थारु साहित्यमा कैलाली र कंचनपुरको इतिहासः एक अध्ययन

सागर कुश्मी
३० चैत्र २०८०, शुक्रबार
थारु साहित्यमा कैलाली र कंचनपुरको इतिहासः एक अध्ययन

थारु साहित्यमा कैलाली र कंचनपुरको इतिहासः एक अध्ययन
सागर कुश्मी
हरेक जाति समुदायको आ–आफ्नो पहिचान र मौलिकता रहेको छ । भाषा, कला, संस्कृति, रहनसहन, भेषभुषा हरेक समुदायको पहिचान हो । यहाँका थारु समुदाय पनि तराईका आदिवासी भुमिपुत्र हुन् । थारुहरुको पनि आफ्नै नाचगान, चाडपर्व, चालचलन छन् । यहाँ यस आलेखमा थारु समुदायको कैलाली र कंचनपुरका थारु भाषामा प्रकाशित पोस्टा र स्रस्टाका बारेमा उपशीर्षक राखी चर्चा गरिएको छ ।
थारु साहित्यमा कैलालीको इतिहास
विषय प्रवेशः
कैलाली जिल्ला थारु समुदायको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला हो । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । जसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । यहाँको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।
कैलालीमा संस्थागत ढंगले थारु साहित्यलाई टेवा दिने क्रमको शुरुवात भएको छ । यो खोज तथा अनुसन्धानमुलक आलेखमा कैलालीबाट थारु पुस्तक तथा थारु पत्रिका प्रकाशनको सूची केलाउँदै थारु साहित्यमा कैलालीको इतिहासबारे चर्चा गरिएको छ ।
कैलालीबाट प्रकाशित थारु पत्रपत्रिका
कैलालीबाट प्रकाशित हुँदै गरेको थारु भाषाको पहुरा नेपाल भरीमै एक मात्र थारु दैनिक पत्रिका हो । यसले शनिबारीय अंकमार्फत् थारु साहित्यलाई टेवा दिएको छ । २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका गोचाली प्रकाशन भए पनि कैलालीबाट २०४६ सालमा मात्र थारु पत्रिका प्रकाशित भएको देखिन्छ । कैलाली बहुमुखी क्याम्पस, धनगढीमा गठित थारु विद्यार्थी परिवारले २०४६ सालमा टेम्ह्री (कोपिला) पत्रिका प्रकाशन गरी त्यहाँबाट थारु साहित्यिक पत्रिकाको शुरुवात गरेको थियो । २०४८ सालमै थारु विद्यार्थी परिवार, टीकापुर कैलालीका विद्यार्थीहरुले जोगनी (पुतली) पत्रिका प्रकाशन गरे । तर यी दुवै पत्रिकाको अर्को अङ्क निस्किन सकेन । थारु युवा जागृति परिवार कैलालीको गोम्हनियाँ (बामे सर्नु) पत्रिका २०४९ सालमा प्रकाश ग¥यो । कैलारी गाउँपालिका ५ गोबरैला कैलालीका अजय करियामंघरियाको सम्पादनमा जम्मा तीन अङ्क प्रकाशित भई स्थगित रहेको गोम्हनियाँ पुनः प्रकाशन हुन सकेन ।
थारु पत्रकारितालाई व्यावसायिक ढङ्गले अघि बढाउने अगुवा हुन् जोखनराम चौधरी । कैलाली, रानामुडाका यी युवा जोखन रत्गैंयाका नामले परिचित थिए । कैलालीमा गोचाली परिवार गठन गरी प्रगतिशील साहित्य पत्रकारितालाई मलजल दिने काममा दिने काममा यिनको भूमिका महत्वपूर्ण छ । २०४९ सालमा गोचाली परिवार कैलालीको मुखपत्रको रुपमा मुक्तिक डगर (मुक्तिको बाटो) वार्षिक पत्रिका जोखन रत्गैँयाको सम्पादनमा निस्कियो ।
मुक्तिक डगरको सहप्रकाशन थारु मुक्ति साप्ताहिक ४७ अङ्कसम्म प्रकाशित भएको देखिन्छ । समाचारमुलक पत्रिका भए पनि यसमा प्रगतिशील कथा, कविताले धेरै स्थान पाए । गोचाली परिवार कैलालीसँग आबद्ध अधिकांश सदस्य तथा थारु मुक्ति साप्ताहिकका सम्पादक जोखन रत्गैँया तत्कालिन नेकपा माओवादीको पार्टी अभियानमा संलग्न भएपछि यसको प्रकाशन स्थगित भयो । सुरक्षा कारबाहीमा जोखन रत्गैँयाको हत्या भएको बताईन्छ ।
गोचाली परिवार तथा मुक्तिक डगर र थारु मुक्ति साप्ताहिक सम्बद्ध अधिकांश सदस्यहरुलाई २०५८ मंसीर ८ को संकटकालपछि खोजी खोजी पक्राउ गरियो । अन्य पत्रिकासंग सम्बद्ध सदस्यहरुलाई पनि यस कारबाहीले निकै तर्सायो । थारु पत्रिका एकप्रति भेटिए पनि प्रशासनले पक्राउ गर्न थालेपछि धेरैले आफ्नो बर्षौदेखि सङ्कलित पत्रिका जलाउनु प¥यो । यस कारबाहीले सिङ्गो थारु साहित्यिक पत्रकारितालाई पनि उठलपुथल पा¥यो । पत्रिका प्रकाशनमा जुन उभार आई रहेको थियो, त्यो स्यापसुप्पै सुक्यो ।
थारु कल्याणकारिणी सभा जिल्ला समिति कैलालीले, २०५३ पुसमा अँखुवा (टुसो) चौमासिक प्रकाशित ग¥यो । त्यस्तै, २०५३ माघमा जगत रत्गैँयाको सम्पादनमा एकता थारु परिवार, पञ्चोदय माध्यमिक विद्यालय, कैलालीले ट्रासन (मादलको ताल), २०५४ माघमा रामदिन चौधरी तथा साथीहरुको सम्पादनमा थारु विद्यार्थी एकता परिवार, धनगढी माध्यमिक विद्यालय, कैलाली दिया (दीयो) पत्रिका तथा २०५७ मा टीकापुर कैलालीका चित्रबहादुर चौधरीको सम्पादनमा सैचिन (नासो) मासिक पत्रिका प्रकाशित गरेको देखिन्छ । बाँढुराम थारुले धनगढी, कैलालीबाट थारु साप्ताहिक (२०५७) तथा अव्यवस्थित बस्ती समाधान समाज, कैलालीले संगम चौधरी र रामलक्ष्मण चौधरीको सम्पादनमा निसराउ साप्ताहिक (२०५७) १३ अंक मात्र प्रकाशन गरे । दिलबहादुर चौधरी लगायतको समूहले धनगढीबाट २०५९ चैतदेखि पहुरा साप्ताहिक शुरु गरेपछि यसले पछि लक्की चौधरीको प्रकाशन÷सम्पादनमा हमार पहुरा अद्र्धसाप्ताहिक, र पछि दैनिक रुपमा प्रकाशन गर्दै थारु साहित्यलाई पनि टेवा दिएको छ । हाल स्माइल चौधरी र प्रेम चौधरीको टीमले पहुरा दैनिकको सम्पादन÷प्रकाशन गरिरहेका छन् ।
कैलालीकै सुरेन्द्र कठरियाको सम्पादनमा रहिबार वार्षिक (२०६०) राजकुमार कठरियाको सम्पादनमा रोशनी (२०६०) धनगढी कैलालीका श्यामलाल राना÷नारदमुनि रानाको सम्पादनमा राम राम (२०६०) पत्रिका प्रकाशित गरेको देखिन्छ । गैरथारुको सम्पादनमा पनि थारु पत्रिका प्रकाशन भएको देखिन्छ, जो स्वागत योग्य कुरा हो । युवा जागरण समाज बनगाउँ, कैलालीले हेमराज खड्काको सम्पादनमा दिया त्रैमासिक प्रकाशित गरेको छ । २०६० सालमा कैलारी गाउँपालिका ४ के गाउँ कैलालीबाट हनुमान चौधरीको सम्पादनमा झोंपडी साहित्यिक त्रैमासिक पत्रिका २ अंक सम्म प्रकाशन भएको देखिन्छ । जनआन्दोलन २०६२÷६३ को राप र तापले होला, सखिया साहित्य उत्थान समूह, कैलालीले कृपाराम चौधरी अंङना त्रैमासिक (२०६२), कैलालीबाटै अश्रा (२०६२) थारु विद्यार्थी समाज कैलालीले बसन्त चौधरीको सम्पादनमा कल्गी सन्देश (२०६३), थारु विद्यार्थी समाज, कैलालीले जगदीश रानाको सम्पादनमा लखबारी (२०६६) प्रकाशित गरेको देखिन्छ । उघरार थारु साहित्य प्रतिष्ठान, कैलालीले संयुक्त प्रकाशनको कुरालाई जोड दिदैँ प्रकाश बहादुर चौधरीको समुहले उघरार अद्र्धवार्षिक (२०६९) प्रकाशन गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा विधिवत रुपमा दर्ता भई धनगढी कैलालीबाट साहित्यकार तथा पत्रकार सागर कुश्मी संगतको एकल प्रकाशन÷सम्पादनमा हरचाली साहित्यिक त्रैमासिक पत्रिका २०७२ बैशाखबाट हालसम्म नियमित रुपमा पत्रिका प्रकाशन हुँदै आईरहेको छ । सागर कुश्मीकै प्रकाशन÷सम्पादनमा निसराउ साप्ताहिक २०७७ साउनबाट हालसम्म नियमित रुपमा प्रकाशन हुँदैं आईरहेको छ । यो पत्रिका पनि जिल्ला प्रशासन कार्यालय कैलालीमा विधिवत रुपमा दर्ता भएको हो ।
कैलालीबाट थारु पत्रिका प्रकाशित हुने क्रम जारी छ । तर जति पनि पत्रिका प्रकाशित भइरहेका छन्, व्यवस्थित ढङ्गले नभई केवल एक दुई अङ्क मात्रै शौखको रुपमा प्रकाशन गर्नेहरुको लर्को देखिन्छ । पछिल्लो कालका जलमौती, राम राम, लखबारी जस्ता पत्रिका पनि स्थगित भइसकेका छन् ।
उँकुवारभेंटको प्रकाशन
थारु भाषामा वार्षिक रुपमा समेत पत्रिका प्रकाशन कार्य अनियमित भईरहेको बेला धनगढीबाट जिल्ला प्रशासन कार्यलयमा दर्ता गरी विशुद्ध साहित्यिक मासिक पत्रिका उँकुवारभेंट प्रकाशन गर्ने कार्यको थालनी भएको थियो । २०५९ चैत्रदेखि कैलालीबाट पहुरा साप्ताहिक प्रकाशन भएपछि शनिबार साहित्य विशेषांक प्रकाशन गथ्र्यो । त्यसले साहित्यिबाट खुराक यथेष्ट मात्रामा समेट्न नसकेपछि यो पत्रिकाको आवश्यकता महशुश भएको थियो । २०६१ भदौमा पहिलो अंक प्रकाशित यसको प्रकाशन उँकुवारभेंट व्यवस्थापन समितिको नामबाट भएको थियो ।
उँकुवारभेंटले धार्मिक, चलचित्र, कहकुट सम्बन्धी स्तम्भदेखि स्रष्टालाई कविता लेख्न सिकाउने, पुछो लड्को अपन बात जोन्हँु मामासे जस्ता राम्रा स्तम्भको शुरुवात गरेको थियो । यसमा स्रष्टाले सोधेको जवाफ कविता शैलीमा दिइएको छ । तर यो २०६२ असोजसम्म जम्मा ७ अंक प्रकाशन भएर स्थागित भयो । त्यसपछि यसले गति लिन सकेन । यद्यपी उँकुवारभेंटले वर्षमा मात्रै झुल्किने थारु साहित्यिक पत्रिकाको परम्परागत शैलीलाई भने तोड्यो । उँकुवारभेंट २०७० तिर टीकापुरबाट केही समय साप्ताहिक रुपमा समाचारमुलक ढंगले प्रकाशित भएकोमा यसको प्रकाशन पुनः स्थगित भएको छ ।
थारु भाषा बहसमा कैलाली
२०५१ भदौ १ बाट थारु भाषामा पश्चिमा र पूर्वीया गरी दुई भाषामा समाचार प्रसारण शुरु भएपछि मानक थारु भाषाको कुरा उप्कियो । त्यसको एक दशकपछि छापा पत्रकारितामा बल्ल यस विषयले स्थान पायो । पूर्विया थारु भाषाको पत्रपत्रिका हाल शुन्य गतिमा रहेकोले त्यस क्षेत्रमा मानक भाषाको विषयवस्तु उठान हुन सकेको छैन । रेडियो नेपाल सुर्खेतबाट २०५८ सालमा थारु भाषाको रेडियो कार्यक्रम ख्याल (कचहरी) प्रसारण हुन थाले पछि आफ्नो भाषा समुदायप्रति थारुहरु भाषा विवादमा उत्रिए । दंगौरा र देशौरी (बाँके, बर्दिया) दंगौरा र कैलरीया (कैलाली क्षेत्र) दंगौरा र देउखरीया (देउखुरी क्षेत्रको) भाषी बीच मनमुटाव देखियो । “ख्याल” मा दंगौरा थारु मात्रै प्राथमिकता दिएको र लिखित रुपमा भाषा बिगारेको आरोप अन्य भाषीले लगाए ।
रेडियो ख्यालमा प्रसारण भएका सामग्रीको बुलेटिन ख्याल मा दन्त्य त थ द ध को कुनै प्रयोग नगरी पुरै तालब्य ट ठ ड ढ को प्रयोग भई समाचार प्रसारित भएको देखिन्छ । विश्वराज पछलङ्ग्याको लेखको प्रतिवाद उँकुवारभेंट मासिकका सम्पादक ओमप्रकाश गोंइजिहार लगायत अन्यले गरे । गोंइजिहार र पछलङ्ग्याबीच धेरै अङ्कसम्म हमार पहुरा साप्ताहिकमा दोहोरी नै चल्यो । पछि बाध्य भएर सम्पादकले भाषा विवादलाई स्थान नदिने सूचना जारी गर्नु प¥यो ।
पत्रपत्रिकामा लिखित भाषा विवाद आएपछि त्यसको एउटा राम्रो पक्ष के देखियो भने आफ्नो क्षेत्रको भाषाको संरक्षण सम्बद्र्धनमा त्यसै ठाउँका युवा जुर्मुराए । जस्तो दंगौरा भाषाले पेलेको अनुभूति भएपछि पत्रकारिता र भाषा साहित्यमा रुची राख्ने देसौरी समूहले देसौरी भाषामा साप्ताहिक फुलवारको प्रकाशन ग¥यो । यी बाहेक हवाई पत्रिका कथा, कविताका सङ्ग्रह प्रकाशन गीति एल्बम तथा रेडियो एफएममा देसौरी समूहबाट कार्यक्रम प्रसारण हुन थाल्यो । तर कैलालीबाट कठरिया तथा राना थारु भाषामा पत्रिका प्रकाशन हुन सकेको छैन । यद्यपी यी दुवै भाषामा स्थानीय एफएममा कार्यक्रम प्रसारित भइरहेका छन् । २०७७ सालबाट नन्दलाल रानाको सम्पादनमा राना थारु भाषाको सबेरो अद्र्धवार्षिक पत्रिका प्रकाशन भएको देखिन्छ ।
भाषाको सवाललाई विवादको रुपमा नलिई सकारात्मक रुपमा लिन सके थारु भाषाका विभिन्न उपसमूहका धेरै गहन सामग्रंी लिखित रुपमा आउलान् नै, साथै नयाँ नयाँ प्रतिभाको पनि उदय हुने छ । हमार पहुरा दैनिकको लामो समय सम्पादन गरेका लक्की चौधरीले भरखरै व्यावसायिक रुपमा उदाइरहेको थारु पत्रिकामा भाषा विवादको प्रसङ्ग आउनु स्वाभाविक ठान्छन् । उनी भन्छन्, “तर हामीले यसलाई नकारात्मक रुपमा नलिई सकारात्मक रुपमा नै लिनु पर्छ ।”
कैलालीका थारु साहित्यकार तथा प्रकाशित कृति
जोन्हाँपुर, कैलालीका फूलाराम चौधरीको संघरिया (लोकगीत संग्रह २०३८) प्रकाशित छ । कैलाली जिल्लाबाट प्रकाशित शायद यो पहिलो कृति हो । टीकापुरका रेशमलाल चौधरीले थारु भाषामा पहिलो मौलिक पुस्तकाकार संग्रह प्रकाशन गरे । यिनको एकठो बिरहिन कथा नामक् कविता संग्रह २०५३ सालमा प्रकाशित भएको थियो । यहाँ २ भन्दा बढी पुस्तक प्रकाशन गर्ने स्रष्टाहरुबारे उपशीर्षक दिएर तथा एक वटासम्म प्रकाशित गर्नेको अन्य लेखकहरु उपशीर्षक दिएर उल्लेख गरिएको छ ।
मनिराम चौधरी
साविक उदासीपुर गाविस–६, हाल कैलारी गाउँपलिका ८ पृथ्वीपुर, कैलालीका मनिराम चौधरी सशक्त युवा हस्ताक्षर हुन् । उनको विधवा (उपन्यास–२०५७), हिमालको मुस्कान (कविता संग्रह २०५८), रसाइल करम (कथा संग्रह २०५९) चम्फा फुलुवार (खण्ड काव्य–झुम्रा गीत २०६०), दुखियारी बयिया (कथासं्रग्रह २०६१), बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (कविता संग्रह २०६२) तथा हर्वड्डा (निबन्ध संग्रह २०६२) प्रकाशिन छ ।
लक्की चौधरी
साविक उर्मा गाविस–४, हाल धनगढी १६ रामपुर कैलालीका लक्की चौधरी थारु भाषामा पहुरा साप्ताहिक, अद्र्धसाप्तहिकदेखि दैनिक सम्पादन, प्रकाशन गरी थारु साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् । उनको सहिदान (गजल संग्रह २०६१), तिहुवार (निबन्ध संग्रह २०६२), अन्तर्भाव (गजल संग्रह २०६३), मोर पहुरा (लेख संग्रह २०७०) नेन्धर (कविता संग्रह २०७१) तथा हँसौनी (चुट्किला संग्रह २०७२) प्रकाशित छ । हाल काठमाडाँैमा गोरखापत्र दैनिकको स्थायी समाचारदाता भएपछि यिनको साहित्य लेखन निकै दरिलो, र अखबारी लेखन बढी छ ।
शर्मिला चौधरी ‘सृष्टि’
२०४२ साल कार्तिक १२ गते साविक बसौटी गाविस–३, हाल कैलारी गाउँपालिका २ बसौटी कैलालीमा जन्मिएकी शर्मिला चौधरी ‘सृष्टि’ शान्ति चौधरी (बारा जिल्ला) पछि थारु साहित्यमा उदाएको सशक्त महिला हस्ताक्षर हुन् । आठ कक्षा अध्ययनकै बेला कविता लेखन शुरु गरेकी उनको मनके फूला (कविता संग्रह २०६२) तथा दुःखके हल्कोरा (उपन्यास २०६४) प्रकाशित छ ।
सागर कुश्मी ‘संगत’
साविक बसौटी गाविस–७ हाल कैलारी गाउँपालिका ८ डख्खिन टेंर्ही कैलालीका सागर कुश्मी ‘संगत’ गजल तथा मुक्तकमा अघि बढेका युवा हुन् । उनको हस्ताक्षर (गजल संग्रह २०६८), फुटल पोक्री (गजल संग्रह २०६८), आँशके सागर (मुक्तक संग्रह २०६९) प्रकाशित छ । सबै विधामा कलम चलाउने हाल उनको थारु भाषा लोक साहित्यमा खोज तथा अनुसन्धानमा बढी कलम चलिरहेको देखिन्छ ।
मुकेश टेर्रा
धनगढी उपमानगरपालिका–६, मटियारी कैलालीका मुकेश टेर्राको फुला (कविता संग्रह २०६३) तथा लालमुरै (कथा संग्रह २०६४) प्रकाशित छ । पत्रकारिता पेशा अंगालेका हाल यिनको साहित्य सिर्जनाको मूल सुक्दै गएर अखबारी लेखनमा बढी केन्द्रित छ । पहिले साहित्यको गहिराइ नबुझेर हतारमा प्रकाशन गरियो, अब उत्कृष्ट लेख्न समय मिलाउन नसकेको उनी बताउँछन् ।
प्रेमलाल दहित
साविक जानकीनगर गाविस–६, हाल जानकी २ खर्गौली कैलालीका प्रेमलाल दहित हाल रेडियोकर्मी छन् । उनको टुटल झोपडी (कविता संग्रह २०६१) तथा अंधरीया रात (उपन्यास २०६१) प्रकाशित छ । यिनले पनि हाल साहित्य लेखनमा विश्राम लिएका छन् ।
छपिलाल चौधरी ‘शित्तल’
टीकापुर नगरपालिका–९ बनगाउँ कैलाली छपिलाल चौधरी शित्तलको छिट्रल अक्षर (गजल संग्रह २०६२), ओजरीया रातम (हवाई हाइकु संग्रह २०६३), पहिचान (गजल संग्रह २०७५) प्रकाशित छ । यिनको पनि हाल साहित्यिक सकृयता देखिदैन ।
हिरालाल सत्गौवा
साविक दरख गाविस–७, हाल घोडाघोडी नगरपालिका ३ सरैया कैलालीका हिरालाल सत्गौंवाको दुःखके भौरी (कथा संग्रह २०६३), चट्नी (हाँस्यव्यग्य संग्रह २०६४) (थारु भाषाको पहिलो हाँस्यव्यग्य संग्रह), केरनी ओजरियक (कथा संग्रह २०६५) तथा पैनस्टोपी (मुक्तक संग्रह २०७१) प्रकाशित छन् ।
लाहुराम चौधरी ‘जहर’
साविक खैलाड गाविस–३, हाल भजनी नगरपालिका ९ पहलवान कैलालीका लाहुराम चौधरी ‘जहर’ को फुलरीया (गजल संग्रह २०६६) तथा भूलाइल डगर (उपन्यास २०६५) प्रकाशित छ ।
अन्य लेखकहरु
अब यहाँ कम्तीमा एकवटा भन्दा बढि कृति प्रकाशन गर्ने लेखकहरुको सूची दिइन्छ । प्रतापपुर–५ हरदहनी, कैलालीका दिल बहादुर चौधरी थारु तथा नेपाली दुवै भाषामा अखवारी लेखनमा खरो विचार लिएर प्रस्तुत हुने गरेका छन् । यिनको सन्देश (धमार गीत संग्रह २०६३), विद्रोहको झिल्को (लेख संग्रह २०७५) प्रकाशित छ । धनगढी–१६ कनरी कैलालीका जीत बहादुर चौधरी ‘ट्रासन’ को यी जीतके हटल कविता (कविता संग्रह २०६१), कफर््यु भित्रका मान्छेहरु (कविता संग्रह २०७५) प्रकाशन भएको छ । शिक्षण पेशामा लागेका यिनले थरुहटको मुद्धाबारे सशक्त कविता रचना गरिरहेका छन् ।
टीकापुर नुक्लीपुर कैलालीका लक्ष्मण किशोर जोगेठ्वा थारुले इज्जतके दाम (कथा संग्रह २०५५) प्रकाशन गरे । पछि थारु चलचित्र निर्देशनमा लागेका यिनलाई स्वास्थ्यले साथ दिएन । दुर्गौली–५, धर्मापुर, कैलाली भोजराज चौधरी तिरिया जलम (उपन्यास २०६३), जिन्गीक उभरखाभर दिन (कथा संग्रह २०७४) पछि थप नयाँ लेखनमा जाँगर देखाएका छैनन् । खागरी जनआन्दोलन २०६२÷६३ पछि नयाँ स्रष्टाहरुले पुस्तक प्रकाशन गरिरहेका छन् । कैलारी ६ बेंडौली, कैलालीका संजिप चौधरी जलमके दुखियारी (उपन्यास २०६५), सिताराम चौधरीको उरन्टा घोरुवा (कथा संग्रह २०७५) टिकापुर–३ भगरैया कैलालीका टिकाराम चौधरी “ठुल्दाइ”को आग्रह (मुक्तक संग्रह २०६३), पथरैया–३ अमौरी, कैलालीका जय प्रकाश दहितको परोसी (नाटक २०६६), गदरिया–८ बनकंडरी कैलालीका राम लखन चौधरीको छलमल्की (कविता संग्रह २०६७), मुनुवा कैलालीका राजकुमार कठरियाको निराशी जीवन (उपन्यास २०६६), उर्मा–डमौलिया कैलालीका खुशीराम चौधरी (गम्भीर) को विक्षिप्त मुटु (गजल संग्रह २०६८), पवेरा–३ वैजपुर कैलालीका मोतीराम चौधरी (रत्न) को मनके बोझा (गजल संग्रह २०७०), गदरीया–९ सामरचौरा कैलालीका गणेश चौधरीको जित्तल पटोहिया (उपन्यास २०७०), गदरिया–८ बनकंडरी कैलाली दिव्या प्रयासी ( धनपति चौधरी) को मुस्कानके अस्रा प्रकाशित छ । धनगढी कैलालीका रोदनसिहंह चोधरीको पहिल कदम (कविता संग्रह २०७२) प्रकाशित छ ।
रानामुरा कैलालीका जोखन रत्गैंयाँले २०५७ सालमा थारु भाषको पहिलो गजल संग्रह चोराइल मन प्रकाशित गरे । यो कृति अपर्याप्त छ । उनले भुटुवा महाकाव्य पनि तयार पारेका थिए, जुन फेला पर्न सकेको छैन । उनकै छोरी इन्दु थारुको निलम्बित निबन्ध (निबन्ध संग्रह २०७५) पनि प्रकाशित भएको देखिन्छ । पथरैया–३ अमौरी, कैलालीका तुलाराम चौधरी सनमको तुहिन उपहार (हाइकु संग्रह २०६१) प्रकाशित छ । उनी कविता, गजल, मुक्तक लेखनमा नियमित लागी परेका छन् । मुम्वईको बसाईमा यिनले नियमित झै फेसबुकमा मुक्तक, गजल शेयर गर्ने गरेका थिए । मुम्वईमा जंग्रार साहित्यिक बखेरीको अध्यक्ष रहेका तुलाराम सोही समूहमार्फत् २०७१ सालमा जेउनास थारु संयुक्त गजल संग्रह प्रकाशन गरेका छन् । यो पंक्तिकारको अध्ययन अनुसार प्रवासबाट थारु पुस्तक प्रकाशन भएको संभवतः यो नै पहिलो हो । यिनको संयुक्त मुक्तक संग्रह प्रकाशोन्मुख छ ।
त्यस्तै, पथरैया–३ अमौरी, कैलालीकै अर्का स्रष्टा दिप लाइफ कियरले तुहार लग फूला (तान्का संग्रह २०६३) प्रकाशन गरेका छन् । पहुरा थारु दैनिकमा आवद्ध धनगढी–१, धनगढी कैलालीका रामचरण चौधरी ‘एकल यात्री’ को मोर टुटल झोपरी (गजल संग्रह २०७०) प्रकाशित छ । बलिया–९ तिल्काका सुन्दर चौधरीको हमार पहुरा (मुक्तक संग्रह २०७०), रतनपुर–८ भइयाँफाँटा, कैलालीका चन्द्र प्रसाद चौधरीको गजल माला (गजल संग्रह २०७०) प्रकाशित छ । अहिले उनी साहित्य लेखनमा बिल्कुलै निष्क्रय छन् । साविक खैलाड गाविस, हाल भजनी १२ गन्जहुवा कैलालीको रबिना चौधरी ‘रब्बु’ को ओंरी (गजल संग्रह २०७१) मा प्रकाशित छ । जुन संग्रहलाई थारु महिला गजलकारद्वारा लिखित पहिलो कृति मानिएको छ ।
त्यसैगरी फुलवारी–१ फूलवारी, कैलालीका थारु अगुवा तथा नेता लक्ष्मण थारुको सेक्स, युद्ध र जेल कारागार डायरी (निबन्ध संग्रह २०७२) प्रकाशित छ । उनले थरुहट आन्दोलनको बेला टीकापुरमा भएको घटनामा गिरफ्तार भएपछि कैलाली कारागार बसाइँको क्रममा उक्त पुस्तक लेखेका हुन् । कुनै कृति नभए पनि गारखापत्र दैनिकको थारु पृष्ठ तथा पहुरा दैनिकमा बेला कलम चलाउने धनगढीकी पवित्रा चौधरीको निबन्ध लेखन राम्रो छ । माथि चर्चा गरिएका कम्तीमा एक पुस्तक प्रकाशन गरिसकेपछि स्रष्टा तथा कैलाली तथा कञ्चनपुरका नयाँ थारु स्रष्टालाई समेत समेटेर धेरै थारु साहित्यिक गोष्ठी जिउगर साहित्य समाज र हिरगर साहित्यिक बगाल, हरचाली त्रैमासिक लगायतका साहित्यक समूहहरुले गर्नपर्ने देखिन्छ । कैलालीमा संस्थागत रुपमै थारु साहित्यक लागी परेका छन् । यहाँ कैलालीमा क्रियाशील थारु साहित्यिक समूहबारे चर्चा गरिन्छ ।
छिट्कल थारु साहित्यक समाज
२०६८ सालमा सागर कुश्मीको अयक्षतामा हसुलिया कैलालीमा स्थापना भएको छिट्कल थारु साहित्यक समाजले २०६९ बैशाख ९ गते कैलालीको दक्षिण टेंढीमा पहिलो, २०७० बैशाख ८ गते कैलालीको छुटकी पलियामा दोश्रो, २०७० पुस २० गते भादा होमस्टेमा तेश्रो, २०७१ बैशाख २७ गते कंचनपुरको बेलौरीमा चौथो बृहत थारु साहित्यिक कार्यक्रम गरेको छ । छिट्कल थारु साहित्यिक समाजले ४ श्रृंखला साहित्यिक कार्यक्रम गरी २०७१ कात्र्तिक १ गते बिघटन भएको छ । यो अब इतिहासमा सीमित भएको छ ।
जिउगर साहित्य समाज
सागर कुश्मीकै अध्यक्षतामा २०७० माघ महिनामा धनगढीमा जिउगर साहित्य समाज स्थापना भएको हो । छिट्कल थारु साहित्यिक समाज बिघटिट भई जिउगर साहित्य समाजमा समाहित भएको छ । जीत बहादुर चौधरी ट्रासनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पुर्नगठन गरिएको छ । यसमा उपाध्यक्ष रबिना चौधरी, सचिव सत्यनारायण दहित, सहसचिव दिनेश चौधरी तथा कोषाध्यक्ष हिरालाल सत्गौँवा रहेका छन् । सदस्यमा क्रमशः राम दहित, बालकृष्ण चौधरी, दुर्जन चौधरी, रामप्रसाद चौधरी तथा तेज बहादुर भूल चयन भएका छन् । यसको सल्लाहकारमा सागर कुश्मी, जन्ती चौधरी तथा मोहनलाल चौधरी रहेका छन् । जिउगर साहित्य समाजले थारु भाषाको गजल, मुक्तक, कविता, गीत, रीतिसंस्कृति तथा पहिचानको श्रीवृद्धिको लागि स्थापनाकालको महिनादेखि सात्यिक कार्यक्रम गर्दै आएको छ ।
जिउगर साहित्य समाजको पहिलो श्रृंखला २०७० माघ २५ गते साथी डेस्टकप धनगढी, दाश्रो श्रृंखला २०७० फागुन २४ गते धनगढी ७ देवहरिया जीत बहादुर चौधरीको घरको छतमा) कैलालीमा, तेश्रो श्रृंखला २०७० चैत २९ गते जोखर ताल धनगढीमा गरिएको थियो । २०७१ वैशाख २७ गते बैलौरी, कञ्चनपुरमा चौथो श्रृंखला छिट्कल थारु साहित्यिक समाजको सकार्यमा गरेको थियो । त्यस्तै, अरु श्रृंखला कैलालीमै गरिएको छ । जसमा पाँचौ श्रृंखला २०७१ जेठ ३१ गते धनगढी–२, बैयाबेहडी (शारदा उ.मा.वि.), छैठौ श्रृंखला २०७१ असार २८ गते थारुनके डटकम कार्यालय धनगढी, नवौँ श्रृंखला २०७१ असोज २१ गते चौमाला–१, खुर्हुरिया, कैलालीमा सम्पन्न गरिएको थियो । समाजले आफ्नो मासिक कार्यक्रम प्रायः धनगढी क्षेत्र भित्र गर्दै आए पनि १२ औँ श्रृंखला घोडाघोडी–३ सर्रहिया (साबिक दरख गाविस) मा २०७१ पौष २६, २७ र २८ गते पहिलो बृहत राष्ट्रिय थारु साहित्यिक तथा साँस्कृतिक महोत्सव गरेको छ । २१ औँ श्रृंखला २०७२ माघ गते ४ गते युवा जनज्योति क्लब गदरिया–६, बेंडौलीको सहकार्यमा बृहत थारु साँस्कृतिक तथा साहित्यिक कार्यक्रम वनदेवी मेलामा गरेको छ ।
हिरगर साहित्यिक बगाल
अर्कोतिर जिउगर साहित्य समाजको संस्थापक कोषाध्यक्ष रहनु भएका हिरालाल सत्गौँवाको अध्यक्षतामा ११ सदस्यीय समितिले हिरगर साहित्यिक बलाग गठन गरेको छ । जसमा उपाध्यक्ष प्रेमा चौधरी, सचिव सागर कुश्मी ‘संगत’, सहसचिव कालुराम चौधरी, कोषाध्यक्ष गंगा, सदस्यमा पार्वती चौधरी, गणेश चौधरी, रामु कुस्मी, आरबिन चौधरी, शिवसागर चौधरी र सृजना चौधरी रहेका छन् । हिरगर साहित्यिक बगाल २०७१ साल चैत २६ गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा वैधानिक रुपमा दर्ता भएको छ । यसले आफ्नो सकृयता देखाउँदै १६ वटा शाखा समेत विस्तार गरेको छ ।
धनगढी–२ बैयाबेहडी, कैलाली, अत्तरिया–५, बडेहाँ, कैलाली, अत्तरिया–७ हरैया,कैलाली,मसुरिया–८ ऐंठा, कैलाली, साँडेपानी–१ जुरपानी, कैलाली, बसौटी–७ डख्खिन टेंर्ही, कैलाली, हसुलिया–१ के गाउँ, कैलाली, दरख–३ नायणपुर, कैलाली, दरख–७ सरर्हिया, कैलाली, टिकापुर, कैलाली, टीकापुर बहुमुखी क्याम्पस, उर्मा–८ भादा, कैलाली, गोदाबरी–१ अत्तरिया र झलारी पिपलाडी–३ लक्ष्मीपुर,कञ्चपुर, टीकापुर, तुलसीपुर दांग, गुलरिया बर्दिया, बेलौरी, कलकत्ता, कंचनपुर लगायत २० वटा शाखा समेत विस्तार गरेको छ ।
अहिलेसम्म ७५ औँ साहित्यिक श्रृंखला सम्पन्न गरिसकेको हिरगर साहित्यिक बगालले आफ्नो शाखाको सहकार्यमा ९–१० पटक साहित्यिक तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरिसकेको छ । डिजिटल प्रविधिको युगमा समयसँगै थारु साहित्य तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरिसकेको छ । डिजिटल प्राविधिक युगमा समयसँगै यसले धधध।जष्चनबचकबजष्तथब।अयm नामक थारु साहित्यको पहिलो बेव साइट पनि खोलेको छ ।
उपसंहार
कैलाली थारु साहित्यको लागि उर्वर भूमि हो । थरुहट आन्दोलनको नाक जोगाउन आफ्ना रचना मार्फत् यहाँका थारु स्रष्टाहरुको योगदान कम छैन । चलचित्र, गीत, संगतमा लगायत आधुनिक साहित्यमा कैलाली अगाडि छ तर लोकसाहित्यको अध्ययनमा यो निकै पछाडि रहेको छ । उँकुवारभेंट, गोम्हनियाँ जस्ता स्तरीय थारु साहित्यिक पत्रिका पनि यहाँबाट प्रकाशित भएका छन् । तिनलाई निरन्तरता दिनु छ । राना थारु, कठरिया थारु भाषामा पनि पत्रिका प्रकाशनको पहल हुनुपर्छ । एकै अंक प्रकाशन गरेर पत्रिका स्थगित गर्नुभन्दा संयुक्त रुपमा प्रकाशनको पहल गरे जीवन्तता पाउन सक्छ ।
पहुरा दैनिकले पनि आफ्नो वार्षिकोत्सवका अवसरमा थारु साहित्य केन्द्रित स्मारिका प्रकाशनको सोँच बनाउनुपर्छ । सुदूरपश्चिम साहित्य समाजले वर्षेनी लाखौँ रुपैया स्थानीय निकायमार्फत् सहयोग लिने गरेकोमा हिरगर साहित्यिक बगाल लगायत साहित्यिक समूहहरुले पनि थारु साहित्यको श्रीबुद्धिको लागि त्यहाँबाट सहयोगको लागि पहल गर्नुपर्छ । पुरस्कारले लेखनमा निरन्तर हौसला बढाउँछ । त्यसैले, यहाँका थारु स्रष्टालाई पुरस्कृत गर्न दाताहरुको खोजी गरी पुरस्कार स्थापना गरिनुपर्छ । हिरगर साहित्यिक बगालले २०७२ फागुनबाट थारु साहित्यको पहिलो बेव साइट खोलेर ऐतिहासिक कार्य गरेको छ । यसले निरन्तरता पाउनु पर्छ । अहिले थारु साहित्यको योगदानमा कैलाली सबैभन्दा बढी जुर्मुराएको छ । तर पनि साहित्यिक बहस कम, साहित्यिक कार्यक्रममा साँस्कृतिक कार्यक्रम हाबी भइरहेको छ ।
थारु साहित्यमा कंचनपुरको इतिहास
१. विषय प्रवेश
कंचनपुर जिल्ला कैलाली जिल्लासंग जोडिएको जिल्ला हो । कंचनपुर जिल्ला पनि थारु समुदाय बाहुल्यता भएको जिल्ला हो । कंचनपुरमा डोटेली भाषी पहिलो र थारु भाषी दोस्रो स्थानमा छन् । कैलालीमा संस्थागत रुपमा थारु साहित्यलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले धेरै गतिविधि भएको छ र हुँदै आएको छ । यहाँ कंचनपुरबाट प्रकाशित थारु पोस्टा र थारु स्रस्टाको बारेमा उपशीर्षक दिएर चर्चा गरिएको छ ।
२. कंचनपुरबाट प्रकाशित थारु पोस्टा र साहित्यकार
कंचनपुर जिल्लाको थारु भाषा साहित्यको इतिहास खासै लामो छैन । अहिलेसम्म प्रकाशित कृतिहरु हेर्दा औंलामा गन्न सकिने स्थिति रहेको छ । अहिलेसम्म हेर्ने हो भने कंचनपुरमा कमै पोस्टा प्रकाशन भएको देखिन्छ । साहित्यिक माहोल त्यति नहुँदा थारु भाषी स्रस्टाहरुकोे पोस्टा खासै देखिन्न । यो आलेखमे थारु साहित्यमा कंचनपुरको इतिहासलाई केलाउँदै थारु स्रस्टाहरुको प्रकाशित पोस्टा ओ पत्रपत्रिका प्रकाशनको बारेमा चर्चा गरिएको छ ।
३. हिमाली चौधरी
वि.स.२०३२ साल साविक झलारी गाविस ४, हाल शुक्लाफाँटा नगरपालिका ७ झन्डाबोझी कंचनपुरमा जन्मेका हिमाली चौधरी थारु लोक साहित्यको भकारी हुन् । उनको कृष्णक् अस्टिम्किक् गीत (२०६१) प्रकाशित भएको छ । यो पोस्टा कंचनपुरको थारु भाषाको पहिलो पोस्टा हो । हिमाली चौधरीसंग थारु लोककथा, (बट्कुही), लोकगीत, गुरुवा मन्त्र, र जडिबुटी ज्ञान अहिलेसम्म मुखैमा कन्ठ छ । आजकल उहाँ गाँउको भलमन्सा र डेसबन्ढिया गुरुवाको रुपमा समाज सेवा गर्दै आएका छन् ।
४. कल्पना चौधरी
वि.सं २०४३ साल भदौ २७ गते साविक पिपलारी गाविस ५, हाल शुक्लाफाँटा नगरपालिका ३ जोन्हाँपुर कंचनपुरकी कल्पना चौधरीको उजरल घर डुवार (कथा संग्रह २०६२) प्रकाशित छ । कंचनपुरको थारु महिला लेखकको यो पहिलो पोस्टा हो । आजकल नेपाल प्रहरीमा जागिरे भएपछि उनकोे साहित्य लेखन पनि सेलाएको छ ।
५. अशोक चौधरी
साविक मोतीपुर गाविस ५, हाल पुनर्वास नगरपालिका २ मोतीबस्ती कंचनपुरका अशोक चौधरी गजलमा जमेका युवा हुन् । उनको मनके आवाज (गजल संग्रह २०७०) प्रकाशित भएको छ । यो गजल संग्रह कंचनपुर जिल्लाको थारु भाषाको पहिलो गजल संग्रह हो । अध्ययनके सिलसिलामे राजधानी छिरेकाले उनको लेखन पनि कमै देखिन्छ ।
६. जोगराज चौधरी
साविक कृष्णपुर गाविस ७, हाल कृष्णपुर ६ सिंहपुर कंचनपुरका जोगराज चौधरीको पनि अस्टिम्कीक् गीत (२०७३) प्रकाशित भएको पाईन्छ । यसको भाग २ आउन बाँकी छ । उनीसंग धेरै लोक साहित्य संकलित छन्् । पुर्खाहरुबाट बहुत गीटबाँस संकलन गरिे जोगाएर राखे पनि प्रकाशन हुन सकेको छैन । । उनी आजकल थारु राजनीतिमा सक्रिय छन्ं ।
७. साफी चौधरी
साविक कृष्णपुर गाविस ७, हाल कृष्णपुर नगरपालिका ६ सिंहपुर कंचनपुरकी साफी चौधरीको सिर्जल मुक्तक संग्रह (२०७४) प्रकाशित छ । यो पोस्टा थारु महिलाद्धारा लेखिएको थारु भाषाको पहिलो मुक्तक संग्रह हो । उनको मनके बह संयुक्त मुक्तक संग्रह (२०७५) पनि प्रकाशित छ । त्यसैगरि गोेरपासु निबन्ध संग्रह पनि प्रकाशनको तयारीमा रहेको छ । आजकल उनको लेखन अख्यान विधामे लगातार कलम चलिरहेको देखिन्छ ।
८. संगम चौधरी
साविक मोतीपुर गाविस ५, हाल पुनर्वास नगरपालिका २ अमरहिया कंचनपुरका संगम चौधरीको अस्रा गजल संग्रह (२०७५) र लावा घर कथा स्रग्रह (२०७५) पनि प्रकाशित भएको देखिन्छ । उनी कथामा बढी कलम चलाउँछन् ।
९. वीरबहादुर राजवंशी
साविक कृष्णपुर गाविस ७, हाल कृष्णपुर नगरपालिका ६ बन्जरिया कंचनपुरका वीरबहादुर राजवंशीको ‘जोंजा लेख संग्रह’ २०७८ प्रकाशित भएको छ । यो कृति नेपाली भाषामा छ । समाजमा वर्गीय, जातीय, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, उत्पीडन, शोषण हुन्छ तब उत्पीडत वर्ग एकताका साथ उन्मुक्तिका लागि प्रत्यक्ष रुपमा विद्रोह गर्न थाल्दछ । हो त्यै विद्रोह गर्न अर्थात् न्याय खोज्न हरेकले आआफ्नो पहिचान र अस्तित्वको खोजी गर्न थाल्छन । त्यही पहिचानको बुलन्ड आवाज हो जोंजा ।
१०. सुमिरन पत्रिका
कंचनपुर जिल्लाबाट प्रकाशित सुमिरन वार्षिक पत्रिका (२०७४) कंचनपुर जिल्लाको थारु भाषाको पहिलो पत्रिका हो । यसमा भाषा, साहित्य, संस्कृति, खोज तथा अनुसन्धानमुलक लेख रचना विशेष ठाउँ पाएको छ । यो पत्रिकाको प्रकाशक÷सम्पादक युवा साहित्यकार तथा पत्रकार सागर कुश्मी ‘संगत’ हुन् ।
११. फुट्कर लेखक
त्यसैगरि कंचनपुर जिल्लामा फुट्कर रुपमा लेख रचना सिर्जना गर्ने लेखक पनि छन् । यहाँ केही फुट्कर लेखक र संयुक्त रुपमा प्रकाशन गरेका स्रस्टा र पोस्टाको बारेमा पनि चर्चा गरिएको छ ।
साविक श्रीपुर गाविस ५, हाल बेलौरी नगरपालिका ७ पौलाहा कंचनपुरकी सानु चौधरीको १० वटा गजल जेउनास (गजल संग्रह २०७२) मा प्रकाशित भएको पाईन्छ । कंचनपुर बलौरीमा थरुहट आन्दोलनलाई उचाईमा पुर्याउने उनको ठूलो योगदान छ । अझकल हुँकार साहित्य लेखन फेन रुकल बटिन् ।
साविक रैकवार बिचवा गाविस १, हाल कृष्णपुर नगरपालिका ८ मजगैं कंचनपुरका सुमित रत्गैंयाँको पनि १० वटा गजल मैंयक् पहुरा (गजल संग्रह २०७३) मा प्रकाशित भएको छ । टमाम पत्रपत्रिकामा उनको गजल, मुक्तक प्रकाशित भएको पाईन्छ । उनको पनि आजकल लेखन बन्द छ ।
यसैगरि बेलौरी नगरपालिका ५ भकुन्डा कंचनपुरका सन्तोष चौधरीको २० वटा मुक्तक हल्कोरा (मुक्तक संग्रह २०७३) मा प्रकाशित भएको पाईन्छ भने बेलौरी नगरपालिका ५ महुलिया कंचनपुरकीे सरस्वती चौधरीको पनि २० वटा मुक्तक बहल याद (मुक्तक संग्रह २०७३) मा प्रकाशित छ । हाल यी दुबै जनाको कलम लगाटार चलेको देखिन्न ।
साविक देखतभुली गाविस ६, हाल शुक्लाफाँटा नगरपालिका १२ देखतभुली टिल्कीपट्टी, कंचनपुरका युवा इन्द्र चौधरी पनि कलम लगाटार चलाउँदै आएका छन् । उनको टमाम पत्रपत्रिकामा लेख रचना प्रकाशित छन् । आजकल उनको नाटक विधामा जोडदारसंग लागेका छन् ।
साविक पिपलारी गाविस ५, हाल शुक्लाफाँटा नगरपालिका ३ जोन्हाँपुर कंचनपुरकी पुजा चौधरी प्रकृति ओ गीता चौधरी दृष्टिको फुट्कर रुपमे लेख रचना पाईन्छ । दुबै राजधानीमा रहि ठुम्रार साहित्यिक बखेरीको नियमित मासिक श्रृंखलामे छुटपुट रुपमे सहभागी जनाउँदै आएका छन् ।
कंचनपुर जिल्लाकै बेलौरी नगरपालिका १० सडकघाटकी रविता चौधरी, ८ बिचपुरीकी शान्ती चौधरी, १० भुराका मोहनलाल चौधरी, सुरेश चौधरी, १० शिवनगरका मोहनप्रसाद चोधरी, सुगम चौधरी, शुक्लाफाँटा नगरपािलका ३ लोहरपुरका प्रेम उल्टहुवा, ७ झन्डाबोझीकी सीमा चौधरी, आशिका चौधरी, कृष्णपुर नगरपालिका ८ का रामु कुस्मी, सुनिल कुस्मी, धनबहादुर कुस्मी, ममता चौधरी पनि गजल, मुक्तक, निबन्ध विधामा कलम चलाएको पाईन्छ ।
१२. कंचनपुरको पहिलो साहित्यिक कार्यक्रम
छिट्कल थारु साहित्यिक समाज कैलालीको आयोजनामा २०७१ साल बैसाख २७ गते (भाग ४) कंचनपुरको बैलौरीमे बृहत साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम कंचनपुर जिल्लामा भएको पहिलो थारु साहित्यिक कार्यक्रम हो । जहाँ कैलालीबाट सागर कुश्मी ‘संगत’, हिरालाल चौधरी, जन्तीराम चौधरी, सत्यनारायण दहित, जीतबहादुर चौधरी ‘ट्रासन’, सीताराम चौधरी, राजु चौधरी, बीरेन्द्र चौधरी, मोतीराम चौधरी, तेजबहादुर भुल लगायत एक दर्जन साहित्यकारहरुको सहभागिता रहेको थियो । सानु चौधरीको विशष संयोजनमा सम्पन्न कार्यक्रममा पौलाहा गाँउको मघौटा नाच पनि प्रदर्षण गरिएको थियो । यो कार्यक्रम सागर कुश्मी ‘संगत’ कै अध्यक्षतामा भएको थियो ।
हिरगर साहित्यिक बगाल कैलालीमा विधिवत रुपमा दर्ता भएको साहित्यिक संस्था हो । हिरगर आफ्नो शाखा कंचनपुरको शुक्लाफाँटा नगरपालिका ३ लोहरपुरमा रामबहादुर कुश्मीको अध्यक्षतामे ११ सदस्यीय समिति गठन गरेको छ । यो शाखा २०७२ बैसाखमा सागर कुश्मी ‘संगत’ कै विशेष पहलमा गठन भएको हो । शाखा गठन हुँदा हिरालाल चौधरी र गंगाराम डंगौराको पनि विशष सहयोग रह्यो । लोहरपुर शाखाले २०७२ मंसिरमा एक भव्य साहित्यिक कार्यक्रम गरिसकेको छ ।
यसैगरि हिरगर साहित्यिक बगाल आफ्नो शाखा बेलौरीमा पनि सुशीला चौधरीकी अध्यक्षतामे ११ सदस्यीय समिति गठन गरेको छ । २०७३ जेठमा आफ्नो नियमित मासिक श्रृंखला भएको छ भने दशैंमा डसिया विशेष र साहित्यिक कार्यक्रम पनि सम्पन्न गरेको छ । बेलौरी शाखा गठन गर्दा सागर कुश्मी ‘संगत’ र मोहनलाल चौधरी विशेष भूमिका रहेको थियो ।
त्यसैगरि हरचाली साहित्यिक त्रैमासिक, हिरगर साहित्यिक बगाल र सहिदान कला प्रतिष्ठानको संयुक्त आयोजनामा २०७३ कात्तिकमा १० दिने उद्घोषण र गजल लेखन तालिम भएको छ । तालिमकको सहजीकरण सागर कुश्मी जो गरेका थिए । उक्त तालिम पश्चात शिवनगर कंचनपुरमा पनि हिरगर साहित्यिक बगालाको शाखा सुगम चौधरीको अध्यक्षतामे ११ सदस्यीय समिति गठन गरेको छ । यो शाखा पनि सागर कुश्मी ‘संगत’ कै विशेष अगुवाईमे भएको हो ।
२०७३ मंसिरमा कृष्णपुर ८ मजगैंमा पनि हरचाली साहित्यिक त्रैमासिक र सहिदान कला प्रतिष्ठानको संयुक्त आयोजनामा ७ दिने उद्घोषण र गजल लेखन तालिम सम्पन्न भएको छ । जहाँ सागर कुश्मी ‘संगत’ कै ठूलो भुमिका रह्यो ।
१३. कंचनपुरमा साहित्यिक संघसंस्था
थारु भाषा, साहित्य, संस्कृति जगेर्ना गर्ने उद्देश्य लिएर यहाँ दुई वटा साहित्यिक संघसंस्था स्थापना भएको पाईन्छ । मोहरैन सांस्कृतिक तथा साहित्य समाज बेलौरी र सहिदान कला प्रतिष्ठान बेलौरी कंचनपुर यी दुबै संस्था जिल्ला प्रशासन कार्यालय कंचनपुरमा विधिवत रुपमा दर्ता भएका छन् । तर आजकल दुबै संस्था निस्क्रिय छन् ।
१४. सिंहपुर युवा क्लव
कृष्णपुर–६ सिंहपुर कंचनपुरको आयोजनामा २०७४ जेठ १ गते देखि ७ गतेसम्म उद्घोषण र गजल लेखन ७ दिने तालिम सम्पन्न भएको छ । गाउँ भरिका ३५ जना युवाहरुको सहभागीता रहेको तालिमका प्रशिक्षक सागर कुश्मी, प्रेरणा पाण्डेय ओ लोकबहादुर महरा रहेका थिए । यो कार्यक्रम क्लवकै अध्यक्ष बाबुराम चौधरीको विशेष अगुवाईमा भएको थियो । त्यहि गाउँमा २०७५ माघमा मघौटा वृहत सांस्कृतिक साहित्यिक कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको छ ।
हरचाली साहित्यिक त्रैमासिक पत्रिकाको आयोजनामा २०७४ सावन ४ र ५ गते कंचनपुरको कृष्णपुर २ बाणी गाउँमा २ दिने गजल लेखन तालिम भएको छ । २४ जना सहभागीता रहेको यो तालिमको सहजीकरण पनि सागर कुश्मीले गरेका थिए । तालिम लिएका युवा आजकल गजल लेखनमा आकर्षित भएका छन् ।
१५. थप साहित्यिक गतिविधि
कंचनपुरमा थुप्रै सांस्कृतिक तथा साहित्यिक गतिविधिहरु भएका छन् । बेलौरीको खुल्ला मंचमा हरेक वर्ष पुस २७ गते कार्यक्रम हुँदै आएको छ । तर कोभिड १९ ले गर्दा यो बीचको डौरानमा कार्यक्रम हुन सकेको छैन । त्यसैगरि सुमिरन र हरचालीको आयोजनमा २०७४ पुस ८ गते गुलरियामा, कात्तिक १७ गते जोन्हाँपुरमा, माघ २० गते झन्डाबोझीमा, २०७५ कात्तिक १६ र १७ बन्जरियामा पनि साहित्यिक कमर्यक्रहरु भएका छन् । उक्त कार्यक्रममा दांगदेखरबाट छविलाल कोपिला, नीमबहादुर थापा, सुर्खेतबाट बिन्तीराम महतो, कपिलवस्तुबाट रामऔतार चौधरी, बर्दियाबाट सुशलि चौधरी, सुदिन चौधरी, कल्पना चौधरी, रीता चौधरी, जग्गुप्रसाद चौधरी, कालिराम चौधरी, श्याम सराबी, गोचाली परिवारका सदस्यहरु, कैलालीबाट सागर कुश्मी, रामचरण कुस्मी, अंकर चौधरी, बलराम चौधरी, तिलक चौधरी, पूर्णिमा चौधरी, संजीव चौधरी, कंचनपुरबाट मोहनप्रसाद चौधरी, वीरबहादुर राजवंशी, सुमित्रा चौधरी, सीमा चौधरी, सितु चौधरी, सन्तोष चौधरी, राजेश चौधरी, धर्मेन्द्र चौधरी, संगम चौधरी लगायत थुप्रै साहित्यकारहरुको सहभागिता रहेको थियो ।
१६. निष्कर्ष
कंचनपुर जिल्लालाई अझै थारु साहित्यमा मलिलो बनाउन सके यहाँका थारु साहित्यिक विकासको सम्भावना बहुत छ । यहाँको पुराना गीतबाँस, लोक साहित्यको खोज अनुसन्धान गर्न जरुरी छ । यहाँ थारु भाषामा कलम चलाउनेहरुको कमी छ । यसका लागि यहाँका युवा वर्ग सचेत हुने बेला आएको । यहाँका युवाहरु आफै अवसर खोज्नमा ढिलो गर्नु हुँदैन । पुर्खाहरुबाट लोक साहित्य संकलन गर्ने समय यहि हो । यहाँका मोहरैन सांस्कृतिक तथा साहित्य समाज, सहिदान कला प्रतिष्ठान र थारु कल्याणकारिणी सभा जस्ता साहित्यिक संघसंस्थाहरु नियमित साहित्यिक मासिक अभियान चलाउन जरुरी देखिन्छ । आऔं सबैं मिली हाँतमा हाँत मिलाई कदम उचाल्नुपर्छ आफ्नो भाषा, साहित्य, संस्कृति र पहिचानका लागि । तब रहन्छ हाम्रो कंचनपुरकोे पहिचान ओ इतिहास ।
सन्दर्भ सामग्री
१. कुश्मी सागर, (२०७३÷२०७४) स्थलगत अनुसन्धान ।
२. चौधरी अशोक, (२०७३) असोज २० गते कुराकानी ।
३. चौधरी हिमाली, (२०७४) असार ११ गते कुराकानी ।
४. चौधरी कल्पना, (२०७४) असार ११ गते कुराकानी ।
५. राजवंशी वीरबहादुर, (२०७४) सावन १२ गते कुराकानी ।
६. कुस्मी सागर, २०७७÷२०७८ स्थलगत अनुसन्धान ।
७. चौधरी सिताराम, (२०७८ माघ १२ गते कुराकानी ।
७. थारु इन्दु, (२०७८ माघ १३ गते कुराकानी ।
७. चौधरी लाहुराम, (२०७८ माघ १२ गते कुराकानी ।
सागर कुश्मी
धनगढी कैलाली
फोन ९८४८४७००६०
कबनबचपगकmष्ठठढ२नmबष्।िअयm

थारु साहित्यमा कैलाली र कंचनपुरको इतिहासः एक अध्ययन

सागर कुश्मी