शैल्य शिखरको छेवैछेउ

खगेन्द्र गिरि ‘कोपिला’
१५ असार २०८०, शुक्रबार
शैल्य शिखरको छेवैछेउ

शैल्य शिखरको छेवैछेउ

नारायणी दिज्यूलाई फकाउने काममा धेरै समय खर्च भयो । अन्ततः फकाउनै सकिएन । धनगढीबाट नारायणीदिज्यु, हेमन्तीदिज्यु र पत्थरज्यू गोकुलेश्वरसम्म संगसंगै आइस्सेको हो । धनगढीबाट आउने र जाने जीपको दोहोरो भाडा पनि तिरिसकिएको रहेछ । मेरो र शशीराम कार्की सरको आएकै बाटो नफर्केर दार्चुला भएर भारत हुँदै फर्किने योजना बन्यो । हेमन्तीदिज्युले पनि हामीसंगै जाने निर्णय गरेर पत्थरज्यूलाई पनि फकाइहालिस्से छ । तर नारायणीदिज्यूलाई गोकुलेश्वरमा छाडेर जान उहाँहरुको मनले मानेको थिएन । अनि लाग्यौं हामी सबैजना नारायणी दिज्युलाई फकाउन । तर फकाउन सके पो !

‘जाउँ दिज्यु जाउँ’ हामीले अझैं ढिपी गर्न छोडेका छैंनौं ।
हुन त दार्चुलाको बाटो जानको निम्ति नारायणीदिज्यूलाई त्यस्तो अफ्ठ्यारो त केही रहेनछ । उहाँको आफ्नै गाउँ हो, आफ्नै ठाउँ हो । महेन्द्रनगरतिर भासिएर वर्षौपछि आएको हुँदा आफन्तहरु सबैलाई भेटेर जानु पर्ने बाध्यता रहेछ ।

‘नभेटेर गयो भने गुनासो सुन्न पर्ने डर । सबैलाई भेटेर जाने समय छैन । कसैलाई भेटेर कसैलाई नभेटेर गयो भने झन् गनासो आउँछन् । फेरि आफन्तहरुलाई भेट्न बिना तयारी खाली हात कसरी जानू’ आफ्नो असजिलो भन्दै होइस्सिन्छ नारायणीदिज्यु । सबैभन्दा पाको मान्छेको नेतृत्वमा गयो भने हामीलाई धेरै कुराले ढुक्क त हुने थियो । तर दिज्युको बाध्यता बुझेपछि हामीले धेरै कर गर्न सकेनौं ।

नारा जोशीदिज्जूलाई नारायणीदिज्यु भन्न मन लाग्छ । नरलाई स्त्री लिङ्गी बनाएर उहाँको नाम नारा राखिएको हो वा नारायणीलाई छोटो पारेर नारा राखिएको हो ? थाह छैन । तर दिज्यूको हृदय भने श्रीकृष्ण भगवानको नारायणी सेनाजस्तै विशाल छ । उहाँसंग जान पाइएको भए हाम्रो टोलीको नेतृत्व गराउन हुन्थ्यो । अब त्यो जिम्मा आइपरेको छ हेमन्तीदिज्युको काँधमा ।

गोकुलेश्वरमा चर्मण्वति नदीकै बगर निर ठडिएको अपी नाम्पा होटेलको आँगनमा नारायणीदिज्जुसित बिदा हुने बेलाको क्षणले पनि भावुक बनाइहाल्यो ।

‘महेन्द्रनगर आएर मलाई नभेटेर गयौ भने म त बोल्ने हैन’ भनिहालिस्यो दिज्जुले । ‘आज हजुर हामीसित दार्चुला गैस्सेनँ । हामी पनि महेन्द्रनगर गएपछि हजुरलाई भेट्ने हैनौं’ भन्न त मन नलागेको कहाँ हो र ? तर भन्न सकिएन । दिज्जुको स्नेहको अगाडि भाइको गुनासो धेरै बेर टिक्ने कुरा पनि भएन । छुट्टिने बेलामा नारायणीदिज्यु र हेमन्ती दिज्युले अँगालो हालेर रुँलारुँला जस्तो गरेर आँखा टिलपिलटिलपिल पारेको दृश्य भावुक भएर हेरिरहेँ ।

अन्ततः स्नेह र भावुकताको एउटा चिसो सुगन्ध छरेर हामी छुट्टियौं । चर्मण्वती साहित्य महोत्सवमा भाग लिन आएको टोली दक्षिण लाग्यो । हामी उत्तरतिर लाग्यौं । हाम्रो टोलीमा धनकुटाबाट आउनु भएकी कवियत्री जुनु घिमिरे पनि थपिनु भो । यही दार्चुलाका भाइ रमेशसिंह धामी पनि थपिएपछि हिडि पनि हाल्यौं ।

गोकुलेश्वर बजारको आडैबाट उभोउभो लाग्यो बाटो । चमेलिया नदी परपर हुँदै गइन् । ‘त्यो बाटो सिधै गयो भने मार्म लटिनाथ पुगिन्छ’ हाम्रो जीपका चालक शिव धामीले एउटा मोडनिर देखाएका थिए । आँखा तन्काएर त्यतातिर राम्ररी हेर्न नभ्याउँदै सुलुलुलु माथि पुगिहालियो । रिडिबाट बामीटक्सार जाँदाकै जस्तो ठाडै उकालो रहेछ यो बाटो पनि । यस्ता पहाडी बाटोहरु त नेपालमा जहाँ पनि छन् । तर पहाडी चट्टानलाई चिरेर बनाइएका बाटा र घुम्तीहरु यताका त्यति डरलाग्दा लागेनन् । बाटोले उँचाई लिएको लियै छ । फनपनी घुम्दै बाटो अग्लाअग्ला पहाडको चुली र थुम्काहरु पार गर्दै शैल्य शिखरको झन् अग्लो पहाडसित आँखा जुधाउन थाल्यो । नड्तोलाका घुम्तीहरु पार गर्दै उभोउभो लागिरहँदा सल्लाका वनहरुले आँखामा मोहनी लगाइरहे । सल्लाको वनजस्तै रमाइला छन् थुम, थुम्का र भीर, पहराका दृश्य पनि । कुनै कलाकारले फुर्सदमा बनाएका कुतुकमय चित्रजस्ता ।

बेंसीबाट उँभोउभो लाग्दै गएपछि चिसोचिसोको अनुभूति हुँदै गयो । एकैछिन अघि तल बेंसीमा हपक्क गर्मी थियो । आठ दश किलोमिटर नकुद्धै प्रकृतिको फरक रुप देख्न पाइयो ।

‘कोस कोस मे पानी बदले दु कोस मे बोली’ भन्ने उखान सम्झिएँ । यहाँ त तीन चार कोस बाटो नकाट्दै प्रकृतिको लीला फेरिन लागिसकेको छ । मध्य जेठमासमा पनि हरियै देखिए वन र पहाडी पाखाहरु । आँखाभरि शीतलता पस्किरहेका छन् हरिया दृश्यले । मनभित्र उर्लिरहेका छन् उत्सुकताका छाल ।

बाटो परवर पातलापातला बस्ती देखिए । ढुङ्गा र केतकीका रुखले बार लगाएका खेतबारीमा मकैका बोट हलक्क बढी सकेका छन् । रातो माटो भएकोले बारीमा मकैभन्दा अरु बाली देखिएनन् । मकैको एकल साम्राज्यमा मकैको हरियो शोभा मुस्कुराइरह्यो बाटोबाट दायाँ हेरे पनि बायाँ हेरे पनि । अविरल चलिरहेको हावासित फिरफिर गर्दै लय मिलाइरहेका छन् मकैका बोटहरु । रातो माटो भए पनि रसिला छन् पाखाहरु ।

सडक पिच छ । सवारी साधनको आवतजावत उति सारो छैन । एक्लैएक्लै कुद्न पाएकोले होला हाम्रो जीपका चालक शिव धामी निकै हौसिएका छन् । उनको मोबाइलमा घण्टी बजेको बज्यै छ । जीपमा ब्रेक लगाउन नपरेपछि र हर्न बजाउन नपरेपछि ढुक्कले मोबाइलमा कुरा गरिरहेका छन् उनी । एउटा कुरो टुङ्गिएको हुन्न अर्को घण्टी बजिहाल्छ ।

‘ए भाइ गाडी चलाउँदा यसरी मोबाइलमा इङ्गेज नहुनु राम्रो हो ड्राइभरले’ भन्दै छौं हामी । ‘केही हुँदैन सर’ हाँस्दै हामीलाई भरोसा पनि दिइरहेका छन् उनी । तर यात्रुको मनले कहाँ मान्दोरहेछ र ? उता उनको घण्टी बज्यो कि यता हामीलाई डर लागिहाल्ने । डर नलागोस् पनि किन । अग्लाअग्ला चुच्चे पहाडहरुको चुलीमै पुगँुला झैं गरेर बाटो माथिमाथि गैरहेको छ । तलतलका भीर पहरा र हरिया पाखाहरुपट्टि मुन्टो फर्काएर हेर्दा निकै माथि आइसकेको भान पर्दैछ ।

शिव धामीले आफ्नै स्थानिय भाषामा कुरा गरिरहेका छन् । उनले बोलेको भाषा भन्दा पनि उनको बोलाइको आरोहअवरोहले रमाइलो पनि लागिरहेको छ । यतातिरको बोलीचालीको शैली सङ्गीतमय लाग्यो मलाई । यतातिरका मान्छेहरुले आफ्नो भाषामा कुरा गरेको बुझिन त पुरै बुझिन्छ तर हामीले बोल्न खोज्दा यहाँको मौलिक स्वर हामी निकाल्न सक्दैनौं । भाषालाई फरक देखाउने भाषाका शब्दभन्दा पनि त्यसको उच्चारणको शैलीले रहेछ ।

नड्तोला र ठूलासैनका पातला बस्ती भरिएको अग्लो पहाड पनि पार ग¥यौं । उतापट्टि झन् अग्लाअग्ला पहाड देखिए । ‘ऊ त्यही हो शैल्य शिखर’ देखाए शिव धामीले । शैल र शिखर शब्दलाई चरितार्थ पारेर उभिएका छन् अग्ला पहाडहरु ।

‘यी पहाडको चुच्चोमा गएपछि देखिन्छन् अपी र सैपाल हिमाल !’ हाम्रो उत्सकता मेटाउँदै छन् उनी । झन्झन् बढ्दै छ उत्सुकता ।

शैल्य शिखरलाई छेक्ने एउटा पहाडको काखैकाख तन्किएको सडक पश्चिमतिर तन्कियो । बाटोमा बगौरा र ग्वानी नामका गाउँ आए । सडक उँभोउँभो लाग्यो फेरि ।

‘यो चौतलीचौर हो’ बोले शिव धामी । तर वरपर कतै पनि देखिन्नन् चौर । ‘ठाडो पहाडको डिलमा कोच्चिएर बसेको ठाउँको नाम पनि चौतलीचौर । बरु यसको नाम चौतलीडिल हुनु पर्ने’ मेरो मुखबाट निस्किहाल्यो । हामीसित नेपालीमै कुरा गरिरहेका शिव मज्जाले हाँसे र आफ्नै बोलीमा भने ‘तसै हुनु पड्न्या त हो रे सर !’

भगवान मल्लिकार्जुनको पवित्र मन्दिरसम्म जाने बाटो पनि दाहिनेतिर छुट्टयो । हामी मल्लिकार्जुन द्वारलाई ढोग्दै अघि बढिरह्यौं । परै पुगुञ्जेल आस्थाको न्यानो बतास चलिरह्यो छातिभित्र ।

बारह ओटा प्रसिद्ध ज्योर्तिलिङ्ग मध्येको एक श्रीशैलम् मल्लिनकार्जुन धाम दक्षिण भारतको आन्ध्रप्रदेशमा अवस्थित छन् । यहाँ पनि शैल्य शिखरको छेउमा थपक्क बसेका छन् भगवान मल्लिकार्जुन । पन्नेवाजको वरपर सेतो रङका ढुङ्गाहरु प्रशस्त देखिए । पहाडी पाखामा कतैबाट ल्याएर थुपारिएका जस्ता सेतो ढुङ्गाका थुप्रिएका, पोखिएका देखिए । कदाचित् यो चुनढुङ्गाको खानी हो कि ? या यहाँका ढुङ्गाको रङ नै सेतो हो ? छुट्टयाउन सकेनन् आँखाले । कारण जे भए पनि ठाडाठाडा भिरालाभरि छरिएका यी सेता ढुङ्गाले यहाँको सौन्दर्यमा धवल रङ थपेकै छन् । हिउँ भन्दा कम्ता आकर्षक छैनन् यी सेता ढुङ्गा पनि ।

पन्नेबाज हुँदै शङ्करपुर पस्ती पुगुञ्जेल दाहिनेतिरको एउटा पारिलो पाखोले हामीलाई क्वारक्वार्ती हेर्दै साथ दिइरह्यो । त्यही पाखोको माझैमा विराजमान् छन् मल्लिकार्जुन भगवान । हरियो पाखो, उज्यालो परिवेश, माथिपट्टि उत्तुङ्ग शिखर, माझैमा रातो गजुर भएको मन्दिरले टाढैबाट रोमाञ्चक अनुभूति गराइरह्यो । शंकरपुर पस्ती पुग्नुभन्दा अलि वरैको सल्लाघारीनिर ओर्लिएर भगवान मल्लिकाजुर्नको दर्शन ग¥यौं । टक्क आँखैमा आएर अडिएजस्तो गरे भगवानले । टाढा र नजिकको भेद हरायो । भक्त र भगवानको भौतिक दुरीभन्दा स्नेहको बन्धन निकट हुने रहेछ भन्ने बोध गरायो त्यस क्षणले । सल्लाधारीको वरपर छरिएका सेता ढुङ्गाहरु बने हाम्रो यस अनुभूतिका साक्षी ।

मल्लिकार्जुनको विहङ्गम दृश्य हाम्रा आँखाबाट ओझेल नपर्दै सुन्दर गाउँ शंकरपुर पस्तीका हरितिमा दृश्यहरु आँखालाई लोभ्यान थाले । सुस्तसुस्त ओरालोओरालो झरिरहेको बाटो वरपरका थुम्काभरि छरिएको छ गाउँ । शङ्करपुर पस्ती एउटै गाउँको या पृथकपृथक गाउँ हुन् ठम्याउन सकेनन् आँखाले । निकै पर पुगुञ्जेल पनि शङ्करपुर पस्तीका ससाना बस्ती देखिदै रहे । हरियो वन्य परिवेशले ढकमक्क ढाकेको यो गाउँ न उपत्यका जस्तो लाग्यो न टार जस्तो लाग्यो । प्रकृतिले सहज भौगोलिक परिवेश दिएको यो ठाउँलाई गाउँलेहरुले भने समुचित उपभोग गर्न नसकेकै हुन् । यो भन्न अल्छी मानेन मेरो मनले । २०३३÷३४ सालतिर कञ्चनपुरको परासनमा हामीलाई पढाउने एकजना सर हुनुहुन्थ्यो दामोदरसिंह खत्री । उहाँ आफ्नो घर दार्चुलाको शंकरपुर पस्ती हो भन्नुहुन्थ्यो । यहाँ आइपुग्दा उहाँको सम्झनाले छाल हान्न थाल्यो । कहाँनिर होला उहाँको घर? निरुत्तर प्रश्न बोकेर एकछिन वरपर डुलिरहे अाँखा ।

‘ए भाइ ! कतै आफ्नै हातले ऐसेलु टिपेर खाने हो है’ हेमन्ती दिज्यु भनेको भन्यै होइस्सिन्छ । अघिल्लो आसनमा बसेका छौं म र शशीराम कार्कीसर । झ्याल वरपर दृष्टि पोखेर ऐसेलुका बोट हेर्दै छौं । ऐंसेलुका ससाना बोट त देखिए तर फलेको भने कतै देखिएन ।

‘ऐंसेलु फलेर पनि रित्तिसकेको रहेछ’ यसो भनेर उहाँलाई निरास पार्न पनि सकिएन ।
‘ऊऊऊ ऐंसेलुका झ्याङ्’ देखिएदेखिए ऐंसेलुका बोटहरु पस्तीबाट ओरोलो झर्दै गर्दा । ठूलै वन रहेछ ऐसेलुको । तर ऐसेलुका फल भने कतैकतै मात्रै रहेछन् । बाटो छेउछाउमा हामीले जस्तै टिपेर बटुवाहरुले कति खाए होलान् कति ! नदेखका र आफ्नै हातले टिपेर खान नपाएकाहरुको लागि त यत्तिको पनि प्रयाप्त भैहाल्यो ।

ओर्लिएर आफ्नै हातले टिपेर खाए सबैले । रहर त सबैलाई लागेको रहेछ । सबैभन्दा धेरै रहर पोखियो हेमन्ती दिज्यु र जुनुम्यामको । त्यही रहरले हामीलाई पनि ऐसेलुका झ्याङ् नजिक पु¥याइदियो ।

श्रेष्ठ प्रिया पत्थर गाउन थाल्नु भो—यह वादियाँ यह फिजाएँ बुला रही है तुम्हे, खामोशियो के सदाएँ बुला रही है तुम्हे’ । उहाँको गीत सुनेपछि मैले पनि एक पङ्क्ति गाइदिएँ— इन् बादियों में युुँ ही मिलते रहेंगे ।

ऐसेलु टिपेर खाएको रहर पुगे पनि धीत भने मरेन । अधुरै रहेको धीतलाई वादियाँेका गीत सम्झेर वैकल्पिक उर्जा दिने प्रयास ग¥यौं । जति सम्झिए पनि पहाड र देउरालीका वर्णन गरिएका नेपाली गीत मस्तिष्कमा आउँदै आएनन् । भारतको छेउमा पुगेकोले होला देउरालीलाई सम्झाउने वादियाँेका गीत नै गुन्गुनाइरह्यौं ।

ओंठमा छ्वास्स बसेको ऐसेलुको स्वाद बोकेरै मेलखेत पुग्यौं । बाटो छेउमा बिक्रीको लागि राखिएका काक्राले ताने आँखा । आँखामा परेको काक्राको दृश्य रहर बनेर एकैछिनमा पुगिहाल्यो मनभित्र ।

‘खाउँ खाउँ दार्चुलाको काक्रा त’ जुनु घिमिरेम्यामले बोलि नसक्दै शिव धामीले रोकी हाले जीप । यहाँका काक्रा त ठूलाठूला लौका जत्रा हुँदारहेछन् । काटेर चिरा पारेपछि भने हरर बासनाले मनसम्म मीठो तरङ्ग पुग्न थाल्यो । होटेलवाला साहुले नुनखुर्सानीको पनि व्यवस्था गरिदिए । अनि त के थियो र टोली हारालुछ गरेर जिब्रो पड्काउँदै खान थाल्यो काक्रा । पानीको तिर्खा र भोक पनि मेटाए यहाँका काक्राले । काक्रा खान ओर्लेका हामीले नास्ता पनि खायौं । काक्रा, चना र चिया । नास्ता खाउन्जेल सिरसिर चलिरहेको बतासले फुरुङफुरुङ पारिरह्यो । पारिपट्टि उभिएको सिराडको ठाडो डाँडोले मोहनी लगाइरह्यो ।

‘त्यो पारिपट्टिको डाँडाको नाम के रहेछ नि ?’ मैले साहुजीलाई सोधेको थिएँ । त्यही होटलमा चिया पिइरहेका एक जना पाका मान्छेले उत्तर दिए ‘सिराड’ । अनि हामीतिर सोझिएर सोधे ‘तपाइँहरु कहाँबाट आउनु भएको हो नि ?’

‘हामी पाँचजना तीनतिरका छौं’ मैले भनें । जो भेटियो उसैसित बोलिहाल्ने नेपाली बानीले ती अपरिचितसित पनि परिचय भैहाल्यो । उनी दार्जुला जिल्ला समन्वय समितिका प्रमुख महादेव बडु रहेछन् । ‘विकास निर्माण कार्यको अनुगमनको लागि हिडेको’ आफ्नो यात्राको प्रयोजन सनाए उनले । यद्यपि अचेलको व्यवस्था अनुसार कुनै प्रकारको भूमिका नपाएको जिल्ला समन्वय समिति हात्तीको देखाउने दाँत जस्तो मात्रै हो ।

मैले पनि बडुज्यूलाई जिस्क्याइहालें—‘अनुगमनको निहुँ गरेर सरकारी जिपमा डुल्दै आफ्नो पार्टीको काम भ्याउने त होला नि हैन हजुर ?’ । मेरो कुरा सुनेर बडु फिस्स हाँसे ।

‘तपाइँले त पत्रकारले जस्तै गरेर आरोप पो लगाउनु भो त’ भन्दै उनीसित आएका एकजना युवा बहस गर्न तम्सिए मसंग । हेर्दा फिल्मको हिरोजस्तो हेन्डसम देखिने ती युवा त दिउँसै पिएर टिल्ल परेका रहेछन् ।

‘म पत्रकार हैन ज्योतिष हुँ’ मेरो उत्तर सुनेपछि सबै गलल्ल हाँसे । उनी पनि हाँसे । उनको पनि बहस गर्ने मुड फेरिएजस्तो भयो । ‘मेरो लै भविष्य क्या कसो छ हेदेओ ब’ उनले त मलाई ज्योतिषकै काम पो सुम्पिए । मैले पनि भनिदिएँ—‘तपाइँको मन्त्री बन्ने योग छ । यसरी नेताका पछाडि लागेर दुगुरिरह्यो भने त भन्न सकिन्न है धामीजी !’ उनले साँच्चै पो सोचे कि क्या हो गम्भीर भै हाले ।

‘कहिलेसम्म कार्यकर्ता मात्रै भएर बस्ने विचार छ नि ?’ मैले फेरि भनें । उनी मौन रहे ।
‘आस सर तमुसंग फोटो खिच्चु पड्यो’ मेरो हात तानेर सडक छेउ लगे उनले । एउटा फोटो खिच्यौं । नाम उनको रहेछ खड्ग धामी ।

‘हाम्रो नामको पहिलो अक्षर मिल्दोरहेछ । सांसदको चुनाव जितेर नेपालगंज आउनुहोला मितेरी लगाउँला’ । बल्ल हाँसे उनी । अघि बहस गर्न तम्सेका खड्ग धामीमा एकैछिनमा कोमलता छल्कियो । ‘दार्चुलामा भावना हाटेलमा बस्नु होला साँझ भेटौंला है’ भन्दै आत्मीयता पोखिहाले । हात मिलाएर छुट्टियौं ।

मेलखेतबाट हिडेपछि सजानी भन्ने गाउँ आयो । बाटोमा भर्तौला नामको खोला पनि त¥यौं । भर्तौला नामकै गाउँ पनि रहेछ बाटैमा । ‘पूर्वतिर गएर बर्तौला बनेका ब्राहमणहरु सके यतैबाट गएका हुन् कि ?’ शशीराम कार्कीसरले जिज्ञासा पोखिहाल्नु भो । पश्चिम नेपालका गाउँका नामसंग जोडिएका थुप्रै थर भेटिन्छन् पूर्वतिर । बर्तौलाको उत्पत्तिस्थल कदाचित् यही गाउँ हुन पनि सक्ला ।

सडक तलतल ओर्लिदैओर्लिदै बेत भन्ने ठाउँमा पुग्यो । पारिपट्टिको डाँडोलाई देखाउँदै शिव धामीले भने—‘ऊ त्यो खोलापारिको डाँडो भारत हो सर’ । उनले देखाएतिर आँखा च्यातेर हे¥यौं हामीले । वारिपारिको प्रकृति र भूगोलको रङमा कुनै भिन्नता देखिएन । महाकाली नदीको डिलमा पुगेपछि सडक उत्तरतिर मोडियो । जोल्जिबी जाने बाटो देब्रेपट्टि छुट्टयो ।

‘जोल्जिबी हुँदै कञ्चनपुरसम्म पुग्ने महाकालीको किनारैकिनार सडक बन्दै छ । त्यो बनिसकेपछि त एकैदिनमा महेन्द्रनगर पुगेर फर्किन सकिन्छ’ रोमाञ्चित हुँदै सुनाए शिव धामीले ।

हामीलाई त त्यो बन्ने सडकभन्दा पनि यही बनिसकेको सडकले मोहनी लगाएको छ । तल गहिरो खोंचमा बगिरहेको महाकाली नदीका साँगुरा तटमा साँगुरै गरि बसेका छन् बस्ती । महाकालीको तट र ठाडो पहाडको माझैंमा तन्किएको छ सडक । जताजता महाकाली नदी नागबेली भएर बग्छ उस्तै गरि नागबेली आकारमा मोडिदै बग्छ सडक पनि । चुच्चै, उडै, दत्तु, साकार, काकडा, सुरकाँडा, असीगडा, धाप, खट्टैबगर नाम गरेका ससाना बस्तीहरु हुँदै एकोहोरो कुदिरहेको छ सडक । दायाँपट्टिका पहाडले छेकिरहेकोले नेपालपट्टि परपरसम्म केही हेर्न पाइएको छैन । देब्रेपट्टि महाकाली भन्दा पारिका पहाड पनि अग्लै छन् । तर दुबैतिर उस्तैउस्तै लाग्छ प्रकृतिको रङ् । वारिपारि उस्तैउस्तै देखिन्छ भूगोलको चित्र पनि ।

‘धेरै गहिरो छ कालीगङ्गा’ महाकालीको गहिराईको वर्णन शिव धामीको मुखबाट सुने पनि पत्यार लाग्न सकेको छैन । किनकि आँखाअगाडि महाकाली त निकै साँगुरोमा लुकेझैं गरि बगिरहेकी छन् । धमिलो पानीमा नदीको गहिराईको आँकलन हुन्न । नदी वारिपारिका डिल र बगर कतैकतै त हात लम्काएर पनि छोइएलाजस्तै नजिकै छन् । वारिपट्टि उभिएको मान्छेले पारिपट्टि उभिएको मान्छेसित गफ गर्न सकिने निकटता छ यहाँको भूगोलमा । तर यो महाकाली नदी दुई शताब्दीभन्दा लामो समयदेखि नेपाल र भारतको सीमा नदीको भूमिका छ । महाकाली वारिपारिका डिलमा उभिएर आँखा जुधाउँदै माया लगाउन सकिने गाउँलाई यस नदीले दुई पृथक देशमा विभक्त पारेको छ ।

देशको परिचय भिन्न भए पनि प्रकृति र भूगोलजस्तै वारिपारिको भाषा, संस्कृति, संस्कार र जातीय आधार एउटै हो । नदीमा बग्ने पानी फेरिदै गए पनि वारिपारिका मान्छेको रगतको रङ् र नाता भने अकाट्य छ । तर प्रकृतिले नेपालपट्टि भन्दा भारतपट्टि अलि पक्षपात गरेर सजिलो भूआकृति बनाइदिएका हुन् कि जस्तो लागिरह्यो । पारिपट्टि वारिपट्टिको भन्दा बस्ती पनि बाक्लै देखिन्छ । विकासका चिन्ह पनि पारिपट्टि वारिपट्टिभन्दा बढी देखिए ।

हामी नमस्कार नामको गाउँमा पुग्यौं । नेपालगंजमा नमस्कार शाह नाम गरेका एक जना सामाजिक अभियन्ता छन् । यहाँ त नमस्कार नामको गाउँ नै रहेछ । ‘बडुहरुको गाउँ हो यो’ हामीले नसोेधे पनि शिव धामीले परिचय दिइहाले । ‘मन्तरी दिलेन्द्र बडु को नाउँ सुन्याओ छओ ब ? यो उनरै गाउँ हो’ शिव धामीले सुनाए । मैले भने बडु भनेपछि साहित्यकार भानदेव बडुलाई सम्झिएँ ।

नमस्कार गाउँलाई नमस्कार गर्न नपाउँदै गल्फै पुगिहाल्यौं ।

गल्फैमा पुगेपछि त दार्चुला बजारका दृश्य ठोक्किहाले आँखामा । ‘ओहो जिल्लाको सदमुकाम पनि भारतीय सीमानाको यति नजिक?’ आश्चर्य पोखिहाल्नु भो पत्थरज्यूले ।

शिव धामीले ‘सबैभन्दा राम्रो होटल यही हो’ भनेर गल्फैमैं सूर्यप्रकाश होटेलको आँगनमा झारिदिए । त्यही कोठा लियौं । झोला थन्कायौं ।

साँझपखका दुईतीन घण्टा डुलेर पुरै दार्चुलासित चिनापर्ची गर्नु छ । भोलि बिहानै बिदा लिनु छ यहाँबाट । नास्ता खाने र आराम गर्नेतिर हामी लागेनौं । निस्किहाल्यौं । हिड्दैहिड्दै खलङ्गा पुग्न त निकै रहेछ । हामी त हिड्यौं लमकलमक तर पत्थरज्यूलाई अलि गाहारो भो ।

दार्चुलाका साँगुरा बाटाहरुमा कहिले पल्लो छेउ पुग्यौं । कहिले वल्लो छेउ पुग्यौं । बजारको मुन्तिर गहिरोमा बनेको तटबन्धको छेवैछेउ पनि डुलायौं आँखा । लिपुलेक र लिम्पियाधुराका अग्ला चुचुराबाट छोएर आउने बतासले स्पर्श गरेर होला छातीभरि कताकता चिसोचिसो लागिरह्यो ।

मैले दार्चुला भनेपछि पहाडको थुम्कोमा होला भन्ने सोचेको थिएँ । दार्चुला त महाकालीकै छेउमा अटेसमटेस गरेर बसेको रहेछ । महाकाली पारिपट्टिको डिलमा यसैगरि कोच्चिएर बसेको छ भारतको धारचुला पनि । त्यही धार्चुलासंग आँखा नझिम्काएर आँखनै जुधाइरहेको छ दार्चुला । दार्चुला जिल्लाका सिडियो कार्यालय र प्रहरी कार्यालयहरु पनि महाकालीकै डिलमा छन् । पारिबाट कसैले ढुङ्गा हिर्कायो होला वारि सिडियो कार्यालयकै आँगनमा आइपुग्लाजस्तो । पारिपट्टिको डिलमा पनि भारतको प्रहरी कार्यालय देखियो । नेपालपट्टिको डिलबाट कसैले ढुङ्गा फाल्ने हो भने पारि प्रहरी कार्यालकै झ्यालमा पुग्लाजस्तो । हुन त नेपालका ७७ जिल्ला मध्ये धेरै जसो जिल्लाका सदरमुकामहरु भारतको सीमा नजिकै छन् । तर सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालय भारतको सीमाको यति नजिकै कदाचित् अन्यत्र होलान् ।

यति नजिकै दुई देशका सरकारी कार्यालय भएको दृश्यले हामीलाई रोमाञ्चित बनाइरह्यो ।
‘यहाँका केही उत्पादनहरु किनेर लानु पर्छ है भाइ’ हेमन्ती दिज्जुको भनाईले उत्सुक छु म पनि । बजारमा खोज्दा लानु पर्ने कुरा त उनैमात्र भेटिए ओखर, टिमुर, गहत र गेडागुडी । अलिअलि किन्यौं र झोलामा हाल्यौं ।

हामी दिउँसैदेखि पदम बडालसित सम्पर्क गर्न खोजिरहेका थियौं तर उहाँसित सम्पर्क हुन सकेको थिएन । डुलेर थाकेपछि गल्फै फर्किने बेलामा बल्ल साँझपख सम्पर्क भो उहाँसंग । हामी भावना होटेल पुग्यौं उहाँको निम्तो स्विकार्दै । भेट भो उहाँसित । ‘म दिउँसो मलामी गएकोले फोन घरमैं छुटेछ । समयमै सम्पर्क हुन सकेन क्षमा पाउँ’ हाँस्दै आत्मीयता पोखिहाल्नु भो । हामी उहाँको आत्मीयताको न्यानोले पुलकित भयौं । ‘भावना होटेलमैं आएर बस्नु पर्ने’ भन्नु भो उहाँले पनि र त्यस्तै सोच्यौं हामीले पनि । उतै पर टाढा गल्फैमा बसेकोमा थकथक लागिरह्यो ।

एकछिन त्यही बसिबियालो भयो । रचना सुन्ने सुनाउने काम पनि भयो । कालापानीको आद्र्रता छल्किरह्यो मुटुभरि । लिपुलेक र लिम्पियाधुरा छचल्किरहे कविताका शब्दशब्दमा ।

दार्चुलाको लागि भनेर लगेका केही पुस्तक दियौं उहाँलाई । भोलि धार्चुलाबाट पिथौरागढ हुँदै वनवासा पुग्ने जीपको व्यवस्था पनि गरिदिनु हो उहाँले नै । ‘नेपाली ड्राइभर प¥यो भने हजुरहरुलाई सजिलो हुन्छ’ ढुक्क बनाउनु भो हामीलाई । भोलि हामी मानबहादुर धामीको जीपमा जाने भयौं वनवासासम्म ।

पुग्न त हामीले कालापानीसम्म पनि पुग्ने विचार गरेका थियौं । कालापानी जाने बाटो नेपालपट्टिबाट रहेन छ । भारतबाटै जानु पर्ने र बाहिरको मान्छेलाई निकै कडिकडाउ रहेको सुनेपछि हाम्रो विचारले साकार रुप लिन पाएन । ‘हामी प्रवेशाज्ञा बनाएर जान सक्ने भनेको त छाङ्रुसम्म मात्रै हो । कालापानी, टिंकर र लिपुलेक पुग्नु भनेको त हिमाल चढेजस्तै चुनौतिपूर्ण यात्रा हो ।’ पदम बडालले भूगोलको यथार्थ चित्रण गरिदिनु भएपछि हाम्रो रहर मनभित्रै खुम्चिन बाध्य भयो । कालापानी लिपुलेकसम्म पुग्न नसके पनि लिपुलेकको जिल्लामा त पाइला टेकियो भनेर संतोष मात्रै गर्नु पर्ने भो । कुनै दिन फेरि आउन पाइयो भने त्यही पुगेर तिमीलाई ढोगौंला है लिपुलेक? है लिम्पियाधुरा?

लिपुलेक सम्झाइरह्यो दार्चुलाको माटो
भित्रभित्र दुखिरह्यो मनको देब्रे पाटो

खगेन्द्र गिरि ‘कोपिला’

शैल्य शिखरको छेवैछेउ

खगेन्द्र गिरि ‘कोपिला’