बगिरहिन् चमेलिया

खगेन्द्र गिरि ‘कोपिला’
३१ जेष्ठ २०८०, बुधबार
बगिरहिन् चमेलिया

संस्मरण

बगिरहिन् चमेलिया

‘दाजु अपी नाम्पा होटलमा आउनु पड्यो’ गोकुलेश्वरको चोकमा ओर्लिदै गर्दा भाइ हेमबाबु लेखकको आदेश आएको हो बैतडेली शैलीमा । तर हामी माथिमाथि लागेर पेट्रोल पम्पनिर पो पुगेछौं । अपीनाम्पा होटल त तल चमेलियाको पुलनिरै रहेछ । फेरि फर्कियौं । ठिकै भयो यहाँसम्म आएर हेर्न पाइयो साँगुरो ठाउँमा बसेको गोकुलेश्वर बजारको फराकिलो दृश्य । गरियो चमेलियाको दूरदर्शन पनि । चमेलिया वरपरको ढुङ्गेबगर पनि हेर्न पाइयो । निर्माणाधीन विमानस्थलको आकृति पनि देखियो ।

अपीनाम्पा होटल पुग्दा त्यहाँ धेरै आगन्तुकहरु आइसकेका थिएनन् । साँझपख पनि सुनसानजस्तै थियो होटेल । एकजना हेमबाबु लेखकमात्र ठिङ्ग उभिएका थिए आगन्तुकको स्वागतार्थ । सबैभन्दा पहिला पुगेछौं म र शशिराम कार्कीसर नै ।

मेरो हिजोदेखि मोबाइलको स्पिकर बिग्रेर कुरा गर्न र केही सुन्न पाइएको छैन । सबैभन्दा पहिले त्यो बनाउनु छ । मोबाइलका धेरै पसल चाहारे पनि त्यो बनाउन भने कसैले सकेनन् । पछि क्याम्पस रोडनिरको पसलका एक जना भाइले फर्मेट गरेर स्पिकर बनाइदिएँ । अनि ढुक्क भएर कुरा गरियो कुरा गर्न नपाएका आत्मजहरुसंग ।

हामी बिहानैदेखि दुगुरेकादुगुरेई हुनाले अलि थाकेजस्तो भएका छौं । कोठा पाएका छौं होटलको सबैभन्दा माथिल्लो तलामा । अबेर रातीसम्म चलिरह्यो आगन्तुकहरु आउने क्रम । होटलको आँगनबाट आइरहेको कल्याङ्मल्याङ् ध्वनि कानमा परिरहे पनि ओर्लिएर तलसम्म आउने जाँगर पलाएन । छिटै खाना खाएर सुति पनि हाल्यौं । सुतियो के भन्नु ? एघार बजेसम्म मोबाइलमैं इङ्गेज भइयो ।

हिमाली जिल्ला भनेर हामीले बाक्ला कपडा बोकेका थियौं । हिजो डडेलधुराको जाडोले आफ्नो झल्को देखाइसकेको छ । तर गोकुलेश्वरमा भने हपहपी गर्मी रहेछ । हिमाली जिल्लामा पुगेर रातभरि पङ्खा चलाएर सुतियो भन्दा पत्यार नलाग्ला । पङ्खाबिना एकछिन बस्न नसकिएपछि हामी पनि पत्याउन विवश भयौं । शशिराम कार्कीसरले एउटा सुइटरमात्रै बोक्नु भएको थियो । मैले त बाक्लै जाकेट र बाक्लै ट्रयाकसुट बोकेको थिएँ । व्यर्थै बोकिएछ । बोक्नुको मात्रै भारी । वारिपारि उभिएका छन् अग्लाअग्ला पहाड । गोकुलेश्वर बसेको छ तल गहिरोमा थपक्क । चमेलिया पनि बगिरहेकी छन् साँगुरोसाँगुरो बाटो बनाएर लजाएझैं गरी । दोहोरो बतास चल्न नपाएपछि यस्तो खोंचमा हपहपी गर्मी हुने नै भयो ।

जेठ १५ गतेको बिहान चाँडै उठ्यौं हामी । आफ्नै समयमा उदायो घाम पनि । वरपरका डाँडापाखाहरुलाई घामको स्पर्शले छुँदै गएपछि उजेलिदै गयो हाम्रो आँखामा बसेको परिवेश । उज्यालो भएपछि आफ्नै लयमा ब्युँझियो गोकुलेश्वर पनि । चिया पिएर हामीले पनि गोकुलेश्वरको लयमा मिसायौं आफूलाई । राती अबेर पुगेका आगन्तुकहरुले उठ्न ढिलो गर्नु भो ।

अपीनाम्पा होटेलमा हामी बसेका छौं तर अपी हिमाल देख्न पाइएन । हुन त यो नदी अपी हिमालबाटै आउँछ रे । अपीको चिसो पानीले भने तातो गोकुलेश्वरको हृदयमा आद्र्रता पोखेको छ । चमेलियाको साँगुरो बगरमा चमेलियाकै आश्रयमा बसेको छ गोकुलेश्वर । पारिपट्टिको आधा भाग बैतडीमा । वारिपट्टिको आधा भाग दार्चुलामा । दुईटा गोकुलेश्वरको अजम्मरी पिरती जोड्ने काम गरेको छ एउटा साँगुरो पुलले । पुलमुनी बगिरेहको छ चमेलियाको पानी मायाको अविरल बेग बोकेर । मानौंः—
अपीहिमाल चमेलिया चौलानीझैं पानी
गरिरहे एकोहोरो मौन कुराकानी

वैदिक साहित्यमा वर्णन गरिने चर्मण्वति नामको नदी नै यही चमेलिया हो रे । यसैको प्राचिन महिमालाई पुनः उजागर गर्ने उद्देश्य अन्तरगत नै चर्मण्वती साहित्य महोत्सव हुन लागेको छ गोकुलेश्वरमा । हामी त्यही महोत्सवमा निम्तालु भएर आएका हांै यहाँ ।

घाम चर्किदै जाँदा गोकुलेश्वरले नेपालगन्जको गर्मीलाई पनि पछाडि पारुँलाजस्तो गर्न थाल्यो । प्रचण्ड गर्मीको लागि व्यर्थै नाम चलाइएको रहेछ हाम्रो नेपालगन्जको । कार्यक्रम हुने ठाउँ हो सेठिगाउँ । गोकुलेश्वर बजारदेखि पारिपट्टिको उकालोमा पर्ने उज्यालो गाउँ । आधा घण्टा जति उकालो चढ्नु छ त्यहाँ पुग्न । हिजो अबेर राती र अहिले बिहान आइपुगेका आगन्तुकहरुले तयार हुन ढिलो गरेपछि सेठीगाउँ जाने सुरसार पनि ढिलोढिलो हुन लाग्यो । दुईटा जीपमात्रै रहेछन् आगन्तुकलाई सेठिगाउँ लैजाने । महिला स्रष्टाहरुलाई जीपमा लैजाने व्यवस्था मिलाएर पुरुषहरु हिडेरै जाने भइयो । ससानो जुलुशजस्तै बन्यो कविहरुको । अनुहारमैं ठाक्किन आउने चर्को घाम, उकालो बाटो । सकस नै प¥यो धेरैलाई । कतैकतै खुट्किला बनेका पनि देखिए बाटो । बाटो वरपर प्लास्टिक र सिसा फाल्ने चलनले प्रदुषित भैसकेको छ वातावरण । कतैकतै खेती गर्ने कान्लाहरु पुरै सिसा र प्लाष्टिकले भरिएका पनि देखिए ।

तर सेठीगाउँलाई यो प्रदुषणले खासै चिन्तित बनाएजस्तो लागेन । केही मान्छेहरु पीपल रोपेको चौतारोमा बसेका छन् । मैले मनको खसखस रोक्न नसकेर एकजना वृद्धलाई सोधिहालें—‘बाटो वरपर फालिएको यो फोहोर रोक्ने उपाय केही गर्नु भएको रहेन छ त यो गाउँमा’ ।

‘इन् हम्रा गडा नाइँ हन् ब’ मेरो वारी हैन भनेर उम्किए बुढा मान्छे त ।
‘खेत जसको भए पनि फाहोरले त सिङ्गो बस्ती र पुरै खेतवारीलाई प्रभावित पार्दै छ नि’ मैले फेरि भनें ।

‘यो इस्कुल्यान्ले ग¥यो फोःर हो, हमले जति भुण्या लै मान्ना नाइँ’ (यो विद्यार्थीले गरेको फोहोर हो हामीले जति भने पनि मान्दैनन्) उस्तै चासो नभएको झैं गरेर बोले फेरि उनी ।

ती बृद्धसित बसेका एकजना युवाले भने—‘बाटो वरपरको जम्मै खेत पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द परिवारको हो । उहाँहरु यहाँ बस्नुहुन्न । अरुले नै खेतीपाती गरिरहनु भएको छ । खेती गर्नेले हेरिदिनु पर्ने हो । उनीहरुलाई चासो छैन । हामीले मात्रै चिन्ता मानेर के गर्नु ?’

उनले पनि फोहोरप्रति आफ्नो निरपेक्षता नै देखाए ।
मैले भने—‘भाइ हेर्नुहोस् तपाइँको गाउँघरको बाटो वरपरको फोहोरले तपाइँहरुलाई नै सबैभन्दा बढी दुःख दिन्छ । सबै गाउँलेहरु मिलेर क्याम्पसमा गएर विद्यार्थी र शिक्षकको सामुहिक भेला गराएर यस फोहोरले ल्याएको समस्याका वारेमा छलफल गरी विद्यार्थीलाई भविष्यमा आउने विकराल समस्या अवगत गरायो भने फोहोर फाल्ने कामलाई रोकथाम गर्न सकिन्छ । नत्र यो फोहोरेले भोलि सिङ्गो गाउँलाई डुबाउँछ’ ।

‘ठिक भुण्या सर तमले’ (ठिक भन्नु भो सर तपाइँले) यी युवकको मुखबाट यस्तो सुनेपछि ममा पनि थोरै आशा पलायो । म आशान्वित भएर उकालो लागें ।

आधा घण्टा लाग्ला भनेको बाटोमा पैंतालिस मिनेट लागि हाल्यो । कृषि तथा पशुविज्ञान क्याम्पसका भव्य भवनहरुले सेठिगाउँको पाखोलाई उज्यालो पारेका छन् । यहाँबाट पढेर गएका विद्यार्थीहरुले देशविदेशका खेत,गह्राहरुलाई उज्यालो पारेका होलान् । आज हामी पनि अक्षरको डोरो समातेर चेतनाको उज्यालो खोज्दै यहाँसम्म आइपुगेका छौं ।

क्याम्पसको आँगनबाट देखिने पारि दार्चुला जिल्लाका परपरका दृश्यहरुले मोहनी लगाइरहे । त्यही भेटिनु भो स्वामी रामानन्द सरस्वतीज्यू । कार्यक्रमको निम्तालु भएर आउनु भएको रहेछ । ‘ऊँ नमो नारायण’ भनेर चरण स्पर्श गरेपछि एउटा सेतो फूल शिरमा राखेर आर्शिवाद दिनु भो । उहाँ र म फेसबुकमा साथी छौं । उहाँका अनेक गतिविधिहरु हेरिरहन्छु म । आज प्रत्यक्ष भेट भो । जगतपुरी शिवधाम नामको आश्रम स्थापना गर्नु भएको छ उहाँले गोकुलेश्वरमा । ‘एकपटक आश्रममा पाउ कष्ट गर्नु होला’ विनम्रतापूर्वक बोल्नु भो स्वामीज्यू ! संकोच लाग्यो मलाई । मन्दिर र आश्रममा जानको लागि निमन्त्रण पर्खिनु पर्दैन । हृदयलाई शरणागत बनाएर जुन बेला पनि जान सकिन्छ । शरणागत हुँदै मैले स्विकारें स्वामीज्यूको आमन्त्रणा ।

‘चमेलियाको सुरक्षा गर्नु हामी सबैको दायित्व हो’ उहाँका वाणिमात्र हैन भावमा पनि एउटा अठोट छ, सपना छ । कार्यक्रमको आरम्भ नहुँदासम्म उहाँका वाणिहरु सुनिरहें पर उत्तुङ्ग देखिएको शैल्य शिखरलाई हेर्दैहेर्दै । कानमा साधुका अमृत वाणिको स्पर्श, आँखामा नौलानौला भूगोलका आर्कषक दृश्यको स्पर्श र हृदयमा बिर्सिन नसकिनेहरुको सम्झना । छुट्टै प्रकारको मृदु अनुभूति भै रह्यो अलौकिक आनन्दको ।

खाना खाने व्यवस्था क्याम्पस नजिकैको क्यान्टिनमा गरिएको छ । पालैपालो खाना खाँदा र अतिथिहरु भेला हुँदा कार्यक्रम आरम्भ हुन ढिलो भैहाल्यो । समयलाई समयजस्तै बनाउन नसक्ने नेपाली रोग यहाँ पनि दोहोरियो । हामीले पनि त्यही रोगलाई अँगाल्यौं ।

बल्ल बारह बजेतिर हेमबाबु लेखकले माइक समातेपछि आरम्भ भो कार्यक्रम । बिहानदेखिको लामो अलमल र कुतुहलमय पर्खाइ सकियो । सन्तोषप्रकाश जोशी नाम गरेका एकजना हँसिला र मृदुभाषी युवा हिजैदेखि आफ्नो विनम्र मुस्कान छरेर दौडधुप गरिरहेका छन् । उनी रहेछन् डिलासैनी गाउँपालिकाका प्रमुख । वर्तमान समयमा युवाहरुको अनुहारबाट मुस्कान हराइसकेको छ । युवाहरुको विनम्रता, विनयशिलता र समर्पणभावलाई समयको हुरीले उडाएर कता लगिसक्यो कता । तर यी संतोषप्रकाश जोशी नाम गरेका उज्याला युवाले भने राजनीतिको रापिलो आहालमा प्रवेश गरेका भए पनि आफ्नो नैसर्गिक व्यक्तित्वको शोभालाई जोगाएकै रहेछन् । हर्क साम्पाङ् र बालेन शाहजस्तै मायालु लागे यी पनि । उनैलाई सभापतिको आसनमा राखियो । दिनभरी प्रेमिकाको मुस्कानलाई हेरेर धीत नमरेजस्तै गरी म पनि हेरिरहें उनको मृदु मुस्कान ।

निम्तो नपाएर झुलुक्क आइपुगेको पाहुनालाई अतिथि भनिन्छ । बोलाएर आएको मान्छे त आमन्त्रित पाहुना भै हाल्यो । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल पनि निम्तो नै पाएर आएका होलान् यहाँ । तर उनलाई प्रमुख अतिथि भनेर संबोधन गरिरहे उद्घोषकले । त्यसो नभनेर प्रमुख आमन्त्रित व्यक्तित्व भन्दै संबोधन गरेको भए हुन्थ्यो भन्ने लागिरह्यो मलाई । तैपनि गम्भीर हुन नसकी छटपटछटपट गरेरै भए पनि राजेन्द्रसिंह रावलले आफ्नो दायित्व वहन गरिरहे दिनभरी । पूर्व मुख्यमन्त्री रावल कवि र लेखक मात्र हैनन् निकै राम्रो अध्येता पनि हुन् तर उनी स्रोताको मनोविज्ञान र समयको सीमापट्टि ध्यान नदिएर आफ्नै सुरमा एकोहोरो बोलीरहन्छन् । उनको यो बानीले धेरै वर्ष पहिले महेन्द्रनगरको घाँडीघाँचमा आयोजित एक कार्यक्रममा पनि स्रोताहरुलाई यस्तै गरि दिक्क पारेको थियो । यहाँ पनि उनले आफ्नो त्यही बानी दोहो¥याइहाले । उनले यति धेरै फतफताइरहे कि आरम्भतिर उनको विद्यता र ज्ञानको प्रशंसा गरिरहेका स्रोताहरु पनि पछिपछि त हाइहाइ काड्न थाले ।

राष्ट्रियता संरक्षण अभियान बैतडी आयोजक र डिलासैनी गाउँपालिका प्रवर्धक रहेको यस कार्यक्रमलाई दिव्यास्त्र डटकम, दिव्यास्त्र साप्ताहिक, मानसखण्ड फाउण्डेसन र गुगुल्डी वाङमय प्रतिष्ठानले सहयोग गरेका छन् । चर्मण्वती साहित्य महोत्सव तथा नेपाल भारत काव्य गोष्ठी नाम दिइएको छ यस जमघटलाई । कार्यक्रमका विषबस्तु पनि मानसखण्डकै सेरोफेरोमा केन्द्रीत रहे । आजको सुदूरपश्चिमको भूगोललाई वैदिककालिन ‘मानसखण्ड’को रुपमा चिनाउन र प्रमाणित गर्न आचार्य घनश्याम लेखकले आफ्नो कार्यपत्र ‘मानसखण्ड ः चौलानी सभ्यता र संस्कृति’ मा अनेक तथ्य, प्रमाण र तर्कहरु प्रस्तुत गरे । कार्यक्रमका व्यानर र कार्यसूचिमा चर्मण्यावति लेखिएकोमा पनि उहाँले शास्त्रीय तर्कद्वारा प्रतिवाद गरेपछि सबैले स्वीकारे चर्मण्यावतीलाई ‘चर्मण्वती’ भन्ने गर्नु पर्छ भनेर । त्रुटी सुधार्ने यो शैली पनि निकै मन प¥यो ।

मानसखण्डको लोक साहित्यको बारेमा जगदिश ओझाले चर्चा गरे भने बैतडेली साहित्यको रुपरेखाबारे रमेश पन्त ‘मितबन्धु’ले कार्यपत्र पढे । बैतडेली लोकसंस्कृतिको बारेमा डम्बरदत्त बडुले विश्लेषण गरे भने ब्यासी समुदायको भाषा र संस्कृतिबारे पदम बडालले विवेचना गरे । यी चर्चाहरुमाथि अनेक व्यक्तिले उपचर्चा र टिकाटिप्पणी गरे । कसैले आलोचना गरे, कसैले छुटेका कुरा थपथाप पनि गरे । सबैले आआफ्नै प्रकारले मानसखण्डको विगत र वर्तमानलाई आफ्ना गहकिला कुराले मस्काएर उजिल्याउने भरमग्दूर प्रयत्न गरिरहे ।

मैले हिजो झुलाघाटको उकालो झर्दै गर्दा साधुजस्ता एकजना अधबैंसेलाई देख्दा ‘ओम् नमो नारायण स्वामीज्यू’ भनेर प्रणाम गरेको सम्झिएँ । उहाँ त स्वामी नभएर प्रसिद्ध कत्थक नृत्यकार आचार्य हेमन्त गुरु पो रहेछन् । हिजो साधु सम्झेर ढोगेको मान्छेको आज सेठिगाउँमा सुन्दर नृत्य हेर्न पाइयो । स्थानिय भडाः फाःग र सगुन गायनका झलक पनि प्रस्तुत गरिए । भारतको पिथौरागढबाट आएका डा.पिताम्बर अवस्थी लगायतका भारतीय कविहरुले प्रस्तुत गरेका कविताले महाकाली वारिपारिको सांस्कृतिक अन्तरसम्बन्धलाई नयाँ स्वर दिए । श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी र नारा जोशीका रचनामा नारी हृदयको कोमल संवेदनामात्र पोखिएन सामाजिक उत्तरदायित्वको गम्भीर उद्घोष पनि भयो । चन्द्रप्रकाश तिवारी, महेशदत्त भट्ट र रामचन्द्र नेपालजस्ता स्रष्टाहरुले आफ्ना रचनामा देश खोजे । समनश्री, कर्ण दयाल, नारायण गिरि र शिवराज कलौनीका रचनामा जीवनका रागअनुरागहरुको उत्खनन गरियो । सबैले पद्य रचना सुनाएको ठाउँमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य शशिराम कार्कीले एउटा चोटिलो लघुकथा सुनाएर निकै ताली पाए । गद्य कविताजस्तै चोटिला हुँदारहेछन् सुनाउन जान्यो भने लघुकथा पनि ।

उज्यालो अनुहार भएकी एउटी महिलालाई हिजोदेखि गम्भीर श्रोताको भूमिकामा हरेक सत्रमा बसिरहेको देखेको थिएँ । उनी त पूर्वको घनकुटाबाट आएकी कवयित्री जुनु घिमिरे पो रहिछन् । त्यति टाढाबाट आएकी कवियत्रीले सुनाएको कविताले सबैको ध्यान तानी हाल्यो । ‘नदी र नारी’ भन्ने उनको कविता सुनेर निकै गम्भीर भए श्रोताहरु । प्रायःजसो कविहरुले आआफ्नो रुचि र सुबिधा अनुसारका कविता सुनाए । तर जुनु घिमिरेले चर्मण्वती महोत्सवको उद्धेश्यसित मिलेको कविता सुनाउनु निकै अर्थपूर्ण रह्यो । सबैले त्यस कवितालाई यस महोत्सवको शीर्ष कविताको रुपमा स्वीकारे । कवयित्रीद्वारा नदी र नारीको अवस्थालाई जोडेर कोरिएका पङ्क्तिको भावुकता हेरौं ः

नदीसंगै
जन्मिएकी नारी
र उनले रोपेको मानव अस्तित्व
कति महान छ
कति अकाट्य छ
हर नदीले प्रकृतिलाई जीवन दिए झैं
हर नारीले
मानव जीवन कोखमा उमारिरहेछन्

नारी !
प्रकृतिको सुरम्य उपहार
जहाँ सृष्टि हाँसेर फुलिदिन्छ
राताम्मे गुरास जसरी
त्यसैले लाग्छ मलाई
जबसम्म बग्दछन् नदीहरु
तबसम्म सागरहरु फैलिरहन्छन्
जबसम्म नारीहरुले सृष्टिका लागि
धर्ति भएर आफूलाई
ढुङ्गे साघु बनाउँछन्
तबसम्म कोरिरहन्छन् फराकिला राजमार्गहरु

यस कवितामा प्रतिबिम्बित गहन अनुभूतिजस्तै हरेक स्रष्टाहरुले विभिन्न भावभङ्गीमाका रचना सुनाएर आआफ्ना कला पस्किए । आआफ्नो कल्पनाशीलता बोकेका रचना सुनाएर सबैले आआफ्नै प्रभाव पारिरहे । पहिलो दिन अबेर रातीसम्म चल्यो कार्यक्रम । थाकेका सहभागिहरु मध्यरातसम्मै काव्य रसमा डुबी रहे । दोश्रो दिन पनि काव्यको रागले एकपटक फेरि स्रष्टाहरुलाई मूच्र्छनाको निकट पु¥याएरै छाड्यो ।

आयोजकले स्रष्टाहरुलाई सम्मान, प्रशंसा, कदरपत्र र मायालु चिनोको भारी बोकाउन कुनै कञ्जुस्याई गरेनन् । एक जना गोरो वर्णकी महिला दिनभरि मञ्चमा गम्भीर भएर बसेकी थिइन् । लामालामा कार्यक्रममा त्यसरी गम्भीर भएर बसिरहन सबैले सक्दैनन् । को होलान् ? त्यसरी गम्भीर भएर अरुका कुरा सुनिरहन सक्ने ? मनमा जिज्ञासा उठेको थियो । उनी त हाल दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको पदमा कार्यरत किरण जोशी पो रहिछन् । उनको माइती यही गाउँमा रहेछ । उनलाई नेपालकै प्रथम महिलामन्त्री द्वारिकादेवी ठकुरानीको नाममा स्थापित नारी रत्न सम्मान प्रदान गरियो । २०६४ सालमा संविधान सभाको सदस्य रहेका यही जिल्लाका दलित आन्दोलनका अगुवा पूर्णसिंह दयालले आफ्नो अध्ययनशीलता र तार्किकतालाई कार्यक्रमभरि राम्रैगरि प्रदर्शन गरे । उनलाई आत्माराम ओझाको नाममा स्थापित साहित्य गौरव सम्मान दिइयो ।

मलाई पनि बैतडीका अग्रज साहित्यकार वासुदेव भट्टको स्मृतिमा स्थापित ‘वासुदेव भट्ट स्मृति साहित्य गौरव सम्मान’ को भारी बोकाइदिए आयोजकहरुले । यति ठूलो भारी मलाई किन र के हेरेर बोकाए ? अनुमान गर्न सकिनँ मैले । तर मायाले दिएको उपहार जति गरुङ्गो भए पनि प्रितिकर नै हुनेरहेछ । गाउँपालिका प्रमुख संतोषप्रकाश जोशीले मृदु मुस्कान छरेर मलाई सो सम्मान दिंदा खेलिरहे मनभरि यस्तैयस्तै तर्कना । यो प्रेमको सट्टा मैले भने केही दिन सकिनँ । दिनुको नाममा त्यत्ती हो महोत्सवको घोषणापत्रलाई ताली बजाएर समर्थन गरियो । अनि गजलका यी पङ्क्ति सुनाएर उम्किएँः
यहाँको आकाश, पानी र भुइँ हराएको छ
सपना फुल्ने चर्चा गाइँगुइँ हराएको छ

संसार नै बदल्छु भनेर जो कुर्लिदै थियो
लगाएर केही दिनको फुइँ हराएको छ

जसले भनेको थियो म उज्यालो देखाउँछु
हेर्नुहोस् त यहाँबाट उही हराएको छ

कार्यक्रम समुदघाटनको दिनमा आगन्तुकले सबैलाई रुद्राक्षको माला लगाएर धार्मिक आस्थाको न्यानो पोखेका थिए । दोस्रो दिन सत्कारको त्यही न्यानो बोकेर आगन्तुकहरु चमेलियामा डुबुल्की लगाउन पुगे । गंगा दशहराको तिथि परेकोले चमेलिया नदीमा गरिएको स्नानले आस्थाको भित्री सतहलाई भिजाउनुसम्म भिजायो ।

लेखापढीमा चमेलिया भनिने यस नदीलाई स्थानियहरु चौलानी भन्दा रहेछन् । हुन पनि चौलानीजस्तै देखियो नदीको पानी । नामको सार्थकता भेटियो । अवसरको पनि सार्थकता भएझैं अनुभव भयो । चौलानीबाट चमेलिया र चमेलियाबाट चर्मण्वती भएकी चौलानी । वर्षैदखि स्नान गर्दा उच्चारण गरिरहने मन्त्रमा उल्लेखित चर्मण्वति नदी कहाँ होला भन्थें । यही पो रहेछः
गंगा सिन्धु सरस्वती च यमुना गोदावरी नर्मदा
कावेरी सरयू महेन्द्रतनया चर्मण्वती वेदिका
क्षिप्रा वेत्रवती महासुरनदी ख्याता च या गण्डकी
पूर्णापूर्ण जलै समुद्र सहिता कुर्वन्तु मे मङ्गलम्

दुई दिनसम्म सेठीगाउँको उही उकालोओरालो धाइयो चर्मण्वतीलाई नै साक्षी राखेर । चर्मण्वती आफ्नै लयमा बगिरहिन् । उही भान्सा, उस्तै खाना, उनै साथीहरु । कोही हतारमा आए हतारमै फर्किए । कोही फुर्सदिलो भएर आए ढुक्कसंग बसिरहे । प्रायःजसो सहभागिहरुले दुबै दिनका कार्यक्रममा उत्साहजनक सहभागिता जनाए । कार्यक्रम पनि आफ्नो उद्देश्य र कार्यसूचिमा चुर्लुम्म डुब्यो । कार्यक्रम क्याम्पसमा भएको भए पनि क्याम्पसका विद्यार्थी र शिक्षकहरुको भने त्यस्तो उत्साहजनक सहभागिता नदेखिनुलाई धेरैले खड्केको ठाने । डिलासैनी गाउँपालिकाका जनप्रतिनिधिहरु भने कोही एकदिनको बाटो त कोही दुई दिनको बाटो हिडेर आएका रहेछन् । सबैले दुबै दिन आतिथ्यताको न्यानो मुस्कान छरिरहे ।

केही ग्रामिण महिलाहरु दुबै दिन कार्यक्रमको व्यवस्थापन र पाहुनाहरुको स्वागत सत्कारमा निकै खटिरहेका थिए । उनीहरुको निश्छल र अबोध अनुहारमा जिज्ञासाको गहन भाव झल्किरहेको थियो । समापनसत्रमा ती मध्ये एकजना महिला र म संगसंगैको आसनमा बस्न पुगेछौं । हेर्दा पच्चिस छब्बिस वर्षकी जस्ती लाग्ने यी महिलालाई जीवनको घामपानीले छिटै परिपक्क बनाइसकेको देखिन्थ्यो । मलाई उनीसित कुरा गर्ने उत्सुकता जाग्यो ।

मैले सोधिहालें ‘कहाँबाट आउनु भएको हो नि बहिनी ?’
‘नुवाकोट बठै आया हुँ सर !’ बैतडेली शैलीमा उत्तर दिइन् उनले ।
‘नुवाकोट जिल्ला?’ म आश्चर्यमा परें ।

‘योइ हो सर डिलासैन गाउँपालिकाओ ४ लम्बर वडा’ (यही हो सर डिलासैनी गाउँपालिकाको ४ नंबर वडा) हाँस्दै बोलिन् उनी ।

‘कति टाढा छ नि तपाइँको गाउँ ? फेरि सोधें मैले ।

‘दिनभरि हिट्याबरे मात्तरि पुगिन्छ (दिनभरि हिड्यो भने मात्रै पुगिन्छ)’ बैतडीको शैलीमा नेपाली मिसाएर बोलिन् उनी ।

‘तपाइँको नाम के हो नि ?’ मैले नाम सोधेपछि भने उनी लजाइन् ।
मैले फेरि सोधेपछि बल्लबल्ल भनिन् ‘शारदा बोहरा !’

‘यही कार्यक्रममा भाग लिन आउनु भएको हो ?’ मैले फेरि प्रश्न गरेँ । नाम भन्न लाज माने पनि उत्तर दिन भने झिजो मानेकी छैनन् उनले ।

‘हामी यही डिलासैन गाउँ कार्यपालिकाका सदस्य हौं । यो कार्यक्रम सम्पन्न गर्न आएका हौं’ । उनको उत्तरले मभित्र झन् जिज्ञासा थपिए । उनकै छेउमा बसेका मनमती लोहार र दुर्गा धामी नाम गरेका दुईजना महिला पनि डिलासैन गाउँपालिकाको कार्यपालिकाका सदस्य नै रहेछन् ।

‘त्यति टाढाबाट सधैं आइरहनु पर्छ होला ? कहाँ बस्नु हुन्छ ? खाने, बस्ने, आउनेजाने खर्च कसरी पु¥याउनु हुन्छ नि ?’ फेरि जिज्ञासा राखें मैले ।

‘हमरा मान्सुनको काम पड्याबरे जन्ज्यालै अउनझन् पडन्छ । मुइनामाइँ एक दिन अनिवार्य बैठक बसन्छ, एक दिनओ बैठकभत्ता एक हजार मिलन्छ । तसैले खानु, बस्सु, अउनुझानु सब मिलनु पडन्छ । असजी छ हजुर’ (जनताको काम परे त जतिखेर पनि आइरहनु पर्छ । दिनको एक हजार बैठक भत्ता पाइन्छ । त्यसैले खाने, बस्ने, आउने जाने खर्च सबै पु¥याउनु पर्छ, असजिलो छ हजुर) भनिन् उनले ।

उनका कुराले मलाई भावविह््वल बनायो । काखको बालक घरमा छोडेर आएकी रहिछन् । बाहिरबाट हेर्दा हामी जनप्रतिनिधिलाई सबै कुरा पुगिसरी भएको छ जस्तो ठान्छौं । तर भित्रका दुःख बुझ्ने हो भने जनप्रतिनिधिहरुका पनि दुःख त निकै हुने रहेछन् । त्यसैमा नारी, अनि यस्तो दुर्गम ठाउँ । म यी तीन जना नारी जनप्रतिनिधिहरुको प्रशंसा नगरिरहन सकिनँ ।

कार्यक्रममा यस्ता विविध अनुभूति सँगाल्न पाइयो । कुनै अनुभूति बटुलेर रमाएँ । कुनै अनुभूतिले गम्भीर बनायो । पर्दा पछाडिबाट यस कार्यक्रमको सफलताको निम्ति खटेका थुप्रै व्यक्तिहरु रहेछन् । पर्दा अगाडि प्रत्यक्ष देखिएको हेमबाबु लेखकको खटाई, आचार्य घनश्याम लेखकको ओजिलो बोली र संतोषप्रकाश जोशीको विनम्रताको प्रशंसा गर्न कसैबाट कञ्जुस्याइँ भएन । गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट र एकजना जिज्ञासु खत्री नाम गरेका स्थानिय युवाकवि पनि दुई दिनदेखि असिनपसिन भएर कार्यक्रम सफल पार्न खटिरहे । न अनुहारमा थकान देखियो न बोलीमा कुनै रुखोपन झल्कियो । सम्झिएँ खप्तड स्वामीको भनाई—‘आत्मैदेखि स्वयम्सेवक जस्तो भएर अरुको सेवामा खट्नु साधनाहरु मध्येको सबैभन्दा ठूलो साधना हो’ । यी दुई जना स्वयम्सेवीहरुको पनि प्रशंसा नगरी कोही फर्किएनन् ।

दुई दिनको चहलपहलले रमाएको मन कार्यक्रमको समापनतिर नियास्रो मान्न थालिहाल्यो । सेठीगाउँको ओरालो झर्दै गर्दा धेरैका अनुहार मलिन भैहाले । चर्मण्वतिको पुल तर्दै गर्दा धेरैले अनेक पोजमा फोटो खिचे । हिजोदखि रमाइलो लागिरहेका पहाडी थुम्काहरु पनि विछोडको घडीमा कताकता न्यास्रिएका हुन् कि झैं देखिए । मान्छेको मनोदशा अनुसारनै देखिदारहेछन् हरेक दृश्यका भाव पनि । आफ्नै लयमा बगिरहेकी छन् चमेलिया पनि । अबदेखि चर्मण्वती भए पनि उनको बगाईमा भने कुनै परिवर्तन भने आएको छैन । खै अब फेरि कहिले हेर्न पाइने हो चमेलियाको यो छटा । तबसम्म बगिरहनु है चमेलिया चौलानीजस्तै भएर !

हामी अपीनाम्पा होटल पुगेर झिटिगन्टा कस्न थाल्यौं । आगन्तुकहरुलाई बिदा गर्दैगर्दा भावुक बनेका हेमबाबु लेखकको कविताजस्तै आफ्नै गतिमा बगिरहिन् चमेलिया पनिः

मलाई सम्झि रुँदैरुँदै गइन् चमेलिया
अपी हिमाल गोकुले छुँदै गइन् चमेलिया
सुकर्म साथमा लिई मनुष्य पापका घडा
पवित्र भावले बगि धुँदै गइन् चमेलिया

खगेन्द्र गिरि ‘कोपिला’

बगिरहिन् चमेलिया

खगेन्द्र गिरि ‘कोपिला’