धितो राखेर सम्झना

खगेन्द्र गिरि ‘कोपिला’
१० जेष्ठ २०८०, बुधबार
धितो राखेर सम्झना

धितो राखेर सम्झना

‘कोपिलाभाइ पुस १ गते सुनवल आउनु पर्यो मैले तपाइँलाई निम्तो गरेँ है’ एकदिन फोन गरेर मलाई भन्नु भएको थियो हुमकान्त पाण्डेयसरले ।

‘हरिप्रसाद तिमिल्सिना र तपाइँलाई हामीले यस पटक नेपालगंजको प्रतिनिधि बनाएर बोलाएका छौं । जसरी पनि आउनु पर्छ है मित्र’ डा. श्यामप्रसाद न्यौपानेले पनि भन्नु भएको थियो एकदिन फोन गरेर । प्रतिनिधि भन्ने शब्दले भित्रभित्र कताकता डर पनि लागेको हो । के ? किन ? कहाँ ? कसरी ? जस्ता प्रश्नहरु मनमा उठे पनि ती प्रश्नहरुको निरुपण नगरिकनै मैले आँखा चिम्लेर भनेको थिएँ ‘हुन्छ नि हजुर’ ।

‘माया र आत्मीयतामा प्रश्न गर्न थाल्यो भने त्यसको सौन्दर्य हराउँछ’ भनेर पढेको थिएँ कतै । त्यति टाढाबाट सम्झेर पोखिदै आइपुगेको पाण्डेयसर र डा।श्यामज्यूको माया र आत्मीयतालाई प्रश्नहरुको जालोमा बेर्न चाहिनँ मैले पनि । सहर्ष स्वीकारिएको हो उहाँहरुको निम्तो ।

२०७९ साल मंसिर महिनाको तेस्रो हप्ताको कुरा हो यो । अनि मंसिर महिनाको अन्तिम दिन हिडेका थियौं म र हरिप्रसाद तिमिल्सिना नेपालगंजबाट ।

हरिसरसंगको पहिलो यात्रा हो यो मेरो । लमहीमा गुरुप्रसाद बुलबुल पनि थपिएपछि तीन जना भयौं । बाटो भने उही छ । नेपालगंजदेखि बुटबलसम्म अनेक पटक दुगुर्दै गएको, आएको उही चिरपरिचित महेन्द्र राजमार्ग । बुटबलसम्म त पुगियो तर बुटबलभन्दा अगाडिको यात्रा भने त्यति प्रीतिकर भएन । पुरानो सडक भत्काएर चाक्लो पार्ने गरि काम भैरहेको रहेछ । बाटो खाल्डा, खुल्डी, धुलो, माटो र रोडा, गिट्टीले क्षतविक्षत भएको छ । घ्याच्चघ्याच्च घुच्चघुच्च गर्दै हाम्रो बस पूर्वतर्फ कुदिरह्यो । सडक वरपरका रुख, वृक्ष, घर, भवनहरु धुलोले कुरुप भैसकेका छन् । धुलोभन्दा बाहेक अरु केही देखिएन बाटो वरपर । भुइँभरि धुलो, आकाशभरि धुलो र वनैभरि धुलो । केही बन्नु अघिको विध्वंसको ताजा चित्र हाम्रो आँखाअगाडि जीवन्त बनेर सडकसंगै दुगुरिरह्यो । यस्तो वातावरणमा यो सडक छेउछाउका वासिन्दाहरु कसरी बसेका होलान्रु अथवा यसैगरि कति दिनसम्म बस्नु पर्ने होलारु निर्माण कार्यलाई जनस्वास्थ्यमैत्री ढङ्गले गर्ने केही उपाय हुन्छ कि हुन्न होलारु कि भएर पनि नेपालमा हामीले अवलम्बन नगरेको हो किरु यस्ता अनुत्तरित प्रश्नहरुले पनि बाटोभरि लखेटिरहे ।

बुटबलबाट जसोतसो सुनवल पुगियो तर हामी ओर्लिने गन्तव्य अझैं ४ किलोमिटर पर रहेछ । मैले हाम्रो गन्तव्य सुनवल हो सोचेको थिएँ । हाम्रो गन्तव्य त भूमही रहेछ । सुनवल नगरपालिका अन्तरगत पर्ने सानो बजार ।

घाम डुब्ने बेलामा हामी पुग्यौं भूमही । नेपालगंजबाट बुटबल पुग्नुभन्दा बढी सास्ती पाइयो बुटबलबाट भूमही पुग्दा । हुन त यो बाटो ३४ किलोमिटरको दूरी मात्रै हो । तर सास्ती भने तीन सय किलोमिटर कुदेभन्दा बढीको पाइयो ।

भूमही बजार पनि पुसको हुस्सु र खोस्रिएको सडकबाट निस्किएको धुलोको समिश्रणमा डुबेको छ । हेर्न र देखिन गाहारोगाहारो भैरह्यो वरपर । जेजे ठोक्किए आँखामा आएर तिनै दृश्यहरुलाई भूमही मान्दै एकतमासले रमाइरह्यो मन ।

देख्यौं हाम्रो स्वागतार्थ चोकैमा उभिनुभएको छ डा।श्यामप्रसाद न्यौपाने । स्वागतको हात बढाउनु भो । पोख्नु भो आत्मीयता सेता दाँत टल्काएर । हामी उहाँकै पछिपछि लाग्यौं । हाम्रोलागि बस्ने व्यवस्था गरिएको रहेछ होटल मञ्जरीमा । चोकको उत्तरपट्टि ठडिएको पाँचतले अग्लो होटल हेर्दा भने निकै आधुनिकजस्तो देखिए पनि व्यवस्था र सुविधा भने त्यति व्यवस्थित रहेन छ । अल्छी मानेर सेवा गरिरहेका छन् कर्मचारीहरु पनि । सेवा र सुविधामा कुनै जाँगर देखाएनन् । पर्यटक त्यति नआउने भएर होला पर्यटकमैत्री लागेन उनीहरुको व्यहोरा । ‘सेकुवा र वियर नखानेलाई कहाँ हेर्छन् र होटेलवालाहरुरु’ भन्दै थिए गुरुप्रसाद बुलुबल । आयोजक र हामीलाई ठगेको रहेछ । तयारीको धपेडीमा रहेका आयोजकलाई थप तनाव हुन्छ भनेर हामीले होटेलको दुरावस्था बारे केही भनेनौं । दुई रात काट्नु न हो भनेर टारियो जसोतसो ।

पुस एक गतेको बिहानको समय हामीले धार्मिक यात्राको लागि छुट्टयायौं । सूर्योदय भैसक्दा पनि वातावरणमा तीव्र चिस्यान छँदै छ । भूमही हुस्सुमा डुबेकै छ । यहाँ हेर्ने कुरा त्यस्तो खासै केही रहेनछन् । जता हेरे पनि उभिदै गरेका उनै सिमेन्टका अग्लाअग्ला घर र खुम्चिदै गएका खेतवारी मात्रै देखिए ।

‘बर्दगोरिया र मामी सती सवरिया नाम गरेका दुई ओटा तीर्थस्थल छन् पुग्नै पर्ने’ हुमकान्त पाण्डेय सरले भन्नु भएको थियो हिजै । सम्झिएँ । अनि राखिहालेंँ साथीहरुलाई प्रस्ताव । हरिसर, देउखुरीका गुरुप्रसाद बुलबुल, दैलेखका तेजबहादुर माझी र मसमेतको चार सदस्यीय टोली बनिहाल्यो एकैछिनमा । हुमकान्त सरको एकाग्रतालाई बिहानबिहानै बिथोल्न चाहेनौं । बाटोमा जो भेटियो उसैलाई सोध्दैसोध्दै पुग्यौं बर्दगोरिया । भूमहीबाट तीन किलोमिटरजति उत्तरपट्टि पर्ने रहेछ यो तीर्थस्थल । घना बस्तीदेखि अलि बाहिर एकान्त ठाउँमा आफ्नै सात्विक सोपान बोकेर बसेको रहेछ बर्दगारिया । केरवानी गाउँको छेउमा । उता सुर्खेतको गेरवानीमा छ यहाँ केरवानी रहेछ । उता कैलालीको बर्दगोरिया पनि देखिएको रहेछ यहाँको बर्दगोरियामा पनि पुगियो आज ।

अनेक थरि रुख र वृक्षहरुले घेरिएको बर्दगोरिया धामको आँगन र परिसर फराकिलै लाग्यो । फराकिलो चौरमा छरिएका मन्दिर, मूर्ति तथा देवालयका संरचनाले मिलेर यो ठाउँलाई सात्विक शोभा दिएका छन् । वरपीपल र आँपका अग्लाअग्ला रुखहरु पहरा दिइरहेका रहेछन् यस तपोस्थललाई । मन्दिर परिसरमा देखिए साना ठूला अनेकौं देवालयहरु । सबैभन्दा ठूलो त रहेछ यज्ञशाला नै । टिनले छाएको यज्ञशालाभित्र यज्ञको आहुति हुन लागेकोले हो कि धूपबत्तीको मीठो सुगन्ध आइरहेको छ बाहिरसम्मै ।
के हेरौंरु के नहेरौंरु जस्तो पो भएर आयो । जिज्ञासाको रोटेपिङ्मा हतारको ज्वारभाटाले हिर्काइरह्यो एकोहोरो । जति हतार भए पनि सकुञ्जेल हेर्ने हो केही नछोडेर ।

बिहानको समय । जाडोको याम । मन्दिर परिसरमा मानछेको चहलपहल छैन । छेउमा निर्माणधीन देखियो एउटा सिमेन्टेड भवन । त्यही मिस्त्रीको काम गर्न आइपुगेका एकजना हँसिला युवा भेटिए । हामी चार जनाको फाटो खिच्न उनैलाई बोलायौं । त्रियोगीनारायण चौधरी नाम रहेछ यिनको । म उनैसित गफिन लागें । ‘तपाइँ नवलपरासीको पुरानो समयको राष्ट्रिय पञ्चायत सदस्य त्रियोगीनारायण चौधरी नै हो किरु अर्के हो भाइरु’ मैले यसो भन्दा उनी मुसुक्क हाँसे र भनें ‘उनी त उहिलेका मान्छे मरिसकेका होलान् । नाम मात्रै मिलेको हो सर, म त मिस्त्री त्रियोगीनारायण हुँ’ ।
यिनै त्रियोगीनारायणले यहाँका सबै संरचनाहरुलाई एकएक गरि देखाइदिए र चिनाइ पनि दिए । एउटा रुखको फेदमा थुपारिएका अनेकौं मूर्तिहरुको दृश्यले आँखा तान्यो । यी थरिथरिका मूर्तिहरु प्रायःजसो अङ्गभङ्ग भएका छन् ।
‘धाम परिसरमा निर्माण कार्यको सिलसिलामा जमीनको उत्खनन गर्दा भेटिएका हुन्’ सुनाए उनले नै ।
‘यहाँको मुख्य मन्दिर यही हो जानुहोस् दर्शन गर्नुहोस्’ भने उनैले । हामी मुख्य मन्दिरभित्र पस्यौं । गोरुको जस्तो देखिने ढुङ्गे मूर्तिले हाम्रो ध्यान तान्यो । प्रकृतिका पुजक हामी हिन्दुहरुको आस्था यहाँ वसाहाको मूर्तिमा भगवानको स्वरुप बनेर विराजमान भएको छ । कणकणमा भगवान व्याप्त छन् भन्ने शाङ्कर अद्वैत दर्शनको सार यहाँ चरितार्थ भैरहेझै। लाग्यो ।

‘यही जिर्ण ढुङ्गे मूर्ति नै हो यहाँको सबैभन्दा पुरानो इतिहास’ सुनाए एकजना भक्त सज्जनले ।
‘कुनै समय यहाँ शिवमन्दिर रहेको र शिवमन्दिरको अगाडि रहने वसाहाको मूर्तिलाई कुनै मूर्तिभञ्जकले तोडफोड गरेर बाँकी रहेको अवशेष पनि हुन सक्छ यो’ थपे उनैले । हाम्रा धेरै ऐतिहासिक कुराहरु यसैगरि अनुमानमैं अडिएका छन् । अनुमानकै भरमा बेलिबिस्तार लगाए उनले पनि । हामीलाई यस अनुमानले पनि छुट्टै आनन्द दियो । थारु, पहाडी र मधेशी संस्कृतिका मानिसहरुको समान आस्था पोखिएको छ यहाँ । इतिहास जेजस्तो भए पनि वर्तमानमा भने वर्दगोरियाले सबैको आस्थालाई एकताको सूत्रमा बाँधेको रहेछ । पान्थार र भूमही खोलाको माझमा टक्क बसेर सामुहिक आस्थाको दीयो बालिरहेको छ बर्दगोरियाले ।

मन्दिरको छेवैमा देख्यौं बाबाको कुटी । बाबाको निकट पुगेर प्रणाम गर्यों । विक्रम गिरि रहेछ उहाँको नाम । थारु समुदायमा जन्मेका यी बाबा नै हुनुहुदोरहेछ बर्दगोरिया धामका मूल पुजारी । उहाँले नै सुनाउनु भएअनुसार टुटफुट भएको यही वसाहाको ढुङ्गे मूर्तिलाई बाबा बर्दगोरिया भनिने रहेछ । स्थानिय थारु भाषामा बर्द भन्नाले साँढे र गोरिया भन्नाले गोरु अर्थ दिदोरहेछ । यहाँ जसलाई सोध्यो उसको मुखबाट सुनियो यही मिथक ।

वसाहाको प्राचीन मूर्तिभन्दा अरु संरचना त पछिपछि थपिएका रहेछन् । तीमध्ये शिवलिङ्गहरुको पङ्क्तिले हाम्रो ध्यान तान्यो । षट्कोण आकारमा लहरै राखिएका एकसय आठ ओटा शिवलिङ्गको पनि प्रदक्षिणा गर्यौं । यज्ञशालाबाट ब्राह्मणहरुले गरेको शान्तिपाठको स्वर गुञ्जियो । शान्तिपाठको सुमधुर धूनले वातावरणलाई सङ्गीतमय बनाइदियो । आँगनमा उभिएका हनुमान र गजराजका मूर्तिले आफ्नै सौन्दर्य र कला पस्किरहे ।

‘खै खै यता यता, खै खै उता उता’ फोटो खिच्ने अभियान चल्यो एकछिन । कुनै एक्लाएक्लै कुनै समुहमा खिचिए फोटो । मन्दिर परिसरका हरेक संरचनालाई समेट्यौं क्यानभासमा । सबैभन्दा धेरै त महाबली हनुमानको विशाल मूर्ति नै समेटियो फोटोमा ।

धेरै अलमलिएर यहाँका हरेक कुरोको इतिहास कोट्याउने समय हामीसंग छैन ।
बर्दगोरियापछि हामी पुग्यौं मामी सती सवरिया धाम । यो पनि एकान्त ठाउँमा हरिया रुखवृक्षहरुले घेरिएको स्थल नै रहेछ । मामी सती सवरिया मन्दिर रहेको गाउँको नाम रहेछ भँडरी । बर्दगोरियाबाट यहाँको दूरी एक किलोमिटर पनि नहोला । यी दुबै ठाउँको महिमा पनि एक अर्को संग जोडिएकै रहेछ ।

हुस्सुमैं गुडुल्किएको छ यो ठाउँ पनि । यो धामलाई पनि बाक्ला रुखहरुले घेरेर राखेका छन् । तिनै रुखहरुलाई नाँघेर आइरहेको चिसो बतासको सरसराहटले कानैनिर आएर स्पर्श गरिरहेकै छ । भुइँमा खसेका पात कुल्चिदै पुग्यौं मन्दिरको ढोकासम्म । चिसोले कपकपाएको शरीरमा कुतुहल र आस्थाको न्यानो बोकेर पस्यौं मन्दिरभित्र । भेटिनु भो एक जना पुजारी । पूजा गराइ दिएपछि उहाँले पनि यस मन्दिरसित जोडिएको मिथक सुनाउनु भो । पहिले भँडरी गाउँमा एकजना राजाको दरवार थियो रे १ ती राजाको नाम राम र रानीको नाम मायादेवी थियो । उनीहरुले नौ लाख गाई पालेका थिए । गाईको हुलमा एउटा साँढे पनि पालिएको थियो । त्यो साढेको घाँटीमा राजा रामले नौ लाखको सुनको बाला लगाईदिएका थिए । त्यो बाला लुट्न डाँकाहरुले साँढेमाथि आक्रमण गर्दा त्यो सुनको बाला आएर खसेको ठाउँ सुनबल भनियो र घाइते साँडे आएर पल्टिएको ठाउँ बर्दगारिया बन्यो । यो मन्दिर पनि उनै राजा राम र रानी मायादेवीले बनाएका हुन्’।

मलाई पुजारीबाट सुनेको कथा र यस मन्दिरको नामसित तादाम्यता नमिलेको जस्तो लागिरह्यो कताकता । यस ठाउँको नामलाई हेर्दा यो कुनै सती गएकी महिलाको स्मृतिमा स्थापित भएको ठाउँ हुनुपर्छ जस्तो लागिरह्यो । अवधी भाषामा मामी भनेको माइज्यु हो । सवरिया भनेको कल्साउरी रङकी नारीलाई भनिन्छ । सती भनेको सती भैहाल्यो । कुनै माइज्यू नाता पर्ने महिला सती गएकोले ती महिलालाई देवीको स्वरुप मान्दामान्दै त्यही श्रद्धा जोडिएको हुनुपर्छ यो मन्दिरसंग । मामी सती सवरिया हाम्रो जिब्रोमा राम्ररी बस्न सकेन । मैले त्यसको नेपालीकरण गरेर ‘माइज्यु सती कल्साउँरी’ भनौं भनेपछि साथीहरुले सहमति जनाए । मन्दिर परिसरका ढुङ्गाभन्दा बाहेक अरु संरचना भने सबै नयाँ नै लागे । हामीले नाम पनि नयाँ राखिदियौं ।

नाम र मिथकको मन्थनबाट उम्किएर हामी मन्दिर वरपरका दृश्य रमाउन थाल्यौं । सवरिया मन्दिर, यहाँको ऐकान्तिक वातावरण र परम शान्तिको अनुभूति एकअर्काका परिपुरकजस्ता लागिरहे मलाई । प्रकृतिको ऐकान्तिक सौन्दर्य र मान्छेको आस्थाले सिगारेको छ यो एक्लो मन्दिर पनि ।

‘दिनभरि बसेर ध्यान गरौं जस्तो वातावरण पो रहेछ यहाँ’ तेजबहादुर माझीको रहर पोखिइहाल्यो । यहाँ जे देखिए सबै सबै शान्त, मौन र ध्यानस्थ छन् । हामी चार जनाको कल्याङमल्याङले मात्रै हो एकछिन यहाँको शान्त वातावरणलाई भंग गरेको । एक मनले भन्दैछ यहाँको शान्त वातावरणमा डुबेर शान्त हुने अभ्यास गरौं केहीबेर । अर्को मन यहाँको इतिहासका पत्रपत्रहरु कोट्याउन लालायित छ । तर यहाँ धेरै बेर अलअलिने समय छैन हामीसंग । आस्थासंग जेजति जोडिएर आउँछ शरणागत हुन त्यति नै प्रयाप्त हुन्छ । आस्थाको सतह त भिजेकै छ, हुस्सुको सेतो बर्को ओढेर सुतिरहेका परपरका धमिला दृश्यहरुको सौन्दर्यले मुग्ध भएकै छु म । यति स्मृति लगेर गएपछि बर्दगोरिया र मामी सती सवरिया कहिल्यै पनि पर्ने छैनन् यो हृदयबाट ओझेल ।

बिहानको समय यी दुई ओटा तीर्थ क्षेत्रमा व्यतीत गरेर फेरि फर्कियौं भुमही । उही बाटो उस्तै वातावरण । मनभित्रका उत्सुकताहरुलाई आँखाबाट छरिरह्यौ चारैतिर । सडक भने चुपचाप सुतिरहेको छ हुस्सुको सेतो बर्को ओढेर अघि आउँदाजस्तै । त्यो सेतो बर्को तानेर सर्वाङ्ग हेर्ने मन थियो सडक वरपरका दृश्यहरुलाई । नवलपरासीको सिङ्गो भूगोल, माटो, फाँट र फराकिलो आकाशलाई आफ्नो अंगालोमा चपक्क पारेर बाँधिरह्यो हुस्सुले । हामी पनि कुदिरह्यौं ओढेर हुस्सुको सेतै बर्कोे ।

बिहानको चिस्यानमा लुगलुग काँप्दै फेरि फर्कियौं भूमही । मनकामना कटेजको ढोकैनिर उभिनु भएका डा। श्यामप्रसाद न्यौपानेले हाँस्दै हकार्नु भो । ‘कति ढिलो गरेको ?’

‘हुस्सुको पर्दा च्यातेर भूमहीका दृश्यहरु हेर्न समय लागिहाल्यो’ मैले पनि विनोद गरेँ । उहाँ फेरि खितितिति हाँस्नु भो आफ्ना उज्याला दाँत टल्काएर ।

हामी पुग्दा मनकामना कटेजमा खाना खाने सुरसार चलिरहेको छ । हिजोभन्दा आज झन् धेरै ठाउँका नयाँनयाँ अनुहारहरु थपिएका छन् ।

‘जाउँ जाउँ पहिले पेटभरि भोजन अनि दिनभरि भजन १’ अलमलिन दिनु भएन उहाँले । काव्य गोष्ठीमा सहभागि भई काव्यको आनन्द सागरमा डुबुल्की लगाउने हतारले खाना पनि हतारमैं खाइयो । कार्यक्रमको तयारीमा दौडधूप गरिरहेका छन् आयोजकहरु । डा। श्यामप्रसाद न्यौपाने, तिलकप्रसाद भट्टराई र यामजी मल्ल ‘कल्पित’ हरु कार्यक्रमको तयारीमात्रै होइन पाहुनाहरुको स्वागतमा पनि व्यस्त हुनुहुन्छ ।

‘वृहत् काव्यगोष्ठी’ नाम दिइएको यस कार्यक्रमलाई साहित्य परिषद, नवलपरासीले आयोजना गरेको हो । चितौनदेखि स्याङ्जा र दैलेखदेखि मकवानपुरसम्मका लेखककविहरु भेला भएका छन् भुमहीमा । आएका सबै पाहुनालाई खाना खुवाएपछि एघार बजे प्रवेश गर्यौं सभाहलमा । साहित्य परिषद नवलपरासीका सचिव यमजी मल्ल ‘कल्पित’को स्नेहिल उद्घोषसंगै आरम्भ भो कार्यक्रम ।

‘वयं राष्ट्रे जागृयाम्’ लेखिएको व्यानरले सबैलाई लोभ्याइरह्यो । आरम्भमैं पोखियो राष्ट्रप्रतिको चिन्ता । ‘प्रकृतिले दिएको तर प्रवृत्तिले ढाँटेको’ यो देशमा हामी स्रष्टासर्जकले भने इमान्दार हुनैपर्छ भनने सन्देश गुञ्जियो सबेको स्वरमा । केही औपचारिक कर्मकाण्ड पुरा गरेपछि उक्लिनु भो हुमकान्त पाण्डेयसर रोष्टममा र गर्न लाग्नु भो कविताको व्याख्या । ‘वाङ्मयप्रवाहमा कविताको स्थिति र वैशिष्ट्य’ शीर्षकको अवधारणपत्र प्रस्तुत गर्नु भो उहाँले । कविता यो हो, यो हैन र कविता यस्तो हुन्छ, यस्तो हुँदैन भन्दै अनेक तर्क, परिभाषा र पुष्ट्याई दिदै उहाँले कविताको शास्त्रीय शल्यकृया गरिरहनु भयो । निकै ओजिलो, गहकिलो र प्राज्ञिक गुणस्तर रहेको उहाँको कविताको व्याख्या साधारण व्यक्तिले बुझ्न कठिननै लाग्यो । मैले पनि ‘कविताले व्याख्या गर्दैन, कविताको व्याख्या हुन्छ’ भन्ने पदावलीभन्दा अन्य चर्चाको गुह्य रहस्य राम्ररी बुझ्नै सकिनँ ।

अर्का एकजना वक्ता ऋषिराम भुसालले भन्नु भो— ‘संसारका सबैभन्दा राम्रा कविता ती हुन् जो लेखिएकै छैनन्’ । फेरि थप्नु भो — ‘असल लेखक त्यो हो जसले पाठकलाई थोरैभन्दा थोरै पीडा दिन्छ’ । दुई दिनसम्म मेरो मथिङ्गल घुमिरह्यो हामी कवि लेखकहरुले पनि कतै पाठकहरुलाई राम्रा कुरा नलेखेरै यसैगरि पीडा दिइरहेका त छैनौं । नढाँटी भन्नुपर्दा म त मञ्चमा उभिन डराईरहेँ । डा। घनश्याम परिश्रमी, नारायण नेपाल, बूँद राना, सुवास खनाल, डा। शङ्कर गैरे, टंक पन्थी, केशवराज आमोदी र सुशील सापकोटाजस्ता कविहरुले मञ्चमा प्रस्तुत गरेका काव्यिक लालित्यले भने दुई दिनसम्म अनौंठो आनन्द फैलाइरहे ।

दोस्रो दिनको कार्यक्रममा आउनु भो सुनवल नगरपालिकाकी मेयर विमला अर्याल पनि । ‘इन्द्रको अगाडिको स्वर्गको के बखान गर्नु’ भन्दै उहाँले पनि कविहरुलाई मख्ख पार्दै गम्भीर सल्लाह दिइहाल्नु भो । ‘तिमी जे गर्छौ त्यो म गर्न सक्दिन, म जे गर्छु त्यो तिमी गर्न सक्दैनौ’ गजलको पहिलो मिसराले जस्तो अनौंठो कुतुहल छर्केर फेरि गजलको दोस्रो मिसराले त्यस कुतुहलको निरुपण गरेझैं भन्नु भो ‘हामी दुबै मिल्यौं भने जे पनि गर्न सक्छौं’ । पररर ताली बजाए कविहरुले । झट्ट हेर्दा हाम्री कोहलपुरकी कवियत्री शान्ति अधिकारीजस्तै देखिनु हुने विमला अर्याल लुम्बिनी प्रदेशको एकमात्र महिला मेयर हुनुहुँदोरहेछ । साहित्यप्रति लगाव र लगानीमा तत्पर मेयरज्यूले नवलपरासीका कविहरुको मन जित्नु भएको रहेछ । त्यो दिन त उहाँको हँसिलो प्रस्तुतिले हामी पनि मख्ख पर्यौं । बूँद रानाले भूमहीलाई भूमिको सौन्दर्य र भूमाताको आशीर्वादसंग जोडेर भूमहीको प्रशंसामा फूलबुट्टा भर्नु भयो । कविको काव्यिक प्रशंसाले लट्ठिइरह्यो भूमही पनि ।

साँझबिहान हामीलाई खाना र नास्ता खुवाउने दुई जना रातो सारी लगाएका महिलाहरुको नाम सोध्न भने बिर्सिएँ । दुई दिनसम्म कार्यक्रमका सानासाना कुराहरुको व्यवस्थापन गर्न उहाँहरु मनोयोगले खटिरहनु भयो । तैपनि अनुहारमा थकानको कुनै प्रभाव देखिएन । आफ्नै घरको कामजस्तै मानेर यसरी साहित्यिक कार्यक्रमको व्यवस्थापनमा खटिने यी महिलाहरु को होलान्रु उहाँहरुको सेवाभाव र लगन देखेर मलाई पुरानो आदर्शवादी समाजका मीरा र राधाहरुको झल्को आइरह्यो ।

भूमही मै भेटिनु भो पाल्पाका डा। शंकर गैरे । युवा, हँसिला र ह्याण्डसम गैरेलाई मान्छेहरु ‘पल्पसा क्याफे’ का लेखक नारायण वाग्लेजस्तै भनेर जिस्क्याउँदा रहेछन् । ‘डा. गैरेज्यू नारायण वाग्लेजस्तो पिरन्धरे त हैन डा। तुल्सी गिरिका छोरा अशेष गिरिजस्तै ह्यान्डसम हुनुहुँदोरहेछ’ मैले यसो भनेपछि उहाँलाई पनि जिज्ञासा बढेछ । २०३७/३८ सालतिर अशेष गिरिलाई मैले काठमाडौमा देख्दा ठ्याक्कै आजका शङ्कर गैरेजस्तै हुनुहुन्थ्यो ।
उहाँ नारायण वाग्लेजस्तो कि अशेष गिरिजस्तोरु भन्ने बारे खाना खाने बेलामा ठूलै छलफल चल्यो । मैले फेसबुकमा अशेष गिरिको आइडी खोलेर नै देखाएपछि टंक पन्थले ‘हो हो नारायण वाग्लेजस्तो नभएर अशेष गिरिसंग काटिकुटी मिल्ने रहेछ’ भनेपछि मात्रै अनुहारको त्यो वहस टुङ्गिएको थियो । हाहाहाहा ।

भूमही भएर महेन्द्र राजमार्गमाथि कैंयौं पटक ओहोरदोहोर गरिएको हो । तर भूमहीसित पनि काव्यको रस पगाल्ने यस्तो क्षमता रहेछ भन्ने कुरो यस पटक मात्रै थाह भो । भुमहीलाई छुन नपाएको मभित्रको उत्सुकताले यस पटक छुनुमात्र हैन नियाल्न नै पायो । हुस्सुको सेतो बर्को ओढेर मुसुमुसु हाँसिरहेको भुमहीको सौन्दर्य यो पटक पुसको जाडोमा झन् उजेलियो । लुकेको सौन्दर्य झन् आकर्षक हुन्छ । ‘भूमहीलाई काव्य केन्द्र बनाउने लक्ष छ हाम्रो’ हुमकान्त पाण्डेयज्यूको अठोटले त्यस सौन्दर्यमा अर्को रङ थप्न खोजेझैं लाग्यो ।
भुमही सुन्दर हो या भुमहीमा रसपान गरिएको काव्य सुन्दर होरु यो छुट्टाउन नसकेर म भुमहीबाट बिदा हुने बेलासम्म पनि अलमलिइरहेँ ।
हाँसीरहने गुरुप्रसाद बुलबुल र हँसाइरहने हरिप्रसाद तिमिल्सिनालाई पनि भूमहीसित बिदा हुने बेलामा गम्भीर देखें । आत्मीयताले भिजेको धर्तीबाट कुतुहलले भरिएको गन्तव्यतिर प्रस्थान गर्दैगर्दा मैले पनि यसो भनिहालेंः

भावभन्दा मीठो होस् सम्झना
ढुकढुकीझैं छिटो होस् सम्झना
कुनै दिन भेटौंला कतै मोडमा
त्यतिञ्जेल धीतो होस् सम्झना

खगेन्द्र गिरि ‘कोपिला’

धितो राखेर सम्झना

खगेन्द्र गिरि ‘कोपिला’