बर्दी बिनाका प्रहरी

खगेन्द्र गिरि ‘कोपिला’
२० चैत्र २०७९, सोमबार
बर्दी बिनाका प्रहरी

बर्दी बिनाका प्रहरी
खगेन्द्र गिरि ‘कोपिला’

हामी सुर्मीनालानिर पुग्दा अँध्यारोअँध्यारो हुन थालिसकेको थियो । कस्तो अचम्म ! मिटुवा (छविलाल कोपिला) र नीमबहादुर थापा दाजु चढेको बस र हामी एकैचोटि पुग्यौं सुर्मीनालानिर । सल्लाह गरे जस्तै भयो । आज साँझ यहाँ आइपुग्ने हाम्रो सल्लाह भए पनि एकैचोटी पुग्ने सल्लाह भने गरेका थिएनौं । उहाँहरु देउखुरीबाट कोहलपुर, अतरिया, धनगढीहुँदै लगभग ३२० किलोमिटरको लामो फन्को मारेर आइपुग्नु भएको हो । म र ललित केसी भाइ नेपालगंजबाट सोझैं पश्चिमतिर हान्निएर आइपुगेका हौं । हामीले पनि हुलाकी राजमार्ग लगभग १२० किलोमिटर जति त छिचोलेको हौंला ।

सूर्य नउदाएको दिन उसै पनि अँध्यारै हुन्छ । चिसो मौसमको निष्ठुर प्रहारले कम्पन छुटिरहेको छ जिउभरी । उहाँहरु भेटिएपछि त न्यानोन्यानो अनुभूति भएर आयो । फेरि आइपुगे सागर कुश्मी र नरेन्द्र चौधरी पनि । सबैजना छेवैको कविता राइस मिलमा गयौं । यो साहित्यप्रेमी विश्वदेव चौधरीको मिल हो । विश्वदम्पतीसंग भेट भयो । चिया पियौं । चिया पिएर शरीरमा अलिअलि स्फुर्ति थपिएपछि हामी हिडि पनि हाल्यौं त्यहाँबाट ।

सुर्मीनालालाई नालाभन्दा पनि चौबाटो भन्न सुहाउँछ । सुर्मीनालाको पुलैनिर उत्तरतिरको बर्का मुरा भन्ने गाउँबाट आउने छेमानन्द महतोमार्ग हुलाकी सडकसंग मिसिन्छ । गाउँघरमा यत्तिको दोबाटो भएपछि ससानो बजार बनिहाल्छ । धनगढीबाट आउने बस यहीनिर रोकिने भएकोले बजार बनिसकेको छ यो दोबाटो । बर्का मुरा नेपालमा थारु समुदायबाट पहिलोचोटी २०१३ सालमा मन्त्री भएका छेमानन्द महतोको गाउँ हो ।

सुर्मीनालाको पुलैनिरबाट देब्रेतिर जाने बाटो समात्यो हाम्रो टोलीले । अघिसम्म हामी दुई÷दुई जनाको टोलीमा बाँडिएर आआफ्नै प्रकारले हिडिरहेका थियौं । अब छ जना भएका छौं । दुईटा मोटरसाइकलमा तीन÷तीन जना अटाएपछि यातायात नियमको उलङ्घन त भैहाल्यो तर नियमलाई संगतको मीठासले जितिहाल्यो । ‘अलिअलि नियम मिचेन भने नेपाली हुनुको के स्वाद !’ हँसाउनु भो नीमबहादुर थापाले ।

दुई किलोमिटर जति कुदेपछि पुगियो मोहना नदीको बगरमा । मोहनामाथि काठका फल्याकहरु मिलाएर सानो पुल बनाइएको रहेछ । यसलाई काठेपुल भन्दारहेछन् तर मलाई भने गुन्द्रीपुल भन्न मन लाग्यो । काठका फल्याकहरु गुन्द्री ओछ्याए जसरी चटक्क मिलाएर पुल बनाइएको छ । मोटरसाइकल र साइकलहरु खुरुरुरुरु चलाएरै वारिपारि गराउन सकिदोरहेछ । त्यस्तै ग¥यौं हामीले पनि ।

हरचाली साहित्यिक त्रैमासिक नामक थारु भाषी पत्रिकाले आयोजना गर्न लागेको साहित्यिक पदयात्राको सिलसिलामा हामी आएका हौं यहाँ । २०७९ सालको पुस १२ देखि १४ गतेसम्म तीन दिन नेपाल भारत सीमाक्षेत्रका मोहना पारि पर्ने गाउँहरु डुल्ने र सीमाक्षेत्रका विषबस्तुलाई बटुलेर लेख्ने उद्धेश्य राखेर आयोजना गरिएको यात्रा हो यो । पदयात्रा भने पनि हामी कतै मोटरसाइकलद्वारा गर्ने छौं त कतै पैदलै हिड्नेछौं ।

मोहनाको बलौटे बगर पार गरेर शिवरत्नपुर भन्ने गाउँमा उक्लियौं हामी । तीनतीर भारतको वनले घेरेको सानो गाउँ शिवरत्नपुरलाई उत्तरतिरबाट मोहना नदीले चेप्दैचेप्दै झन् सानो बनाएको रहेछ । एउटा अग्लो टापुमाथि टुक्रुक्क बसेको छ गाउँ । यो सानो गाउँ पनि बर्कापुर्वा र छोट्कीपुर्वा गरि दुई ओटा टोलमा विभक्त छ । शिवरत्नपुर कैलारी गाउँपालिकाको वडा नम्बर ३ अन्तरगत पर्दो रहेछ । कैलाली जिल्लाभित्र कैलारी नाम गरेको गाउँपालिका पनि छ तर कैलाली भन्ने बानी परेका हामीलाई कैलारीको उच्चारण गर्न भने अलमल परिरह्यो ।

आजको हाम्रो वास धनीराम चौधरीको घरमा छ । उनी बर्कापुर्वाका भलमन्सा हुन् । हामी सोझैं उनकै आँगनमा पुग्यौं । गाउँको माझैमा छ उनको घर ।

थारु समुदायमा भलमन्सा छान्ने पुरानो चलन अद्यावधि चलेकै छ । ‘पार्टीबाट उठेर चुनाव गरि छानिने अध्यक्ष र सदस्यले पक्षपात गर्छन्, भलमन्सा सबैका साझा हुन्छन्, पक्षपात गर्दैनन’ भलमन्साको परम्परा जोगाइराख्नुको गुह्य कुरा सुनाइन् हिरा चौधरीले । भलमन्सा भनेको गाउँको मुखिया हो । भलो र मनुष्य दुईटा शब्द जोडिएर बनेको भलमन्सा शब्दलाई सबैको भलो गर्ने मान्छे भन्ने जनाउँछ । सबैको भलो गर्ने भएकोले नै थारु समुदायमा नेता भन्दा बढी आदर र भरोसा पनि गरिन्छ भलमन्साको ।

सबैभन्दा पहिले हातमुख धोएर हामीले धनीराम चौधरीको घरभित्र बनाइएको भुटुवा कोन्टीमा गएर ढोग्यौं । थारुहरु आफ्नो पुज्य देवतालाई भुटुवा भन्छन् । यी कुनै तर्साउने वा पैशाचिक भुत नभएर विगत वा भुतकालका पुर्खाहरु नै हुन् । कोन्टी भनेको कोठा भैहाल्यो । धनी, गरिब, सानो, ठूलो जे भए पनि हरेक घरमा भुटुवक् कोन्टी (देउताको कुनो) भने अवश्य बनाएका हुन्छन् थारु समुदायमा । भुटुवालाई मानेपछि कुनै प्रकारको असुबिधा, अवरोध र गाहारो हुँदैन भन्ने विश्वास छ । कसैको घरमा गएपछि त्यो घरका देउता, वृद्धवुद्धा र परम्परालाई मान्नु हाम्रो संस्कार नै हो ।

जाडोले लुगलुग कपाउन थालिसकेको थियो । हामी अगेना वरिपरि झुम्मियौं । अगेनामा ठूलाठूला मुडा जल्दै थिए । ‘भारतबाट ल्याएका मुडा हुन सुनाए धनीरामले । खाना पाक्दै थियो गाउँलेहरु भलमन्साको आँगनमा भेला हुन थालिसके । हामीलाई उनीहरुले पत्रकार सोचेका रहेछन् । ‘लिखुइया आइल बटैं’ (लेख्ने मान्छे आएका छन) भनेर छविलालले गाउँभरि सूचना पनि गरिसकेका रहेछन् । तर हामीहरु आज लेख्नेभन्दा पनि सुन्ने मुडमा छौं । गाउँलेहरु सबैले एकएक आआफ्ना समस्या सुनाए । नेपाली भएर पनि नेपाली हौं भन्न नसकिएको पीडा पोखे खुसीराम चौधरीले ‘मोहना नदीभन्दा पारि परेकोले देशको मूल भूमिसंग बिरानोजस्तो भएर बस्नुपरेको छ’ ।

‘हामी घाँस दाउरा मेलापात चरनधरन सबै काममा भारतमैं निर्भर छौं’ सुनाए दिलबहादुर चौधरीले । ‘अरु त अरु मोहनामा बाढी आएर गाउँ डुब्यो भने ओत लाग्न भारतकै वनमा जानुपर्छ’ ।

राती अबेरसम्म बसे गाउँलेहरु । कसैले गीत गाए, कसैले केही उखान टुक्का पनि सुनाए । कोही हाँसे कोही नाँचे । कसैले रुवाए र कोही रोए पनि । निमबहादुर दाजुले भैंसिपालन गरेर आर्थिक स्तरोन्नति गर्ने उपाय सुझाउनु भो । ‘अरु कुरा सपार्न सके पनि हामी नदीलाई सपार्न सक्दैनौं । उसको आफ्नै विधान हुन्छ । अब यही नदीसितै जुधेर बाँच्न सिक्नु पर्छ । मोहनाको बालुवामा फलाउन सकिने फल र तरकारी उत्पादन गरेर यो नदीलाई उपभोग गर्न आरम्भ गर्नुहोस’ थोरै बोल्ने तर बोलेपछि घत पारेरै बोल्ने मिटुवा छविलाल कोपिला पनि बोल्नु भो अन्तमा ।

गाउँको वास, जाडोको याम, राती सुत्ने व्यवस्था राम्रो हुन्न कि भन्ने डर थियो । तर भलमन्साको घरमा हाम्रो निम्ति गरिएको ओढ्ने ओछ्याउने व्यवस्था कुनै होटलको भन्दा थोरै थिएन । थारु समाजमा पाहुनाहरु आए भने सजिलो हुन्छ भनेर पकाउने भाडा, ओढ्ने ओछ्याउने कपडा र खुवाउने कुराको सामुहिक व्यवस्था हुने चलन हुन्छ । त्यो चलनको परिपालना शिवरत्नपुरमा पनि भएकै रहेछ ।

भोलिपल्ट बिहानै हामी गाउँ डुल्न निस्कियौं । हिजोको भन्दा दिन केही खुल्छ कि जस्तो भएको छ आज । बारीमा उभिएका तोरीका बोटहरु बिहानैदेखि आफ्नो उज्यालो पोखिरहेका छन् । आकाशबाट निस्किन अल्छि मानिरहेका सूर्यभन्दा यी तोरीका बोटले पोखेको उज्यालो नै लाग्यो धेरै तेजिलो । हेरेर हामी पनि उज्यालियौं बिहानबिहान ।

भारतको वन र नेपाली खेतको माझैको ढिस्कोमा अग्लो सीमास्तम्भ ठडिएको देख्यौं । त्यो सीमास्तम्भबाट पूर्वपूर्व तन्किएर गएको दशगजाको रेखा निकै बाङ्गोटिङ्गो देखियो । त्यो रेखा मोहना ढिकमा गएर अलप हुन्छ र फेरि नदीपारि देखिन्छ । हामीले मोहनालाई दुई देशको सीमाना मान्दै आएको भए पनि यता भने मोहना कतै नेपालतिर पसेको छ कतै भारततिर ।

यो सीमानाको कथा पनि अनौठो छ । आजभन्दा १६५ वर्षअघि सन् १८५७ मा भारतमा भएको गदर विद्रोहलाई दमन गर्न जङ्गबहादुर राणाले अङ्ग्रेजको सहयोगार्थ नेपाली सेना पठाएका थिए । नेपाली सेनाको गुन तिर्न अङ्ग्रेज सरकारले हाल कञ्चनपुर, कैलाली, बर्दिया र बाँके जिल्लामा विभक्त भएको करिब दश हजार वर्ग किलोमिटर भूभाग नेपाललाई दियो । हुन त यो भूभाग पहिले पनि नेपालकै थियो । सन् १८१५ को सुगौली सन्धीमा यो भूभाग नेपालको हातबाट गुमेको थियो । फेरि नेपालमा जोडिन आएको यस भूभागलाई जङ्गबहादुर राणाले नयाँ मुलुक नाम दिएका हुन् । सन् १८६० मा कञ्चनपुर पश्चिमको कुतियाकवरदेखि बाँके पूर्वको सुइयासम्म सीमाना छुट्टयाएर स्तम्भ ठड्याउने काम सम्पन्न भयो । त्यतिखेर छुट्टयाएको सीमाना अन्यत्र प्रायः सोझै छ तर कैलालीलाई भारतसंग छुट्टयाउने सीमारेखा भने निकै बाङ्गोटिङ्गो छ । सीमा क्षेत्रमा बग्ने मोहना नदी आफ्नै गतिमा बगिरहेको छ । त्यो नदी कतै नेपालपट्टि त कतै भारततिर पसेको छ । नदीलाई आधार नमानेर सीमाको रुपमा दशगजाको रेखा कोरिएको थियो । स्थलगत कृत्रिम रेखा नै कोर्ने भएपछि पूर्वदेखि पश्चिमसम्म तनक्क तन्काएर सोझै रेखा नकोरेर किन बाङगोटिङ्गो रेखा कोरे होलान् ? जिज्ञासाहरु उठे मनमा । तर उत्तर कसैसंग छैन । त्यो बेला बाङ्गोटिङ्गो रेखा नकोरेर सोझै कोरेको भए अचेल सीमा व्यवस्थापन गर्न निकै सजिलो हुने थियो ।

सुनेको थिएँ—यो क्षेत्रमा उहिले नेपालपट्टि पातलो बस्ती थियो । भारतपट्टि घना वन भए पनि उताका मान्छेहरु टाढाटाढाबाट यहाँ आएर मोहनाको छेउछाउमा गोठ बनाई गाईबस्तु पालेर बसेका हुन्थे । सीमारेखा कोर्ने बेलामा उनीहरुकै माग र सुबिधाकोे आधारमा जताजता उनीहरुका गोठ छन् ती भूभाग भारततिर पारिदा सीमारेखा बाङ्गोटिङ्गो हुन गएको हो । यो भनाई केही मात्रामा बलियो लाग्यो । पछिपछि मोहनामा आइरहने बाढीले सीमारेखालाई झन् भताभुङ्ग पार्दै ल्यायो ।

हामी बसेको टोलमा भने बाढी पसेको रहेनछ । तर मोहनाले कतिखेर रौद्र रुप धारण गरेर स्वात्तै बगाउने हो भन्ने पीडाले घेरिरहेको छ गाउँलेलाई । गाउँको पश्चिमपट्टि थारुले पुज्ने देवताको मरुवा (देव थान) बनाएकोले यो गाउँमा बाढी नपसेको हो भन्ने विश्वास गर्दारहेछन् गाउँलेहरु ।

बुढापाकाहरुले सुनाए—शिवरत्नपुरको बस्ती २०३९ सालतिर बस्न आरम्भ भएको हो । त्यतिखेरका सेती अञ्चलाधीश रत्नबहादुर गुरुङको अनुमतिले हसुलियाका स्थानिय पञ्च शिवलाल डाँगीले बसाएका रहेछन् यो बस्ती । ती दुबै जनाको नाम जोडेर गाउँलेहरुले आफ्नो गाउँको नाम नै राखेका रहेछन् शिवरत्नपुर । मोहनाको व्यथा भने उहिलेदेखिकै रहेछ ।

डुल्दैडुल्दै गाउँको पश्चिमतिर पुग्यौं । यो १५÷१६ वटा घर भएको छोट्कीपुर्वा हो । यो भने निकै क्षतविक्षत रहेछ । मोहनाको बाढीले कटान गरेर यस टोलका मान्छेहरु अन्यत्र विस्थापित भईसकेका छन् । खेतबारीहरु मोहनाको बगरमा परिणत भईसकेको देख्दा कटक्क भएर आयो मन । ‘ऊ यही निर थियो गाउँ’ आँखाका डिलमा टिलपिलटिलपिल आँसु पार्दै सुनाइन् हिरा चौधरीले । अझैं पनि बगरको छेउमा ससाना बुक्रा (झुप्रा) बनाएर एकदुई जना मान्छे बसेकै छन् यहाँ । नदीमा विलिन भईसके पनि आफ्ना खेतवारीको माया भईहाल्दोरहेछ । बगरमा परिणत भएका आफ्ना खेतबारी फेरि पहिलेजस्तै बन्लान् कि भन्ने अचम्मको अज्ञात आशा पालेकै छन् गाउँलेहरुले ।

छोट्कीपुर्वाका भलमन्सा मानबहादुर चौधरीले हामीलाई गाउँको पश्चिमी डिलसम्मै पु¥याए । गाउँलेहरुले मोहनामा तटबन्ध नबनाएका पनि हैनन् । ‘रोकथामका हरेक उपाय अपनाउँदा पनि मोहनालाई छेक्न सकिएन । दुबै टोल गरेर जम्मा ८९ वटा घरधुरी छौं, हाम्रो सारा श्रीसम्पत्ती बेचेर पनि तटबन्ध बनाउन सक्दैनौं, ठूलो बजेट भएको ठाउँसम्म पुग्ने पहुँच र क्षमता हाम्रो छैन’ भने लक्ष्मीप्रसाद चौधरीले । पश्चिमपट्टिको कुनामा तटबन्ध नबनाउँदासम्म कटान गर्ने बाढीको धार नरोकिने रहेछ । ‘त्यो कुनोनिर सीमाना पर्ने भएकोले भारतकै भूमि छोएर भारतले तटबन्ध बनाउन दिदैन, त्यहाँनिर तटबन्ध नबनाएसम्म कटान रोकिन्न’ सुनाए बाध्यता ।

हाम्रो दोस्रो दिनको गन्तव्य मोहनपुर हो । त्यहाँ पुग्न फेरि दुई पटक मोहना तर्नु छ । यो गाउँ पनि हुन त मोहनाकै पारि पर्छ तर सोझै जान भारतीय भूमि टेक्नु पर्छ । हामीले नेपालनै भएर जाने निधो ग¥यौं । एक हुल गाउँलेहरु हामीलाई पु¥याउन नदीकै ढिकसम्म आए ।

हिजै तरेर गएको गुन्द्री पुल फेरि त¥यौं र आइपुग्यौं सुर्मीनाला । लाग्यौं पश्चिमैपश्चिम । भिटर्हिया भन्ने गाउँबाट मोडिनु प¥यो देब्रेतिर । थोरै अगाडि गएपछि आँखामा ठोक्कियो फेरि मोहनाकै बगर । शिवरत्नपुर जाँदा तरेको भन्दा यहाँनिर मोहना निकै फराकिलो रहेछ । नदीमा बग्ने पानीको घनत्व त उत्तिकै हो । यहाँ बाढीले बनाएको बलौटे बगर भने निकै फराकिलो रहेछ । यहाँ पनि गुन्द्री ओछ्याएजस्तै देखिने काठेपुल त¥यौ । हिजोको भन्दा अलिकति लामै रहेछ । उसैगरि खुरुरुरुरु मोटरसाइकिलमा दुगुर्दै पारि पुग्यौं । मोहनपुर गाउँभन्दा पहिले यहाँ वनले बाटो छेक्यो । बाढीको रोकथाम गर्न गाउँलेहरुले पालेर हुर्काएको सामुदायिक वन रहेछ यो । वर्षातमा बाढीको पानी पसेर क्षतविक्षत पारेका दृश्य देखिए वनभित्र पनि ।

आइपुग्यौं मोहनपुर । शिवरत्नपुर जत्रै रहेछ मोहनपुर । ‘एकानब्बे घरधुरी छन’ सुनाए सागर कुश्मीले । उनी यो क्षेत्रका विषयबस्तु मिडियाद्वारा उठाइरहने जाँगरिला युवा हुन् । उनकै उत्प्रेरणाले यहाँसम्म आइपुगेकाछौं हामी ।

मोहनपुरमा घर शिवरत्नपुरका भन्दा ठूलाठूला र खेतबारी पनि फराकिला देखिए । वहाँभन्दा यहाँ भौतिक विकासको आगमन अलि छिट्टै भईसकेको रहेछ । पक्की घर र ग्रेभलिङ् सडकले विकासलाई पछयाइसकेको जनाउ दियो । हामी सोझै भलमन्सा रामप्रसाद चौधरीको आँगनमा पुग्यौं । यहाँ पनि धेरै मान्छे भेला भईसकेका छन् । प्लाटिकका कुर्सी राखेर पाल पनि टाँगिएको छ । साहित्यिक पदयात्राको ब्यानर पनि झुण्डिएको रहेछ ।

मोहनापारि सबैभन्दा पहिले बसालिएको बस्ती हो रे यो । यो बस्तीको नामकरणको सम्बन्धमा मोहनापुर मोहनापुर भन्दाभन्दै मोहनपुर भएको हो सुनाए श्यामपती चौधरीले । यस गाउँमा पनि थारु जातीका मानिस मात्र वसोवास गर्दा रहेछन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी पनि आउनु भएको छ । उनै भलमन्सा रामप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम आरम्भ भयो । अनेक युवाहरुले आफ्ना विचार राखे । कसैले गीत सुनाए कसैले समस्यामात्रै उठाए । प्रायःजसो यतातिरका गाउँका मान्छे आफ्नो मनका भावनाहरु कुनै जलप नलगाएर खरररर भन्न सिपालु भईसकेका रहेछन् जस्तो लायो । हेर्दाखेरी निकै लजालु देखिने सुमन चौधरी यसरी फररर बोलिन् कि हामी हेरेको हेरेइ भयौं ।

कार्यक्रम सकिएपछि यहाँ पनि हामी गाउँ डुल्यौं । खानपान पनि भयो उसैगरि । थारु शैलीमा थारु परिकार पस्किए । खाएर परपरसम्म सीमास्तम्भ र बाढीले बगाएका खेत पनि हेर्न गयौं । गाउँलेले पुरै डुलाई दिए गाउँको वल्लो छेउदेखि पल्लो छेउसम्म । गाउँको पश्चिमी कुनामा सामुदायिक भवन र आपतकालीन उद्धार केन्द्र पनि रहेछन् । यस केन्द्रमा अकस्मात बाढी आइहाल्यो भने आपकालीन सूचना दिन र उद्धार गर्न काम लाग्ने आधुनिक उपकरणहरु भण्डारण गरिएका रहेछन् । सबै उपकरण एकएक गरि देखाए र तिनीहरुको उपयोगिता र विशेषता सुनाए सुनिल चौधरी र चन्द्रपति चौधरीले ।

आफ्नो सामुहिक प्रयासले सक्ने जति गरेकै छन् यस गाउँका वासिन्दाहरुले । सबैभन्दा मुख्य समस्या भनेको बाढी नै रहेछ र सबैको माग भनेको झोलुङ्गे पुल नै रहेछ । ‘आधारभुत आवश्यकतालाई सरकारले पुरा गरिदियो भने अरु त हामी आफै गरि हाल्छौं’ मोहनपुरका युवाहरुमा अठोट र आँट भरपुर देखियो ।

‘हमार माग सरकारहे सुना डेबी’ (हाम्रा माग सरकारलाई सुनाइदिनु होला है) सबैले यस्तै भनी रहे हामीलाई । ‘लिखुइया’ भएर यस गाउँमा आएका भए पनि मानौं हामी उनीहरुको लागि सरकारकै प्रतिनिधि हौं ।

‘हामीले त लेख्ने हो, पढ्नु, नपढ्नु सरकारकै हातमा छ’ भन्न मन लागेको त हो तर भन्न सकिएन । मोहनपुरवासीका निश्छल भावनाहरुलाई आहत बनाउन सकिनँ ।

अब पुग्नु छ हाम्रो पदयात्राको तेस्रो मुकाम हौसलपुर । यो गाउँ भने शिवरत्नपुर र मोहनपुरभन्दा धेरै टाढा पर्छ । मोहनपुरबाट त लगभग १५ किलोमिटर जति नै कुद्नु प¥यो त्यहाँ पुग्न । हुलाकी सडकमा पर्ने उनै भिटर्हिया, सुर्मीनाला, हसुलिया र पवेरा हुँदै बैंसपुरसम्म पूर्वपूर्व कुदिरह्यौं एकोहोरो ।

बैंसपुरबाट आरम्भ भो वसन्ताको वन । थारुहरुले ‘बर्का वनुवाँ’ भन्ने यो वनलाई वसन्ताको वन पनि भनिन्छ । ‘डाडु चलि एकघँची रखौनारखौनी झाँके’.(दाजु हिड्नुहोस् एकपटक रखौनारखौनी हेर्न) सागर भाइको प्रस्तावले लोभिइहाल्यो मन । यही वनभित्र हुलाकी सडकको नजिकै पर्छ रे रखौनारखौनी ताल । हेर्न जानु पर्छ भनेर हिजोदेखि भनेकाभनेई छन् उनी । ‘रखौनारखौनीमा मन राख्न त जानै प¥यो सर’ ललित भाइको रहर पनि छचल्किरहेकै छ । नदेखेको ताल हेर्ने मौका गुमाउने कुरै भएन । लाग्यौं देब्रे मोडिएर हामी रखौनारखोनी ताल हेर्न ।

रखौनारखौनीसंग जोडिएको मिथक पनि निकै रमाइलै रहेछ । सागर कुश्मी बेलीबिस्तार गर्न लागे—रखौना रखौनी थारु संस्कृतिसंग जोडिएको शब्द हो । थारु समाजमा माया गरेर मन राखिदिने केटालाई ‘मनरख्ना’ र मन राखिदिने केटीलाई ‘मनरख्नी’ भनिन्छ । उहिलेउहिले केटाकेटीहरु एकअर्काको मन राखिदिनको निम्ति कहिले खर काट्ने निहुँ त कहिले सालका पात टिप्ने निहुँ गरेर यही तालको घना वनमा आउने गर्थे । त्यसरी एक अर्काका राग अनुरागहरुको मन राखिने ऐकान्तिक ठाउँ भएकोले यसलाई रखौनारखौनी भन्न थालिएको हो ।

हामी पुग्ने बेलामा भने हुस्सुको सेतो बर्को ओढेर पुसको जाडोमा निमग्न भएर सुतेको थियो रखौनारखौनी ताल । कुनै कोलाहल छैन यहाँ । चराचुरुङ्गीहरुको कल्याङ्मल्याङ् पनि छैन । तालको छेउमा एउटा घर देख्यौं तर मानविय उपस्थिति देखिएन । ढोका, झ्यालहरु ह्वाङ्गै छन् । कुखुरा चरिरहेका छन् आँगनमा । मान्छेहरु कतै गएका होलान् । तालको चिसो पानीमा माछा र बकुल्लाहरुको लुकामारी भने निर्बाध चलेकै रहेछ । हाँस पनि पौडिदैछन् आफ्नै रहर छल्काउँदै ।

हामीले देख्यौं तालको वरिपरि घना वन छ । तालका दुई ओटा खण्ड छन् । उनै अज्ञात मनरख्ना र मनरख्नीहरुको अज्ञात प्रेमलाई सम्झेर यो ताललाई पनि दुईटा खण्ड बनेर रखौना र रखौनी भएको हो कि जस्तो लागिरह्यो ।

पूर्व प्रधानमन्त्री डा. केआई सिंहको गाउँ केआई सिंह फाँटा पनि यहाँबाट पूर्वतिर पर्छ । उहाँका छोरा हुन् भोगेन्द्रजीत । उनलाई मुन्ना भनेर पनि चिनिन्छ । आजभन्दा पाँच दशक अघि उनै मुन्ना र एकजना थारु समुदायकी रुपसी युवतिको प्रेमका मुना पनि यतै तालको छेउछाउमा कतै अङ्गरित भएका थिए रे ! पछि उनीहरु ‘उर्हाउर्ही भोज’ गरेर भारतको सिंगाहीतिर लागेका थिए । आजभन्दा त्यति पहिले गोत्र र जातमात्रै मिलाएर बिहे गरिने कट्टर समयमा भएको उनीहरुको त्यो प्रेम र विवाहको कथा अझैंसम्म त्यतातिर निकै स्मरण गरिदोरहेछ । थारु भाषामा भागेर गरिने प्रेमविवाहलाई ‘उर्हाउर्ही भोज’ भनिन्छ । यो कथा मलाई उहिल्यै सुनाएका थिए मेरा मित्र विजयराज श्रेष्ठले । आज सम्झिएँ फेरि यहीं पुगेर उनै मुन्नामुन्नीको पुरानो प्रेमकथालाई । हामीले प्रेमका मिथक र उदाहरणहरु खोज्दै लैजामजनुँ र रोमियोजुलियटका देशतिर कतै टाढाटाढा जानै पर्दैन । यहीं भेटिन्छन् अनेकौं अमर रखौनारखौनीहरु ।

हसुलिया निवासी कवि तीलक बोहरा ‘समर्पण’ले पनि ‘दाजु म रखौनारखौनी तालमा कुनै दिन एउटा साहित्यिक कार्यक्रम गर्छु गर्छु’ भनेर गरेको वाचा सम्झिदै डुलिरहें म तालको डिलैडिल । हाम्रा आँखाले परपरका दृश्यहरुलाई राम्ररी ठम्याउन सकेनन् । ललित भाइले खिचेको सेल्फीमा पनि रखौनारखौनीको पूर्ण चित्र समेटिन सकेन । सौन्दर्य भन्ने कुरा आँखाले हेरेको र मनले अनुभव गरे जत्तिको सुन्दर त चित्रमा कहाँ देखिन्छ र ? भन्दै सकुञ्जेल नेत्रपान गरिरहयौं हामीेले ।

मानिसहरु कैलालीका ताल भनेपछि घोडाघोडी तालको मात्रै चर्चा गर्छन् । महेन्द्र राजमार्गमा पर्ने भएकोले त्यहाँ मानिसको आवागमन बढी हुने गरेको छ । त्यही चहलपहलका कारणले घोडाघोडीको प्राकृतिक प्राञ्जलता निकै बिथोलिइसकेको छ । पिकनिक खानेहरुले गरेर जाने फोहोरले गर्दा निकै प्रदुषित भईसकेको छ घोडाघोडी । त्यसको अनुपातमा रखौनारखौनी ताल सफा नै देखिन्छ । यहाँको खुला र ऐकान्तिक वातावरण मनमोहक छ । यो ठाउँ रमाइलो गर्ने नभएर ध्यान, योग र काव्य साधना गर्नेहरुको लागि निकै सुहाउँदो लाग्यो ।

‘कुनै दिन फेरि पनि आइने छ रखौनारखौनीमा’ फर्किने बेलामा ललित केसी भाइले भनिहाले । उनको यो तालसंग जोडिएका कथाहरु उत्खनन गर्ने उत्सुकता कदाचित बाँकी नै रह्यो । मैले पनि थपिहालेँ—आउनुपर्ला फेरि पनि ।

रखौनारखौनीबाट फर्केर फेरि हुलाकी सडक हुँदै पूर्व लाग्यौं । बाटोमा आयो वसन्ता गाउँ । वसन्ता गाउँकै कारणले यो वन पनि वसन्ताको वन भनेर चिनिएको हो । अचेल त यतातिर पातलोपातलो भईसकेको छ यो वन । उहिले निकै घना थियो रे । भारतीय सीमानादेखि नेपालको चुरे पहाडसम्म तन्किएको यो फराकिलो वन साँगुरिदै छ अचेल । नेपालको तराईमा चुरेको समानान्तर पूर्वदेखि पश्चिमसम्म तन्किएको घना वन चारकोश चाक्लो भएकोले त्यसलाई चारकोशे झाडी भनिन्थ्यो । तर यो वन पाँच कोश चाक्लो भएकोले यसलाई पचकोसवा पनि भनिन्छ । यो ठूलो जैविक मार्ग पनि हो । नेपाल र भारतका वन्य जीवजन्तु ओहोरदोहोर गरिहन्छन् । नागरिकहरु आआफ्नै देशको पहिचानमा बाँधिएका भए पनि बाघ बघेनी, मृग मृगिणी र चराचुरुङ्गीहरुको निर्बन्ध आवागमन र स्वच्छन्द प्रेमालापमा कुनै बाधा छैन । वन साँगुरिन थालेसंगै प्रकृतिको यो वन्य सभ्यता पनि बिस्तारै बिथोलिदै छ ।

बाटोमा आयो रामपुर । यहाँबाट हाम्रो यात्रा दाहिने मोडियो । रामपुरबाट दक्षिण लागेपछि परपरसम्म फराकिला खेतबारी देखिए । आँखाले हेर्न भ्याएसम्म चारैतिर पहेंलो तोरीको साम्राज्य फिंजिएको छ । अलि पर पुसको हुस्सुमा डुबेको वन भारतको हो रे । अलि पर पुगेपछि बाटो देब्रेदेब्रे लाग्यो । गाउँ पनि उतै छुट्टयो । बयरघारी र बञ्जर फाँटहरु आए । हामी निर्जन ठाउँमा कुदिरह्यौं । निकैबेर कुदे पछि अइपुग्यो मोहनको ढिक । खेतबारी बगाएर बचेको अन्तिम ढिस्कोलाई ढिक भनिन्छ यतातिर । यसलाई खेतको डिल भन्दा पनि हुन्छ । ढिकैनिर एउटा झुप्रो देखियो । भित्र बस्न मिल्ने काठका फल्याक ओछ्याइएका हुनाले यो प्रतिक्षालय नै होला पक्कै पनि । तल नदीको छेउमा डुङ्गा बाँधिएको छ । मान्छे कोही छैनन् । ‘पारिपट्टि देखिएको गाउँ नै हो हौसलपुर’ सागर भाइले देखाए औंला सोझ्याएर । गन्तव्यको नजिकै पुगेर पनि निकै टाढा भएजसरी त्यही प्रतिक्षालयमा बसेर कुर्न लाग्यौ डुङ्गा चलाउने मान्छेको आगमन ।

केही बेरमा दौडिदै आए एकजना बुढो उमेरका मान्छे । कालुराम डंगौरा रहेछ उनको नाम । ‘अपनेन के आइटी कहिके महिन पटा होसेकल रहे’ (तपाइँहरु आउने कुरा मलाई थाहा थियो) । डुङ्गामा तारि दिए मोहना नदी । पैसा लिन मानेनन् । ‘पहुँननसे पैंसा नैलेठी हजुर हम्रे ट’ (पाहुनाको पैसा लिन्नौं हजुर हामी त) भन्दै जति कर गर्दा पनि लिन मानेनन् ।

डुङ्गाबाट ओरालेर हामीलाई सोझै पु¥याए उनैले भलमन्सा टीकाराम चौधरीको आँगनमा । हामीले यो गाउँलाई पनि ठूलै छ भन्ने सोचेका थियौं तर २९ घरधुरी मात्रै रहेछन् । हौसलपुरसंगै जोडिएको भारतीय गाउँ बेलापर्सुवाले गर्दा परबाट हेर्दा ठूलो देखिएको रहेछ । वास्तवमा हौसलपुर त मोहनापारिको सानो टुक्रो नेपाली जमिनमा टुक्रुुक्क टुहुरोजस्तै बसेको गाउँ रहेछ । दक्षिणबाट आएर उत्तर हुँदै पूर्वपट्टि बगेर जाने मोहना नदीले कतिखेर बगाउने हो थाह छैन ? अज्ञात भयलाई छातीभित्र लुकाएर बसेका छन् हौसलपुरवासीहरु ।

टीकारामको आँगनबाट उत्तर र पूर्वतिर सीमाका स्तम्भहरु देखिए । भारतीय गाउँ बेलापर्सुवा हौसलपुरबाट उत्तरतिर देखियो । भारत त नेपालको पूर्व, दक्षिण र पश्चिमतिर पर्छ भन्ने सुनेको हो । यहाँ त उत्तरतिर पनि भारतकै गाउँ देखियो । शायद नेपालको एउटा मात्र गाउँ यही होला जुन गाउँबाट उत्तरतिर पर्छ भारतको भूमि ।

हौसलपुरको सानो गाउँलाई उत्तरतिरबाट बेलापर्सुवा र पूर्व र पश्चिमतिरबाट भारतको वनले घेरेको छ । यहाँबाट बेलापर्सुवा जाने बाटोको माझैंमा धान रोप्ने सोतो जस्तो चिसाचिसोे खेत देखियो । यो त दुई देशको सीमारेखा बनेको दशगजा पो रहेछ । दशगजाको पारिपट्टि बेलापर्सुवाको आडैमा भारतले अग्लो पक्की बाटो बनाएको छ । ‘मोहनाले ल्याउने बाढी त्यही बाटोमा ठोक्किदै यतै फर्केर पुरै गाउँ डुबाउँदा कतिखेर यहाँबाट भागौं जस्तो लाग्छ सर’ व्यथा पोख्न लागे भलमन्सा टीकाराम ।

यस्तो अनकन्टार सुनसान ठाउँमा आएर हाम्रा बाबुबाजेहरु केवल हौसलाकै भरमा बस्न सकेका त होलान् । उनले गाउँको नाम हौसलपुर रहनुको कारण पनि सुनाए । यो गाउँको नाम हौसलपुर रहनुको कारण पनि यही रहेछ । ‘हौसल भनेको थारु भाषामा कुनै काम गर्न तत्पर हुनु हो’ भन्दै हुनुहुन्छ मिट्वा छविलाल कोपिला ।

भारतबाट सरसामान ल्याएर घरमा राख्ने र मौका मिलाएर साइकलमा बोकेर नेपाली गाउँतिर लगेर बेच्ने काम फस्टाएको रहेछ हौसलपुरमा । प्रहरी, प्रशासन र भन्सारको पहुँचबाट निकै टाढा रहेको हौसलपुर यही काममा मग्न छ । देशको कानूनले यस कामलाई गैरकानूनी माने पनि उनीहरुको लागि भने जीविकोपार्जनको माध्यम बनेको छ । रातीराती पो निकै चहलपहल हुँदो रहेछ हौसलपुरमा । गाउँमा घरभन्दा बढी मदिराका पसल छन् । मदिराका पसलमा टनाटन मदिराका बोतलहरु भरिएको देखेर आश्चर्य लाग्यो ।

‘यी सबै पसल भारतीयहरुकै भरमा चलेका छन’ सुनाए कालुराम डंगौराले । साँझपख भलमन्सा टीकाराम चौधरीकी पत्नीले खाना पकाएर खुवाइन् । उनको माइती भारतको चन्दनचौकी रहेछ । सीमावर्ती भारतीय गाउँहरुमा पनि थारुहरुको बाक्लो वसोवास भएकोले दोहोरो बिहेवारी चल्दोरहेछ । नेपालमा त उनी रामपुर र वसन्ताभन्दा पर गएकी छैनन् रे । नेपाली र हिन्दी केही पनि बोल्न जान्दिनन् । थारु जातले उनको नाता जोडिएको रहेछ नेपालीसंग र हामीसंग कुराकानी हुन सक्यो थारु भाषाकै कारणले ।

राती सुत्यौं भलमन्साको घरमा । झ्यालबाट देखिइरह्यो रातभरि भारतीय भूमिमा बिजुलीबत्तीको झिलीमिली । उता अर्कोपट्टि भारतकै वनमा स्याल कराएको स्वर पनि आइरह्यो रातभरि । नेपाल—भारत सीमानाको यति नजिकै पुगेर म कहिल्यै सुतेको थिएनँ ।

बिहान सूर्योदय हुनुअघि नै उठ्यौं हामीहरु । पूर्वतिरको भारतीय वनको माथिबाट उदाएका सूर्यले मन्दमन्द उज्यारो छरे । हामीले गाउँलेसित संवाद गर्न खोज्यौं । तर बोल्ने कुरा सबै भलमन्साकै जिम्मा लगाएजसरी सबै मौन नै रहे । हामीसंग कोही पनि झ्याम्मिएनन् । हामीप्रति उनीहरुमा खासै उत्सुकता देखिएन । शिवरत्नपुर र मोहनपुरका वासिन्दाको जस्तो जागरुकता यो गाउँमा भेटिएन । भारतसित चल्ने व्यापारमैं डुबेर होला हौसलपुरेहरु एकोहोरिइसकेका रहेछन् । या हामीबाट कुनै प्रकारको अपेक्षा नभएर हो कि हामीसंग कुरा गर्ने जाँगर कसैले पनि नदेखाएको ।

आफ्नै हौसलाको भरोसाले बाँचीरहेका हौसलपुरेको हामीसंग कुनै आशा र अपेक्षा नभए पनि हाम्रो भने उनहिरुसंग ठूलो अपेक्षा छ । सबै कुरामा भारतकै भरमा बस्नु परे पनि मोहनापारिको यो सानो टुक्रो नेपाली भूमिलाई उनीहरुले सुरक्षित पारेर त राखेका छन् । बर्दी लगाउने प्रहरीहरु कहिल्यै नपुग्ने यो ठाउँमा त्यसरी देशको सीमानाको रक्षा गरेर बसेका बिना बर्दीका प्रहरी नै हुन् यी हौसलपुरेहरु ।

मुखले धेरै कुरा गर्न नसके पनि आँखाआँखाले भने प्रशस्त संवाद भयो उनीहरुसंग । ‘चलि सर डेर हुइटा’ (हिड्नुहोस् सर ढिलो भयो) डुङ्गा चालक कालुराम डंगौराले भनेपछि भलमन्सा टीकाराम चौधरीसंग बिदा लिएर हिड्यौं हामीहरु । उनैले नदी तारिदिए । नाइँनाइँ भन्दाभन्दै पनि हामी पाँचसय रुपियाँ उनको हातमा राखी दियौं । ‘पहुँननसे पैंसा नैलेठी हजुर हम्रे ट’ (पाहुनाको पैसा लिन्नौं हजुर हामी त) भन्दै थिए उनी । हामी भने ‘जय गुर्बाबा’ भन्दै थिए बिदा लिएर हिड्यौं त्यहाँबाट ।

मोहनाको ढिक पनि बिस्तारै ओझेल पर्दै गयो आँखाबाट । तर मनभरि नाचिरह्यो बिना बर्दीका प्रहरीहरुको गाउँ ‘हौसलपुर’ …….।
नेपालगंज, बाँके

बर्दी बिनाका प्रहरी

खगेन्द्र गिरि ‘कोपिला’