मोहनामा डुबुल्की मार्दै बाँचेको कैलालीको शिवरत्नपुर

निमबहादुर थापा
२६ चैत्र २०७९, आईतवार
मोहनामा डुबुल्की मार्दै बाँचेको कैलालीको शिवरत्नपुर

मोहनामा डुबुल्की मार्दै बाँचेको कैलालीको शिवरत्नपुर

गाउँको परिचय
कैलाली जिल्ला अधिकांश गाउँ नै गाउँले भरिएको जिल्ला हो । पछिल्लो समय यो जिल्लामा तीब्ररुपमा शहरीकरण भइरहेको छ । यसको उदाहरणको लागि यहाँ रहेका नगरपालिकाको संख्यालाई लिन सकिन्छ । यहाँ १३ वटा स्थानीय निकाय छन् । तिनै १३ निकायमध्ये एउटा पुरानो धनगढी बजार केन्द्र रहेको धनगढी उपमहानगरपालिका बनेको छ । अरु १२ स्थानीय निकायमा गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकासमेत ६ वटा नगरपालिका रहेका छन् । अरु बाँकी ६ वटा स्थानीय निकायहरुमा जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिका र कैलारी गाउँपालिका हुन् ।

त्यही १३ औं नम्बरको अतिविगत मानिएको कैलारी (कैलाली होइन) गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर गाउँ हो । यो गाउँ (साविक हसुलिया गाविस ४) मा पर्दथ्यो । मोहना नदी र दशगजाले चारैतिर घेरेको शिवरत्नपुर गाउँमा ८९ घरधुरीका ५ सय जनसंख्या बसोबास गर्दछन् । यो गाउँ दुईवटा टोलमा बाँडिएको छ । बरकापुरवा ७३ घर दजगजा नजिकै केही उचो भागमा रहेको छ भने, बाँकी १६ घर उत्तरतर्फ मोहनाको सतहमै रहेका छन्, जहाँ हरेक वर्ष मोहना नदीले डुबाउने गर्दछ । विक्रम सम्वत २०३६÷३७ सालदेखि नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट, बसाइ सरेर आएका जनताले भरिएको गाउँ हो शिवरत्नपुर । तथापि ती गाउँबासीहरु सबै विगतमा दाङ देउखुरीबाट बसाई (छारा) सरेर बुह्रान गएको अध्ययनले देखाउँछ ।

गाउँको नाम कसरी रह्यो शिवरत्नपुर
यो लेखक सैनिक जागिरेको हैसियतमा वि.सं २०३५ साल माघदेखि ०४१ वैशाखसम्म धनगढीमा कार्यरत थियो । त्यही सिलसिलामा ०३८ साल मंसिर महिनामा राजा वीरेन्द्रको डोटीको दिपायलमा क्याम्प रहनेगरी सुदूरपश्चिमाञ्चल सवारी भयो । त्यो सवारी चलाउनका लागि म कार्यरत पल्टन श्री सिंहनाथ गणका सेनानी (मेजर) सनतकुमार जोशीको कमाण्डमा एक कम्पनी खटिएको थियो । त्यो सवारीमा दुईजना रत्नबहादुर गुरुङ विशेष भूमिकामा थिए । पहिलो स्याङ्जाका रत्नबहादुर गुरुङ सेती अञ्चलका अञ्चलाधीश थिए भने दोस्रो कास्की ह्याम्जाका सेनानी रत्नबहादुर गुरुङ समग्र सवारी सुरक्षा अधिकृत थिए । जसले सम्पूर्ण सुरक्षा निकाय, प्रशासन, यातायात, सञ्चार र वायुयानसमेतलाई परिचालन गर्थे । हो, उनै सेक्यूरिटी अफिसर गुरुङको सहयोगी बिल्लादार गार्ड म थिएँ । अधिकांश समय अञ्चलाधीशको नजिक रहन्थे सुरक्षा अधिकृत ।

एकदिन राजा समक्ष विभिन्न माग राख्ने कार्यक्रम थियो । त्यो दिन कैलालीको दक्षिणी सिमानामा पर्ने हसुलियाका पञ्च शिवलाल डाँगीले एउटा फायल बोकेर अञ्चलाधीशको पछि लागेका थिए । राजालाई अञ्चलाधीशले विन्तिपत्र पढेर सुनाए । त्यो विन्तिपत्रमा धनगढीमा क्याम्पस, अस्पताल, मोहना पारि सिमानामा बस्ती व्यवस्थापन गर्ने लगायतका माग राखे । त्यही सन्दर्भ अनुसार शिवलाल डाँगीले प्रति घर १० देखि १२ कठ्ठाका २७ कित्ता जमिनको अस्थायी निस्सा पाउनेगरी बस्ती बसाले । शिवलाल डाँगीको शिव, अञ्चलाधीश रत्नबहादु गुरुङको रत्न जोडेर गाउँको नाम शिवरत्नपुर राखिएको हो, अग्रजहरुले भनेका कुरा सम्झिदै शिवरत्नपुरका लक्ष्मी चौधरी बताउँछन् । भलमन्सा धनीराम चौधरी यो प्रसंग स्मरण गर्छन् । अहिले त्यहाँका गाउँलेसँग मालपोत तिरेको रसिद छ तर लालपूर्जा भने अझै मिलेको छैन । यही गाउँमा बसेको ४० वर्ष पुग्दा पनि हाम्रा पुर्खाजस्तै हामी पनि भूमिहीन नै छौं, हिरा चौधरीले भनिन् ।

शिवरत्नपुरतिर यात्रारम्भ
यसवर्षको कैलाली यात्रा वि.सं २०७९ साल पुस १२, १३ र १४ गते रह्यो । दाङबाट गत वर्षजस्तै मित्र छविलाल कोपिला र ममात्रै रह्यौं तर प्रिय भाइहरु बाँकेबाट अर्का कोपिला खगेन्द्र गिरी र सुर्खेतबाट ललित खत्रीको सहभागिताले यात्रा निकै रमाइलो बनायो । यात्रा जति रमाइलो भए पनि यात्रामा ज्यानले पाउने सास्तीको त्यति चर्चा गरिदैन । देउखुरीबाट कोहलपुर, चिसापानी, लम्की, अत्तरिया, धनगढी हुँदै धनगढीदेखि पूर्व ३० किलो मिटर हसुलिया पुग्नु थोरै बाटो पक्कै होइन । त्यहाँबाट पनि भित्री गाउँ जाने कुराको बयानै छैन । कठमाडौं–महेन्द्रनगर चल्ने बसको चालकसँग हाम्रो अंकलहरु दुईजनालाई बिहान अत्तरिया लगिदिनु भनेर नम्बर दिनुभएको थियो होटेल हाइवेका सञ्चालक भतिज प्रकाश शर्माले । बिहान चार बजे तयार रहनु भनेर चालकले आफै फोन गरेका थिए, बेलुकै । तर साढे ६ बजेमात्रै बनगाउँ आइपुग्यो बस । तयारीका लागि ३ बजे त उठ्नैपर्ने, ठीक चारबजे मित्र छविलाल कोपिला पैदल हिडेर मेरो घर आइपुग्नु भो ।

साढे १० बजे खाना खाने भनेर चिसापानीमा रोकियो बस । हात धोएर टेबुलमा बसेको कर्णालीको साँठले सबैले देख्नेगरी लुगलुग काँप्यो मेरो ज्यान । निकै जाडो मान्यो तपाइको ज्यानले, थररै काँप्नु भो भन्नुभयो कोपिलाजीले । मैले पनि अब पक्कै उमेर छिप्पएके हो त ? आफैलाई प्रश्न गरें । हुन पनि दाँत नै बजेका थिए मेरा । खानाको थालीमा गहिरो काँशको बटुको भरि रस आयो । पुत्ताउने तातो रस एक घुट्को मारें । जब त्यो तातो रस पूरै पिएर सिध्याएँ ज्यान काँप्न छोड्यो, माछाका पिस पनि देखिए पिंधमा र बल्ल भातमा हात हालें ।

हाम्रो योजना अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा पस्ने, त्यहाँका सञ्चालकहरुसँग भलाकुसारी गर्ने र धनगढीतिर लाग्ने थियो । त्यहाँ फोन सम्पर्क भएकै थियो, पुग्दा प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, व्यवस्थापक मित्र लेखराज जोशी र मेरा जागिरे जीवनका चेला सुवेदार भवानीप्रसाद अवस्थीले स्वागत गर्नुभयो । हामीले सर्वोदय स्मारिका, नेपालका गढीकिल्ला लगायतका दुई दर्जनबढी पुस्तक सौजन्य ग¥यौं । चिया नास्ता खुवाउनुभयो । आप्mनो स्मारिका ‘प्रतिभा’ र सुदूर चिनारी’ द्वैमासिक उपहार दिंदै हार्दिकतापूर्वक यात्रा सफलताको शुभकामनासहित विदाइ गर्नु भो । अब हामी स्थानीय बसमा धनगढी बसपार्क, अटोमा क्याम्पस चौक हुँदै अर्को बसद्वारा हसुलियाको सुर्मीनाला झरेर पहिलो गन्तब्यलाई पूर्णविराम दियौं । बसपार्कदेखि क्याम्पस चौकसम्मको अटो यात्रामा चितवन घर भई धनगढीमा आइटी इलेक्ट्रोनिक व्यवसाय गरी बस्ने हरि बिडारी भतिजले एकरात बसाउने भनेर बाटोमा बसेका थिए, तर फर्किदा बस्ने भनेर फुत्कियौं ।

सहभागीहरुको जम्काभेट
हामी बसबाट झर्नु र खगेन्द्र भाइले बाइक रोकेर साँचो झिक्नु सँगै परेछ । सैनिक अप्रेशनको ब्रिफिङमा हिड््नेबेला ‘घडी मिलाओ’ भन्ने एउटा अन्तिम टपिक्स हुन्छ, त्यसबेला मुख्य कमाण्डरले सहायक कमाण्डरहरुलाई आफ्नो घडीको समयसँग मिलाउन लगाउँछ । भन्छ, ‘अहिले मेरो घडीमा ठिक … (यति) बज्यो, जब मैले टाइम्, मुभ भन्छु मेरो घडीमा … (यति) बजेको हुनेछ, दश सेकेण्ड बाँकी, ९, ८, ७, ६, ५, ४, ३, २, १ टाइम् गो…. ।’ यसको अर्थ हुन्छ अप्रेशनमा हिंडेका सबै सैनिक टुकडीहरु ब्रिफिङ अनुसार आ–आफ्नो मिशन लोकेशनमा ठीक समयमा पुग्नु पर्छ भन्ने नै हो । यदि समय मिलेन भने दुश्मन फस्नेमा आफ्नै फौज पर्नसक्छ । त्यहाँ हामीलाई ‘साहित्यिक नाका यात्रा कैलाली’ का संयोजक हरचाली त्रैमासिकका प्रकाशक, सम्पादक मित्र युवा साहित्यकार सागर कुश्मी, पत्रकार नरेन्द्र चौधरी र साहित्यप्रेमी युवा विश्वदेव चौधरीले न्यानो स्वागत गर्नुभयो । विश्वदेव कविता राईस मिलका सञ्चालक रहेछन् । पुस १२ गते सूर्यनारायण दिनभरि नै देखा पर्नुभएको थिएन । यस्तो चिसोमा सिस्टाचारको स्वागतले मात्र चित्त बुझाउने अवस्था थिएन । मौसमको भाव बुझेछन् विश्वदेवले, ठूला मुढा बालेको ढक्क आगो र अदुवा राखेको ठूला गिलासभरि तातो चिया, मुक्तकण्ठले आशीर्वाद दियौं हामीले कविता राइस मिलका प्रोप्राइटरलाई ।

काठेपुलको यात्रा
साँझ पखको चिसो बाक्लिदै थियो । दुईवटा बाइकमा ६ जना, लर्हिया चल्ने पगडण्डीमा उफ्रिंदै मोहनाको तीरमा पुगियो । काठे पुल (जसमा अटो पनि पास हुन सक्दैन) मा लच्किदै साँझ झमक्क हुँदा शिवरत्नपुरको (बरकापुरवा) ठूलो गाउँको मुखैमा रहेको पसलमा पुगेर रोकियौं । त्यो पसल रहेछ, छोट्कीपुरवा अर्थात् सानो गाउँ (जो मोहना नदीको सतहमै रहेको छ र हरेक वर्ष डुबानमा पर्छ) निवासी हीरा चौधरीको । उनले पनि हामीलाई तातो चियाले स्वागत गरिन् । यति हुँदा भलमन्साको घरमा लैजाने गाइड निर्माण व्यवसायी युवा खुशीराम आइपुगे । हामी भलमन्सा धनीराम चौधरीको आँगनमा पुगियो । पश्चिममा सूर्य लुकिसकेका थिए । गाउँका मुखियालगायत १०, १२ जनाले सिस्टाचार स्वागत गरे । हामी भौतिक तातो स्वागतका लागि हतारिएका थियौं । फटाफट ठूलो आगो बालिएको वरिपरि राखिएका बिंडा, गुदरीमा बस्दै हात पसा¥यौं । अब त्यहाँ गाउँबासी महिला पुरुष ह्वार ह्वार्ती आउन शुरु गरे । खगेन्द्र गिरी ‘कोपिला’ भाइले दाजु बिषय प्रवेश गराउनु भने पछि मैले शुरुमा भनें–‘हामी तपाईहरुलाई केही आश्वासन दिन आएका होइनांै र त्यो हैसियत पनि राख्दैनांै, तर तपाइँहरुले बोलेका र हामीले देखेर अनुभव गरेका विषय लेखेर सार्वजनिक अवश्य गर्नेछौं, त्यसैले आफ्ना समस्या खुलेर राख्नुहोला ।’

कसको कुरा टिप्नु, कुन कुरालाई प्राथमिकता दिनु, समाधान के हुनसक्ला, यी गाउँलेका पीडा कसरी समाधन होलान, हरेक वर्ष डुबानमा पर्छन् तर गाउँपालिकाले मालपोत लिन्छ र बन विभागले आजै छोड् भन्छ, गाउँपलिकाले सिडियोकहाँ जाऊ भन्छ, त्यहाँबाट स्थानीय सरकार भन्छ, स्थानीय सरकारले भूमि अधिकार भन्छ, कोही जनप्रतिनिधिलाई समाउनुस् भन्छन्, तीन चार महिना बाढीपीडित हुँदा गाउँमा नआउने जनप्रतिनिधि के काम, गाउँपालिका मालपोत लिन्छ बनले जग्गा छोड् भन्छ, यस्तै समस्याहरु सुनाउन हानथाप नै गरे गाउँलेहरु । यो वर्ष झोलुङ्गे पुल बनाउन बोकेर ल्याएका निर्माण सामग्री पनि मोहना नदीले बगायो । अब तुरुन्तै पुल बन्ने सम्भावना पनि कम छ । नदीपारि बैंसपुरबाट बोकेर पानी खान्छौं, यस्तै यस्तै सयौं समस्या ओकले गाउँबासीले ।

राति अबेर भईसकेको थियो । हामी भोकाएका र थाकेका थियौं, तर गाउँबासीका कथाले पूर्णबिराम दिन मानेका थिएनन् । छोट्कीपुरवाका भलमन्सा मानबहादुर चौधरीले भने–‘आब बाँकी बात सकारे करप, अइसिन जारमे कहाँसम बात बट्वइबीे, खवाइ सुटाइ फें परल काहँु पहुनन्हे ।’ हामी खाना खान थाल्यौं । केही घरघरमा फर्किए तर केही आ–आपूmमा गफ गरेर हामीलाई सुनाइरहे । खाना खाएर कोन्टीमा लहरै न्यानोगरी सुत्यौं । बिहान सबेरै गाउँ घुम्न निस्कियौं । केही जंगलमा नदीमा खेतबारीमा रहेका जंगेपिलर, नदीले काटेको खेतीयोग्य जमिन, प्रावि स्कुल, स्वयंसेविका कार्यालय र गाउँकै नमूना एउटा ह्याण्डपम्प नल्का अवलोकनसँगै भलाकुसारी गर्दै निस्कने तयारीमा लाग्यौं । गजब के लाग्यो भने, साविक सतहबाट सात फिट अग्लो ठाउँमा ह्याण्डपम्प राखेका रहेछन् । सिंढी चढेर नल्का चलाएर पानी पिएर बाँच्दा रहेछन्, गाउँमा बाढी पसेकोबेला । अर्को ‘श्री वीशेश्वर प्रावि शिवरत्नपुर’को फराकिलो रेलिङसहितको कौसी पनि सात फिट उचाइमा रहेछ, जो फनक्कै वरिपरि घुमेको छ, जसमा बाढी आएकोबेला आश्रय लिने रहेछन् गाउँलेहरु ।

सुर्मीनालामा खाना र मोहनपुरमा अन्तरक्र्रिया
बिहान गाउँ घुमेपछि हिड्नेबेला छोट्कीपुरवाका गाउँलेहरुले हामीलाई आपूmले मालपोत तिरेका रसिद देखाउँदै भने–‘तपाइँहरुले बसन्ताको वन कार्यालयमा पसेर सोधिदिनु होला, सरकारको एउटा निकाय गाउँपालिकाले मालपोत लिने, अनि वनले जमिन खाली गर भन्ने हामी न्याय माग्न कहाँ जाने हो ?’ अब हामी काठेपुल तरेर उत्तर हुलाकी सडक हुँदै हसुलिया सुरमीनाला विश्वदेव चौधरीको मिलमा खाना खायौं । खाना पछि फेरि पश्चिम के गाउँ भिटरहियाबाट दक्षिण लाग्यौं । केहीबेरमा उही मोहनाको काठेपुल पार गर्दै मोहनपुरका भलमन्सा रामप्रसाद चौधरीको फराकिलो आँगनमा सजाइएको मञ्चमा बिसायौं ।

त्यहाँ कैलारी गापाका अध्यक्ष राजसमज चौधरी पनि आइपुग्नु भएको थियो । त्यहाँ थोरै रचना र धेरै मन्तब्य पस्किए, सारमा त्यहाँ सार्थक अन्तरक्रिया भयो । यहाँ सुमन चौधरी, सुनिल चौधरी, भोजलाल डँगौरा र भलमन्सालगायतले गाउँका विविध विषयमा कुरा राखेका थिए । हाम्रा सहयात्री ललित केसीले मन्तब्य नराखी मिठो कविता सुनाए । पत्रकार नरेन्द्र चौधरीले कार्यक्रम सञ्चालन गरे भने, हामीले पनि मनमा लागेको कुरा राख्यौं । यस वर्ष झोलुङ्गे पुल बनाउने तयारी पनि रहेछ । मोहनपुर गत वर्षभन्दा प्रगतिउन्मुख देखियो । मञ्च कार्यक्रम पछि विपत व्यवस्थापन कार्यालय, उद्धार सामग्री भण्डार र हिउँदे तरकारी खेती अवलोक गरियो । अन्तमा गाउँको नास्ता घरमा खाजा खाएर विदा लियौं ।

हौसलपुरको बसाइ
हौसलपुर मोहनपुरबाट निकै टाढा पूर्वमा पर्दो रहेछ । हुलाकी सडकमात्रै पनि करिब १५ किमि र दक्षिण गाउँसम्म जाने लडिया, बाटोको त गणना छैन । फेरि उही के गाउँ, भिटरहिया, सुर्मीनाला, हसुलिया, पबेरा, बैंसपुर, बसन्ताको वन हुलाकी सडकमा यात्रा गरियो । अब सडक छोडेर लडिया, टेक्टर, च्याङ्फा हिड्ने बाटो समातेर दक्षिण मोहना नदी भेटाउने प्रयास गरिरह्यौं । त्यहाँ त त्यही काठेपुल पनि रहेनछ । पल्लो किनारामा एउटा डुङ्गा भने दाम्लोले बाँधेर राखिएको देखियो । त्यही ढिकमा बसेर वारिपारि मोहना नदीले वर्षातमा काँही छिर्के हानेर ढलाई दक्षिणतिर बगाएर लगेको, कतै बुई चढेर हरहराउँदो बालीमाथी बिग्न मचाएको ठाउँहरु हेरेर मन कुड्यायौं । अलि टाढै गाउँतिरबाट एकजना दौडिदै आएको देखियो । आखिर छिटै नै कालीराम डँगौरा भाइले कतै बहना खियाउँदै, त कतै जाँगे माथी खैंचेर घिसार्दै हौसलपुरको फाँटमा उतारे । डुँगालाई फेरि दाम्लोले बाँधेर हामीलाई सरासर भलमन्सा टीकाराम चौधरीको आँगनमा पु¥याए ।

खगेन्द्र भाइले एकजना पाको महिलासँग हिन्दीमा बात मार्न थाले । केही केटाकेटीले आगो तापिरहेका थिए । म एक्लै छिमेकतिर नियाल्न थालें । त्यहाँ नेपाली बोलिदो रहेन छ । हिन्दी र हाम्रै यताको जस्तो थारु भाषामात्र चल्दो रहेछ । दशगजा त दुई देशका घरहरुको आगनजस्तै पो रहेछ । हौसलपुरमा जम्मा २८ मात्र नेपाली घर रहेछन् । एउटै गाउँजस्तै रहेछ, तर भारतीय गाउँलाई बेलापर्सुवा र नेपाली गाउँलाई हौसलपुर, फरक यत्ति हो । गुलियादेवी चौधरीको खाजा पसलमा छिमेकी देशका एकजना एसएसबी फोर्सका भाइले ‘आप राइटर हैं तो भिडियो क्यूँ नही बनाते, भिडियो बनाके अपने सरकारको दिखाओ कि क्या हालत है अपनि गावँकी ?’ भन्दै थिए । हौसलपुरका बच्चाहरु बेलापर्सुवामा हिन्दी भाषामा पढ्ने गर्दछन् । दिनभरि ज्याला मजदुरी, आफ्नो खेती गर्ने र साँझ बिहान साइकलमा मलखाद, खाद्यान्न तथा व्यापारिक सामान बोकेर देश भित्रयाउँदा पनि राम्रै गुजारा चल्दो रहेछ युवाहरुको ।

म पनि आफ्नो बगाल खोज्दै आगो ताप्न आइपुगें । त्यहाँ केही गाउँलेहरु जुटेका थिए । अन्तजस्तै गुनासोका ओइरो लाग्न थाले । मालपोत तिरेको रसिद छ धितो चल्दैन । जनयुद्धमा मालपोत नतिर भने तर आपूm सरकारमा आएपछि केही गरेनन्, चुश्मा चौधरीले गुनासो पोखिन् । युवा विजय चौधरी भन्छन्–‘जमिन त १७ कठ्ठा छ, मोहना पसेन भने अन्न खान पुग्छ तर रोजगार नभई कसरी चल्छ र गृहस्थी ? यही मालपोत रसिद सक्कली धितो राखेर कागज गराई छिमेकीसँग ऋण खानु पर्छ ।’ यो गाउँमा पहिले एकदुई घर भारतीय सरदार बस्थे, हामीलाई ज्यादै सताउँथे, अस्मिता सुरक्षित थिएन तर उनीहरुलाई गाउँबाट हटाएपछि राम्रै छ ।’ मोहना पारि भूँइयाफाँटा र जोकैहियापुरमा ६, ७ सय घर बसेका छन् त्यहाँ यस्तो नदी डुवान र थिचोमिचो छैन, हामी त हाम्रो नेपाली भूमि सुरक्षित गरेर बसेका छौं तर पनि सरकारको आँखा खुल्दैन भन्छन् गाउँबासीहरु ।

भलमन्सा टीकाराम व्यवसायी पनि रहेछन् । टैक्टर, थ्रेसर, कल्टिबेटर राखेका फराकिला आँगनमा । भारतको चन्दनचौकीबाट नेपाली मूलकी चौधरी विवाह गरेका टाठाबाठा भलाद्मी रहेछन् । ठूलो घर भए पनि राखनधरनले कुनै कोठा खाली रहेनछ । हामीलाई मिठो खाना खुवाएर घरको फराकिलो दलानमै सुत्ने व्यवस्था मिलाए । तिरपालले घेरेर न्यानो बनाएको दलानमा लहरै जोडिएर सुत्यौं, कत्ति जाडो भएन । गाउँबासीका थुप्रै मागहरुमध्ये प्राथमिकतामा रहेछ एउटा झोलुङ्गे पुल । त्यति भयो भने हाम्रा बच्चाले पारि गएर नेपाली भाषा पढ्न पाउनेछन्, अरु त पाखुरा चलाएर बाँच्ने हो जहाँ गएर काम गरे पनि भइहाल्छ । दोस्रो माग रहेछ लालपूर्जा । लालपूर्जा भयो भने, देशको माटोको निस्सा हुनेछ र आफ्नै देशका बैंक वित्तीय संस्थाबाट ऋण लिएर रोजगार बन्न सकिने छ भन्छन् भलमन्सा टीकाराम चौधरी ।

फिर्ती यात्रा
बिहान सरसर्ती दशगजा क्षेत्र र नजिक रहेका जंगेपिलर अवलोकन गरेर कालुराम डँगौरा भाइलाई पछ्यायौं । उनले हामीलाई मोहना नदी तारिदिए । खगेन्द्र भाइले केही पैसा दिनखोज्दा पटक्कै मानेनन् लिन, अनि मैले सम्झाउँदै भनें–‘भाइ हम्रे टोहाँर पहुना हुइटी, पहुनन्के मन नैदुखैना चाही, लरकनके लाग कुछ किनके लैजाडबी, लेउ पक्रो भाइ, सङ्गे बैठके खैना मन रहे, समय नैमिलल् लेउ भाइ हमार मन ढैडेउ टे का !’ बल्ल उनले समाते । अब फेरि शुरु भयो दुई साधन ६ जना सवार । डा. के आइ सिंह फाँटाको अवलोकन गर्दै भजनीबाट फाट्यौं । खगेन्द्र र ललित भाइद्वय सत्ती, कोठियाघाट, ताराताल हुँदै नेपालगञ्जतिर लागे । म र नरेन्द्र भाई भजनी बजारको बीचैमा रहेको मेरी भदै अन्जना ज्ञवालीको घरमा बिसायौं । केहीबेरमा थोरै पैदल हिड्दै छविलाल कोपिला र सागर भाइ आइपुग्नु भो, भदै नसोचेको समयमा फुवाजु भेट्न पुग्दा निकै खुशी भइन् र मिठोे स्वागत गर्दै चिया नास्ता खुवाइन् । हामी दुईलाई लिन त्यही आइपुग्नु भो गोचाली एफएम टीकापुरका प्रबन्धक मित्र बलराम भगौरिया ।

आयोजक भाइहरु सागर कुस्मी र नरेन्द्र चौधरी धनगढीतिर फिर्ता हुनुभो । हाम्रो त्रिवल सवारी अझै टीकापुर बसपार्कसम्म जारी रह्यो । बलरामजीले हामीलाई हायसमा बसालेर नमस्कार शुभयात्रा भन्दै विदा गर्नुभो ।

निमबहादुर थापा
लमही, देउखर दाङ

मोहनामा डुबुल्की मार्दै बाँचेको कैलालीको शिवरत्नपुर

निमबहादुर थापा

error: Content is protected !!