कटैनी नदीको छेउछाउ

खगेन्द्र गिरि ‘कोपिला’
६ चैत्र २०८०, मंगलवार
कटैनी नदीको छेउछाउ

नियात्रा

कटैनी नदीको छेउछाउ

सुर्मीनालानिर पुगुञ्जेल घामको तेज आफ्नो मधुर यौवनमैं लट्ठ थियो । हामी छिमानन्द महतो डगर हुँदै उत्तर लागेपछि चम्किला घाम पनि ओइलाउँदै ओइलाउँदै पश्चिमतिर डुब्ने तरखर गर्न लाग्यो । नेपालगंजदेखि १३० किलोमिटर तन्किएर हामीलाई साथ दिइरहेको हुलाकी सडक पनि पश्चिमतिरै लम्कियो ।

‘सर चिया पिउन पाए हुने !’ ललित भाइको रहर पोखिदै छ अघिदेखि । तर सडक वरपर चिया पसल कतै देखिएनन् । अघि वसन्ताको वन छिचोल्नुभन्दा उतै रामपुरनिर चाउमिन खाएका थियौं । केआइसिहफाँटाको डिलमा बसेर बदाम र सुन्तला पनि खाएकै हौं । अझै राम्ररी नपचिसकेको चाउमिनले भोक भने लाग्न दिएको छैन । पुसको जाडोमा चियाको तलतल भने नलागेको हैन । बाटो वरपर चिया पसल देखिएको भए त पिउन हुन्थ्यो !

पोहोर साल यही मौसममा यही बाटो कुड्दै आएका थियौं म र ललित केसी भाइ नै । यही सुर्मीनालाबाट दक्षिण शिवरत्नपुरतिर लागेका थियौं । यो पालीको हाम्रो गन्तव्य भने बनेको छ उत्तरतिरको डख्खिन टेंर्ही भन्ने गाउँ ।

हसुलिया बजारको पश्चिमी कुनानिर पर्छ सुर्मिनालाको चोक । यही चोकबाट उत्तरतिर लाग्छ छिमानन्द महतो डगर । नेपालमा थारु सुमदायबाट सबैभन्दा पहिले २०१३ सालमा मन्त्री हुने छिमानन्द महतोकै गाउँ बरकामुरा हुँदै बाटो उत्तर लाग्यो । अगाडि आयो बसौटी गाउँ । यो गाउँका रामदिन महतो पनि २०१४ सालमा डा.केआई सिंह प्रधानमन्त्री हुँदा वनमन्त्री भएका थिए । यी दाजुभाइले नेपालको थारु समुदायबाट पहिलो र दोस्रो मन्त्री हुने कीर्तिमान कोरेका छन् । बरकामुराभन्दा बसौटी अलि ठूलो गाउँ रहेछ । छेमानन्द महतो कैलालीको जिल्ला पंचायत सभापति हुँदा २०३४ सालमा मैले पनि धनगढीमा उनको हातबाट निबन्ध प्रतियोगीताको पुरस्कार थापेको सम्झिन पुगे ।

वरपरका गाउँतिर जाने किरिङमिरिङ बाटाहरुले ठाउँठाउँमा हामीलाई अलमल्याइरहेका छन् । ‘डख्खिन टेंर्ही जाने बाटो कुन हो नि ?’ बाटोमा जो भेटियो उसैलाई सोधिरहेका छौं । ‘सिधै उत्तर जानुहोस् ठूलो गेट आउँछ त्यहाँबाट पूर्व लाग्नु होला !’ जसको मुखबाट पनि यही उत्तर आउँछ । तर जति कुदे पनि अझै गेट भने आएको छैन । धुलो उडाउँदै हामी उत्तरतिर लागेका लाग्यै छौं । बरकामुरा र बसौटी काटेपछि बाटोमा डोंगपुर आयो । एकैछिनमा कैलारी नामको गाउँ आइहाल्यो । यही गाउँको नामबाट राखिएको हो यस कैलारी गाउँपालिकाको नाम पनि । कैलाली जिल्लामा कैलारी र कैलाली नामका दुईटा ठाउँ छन् । कैलाली धनगढीको उत्तरतिर पर्छ भने कैलारी हसुलियाको उत्तरतिर पर्छ । कसैले कैलालीलाई राना थारु र कैलारीलाई डंगौरा थारुको संस्कृतिसित पनि जोड्ने गर्छन् । डंगौरा थारु जिब्रोमा ल को उच्चारण र गरिने भएकोले कैलालीलाई कैलारी भनिएको वा कैलारीलाई पछि कैलाली भनिएको पनि हुन सक्छ । एकथरिले कैलाडीलाई पछि कैलाली लेखिएको पनि भन्ने गरेका छन् । जे भए पनि कैलाली जिल्लाको जनजिब्रोमा अचेल कैलाली र कैलारी दुबै नाम मीठो गरेर उच्चारण हुने गरेका छन् ।

कैलारीपछि उजलीसेमरा पुग्यौं । यो थारुहरुले बस्ती बसाएको निकै पुरानो गाउँ हो । कुनै समयका पुराना जमिन्दार देशराज महतोको जगजगीका कथाहरु यतातिर अझै पनि सुनिन्छन् । उनको बारेमा जतिथरि मान्छे भेटिए उतिथरि कुुरा सुनिए । कतिपय कुरामा अतिशयोक्ति पनि मिसिएझै लाग्यो । राणाकालमा राणापरिवारका ठूलामान्छेहरु आफ्नो लावालश्करसहित शिकार खेल्न आउँदा उनीहरुलाई महिनौंसम्म खानपिनको व्यवस्था यिनैले गर्थे भनेर पनि सुनाए कसैले । २०१४ सालमा श्री ५ महेन्द्र कैलाली भ्रमणमा आउँदा राजा हिड्ने बाटोमा यिनले धान छरेर सम्याएका थिए भनेर पनि सुनाए अर्काले । मोहनापारि भारत चन्दनचौकीको वनमा उनी शिकार खेल्न जाँदा शिकारमा बाधा नपुगोस् भनेर रेल र बस चल्न बन्द गरिन्थ्यो भनेर पनि सुनाए कसैले । उनले बन्दुक बोकेर गाउँगाउँ डुल्ने गरेका, हात्ती र घोडा पालेका, अनेक गाउँमा जमिन्दारी बिस्तार गरि कमैयाहरुलाई कजाएका कथा त सबैले सुनाए । थारुका गाउँमा कसैले बिहे गरेर ल्याएपछि दुलहीलाई पहिलो रात देशराज महतोको ओछ्यानमा सुत्न पठाउनु पर्ने बाध्यता थियो भनेर जमिन्दारी शोषणका कथा सुनाउने पनि धेरै देखिए । यो कथा यहाँको बास्तबिकता भन्दा पनि कुनै फिल्मी कथालाई जमिन्दारी प्रथासित जोडेको मिथकजस्तो लाग्यो ।

आजको हसुलिया वरपरका सबै गाउँमा उहिले महतो परिवारकै जमिन्दारी थियो रे । सो परिवारका अरु सदस्यभन्दा छिमानन्द महतो र रामदिन महतोलाई जनप्रिय र समाजसेवीको रुपमा सम्झिनेहरु पनि भेटिए । उनको पुरानो महलका भग्नावशेषले इतिहासका घटनाक्रमहरुलाई बिर्सिन खोजेको आभास दिलायो । इतिहासलाई सम्झिराख्न पनि अचेलका मानिसहरुलाई धौधौ हुन लागेको त हैन ? यही आभास दिलाइरह्यो उजलीसेमराको धुले बाटोले । उजली भनेको उज्यालो र सेमरा भनेको सिमलको रुख हुन्छ भनेका थिए सागरभाइले । यो गाउँमा एउटा सिमलको रुख थियो रे, त्यो सिमलको फुल सेतो फुल्थ्यो रे । त्यही भएर गाउँको नाम उजलीसेमरा रहना गयो । अचेल सिमलका रुख भने देखिएनन् तर ग्राम्य परिवेशको उज्यालोपन भने हराएको रहेनछ ।

उजलीसेमरापछि लक्कर र चुकहा हुँदै बेडौली पुग्यौं । बाटो अब पूर्वपूर्वतिर मोडियो । अग्लो टेलिफोनको टावर र फराकिलो तोरी बारीले उजलीसेमराभन्दा पनि बढी उज्यालो देखियो यहाँको परिवेश । जताततै तोरी नै तोरीले पहेलपुर छ परिवेश । तोरीका फराकिला फाँटहरु पर कतै क्षितिजलाई अँगालो हालिरहेका छन् कि ? झैं देखिए । मन त्यसैत्यसै उन्मादित भएर आयो । तोरीबारीको पहेलो परिवेशको मुग्धताले वरपर अलमलिएका आँखा पनि दिशा नै छुट्टाउन नसक्ने गरि अलमिलाइरहे । त्यसैमा झन् उत्तर र दक्षिण लागेको फराकिलो बाटोले फेरि अलमल्याइदिएपछि सागरभाईलाई कल गरें ।

‘कहाँ आइपुग्नु भो ?’ उताको स्वर गुन्जियो मेरो मोबाइलमा । ‘टेलिफोनको अग्लो टावरनिर’ मैले भन्न नपाउँदै भाइ टुपुलुक्क देखिए अघिल्तिरको घरको आँगनमा । हामी छक्क प¥यौं । ‘ओहो ! अलमलिदा अलमलिदै सागरजीको घर आँगननिरै पो आइपुगे छौं हामी त !’ ललित केसीभाइको आश्चर्य पोखियो आँगनभरि । सागरभाइको स्वागत सत्कारले लिपपोत ग¥यौं हामीले पनि आफ्नो हृदयको आँगनलाई । आँगनभरि प्लाष्टिकका कुर्सी र डोरीले बुनेका खाट राखिएका छन् । वरपरका घरआँगनमा उभिएका मान्छेका कुतुहल दृष्टि परे हामी माथि । थारु शैलीमा कसैलाई ‘सिइत्ताराम’ भनेर अभिवादन गरें कसैलाई ‘जयगुर्बाबा’ भने ।

‘भाइइइइइइइ !’ आकाशै थर्किने गरी घरभित्रबाट नीमबहादुर दाजुको स्वर सुनियो ।
‘वेलकम मिटवा !’ फेरि सुनँे छविलाल मितज्यूको स्वर ।

थाकेको शरीरलाई डोरीले बुनेका खाटमाथि पल्टाएर सुस्ताउने रहरलाई थाँती राखेर भित्र पसें । अँगेनाको वरिपरि देउखुरीका पाहुनाहरु टमक्क परेर बसेका रहेछन् । नीमबहादुर थापा दाजु छविलाल मिटवा र गुरुप्रसाद बुलबुलको हाँसोले अँगेना वरिपरिको वातावरणलाई झन् न्यानो बनायो ।

राजापुरबाट जेवी अनुरागी भने अलि ढिलोगरि आइपुग्नु भो । साँझको खाना र बसाई सागरभाइकै घरमा हुने भो । भित्रको कुन्टीमा लहरै बसेर सालका पातले उनेर बनाइएका टपरीमा पस्किएको खाना खाइयो । त्यही कोन्टीमा पराल र गुन्दी्र ओछ्याएर सबैजना संगै सुत्यौं । खवाई र सुताईमा अनुभव गरियो थारु संस्कृतिकै न्यानोपन । २०८० साल मंसिर २६ गतेको चिसो रात कटैनी खोलाको सुसेली सुनेरै बित्यो ।

भोलिपल्ट बिहानैदेखि सिंचाई कार्यालयको आँगनमा मान्छेले कल्याङ्मल्याङ् गर्न थालिसकेका छन् । हामी भने ओछ्यान छाडेर गाउँको परिभ्रमणमा निस्कियौं । गाउँको वातावरण ग्राम्य शोभाले सुशोभित छ । परपरका पहेला तोरीबारीले आँखाभरि मोहनी लगाइरहे । आधुनिक चेतनाको साथासाथमा सरसफाईको चेतनाले पनि मूर्त रुप लिदै गरेको अनुभव भयो । खुला दिशापिसाब गरेको कतै नदेखिनु विकासको सुन्दर पक्ष लाग्यो । घर, सडक, ढल, टेलिफोन टावर, टेम्पो, मोटर साइकिल र मोबाइल भौतिक विकासको सूचकको रुपमा देखिए । विद्यालय जाँदै गरेका विद्यार्थीका ताँतीले शैक्षिक विकासको प्रदर्शन पनि गरिरहेको छ । तर थारु गाउँमा आएपछि सबैभन्दा बढी खोजिने कुरो भने थारु जीवनशैलीको प्राकृत रुप नै हो । थारु समाजले कसरी आत्मसात गरिरहेको छ आफ्नो मौलिक संस्कृतिलाई ? यो प्रश्नले आँखालाई जिज्ञासु बनाइरहन्छ ।

मानिस समाजमा बसेर पनि असामाजिक हुन खोजिरहन्छ । असामाजिक हुन खोजे पनि समाजबाट एक्लिन भने सक्दैन ऊ । मानिसका आआफ्नै चिन्तन र आआफ्नै रहरहरुको साझा थलो नै त हो समाज भनेको । अरु जातीभन्दा थारु जातीको सामाजिक अपनत्व भने निकै प्रगाढ रहेको अनुभूत हुन्छ मलाई थारु गाउँतिर डुल्दा । अर्कैअर्कै सुगन्ध बगेको आभास हुन्छ थारु बस्तीहरुमा । माटो र पसिनासित मौलिक संस्कृतिको गन्ध मिसिएपछि बन्दोरहेछ अपनत्वको सुगन्ध ।

खेत, वन, नदी र आगो थारु जातीका अभिन्न साथी हुन् । यी भएनन् भने थारु गाउँहरु उदासउदास देखिन्छन् । सृष्टिको आदिकालदेखि प्रकृतिसित एकाकार भएर रमाइरहेको थारु जनजीवनमा आधुनिक भौतिकताले पनि छुन लागिसकेको छ । माटोले पोतेका घरहरुको ठाउँमा सिमेन्टका भित्ता उभिदै गएका छन् । लर्हिया र लहरु बिस्थापित भएर डल्लप आइसके । आफ्ना मौलिक बजागाजाहरु हराएर डिस्कोका धून बज्न लागिसके । लवाइखवाईमा पनि अर्कैअर्कै ढङ्ग भित्रिसक्यो । तैपनि थारु गाउँमा बज्ने मादलको धूनबाट आफ्नै ध्वनिराग निस्किहेकै प्रतीत हुन्छ । बिहानबिहान कम्मरमा माछा राख्ने ढर्हिया झुण्ड्याएर खोलातिर लागेका थरुनीहरुको गुनगुनले बनाउने पृथक धूनले थारु गाउँहरुको जीवन्ततालाई अझैं ओइलिन दिएको छैन । कटैनी नदीको गहिराईमा लजाएलजाएजस्तै गरेर बगिरहेको पानीको सानो धारले डख्खिन टेंर्हीको बदलिदो थारु समाज र समाजको मनोविज्ञानलाई नियालिरहेजस्तै लाग्यो जीवन्त साक्षी बनेर ।

हामी यहाँ आएको साहित्यिक कार्यक्रमको सन्दर्भमा हो । कार्यक्रम हुने चौरमा पाल टाग्ने काम बिहानै भैसक्यो । माइक लगाएर गीत बजाउन थालेपछि गाउँलेहरु पनि भेला हुन थालीसके । थारु मौलिक पहिरनमा सजिएकी थारु कन्याहरु हातहातमा माला बोकेर मुस्कान छर्दै आगन्तुकहरुको स्वागत गर्न थालिसके । ढकियाभरि सगुन पात बोकेका कन्याहरु पनि उभिएका छन् स्वागतद्वारनिर । यस्तो लाग्यो थारु संस्कृति जोगाउने जिम्मेवारी यिनै कन्याहरुको काँधमा छ । पुरुषहरु भने आफ्नो संस्कृति र मौलिकताबाट टाढिदै गएका त हैनन् भन्ने प्रश्नले मलाई दिनभरि लखेटिरह्यो । आयोजक र सहभागिहरु बिहानैदेखि उत्साहित भइरहे पनि आगन्तुकहरुले आउन नै ढिलोढिलो गरिदिए । कार्यक्रमको औपचारिक उठान भने ढिलै भयो । जब कार्यक्रमले गति लियो अनेकखाले रचना, अनेकखाले गीत र अनेकखाले नृत्य प्रस्तुत हुन लागे । कार्यक्रम साहित्यिक भए पनि हाम्रा जिज्ञासु आँखाहरुले गजल र कविता भन्दा थारु समाजको ढुकढुकी सुन्न खोजिरहेको छ । छविलाल कोपिला, नीमबहादुर थापा, जेबी अनुरागी, ललित केसी, गुरुप्रसाद बुलबुल, सुरदिन चौधरी, प्रेजिना चौधरी, जुनु चोधरी, विजय चौधरी, वीरबहादुर राजवंशी जस्ता अनेक ठाँबाट आएका कवि र कलाकारहरुले कटैनी खोलाको सुसेलीसित दिनभरि आफ्नो लय मिलाइरहे । टीकापुरबाट आएका तुफान राजवंशीले आफ्ना गीत प्रस्तुती गर्दै थारु सङ्गीतको स्वादमात्रै पस्केनन् स्राृताहरुलाई कतिखेर भावुक बनाए । कतिखेर हँसाए त कतिखेर रुवाउ पनि । साहित्य र संस्कृतिका अनेक झाँकीहरुले दक्खिन टेर्हीलाई दिनभरि उज्यालो पारिरहे ।

मध्यान्हतिर कार्यक्रमले बिट मा¥यो । सहभागिहरु जसरी आएका थिए उसैगरि फर्किए । आउँदा आँखाभरि उत्सुकता थियो फर्किदा मनभरि आत्मियता बोकेर फर्किए । हामीले पनि सबैसित बिदा लियौं र उत्तराभिमुख भएर हिड्यौं ।

‘एक रात नुक्लिपुरमा नबसेर जान पाउनु हुन्न’ हिजैदेखि दिनेश दहितले आग्रह गरेको ग¥यै छन् । यी हँसिला युवाले थारु संस्कृतिको प्रचारप्रसारको निम्ती पर्यटन व्यवसायलाई माध्यम बनाएका रहेछन् । हाम्रो टोलीलाई आफ्नो होमस्टेमा लग्दा त्यसको प्रचाप्रसारमा केही सघाउ पुग्ने आश गरेका रहेछन् उनले । आशामा आग्रह र आग्रहमा आत्मीयता मिसिएपछि त्यो कर बन्दोरहेछ । मायाको करलाई हेलचेक्¥याइँ गर्न सक्ने कुरै भएन । हामी हिड्यौं दिनेश दहितको गाउँ नुक्लिपुरलाई गन्तव्य बनाएर ।

डख्खिन टेंर्हीबाट कटैनी नदीको छेवैछेउ बाटो उत्तरतिर लाग्यो । यो कटैनी नदीलाई माथि महेन्द्र राजमार्गतिर लिक्मानदी भन्छन् । यता दक्षिणतिर आएपछि लिक्मानदीले जमिन कटान गर्ने भएकोले यसलाई कटैनी नदी भनिएको रहेछ । नाम पनि स्वभावअनुसार फेरिनु संसारको चलन नै हो । यहाँ त नदीमा पनि त्यो चलन लागु भएको रहेछ । बाटोको छेउछाउतिर चुरे पहाडबाट बगाएर ल्याएको बालुवाका राशले कटैनी खोलाको कटान लीलाको प्रत्यक्ष वर्णन बोलिरहेकै छ । एकैछिनमा लोहरपुर हुँदै पिर्ठिपुर पुगिहाल्यौं । त्यहाँबाट पश्चिम मोडिदा डुढिया नाउँको गाउँ आयो । डुढिया नपुगुन्जेलसम्म धुले बाटोले हामीलाई अत्यास लगाइरह्यो । बाटो कतिखेर पश्चिमतिर दुगुर्छ भने कतिखेर उत्तरतिर दुगुर्छ । उस्तै बाटो, उस्तै गाउँ, उस्तै बस्ती, उस्तै खेतबारी र उस्तै ग्राम्य परिवेशले सबै ठाउँलाई एउटैएउटै बनाएको छ । तैपनि क्षणक्षण फेरिदै जाने दृश्यले रोमाञ्चकतामाथि रोमाञ्चकता थपिरहेका छन् । ‘हसुलियादेखि नुक्लिपुरसम्म १६ किलोमिटर छ । डख्खिन टेंर्हीबाट छ सात किलोमिटर होला’ भनेका थिए सागरभाइले । तर गाउँका कहिले दायाँ मोडिने कहिले बायाँ मोडिने किरिङमिरिङ बाटोमा कुद्न थालेपछि कति कुदियो ठेगानै भएन । तराईका यी चाक्ला फाँटहरु त जति कुदे पनि कहिल्यै नसकिने हुन्छन् ।

बाटो भने घुम्दैफिर्दै डुढिया गाउँको पश्चिपट्टिको वनको छेउनिर पुगेर टुङ्गियो । खण्डखण्ड परेको एउटा दहका रुपौला दृश्यमा परे हाम्रा आँखा । ‘काका इहे हो काहुँ डुबरीताल कहना तलवा ?’ (काका यही हो कि क्या हो डुबरीताल भनेको ?) थारु भाषामा पोखियो गुरुप्रसाद बुलबुलको जिज्ञासा ।

हामी वरपर आँखा डुलाउँदै थियौं ‘डुबरीताल’ लेखेको एउटा सूचनापाटी देखिइहाल्यो । सालवनको छेउमा अदेखा महारानीजस्तै लजाएर बसेको छ डुबरीताल । यो ताल कुनै एउटै ताल नभएर अनेक तालहरुको सङ्ग्रह हो । थुप्रै तालहरुका खण्डखण्ड देखिए वनभित्रभित्र लुक्दै पसेजस्ता । पूर्वपट्टि एउटा फराकिलो चौर र एउटा विद्यालयको भवन देखियो । चौरको वरिपरि र तालको पूर्वी भागमा पिकनिक खानेहरुले फोहोर गरेर जानुमा कुनै कन्जुस्याई गरेका छैनन् । जताततै प्लास्टिक फालेर तालका डिलहरु कुरुप भैसकेका छन् । हामी चौरपट्टिको डिलमा उभिन सकेनौ । प्लाष्टिकको फोहोरले दिङ्मिङ्दिङ्मिङ् लागिरह्यो । अलि सफा डिल खोज्दै पल्लोपट्टिको डिलमा गयौं । पिकनिक खानेहरुको फोहोर लीला अर्कोपट्टिको डिलमा भने त्यति धेरै देखिएन । अरुले व्यवस्थित पारेर राखेका ठाउँमा गएर पिकनिकको नाममा फोहोर गरिदिने चलन नै बसेको छ नेपालमा आजभोलि । कुनै पनि पर्यटनस्थलमा पिकनिक गर्न दिनु भनेको फोहोर थुपार्ने काम मात्रै बनेको छ । ती ठाउँहरुको प्रचारप्रसारमा पिकनिकबाट कुनै टेवा पुगेको भने कतै देखिदैन ।

म त डुबरीतालको सौन्दर्यपान गर्न आएको मान्छे ! यहाँको फोहोरले मनको लय पो भताभुङ्ग हुन पुग्यो । गुरुप्रसाद बुलबुल आफ्नै सोंचमा डुबेर तालको पानी चलाउन थालिसके । उनले चलाएको पानी तरङ्ग बन्दैबन्दै परपरसम्म फैलियो । त्यही जलतरङगले जिस्क्याएपछि सालका पात पनि हावाको सुसेलीसित लय मिलाएर हाम्रो आँगमनमा स्वागत गान गाउन थाले । मुटुभित्र कताकका एउटा अनेकौं अनुभूतिले छोयो ।

अनेकौं कुतहलताहरु मेरो मुटुको सतहमा छाल हिर्काउन थाले । छाल भित्रबाट अनुभूतिको मृदुराग गञ्जिन खोज्यो । डुबरीतालको पश्चिमपट्टिको सालवनमा आँखा ओछ्याएर मनको लयलाई व्यवस्थित गर्ने प्रयत्न गर्न लागें ।

ताल र सालवनको शान्त परिवेशमा डुब्दै गयो मेरो मन । म परपर आँखा ओछ्याएर सालवनबाट आइरहेका मौन ध्वनिका तरङ्गहरू टिप्न लागें । तालको शान्त पानीजस्तै सालको वनभित्र पनि कुतुहलताका मधुर तारहरु झङ्कृत भए । मैले त्यही झङ्कारमा आफूलाई मिसाएँ । त्यस झङ्कारमा मिसिएर अनेकौं धून बजे । त्यतिनै बेला चराहरुको एक हुल च्याच्याँचुँचुँ गर्दै तालको अर्को डिलमा आएर पानी पिउन थाल्यो । कुनै चराहरु पानीमा आफ्नो जिउ चोपलेर मात्तिन थाल्यो । गुरुप्रसाद बुलबुलले चलाएको पानीका तरङ्गहरु पनि चराहरुले चलाएको पानीका तरङ्गसित गएर ठोक्किए । चराहरुको नबुझिने स्वरले छुट्टै सङ्गीत बनाएर ताल वरपरको निरवतालाई जीवन्त तुल्याइदियो । मैले आफ्ना दुबै हात फैलाएर हावालाई आलिङ्गन गर्न खोजें । हावा पनि मसित आलिङ्गनबद्ध हुन आतुर रहेछ । हावाजस्तै बनिरह्यो मेरो मन पनि निकै बेरसम्म ।

‘ध्यान करे लग्ली का काकु ?’ (ध्यान गर्न लाग्नु भयो कि क्या हो काका ?) फेरि आयो गुरुप्रसाद बुलबुलको स्वर । उनको स्वर सुनेर पनि मेरो एकाग्रताले त भङ्ग हुन नै मानिरहेको छैन । म मौन भएर उभिइरहेँ डुबरीतालको डिलमा । समय भने आफ्नै गतिमा बगिरहेको छ । एकोहोरो नेत्रमिलन गरेर पो हो कि ? डुबरीताल छेवैको सालको वन पनि मलाई परिचितपरिचित जस्तै लाग्न थालेको छ । उहिले अठार वर्षको हुँदा २०३८ सालमा मैले कैलालीका यिनै वनहरु नाँघेर साथीहरुसित सिंगो जिल्लाको पैदल फन्को मारेको थिएँ । यस्तैयस्तै वनको बाटो भएर उदासीपुर, पिर्ठिपुर हुँदै मुनुवातिर गएको सम्झना छ । तर ती पुराना घटनाहरुले यहाँको भूगोललाई भने अहिले चिनाउन सकेनन् । यी परिचितिपरिचित जस्ता लाग्ने सालका रुख त नेपालमा जहाँ पुगेपनि उस्तैउस्तै लाग्छन् ।

तर विगतको धमिलो छायाभन्दा वर्तमानको प्रवल अनुभूतिले मलाई थिचिरहेको छ अहिले । म उभिएको तालको डिल पनि तालको निश्छल जललाई अँगालोमा राखेर भावुकताको अनन्त अनुभूतिमा मिसिन खोजिरहेको छ । लाग्छ, मभित्रको कुतुहलताको मृदुरागलाई अँगालो हालेर ऊ कुनै कथा लेख्न आतुर भैरहेको छ । म त्यही कथालाई खोजिरहेको छु । कथा बन्नु एक आकस्मिकता हो भने कथा लेखिनु त मनको प्रसवपीडाजस्तै पो हुँदो रहेछ ।

यता म छु ध्यानमग्न प्रकृतिको ढुकढुकी सुन्न व्यग्र । उता आफ्नै लयमा मग्न छन् गुरुप्रसाद पनि । मैले बुलबुलको मग्नतालाई बिथोल्न चाहिन । चराहरुको प्राकृत नृत्य तालको पल्लो छेउमा जारी नै छ । एकाएक दृश्य अचल बन्यो । मनको व्यग्रता पनि स्थिर बन्न पुग्यो । मन अपार आनन्दको सोपानमा डुब्न थाल्यो ।

गुरुप्रसाद बुलबुल र मैले निकैबेर आआफ्नै मौनताभित्र डुबेर डुबरीतालको मौनतालाई पढिरह्यौं । समयले पनि आफ्नै सीमाभित्र डुबुल्की मार्दै गर्दा साथीहरुको टोली पनि हतारिदै आइपुग्यो । मान्छेको कोलाहल बढेपछि चराहरु पनि भुर्रभुर्र गर्दै उडेर गए । सूर्य बिस्तारै दक्षिणतिरको वनभित्र ढल्किन थाल्यो । अघिसम्म उज्यालै देखिएको वन पनि अँध्यारोअँध्यारो देखिन लाग्यो । महाभारतको युद्धमा युद्धस्थलबाट डराएर भागेको जरासन्धलाई युद्धस्थलमा फर्काउन श्रीकृष्ण भगवानले दिउँसै रात पार्नु भएजस्तै आभास भयो । तालको पानी पनि आफ्नो रुप फेरेजस्तो गर्न लाग्यो ।

‘जाउँ अब, नुक्लिपुर पुग्न ढिलो हुन्छ’ सागर कुश्मीले हामी सबैको ध्यान एकैचोटी भंग गरे । हामी अल्छी मानेर उठ्यौं र हिड्यौं त्यहाँबाट । डुबरीतालबाट नुक्लिपुर जानको लागि डुढियागाउँबाट पिर्ठिपुर, लौसा, भँगाहा, भगतपुर हुँदै नुक्लिपुर पुग्ने बाटो पनि रहेछ । तर त्यो बाटो घुमाउरो हुने भएकोले हामी डुढियागाउँको देब्रेपट्टिबाट वनको छेवैछेउ उत्तर लाग्यौं । बाटो उबडखाबड नै भए पनि दिनेश दहितलाई पछ्याउँदै हाम्रा मोटरसाइकल लड्दैपड्दै पछिपछि कुदिरहे । कतै हिलो, कतै धूलो, कतै खाल्डा, कतै खुल्डी । वनको छेउछेउको यो बाटोले हामीसित एकोहारो ठट्टा गरिरह्यो ।

बल्लबल्ल देखियो नुक्लिपुर ! हाम्रो आजको बिसौनी ! रात पर्नुअघि नै पुगिहाल्यो हाम्रो लावालश्कर आफ्नो निर्धारित गन्तव्यमा । हामी दश जनाको आगन्तुक टोली दिनेश दहितको घरको आँगनमा पुगेर रोकियो । यो उहाँको घरमात्र नभएर होमस्टे पनि रहेछ । होमस्टे हुनाले हामो टोलीलाई सर्वप्रथम ढकियामा राखेर ल्याएका फूलमालाले स्वागत गरियो । त्यसपछि झोलाझाम्टा कोठामा थन्क्यायौं । आँगनमा ओछयाइएका छन् डोरीले बुनेका चारपाई र मचिया । त्यसैमा बसेर ग्रीनटी पियौं । ग्रीनटी भनिए पनि यो त यतै बटुलेका जडिबुटीमा गुड हालिएको चिया रहेछ ।

रात पर्न थालिसक्यो । उज्यालैमा यो गाउँका दृश्यपरिदृश्यहरुलाई आँखाभरि सजाउनु छ । कहाँबाट आरम्भ गरौं यस गाउँको सौन्दर्यपान गर्न । पर दाहिनेतिरको अग्लो थुम्केलो ठाउँमा उभिएका अग्लाअग्ला रुखहरुलाई मात्र हेरिराखौं भने यता हरियो रङ्लाई अँगालो हालेर लमतन्न सुतेका गहुँबारीहरु रिसाउँलान् भन्ने पिर । गाउँभरि माटोले पोतेर लहरै राखिएका धानका भकारी (डेहेरी) मात्रै हेरौं भने घरघरका आँगनमा ठडिएका लर्हियाले चित्त दुखाउँलान् भन्ने चिन्ता । यी मात्र हैनन् थारु गाउँमा सामुहिक पूजा गर्ने मडवा, आँगन, खलिहान, गोठ, मकै झुण्ड्याएका झोठानी, आगो ताप्ने पसगा, अगेना, खेतमा राखिउका मचान, यी सबै ठाउँमा केही न केही माटोको सुगन्ध भेटिन्छ । कुन सुगन्धलाई छाड्नु ? कुन सुगन्धलाई बटुल्नु ? मन अलमलमा परिरह्यो ।

वनको छेउमा टुक्रक्क परेको सानो गाउँ रहेछ नुक्लिपुर । उदासीपुरभन्दा दक्षिणपश्चिमतिरको वनको छेउमा रहेछ यो सानो गाउँ । वनको छेउमा लुकेर बसेको हुनाले यसलाई नुक्लिपुर भन्दारहेछन् । लुकेकोलाई लुक्ली भन्दाभन्दै थारु जिब्रोमा नुक्लिपुर सुनिदोरहेछ । नुक्लिपुरमा एउटा घरमा बिहेको पार्टी रहेछ आज । थारु गाउँमा बिहेको भोज भएको दिनमा त गाउँमा जसको घरमा आएका पाहुना भए पनि पाहुनाले त्यो भोजमा पनि पाहुना बनेर जानै पर्ने चलन रहेछ । हामीलाई पनि सो भोजमा सहभागि हुने निम्तो आइहाल्यो । जान्नौं भन्दा पनि सुख भएन । जानै प¥यो ।

बिहे घरको आँगनमा माइक बजिरहेको छ । ढोल र मादल बजाउँदै छन् केटाहरु । आफ्नै मौलिक पहिरनमा सजिएकी युवतीहरु पनि पालैपालो नाँच्दै छन् । नाँचमा कताकता मौलिकताभन्दा फिल्मी शैली हावी भएजस्तो लागे पनि मादलको धूनमा भने आफ्नै मौलिक सुर घन्किदै छ । धेरैजसो मान्छेहरु मदिराको नशामा लट्ठिएका छन् । कोही खाँदै छन् कोही पिउँदै छन् । ‘ठकुरी बिग्रियो मोजले थारु बिग्रियो भोजले’ भन्ने उखान त्यसै प्रचलित भएको हैन थारु समाजमा । हामीलाई पनि भुइँमा गुन्द्री ओछ्याएरै लहरै बसालियो । दुलहा र दुलहीले आएर हामीहरुलाई टिका लगाइदिए । हामीले आर्शिवाद र दक्षिणा दियौं । खाने र पिउने अनेक बस्तुहरु आउन थाले । खानेकुरा सालका पात, दुना र टपरीमा पस्किन लागे । बाँड्ने काम महिलाहरुले नै गरे । हात धुनलार्इ ठूलो भाँडो आइपुग्यो । त्यसै भाँडामा हात धुनु पर्ने चलन रहेछ पाहुनाले ।

‘थारुको भोजमा आएपछि अलिअलि लिने त होला हैन भाइ ?’ नीमबहादुर दाजु अघिदेखि जिस्क्याउन थालिसक्नु भएको छ मलाई । यो लिने कुराले हाम्रा जेबीराजा पनि निकै उत्साहित हुनु भएको छ । मैले भने ‘अन्डीको चाहिन्छ मलाई त’ भनेर टारिरहेँ । मिटवाले ‘वाकर फेन जुगार हुइ जे’ (त्यसको पनि व्यवस्था हुन्छ नि) भनिरहनु भएको छ । तर त्यहाँ अन्डी धानको कुनै प्रकारको पनि खाद्य वा पेय पदार्थ उपलब्ध हुन सकेन । नपाइने कुराको फर्माइसले त्यो लिने कामबाट मैले भने आज सजिलै उम्किन पाएँ । तर निकैबेरसम्म उहाँहरुलाई साथ दिदै नानाथरि गफ भने दिनै प¥यो । जे होस आज लिनेहरुको टोलीमा ललित केसीभाइ पनि थमिएपछि गुरुप्रसाद र म जोगियौं भनेर ढुक्क छौं ।

खानेकुरा भने सबैकुरा चिसो भैसकेका थिए । ‘बल गरेर खानु भाइ !’ नीमबहादुरदाजुले भनिरहनु भए पनि मैले भने चिसो खानेकुरा खानै सकिन । त्यत्रो बिहेको भोजमा मलाई खाना तताएर ल्याउनु होस् भनेर पनि कसलाई भन्नु ? सम्झिएँ हिन्दीका दुईटा उखान— मजबुरीका नाम महात्मा गान्धी र मरत क्या न करता ?

निमबहादुर दाजु र ललित भाइले आँगनमा भैरहेको नृत्यमा पनि साथ दिनु भो । हामीले ताली पिटेर हौस्यायौं । उहाँहरु नृत्यमैं मग्न हुन खोजिरहनु भएको छ । तर हामीलाई दिनेश दहितको होमस्टेको कार्यक्रममा पनि फेरि सहभागि हुनु छ । नुक्लिपुरको कथा र व्यथाका अनेक पाटाहरु टिप्न बाँकी नै छ । होमस्टेमा गएपछि पनि फेरि उसैगरि रमाइलोको अर्को चरण पुरा गरियो । जतिजति रात छिप्पिदै गयो उतिउति पर बिहेघरमा बजिरहेको मादलको ध्वनि झन् ओजिलो बन्दै गयो ।

भूगोलले लुकाएर राखेको भए पनि आफ्नो सांस्कृतिक सम्पदालाई छातीभित्र सजाएर मुसुक्क मुस्कुराईरहेको छ नुक्लिपुर गाउँ । आज त हामी पनि राती अबेरसम्म जेबीराजाको नृत्य हेरेर मुस्कुराइरह्यौं ।

खगेन्द्र गिरि ‘कोपिला’
नेपालगंज १ आदर्शमार्ग

कटैनी नदीको छेउछाउ

खगेन्द्र गिरि ‘कोपिला’

नेपालगंज १ आदर्शमार्ग