंसिर ११ गते लुम्बिनीमा “बुद्ध र विश्व शान्ति” विषयक विचार गोष्ठी राखिएको छ जसको म देउखुरी संयोजक हो । मंसिर १३ गते कान्छो सालाको काठमाडौंमा विवाह छ । काठमाण्डौंमै दाजुको घरमा निम्न कार्यक्रम रहेका छन । मंसिर १६ गते रुद्री पूजा लाखबत्ती प्रज्वलन, २१ गते भतिजोको विवाह जन्त जाने र २३ गते प्रीतिभोजमा सहभागी हुनैपर्नेछ । मंसिर २५ गते घर फर्किन्छु त्यसपछि जहिले राख्छौ म हाजिर हुनेछु भनेर जवाफ दिएँ । यो प्रतिबद्धता नै थियो ।

कैलालीतिर प्रस्थान

मंसिर २६ गते बिहान १० बजे हिड्ने सल्लाह थियो बेलुका । लामो धपेडी भएर होला, बिहान ज्यानमा सञ्चो भएन । जान्न भन्नु धोकाजस्तै हुने, जानु सञ्चो छैन । ज्यान दुख्ने, वाकवाक लाग्ने, डकार आउने, जाँगर नलाग्ने यस्तै थियो समस्या । फ्रेस हुनलाई जबर्जस्ती गाई गोठको नित्यक्रम सकेर नुहाएँ । चिया पिएँ । मित्र छविलाल कोपिलाजीले अब तयार हुनुस् म एकछिनमा हिड्छु, लमही बसपार्कमा भेटौं भन्नु भो फोनमा । म दोधार मै थिएँ । चिया पुरानै बाटो फर्किन खोज्यो । चियालाई बाटो दिँदा बेलुकाको सबै फिर्ता भयो । आखिर एक गिलास तातो पानी पिएर बाटो लागियो । कैलालीको बर्हैपुर चौकमा संरक्षणकर्मी मित्र मानबहादुर चौधरी र भतिज दिनेश दहितले स्वागत गरे । उता राजापुर हुँदै बाइकमा यात्रा गरेका प्रिय भाइहरु खगेन्द्र गिरी कोपिला र सुर्खेतका ललित केसी सम्पर्कमै थिए । हामी गुरुप्रसाद कुमाल ‘बुलबुल’ समेत तीनजना थियौं । अब बाइकमा चढेर दक्षिणतिर कुदियो । झम्के साँझ पूर्व नै हामी आयोजक सागर कुस्मीको घर कैलारी गापा–८ डख्खिन टेंर्ही गाउँमा पुगेर स्वागतको माला पहिरियो । त्यतिबेलै राजापुरबाट प्रिय भाइ जेबी अनुरागी आइपुग्नु भो ।

मंसिर २७ गते कार्यक्रमको दिन

बेलुका २४ घण्टापछिको तातो खाना खाएर सुतियो । छेउछाउको ट्रैक्टर घुराइले खासै असर गरेन । कार्यक्रम ११ वजेपछि थियो । बिहान गाउँ घुम्ने, परिचय गर्ने, रमणीय र रहरलाग्दो खेती, पुरानै शैलीका सम्पन्नशाली काठे घर अवलोकनमा भुलियो । ९०% देउखुरिया चौधरी परिवार रहेछन् तर कुन गाउँबाट भन्ने छुट्याउने सजिलो तरिका यस्तो रहेछ । कोलराहान घर भनेको कोलहीबाट, सोनपुरान सोनपुरबाट, कट्क्याने कट्यानगाउँबाट, गुर्वाने गढवाबाट यस्तै अन्य गाउँबाट गएको पत्तो लाग्दो रहेछ । किन कि पुराना पुस्ता भेटाउन सकिएन । सानोतिनो खेतीका लागि राँगा गोरु जोत्ने चलन अझै कायम रहेछ । गाउँको सिरानैमा “टेंढी सिंचाई” को भब्य बाँध, कार्यालय भवन र फराकिलो मैदान रहेछ । सिंचाईको व्यवस्था रहे पछि खेती उर्वर त हुने नै भयो । देउखुरीको थारु भाषा, रहनसहन, संस्कृति सबै मिल्ने भएकोले कैलाली गएजस्तो लागेन मलाई । तर लेहङ्गा चोलिया, बलाउज लगाएका पुराना दिदीबहिनीहरु भने देख्न पाइएन ।

कार्यक्रम स्थलमा प्रवेश

स्थलमा पुग्दा बाल क्लवका नानीहरु (एकजनामात्रै बाबु थियो शुरुमा) मञ्चका लागि एककोठाको टेण्ट टाङ्दै थिए । हरिराम चौधरीले हातमा बछुला र केही किला लिएर आउनु भो । उहाँले किला तिखार्ने र मित्र छविलाल कोपिलाले ठोक्नु भयो । सहभागी गाउँबासीहरुका लागि पिठ्युँमा घाम लाग्नेगरी कार्पेट, डरी र गुन्द्री बिछाइयो । टेण्ट टाङ्न आउने नानीहरु सबै कक्षा ११, १२ मा पढ्ने विद्यार्थी थिए । यो कार्यक्रमको आयोजक सागर कुस्मी (व्यक्ति) थिए । मलाई लाग्यो, आगामी वर्षको आयोजक एउटा साहित्यिक संस्था बनोस् । तिरिषा, अञ्जली, रिदिमा र खेम दहित चारजनालाई “कैलाली युवा साहित्य मञ्च” टेंर्ही गठन गर्न मेरो डायरी र कलमसहित सल्लाह दिएँ । पत्रकार नरेन्द्र चौधरीले माइकबाट दर्शक श्रोताहरुलाई आह्वान गर्दै हुनुहुन्थ्यो । त्यहाँ अभिभावक भन्दा बाल क्लव अगाडि रहेछ । मञ्च व्यवस्थापन गरेर घरमा गई औपचारिक पोशाक लगाएर आउनमा केही ढिलो भयो । मैदान र मञ्च भरियो ।

कार्यक्रमको झकास

एउटा रचना वाचन, अर्को साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रम झकास बन्दै गयो । कञ्चनपुर बञ्जरियाका साहित्यकार वीरबहादुर राजवंशी, ‘बुलबुल’ लगायतका रचना दमदार थिए । पाहुना कलाकार प्रेजिना चौधरी, जुनु चौधरी, गायक तुफान राजवंशी र कमेडियन सुरदिन चौधरीको प्रस्तुतिले दर्शकलाई जुरुक्कै उचाल्यो । गाउँका नानीहरु आफ्नो गाउँमा पहिलो पटक दर्जनौ नाच पस्किन पाउँदा निकै उत्साहित थिए । यो उत्साहले थारु लेखक संघ कैलालीका पूर्व अध्यक्ष सीताराम चौधरी प्रफुल्ल देखिनु हुन्थ्यो । समापनपूर्व सञ्चालक सागर कुस्मीले “कैलाली युवा साहित्य मञ्च टेंर्ही” घोषणा गर्न मलाई निम्त्याए । ३० जनाको भेलाबाट चुनिएका ९ सदस्यीय कार्य समितिलाई प्रमुख अतिथि लावा डगर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले टीका र सर्वदा साहित्य संगम बाँकेका अध्यक्ष विशिष्ठ अतिथि खगेन्द्र गिरी कोपिलाले माला लगाएर बधाई ज्ञापन गर्नुभयो । नवगठित साहित्य मञ्चमा क्रमशः खेम दहित, हुम्नीमा चौधरी, लालबहादुर चौधरी, शर्मिला चौधरी, प्रेरणा चौधरी, शल्मा चौधरी, अन्नु चौधरी, आसिका चौधरी र रिदिमा चौधरी अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु चुनिनुभयो । खेम दहितबाट प्रतिबद्धता मन्तब्य आएपछि कार्यक्रम समापन गरियो ।

नुक्लीपुर होमस्टेमा बास

कार्यक्रम सकिएपछि डुबरीताल अवलोकन गरेर नुक्लीपुर होमस्टेबारे अध्ययन गर्ने र त्यही बास बस्ने तालिका थियो । होमस्टेका प्रमुख सञ्चालक दिनेश दहित हामीलाई लिन स्थलमै पर्खेर बसेका थिए । हामी १३ जनाको ग्रुप बाइक मार्फत डुबरीताल हँुदै नुक्लीपुरतिर हुइकियौं । अध्यक्ष दहितको घरमा होमस्टे सञ्चालकहरुको समूहद्वारा स्वागत गरियो । एउटा घरमा चारजना पाहुना रहने गरी केही घरमा शुरुवात गरिएको रहेछ । होमस्टे अध्ययन र झोला बिसाएपछि अध्यक्षको घरमा नास्ता पानी गरियो । छिमेकमा विवाह रहेछ र त्यहाँ हामीलाई पनि आमन्त्रण गरियो । भोजनपछि तीन घरमा सुतियो । देउखरियाको सुताई नेचर गाइड चेतराज चौधरीको घरमा भयो । २८ गते बिहानै काम बिशेषले भाइहरु जेबी अनुरागी र ललित केसी बिदा हुनुभयो । अबको गन्तब्य थियो गर्भा दरबार ।

गर्भा दरबार प्रस्थान

चारवटा बाइकमा ८ जना उकालो लाग्यौं । के के गर्दा बिहान ९ बजे राजमार्ग छोडेका थियौं । बाक्लो जंगलबीच असाध्यै अप्ठारो उकालो बाटो । आधा उकालो खारेपानी पुग्दा १० वटा कुकुरले घेरेर बसेका अग्ला पातला बाहुनजस्ता अधबैंसे मानिस फेला परे । उनी बाग्लुङका मूलबासी देवीराम कँडेल रहेछन् । त्यहाँ ६ घरका बाख्रा पालन खोर राखेर बसेका । बाघ आएको सूचनाका लागि कुकुर पालिएको रहेछ । खगेन्द्र भाइले भिडियो बनाए । केही जानकारी लिएर हिड्यौं । अलिमाथि पिपलाठीमा डोटी मूलघर भएकी निरमा आचार्य फेला परिन् । उनका साना ठूलागरी दुई सयभन्दा बढी बाख्रा रहेछन् । एक वर्षमा २५ देखि ४० वटा खसी न्युनतम मूल्य रु २० हजारमा बेच्दिरहिछन् । ती खसी बेच्दा थोरैमा कति रकम पर्छ भन्दा, आठ लाख भन्दा माथि नै हुन्छ भन्छिन् । अन्य पाल्नका लागि लैजाने पाठा र बिकासे संस्थाले वितरण गर्न हुर्केका पाठीहरु पनि बिक्री हुन्छन् । उनले चौमालामा घर जग्गा किनेर बच्चा पढाउने व्यवस्था गरेकी रहिछन् । अब सन्तान पढाउनु छैन, एउटा बुहारीले एमबिबिएस डाक्टर पढ्दैछ, उसैलाई खर्च पुयाउनुपर्छ भन्छिन् । त्यहाँ दुई पुरुष कर्मचारीसहित मायाराम आचार्य श्रीमान श्रीमती बस्दा रहेछन् । वर्षमा न्यूनतम आठ लाख बीच जंगलमा बाख्रा पालेर कमाइन्छ भने किन जानु साउदी कतार ?

प्रसाद ग्रहणपछि दरबारको अवलोकन

केही माथि पुग्दा चौतारा भन्ने ठाउँमा रहेछन् अर्को बाख्रा पालक ग्रुप, त्यहाँ पनि कुकर त धेरै नै देखिन्थे । अब त बाटो अप्ठारो मात्र होइन, तीन चार घुम्ति त पहरो काटेरै बनाएको रहेछ । तलमाथि हेर्दा पनि आङ नै सिरिङ्ग गर्ने । पाँच छ ठाउँमा बाइक सिङ्गल गरेर पैदल हिड्दै खैरालाा टाकुरामा पुगियो । अगाडि बुलबुल र खगेन्द्र भाई, दोस्रो चेतराज र कुस्मी, तेस्रोमा दिनेश र कोपिला, अन्तमा नरेन्द्र र म सवार थियौं । २० किलो मिटर उकालो र २ किलोमिटर ओरालो पार गरेर दरबारको आगनमा सास फेरियो । दरबारको अगाडि फूटबल खेल्ने स्तरको सम्म चौरमा वडा कार्यालयको आधुनिक घर, बाहिर स्वास्थ्यकर्मी र वार्ड कर्मचारी घाम तापिरहेका थिए । बीच मैदानमा वि.सं २०१४ सालमा त्यहीं जन्मेका भीमबहादुर देउवा (डडेलधुरा मूलबासी) का नाति दुलाह र दुलही कुर्सीमा बसेका थिए । प्रेम विवाहलाई रुद्री पूजा गरेर औपचारिकता दिइएको रहेछ भरखर । पुग्ने बित्तिकै प्रसाद खान पाइयो । देउवाको बारीमा लटरम्म सुन्तला पाकेका, रुखमै चढेर खाइयो । हाम्रो खाना पनि त्यहीं तयार हुँदै थियो ।

कसैको प्रतिक्षामा ठिङ्ग उभिएको दरबार

तीनतिरबाट दरबार जस्ताको त्यस्तै छ । तर उत्तरतिर रहेको निकै ठूलो र फराकिलो आभास हुने बराण्डा भने भत्किएछ । भाँचिएका भीमकाय दुई पिलरले राणाजीहरुले उत्तरतिरको मनोरम दृश्य स–परिवार त्यही बराण्डामा बसेर नियाल्थे होला भन्ने संकेत गर्दछ । भत्केका सामग्री गाउँलेहरुले प्रयोग गरे होलान्, त्यहाँ सफा छ । त्यहाँ रहनै पर्ने महत्वपूण सामग्री खड्कियो । जसमा आफनै आँखाले पढेको बताउने स्थानीय डम्बर खत्रीका अनुसार बहादुर जंगशमशेर जबारा दरबार वि.सं १९८४ मा सम्पन्न गर्भा दरबार, लेखिएको थियो रे । तत्कालीन पलष्टर गर्ने मसलामा लेखिएको लामै श्वलोकहरु रहेको बताउँछन् खत्री । तीनतला, ८३ झ्याल र ५३ ढोका रहेको दरबार निर्माण सम्पन्न भएको एकसय वर्ष पुग्नै लाग्यो । यस दरबारले करिब दुई बिगाह क्षेत्रफल ओगटेको छ । अहिले स्थानीय सरकार चुरे गाउँपालिकाको स्वामित्वमा रहेको दरबार संरक्षणको प्रतिक्षामा एक्लै ठिङ्ग उभिएको छ । चारैतिरबाट फोटो लियौं र बाहिर घाममा सजिएको टेबुलमा खाना खान बस्यौं । लोकलको लेदो त छँदैथियो, तर भरखर टिपेर तयार गरेको आलो सिस्नोको ग्रेबी हामी सबैको आकर्षण भयो ।

त्यहाँको वातावरण र फिर्ती यात्रा

म केहीबेर एक्लै डुलेर रीता बोगटी, दुर्गा बोगटी, स्थानीय मन्दिरका पुजारी लगायतसँग भलाकुसारी गरें । मेरो सिङ्गल फोटो खिच्ने युवाको नाम मुकेश बगाले हो र उनी हामी यहाँको धेरै पुरानो बासिन्दा हौं भन्छन् । अलि तल खोलाको छेउछाउमा गाउँहरु रहेछन् । भुजिया गाउँमा सुन्तला राम्रो फल्छ रे । राणा परिवारबाट वि.सं २००९ सालमा दिलिप सिंह देउवा (डडेलधुरा), २०२६ सालमा गगन सिंह रजवार (डोटी) लगायतले बेदप्रकाश, ताराप्रकाश, तेजप्रकाश शमशेर जबराहरुसँग चारकिल्ला उल्लेख गरेर जमिन किनेर बसोबास गरेका रहेछन् । असाध्यै उर्वर भूमि रसिलो ठाउँ रहेछ । गर्भा दरबारलाई बाई गर्दै बाटो लाग्यौं । जनतन उकालो चढेर गन्तब्यमा पुगी अवलोकन त गरियो तर ओरालो बाटो बाइकमा पछाडि अडिन नै गाह्रो थियो । रोकिदै सास फेर्दै, जाँदाको जति नै समय लगाएर राजमार्ग भेटियो । खगेन्द्र भाइ र बुलबुल आफनै बाइकमा त्यहींबाट छुट्टिनु भो । बस चढ्नु पहिले राजीपुर स्थित बाटोमै बोलाएर मेरी जेठी भान्जी दीना केसी, माहिली भान्जी मीना केसीका दुलाह जवाई साहव र कान्छो नाति सागरलाई भेट्ने मौका मिल्यो । अब पुनः बर्हैपुर चौकबाट कोपिलाजी र म पनि बस चढेर हात हल्लायौं ।

अन्त्यमा, यो यात्राका लागि निम्तो सुन्दा मैले आयोजक भाइ सागर कुस्मीलाई गर्भा दरबार जाने हो भने मात्र म आउँछु, अन्यथा यो चिसो मौसममा छिप्पिएको ज्यान सकिदैन भनेको थिए । साहित्यिक नाता जोडिएका कारण यस पटक बिकट क्षेत्रको नयाँ भूमि, परिवेश, वातावरण, बासिन्दा, रहनसहन, कला संस्कृति, उत्पादन र जीवनशैलीको साथै अचम्मसँग लुकेको इतिहास बारे संक्षिप्त भए पनि जानकारी राख्ने अवसर पाइयो । यस महत्वपूर्ण यात्राका लागि प्रिय मित्रहरु दिनेश दहित, चेतराज चौधरी, नरेन्द्र चौधरी र सागर कुस्मीप्रति आभारसहित धन्यवाद । आगामी कार्यक्रम कैलाली युवा साहित्य मञ्च टेंर्हीले आयोजना गरोस् मंगलमय शुभकामना ।

नीमबहादुर थापा
डेउखर दांग

नियात्राः कैलालीको डख्खिन टेंर्ही र गर्भा दरबार

नीमबहादुर थापा