गौरीशंकरको छाया

खगेन्द्र गिरि ‘कोपिला’
२४ असार २०८०, आईतवार
गौरीशंकरको छाया

नियात्रा
गौरीशंकरको छाया

भक्तपुरको सडक खुकुलोखुकुलै छ बिहानी पख । नेपालको सबैभन्दा व्यवस्थित र सफा सडकमा गनिन्छ यो सडक । सूर्योदयसंगै बढ्दै गयो मान्छेको कल्याङमल्याङ् । बढ्न थाल्यो सडकमा गाडीको दुगुरादुगुर पनि । हामी सुलुलुलु कुडदै छौं । हामी भनुँ कि म भनुँ ? अलमलमा छु । आज हामीहरुको माझमा म भने एक्लो छु । केही परिचित, केही अपरिचित जस्तो भएर वरपर आँखा डुलाउँदै छु म । आआफ्ना धूनमा डुबेका छन् गाडीमा भरिएका यात्रुहरु । समय दुगुरिरह्यो, आँखाहरु दुगुरीरहे । माथिमाथि आकाशमा उडिरह्यो मन । आफ्नै सोपानमा मुस्कुराइरह्यो उत्तुङ्ग जुगल हिमाल ।

भक्तपुर काटेर साँगाको उकालो चढ्दै गर्दा अलिकति गाडीको ओहोरदोहोरले जाम परेजस्तो हुन लाग्यो । वरपरका हरियापाखाहरु भने उन्मुक्त छन् आफ्नै लयमा । खुकुलो आकाशलाई छुन पाएर मख्ख देखिन्छ यस सडकभन्दा परको ग्रामिण परिवेश । लटरमम धान फलेर पहेलपुर भएका पाखाहरुको स्वर्णीम रङ् पनि ध्यान तानीरहेको छ । पाल्देन तामाङ नाम गरेका हँसिला केटाले चलाइरहेका छन् गाडी । उनकै छेउनिरको सिटमा बसेको छु म ।

साँगामा उभिएका महादेव मुसुमुसु हाँसिरहनु भएको छ आफ्नै पछिल्तिरको पाखोबाट घामका किरण फ्याँकेर । पश्चिम फर्केर उभिएका महादेवको बडेमानको मूर्ति पछिल्तिरबाट नै सूर्य उदाएजस्तो देखिदोरहेछ बिहानी पख त । लाग्यो भगवान महादेवकै शरीरबाट निस्किएको ज्योति हो यो घाम । तिनै महादेवको आँखाबाट हेर्न पाएको भए कस्तो देखिदो हो भक्तपुरको खाल्डो ? अझ भक्तपुरभन्दा परपरका दृश्यहरु कस्ता देखिदा हुन् ? कस्ता देखिदा हुन् काठमाडौंसम्म फिंजिएका कागेश्वरी, मनोहरा र कोटेश्वरसम्मका बस्तीहरु । एकछिन मभित्र चञ्चल भएको उत्सुक मनले मलाई नै सोधिरह्यो । म भने आकाश बनेर निरन्तर डुलिरहेँ परपर अज्ञात क्षितिजतिर ।

साँगा काटेपछि हामी बनेपा उक्लियौं । हैन बनेपा ओर्लियौं भन्दा पनि हुन्छ । भक्तपुरबाट उकालो चढ्दै आएको नागबेली बाटोले साँगामा सानो भञ्ज्याङ् छिचोलेर पल्तिर ओर्लिएजस्तो गरेको हो । बनेपा आउने बेलामा त पहाड काटेर तराईमा दौडिएजस्तो गर्न लाग्यो बाटो । बनेपाको साँगुरो र घना बस्ती डल्लो परेर यही सडक वरिपरि खुम्चिएको हो कि जस्तो भान प¥यो । धुलिखेल नपुगुन्जेल बिहानीपख पूर्वतिरबाट आएका गाडीका ताँतीले बाटो छेकिरहे । साँगुरो सडकलाई नै ढाकेर घयाच्चघयाच्च गर्दै गाडीहरु हिडिरहेका छन् । पहाडको ठाउँमा जति फराकिला बनाए पनि साँगुरा भैहाल्छन् सडक । धुलिखेलमा सिन्धुली जाने बाटो छुुट्टिएपछि भने गाडीले केही गति समात्यो । धुलिखेलबाट अगाडि बढेपछि धुलो पनि हरायो र बाक्लो बस्ती पातलिन थाल्यो । हलुङ्गो भएर आयो शहरी क्षेत्रको उकुसमुकुसमा निसास्सिएको मन ।

पाँचखालका मनोरम दृष्यहरु पर्न थाले आँखामा । पाँचओटा खाल्डाहरुले बनेको उपत्यका हो रे पाँचखाल । अचेल त जताततै घर भरिइसकेका छन् । जता हे¥यो उतै घरैघर देखिन्छन् पाँचखालमा पनि । पाँच ओटा खाल्डाहरु एकै खाल्डोमा मिसिएका हुनाले यो नाम रहेको होला कदाचित् ! निकै हराभरा र उर्वर लाग्यो पाँचखालको भूगोल ।

‘काठमाडौंको लागि तरकारी पठाउने ठाउँ यही हो’ छेउको सिटमा बसेका एकजना व्यक्ति बेलिबिस्तार लगाउन थाले पाँचखालको । एउटै सिटमा परेपछि कुराकानी भै हाल्यो । भर्खरै परिचित भएका यी साथी एफएम रेडियोजस्तो एकोहोरो बोलेकोबोल्यै छन् । मैले केही नसोधे पनि उनी आफै मेरो जिज्ञासा थाह पाए जसरी मेरा जिज्ञासा मेटाउन केही न केही बोलिरहन्छन् । म ‘ए ! अँ! हो! है!’ भनेर उनका कुरा सुनेजस्तो गरिरहन्छु । मेरो मन भने गाडीका झ्यालबाट बाहिर हुत्तिएर परपरका डाँडाकाँडासित अँगालो हाल्न खोजिरहेको छ । उडेर परपरको श्वेत हिमाललाई छोइदिउँ छोइदिउँ जस्तो गरिरहेको छ ।

हुन त नेपालमा जहाँ गए पनि हिमालको अवस्थिति र भूगोल उस्तैउस्तै हो । पहाडका रुपरङ र आकृतिहरु पनि उस्तैउस्तै लाग्छन् । तर हरेक ठाउँ र हरेक दृष्यले केही न केही नयाँ र ताजापनको अनुभूति गराइहाल्छन् । म पनि आजका नयाँ र ताजा अनुभूतिहरुलाई आँखाको क्यामेराले खिचेर हृदयको एलबममा सङ्कलन गर्ने चेष्टा गरिरहेको छु ।

पाँचखाललाई बाईबाई गरियो लामीडाँडाबाट । लामीडाँडा काटेपछि अरनिको राजमार्ग साँगुरोसाँगुरो हुन थाल्यो । एउटा सानो खोलाको किनारैकिनारै दुगुर्न थाल्यो सडक । यो नदीको खोंच निकै साँगुरो र अँध्यारो छ । माथिमाथिका अग्ला पहाडले आएर च्याप्लान्च्याप्लान्जस्तो भैरह्यो । साँगुरो बाटोमाथि कुद्धै पुगियो दोलालघाट । उत्तरपश्चिमबाट आएको इन्द्रावती नदी यहाँ उत्तरपूर्वबाट आएको सुनकोशी नदीमा मिसियो । इन्द्रावतीले अँगालो हालेपछि फेरि उन्मुक्त भएर दुगु¥यो दक्षिण दिशालाई गन्तव्य बनाएर सुनकोशी नदी ।

हाम्रो गाडी कुदिरहेको सडक भने दोलालघाटबाट उत्तरपूर्व दिशातिर तन्किरह्यो । सुनकोशीको किनारैकिनार दुगुर्न छोडेको छैन सडकले । सुनकोशीको किनारमा सुकुटे, भैंसे, बलेफी, अँधेरीजस्ता ससाना ठाउँहरु आइरहे, गैरहे । ठाउँ ससाना भए पनि यी ठाउँको पर्यटन व्यवसायमा ठूलो महत्व छ । ठाउँठाउँमा ¥याफ्टिङ गर्ने गरिएकोले पर्यटन व्यवसाय निकै फस्टाएको छ यहाँ । सुकुटेको सुकुटी र दोलालघाटका माछा त प्रसिद्ध नै छन् ।

काठमाडौंबाट ७७ किलोमिटर कुँदेपछि आयो खाडीचौर । घ्याच्च रोकियो गाडी । ‘लौ छिटोछिटो खाना खाउँ’ कराए पाल्देन । आजको खाना खाने बिसौनी हो खाडीचौर । यहाँ मीठो खाना पाइन्छ । यहाँका माछा स्वादिला हुन्छन् । यहाँ त पहाडी गेडागुडीको झोल पिउनु पर्छ । साँच्चैको झोल नपिए खाडीचौरमा खाना खाएको के स्वाद ! यहाँको त साग हो चाख्नै पर्ने । जतिथरी मान्छे उतिथरी बयान र वर्णन सुनिए । ‘छोटी दुकान मीठी पकवान’ भन्ने हिन्दी उखानलाई सम्झेर म भने अलि सानै होटलमा पसें । तर खाडीचौरको खानामा स्वाद भने त्यस्तो छुट्टै केही भेटिएन । स्थानिय स्वादको तलतलमा व्याकुल भएको मन व्याकुलनै रह्यो । यहाँ खाएको खानामा समावेश भएका सबै कुरा तलैबाट आएका रहेछन् ।

‘यहाँको भन्नु त पानी मात्रै त हो !’ हरेक कुरा जाँचेजसरी बोल्दै छन् एकजना ।
‘अघि सुकुटेमैं खाना खाएर जाउँ त भनेको हो नि मैले, गुरुजीले कुदाएको कुदायै गरे’ एकजना यात्रुले गुनासो पोखिहाले । ‘सुकुटेमा पनि यस्तै हो । सुकुटेमा त नेताहरुलाई मात्रै दिन्छन् मीठोमीठो’ । फेरि जति थरि मान्छे उतिथरी कुरा उठे ।

फेरि ड्राइभरले घुमाए स्टेरिङ् । खाडीचौरको खोंचबाट ठूलोपाखरको उकालोतिर उक्लिन थाल्यो गाडी । थुम्पाखर भन्ने ठाउँ आयो बाटोमा । हरिया र उज्याला पाखा रहेछन् ठूलोपाखर र थुम्पाखर भनेका । सिलढुङ्गा पुगेपछि छ्याङ्गै देखियो हिमाल । अझ परपर देखिन थाले कुहिरोले ढाकिएका थुम्काहरु । सरमथली काटेपछि ‘हर्ससुई माउन्टेन’ पार गरेर मुडे पुग्यौं । यो ‘हर्ससुई’ माउन्टेन भन्ने नाम कसरी रहन गयो होला ? जान्न पाए हुने । पाल्देनलाई पनि केही थाह रहेनछ । यस्तै सोच्दासोच्दै मुडे पनि पार भै हाल्यो । यहाँसम्म सिन्धुपाल्चोक जिल्ला नै रहेछ । हलहलेबाट दोलखा जिल्ला लाग्यो । हलहले पार गरेपछि पल्तिरका नाङ्गा थुम्काहरुले आँखाभरि मोहनी लगाए । रुखवृक्ष केही पनि नउम्रेका साना ठूला थुम्काका लहर परपरैसम्म देखिए । तीनै थुम्काहरुको मास्तिर घुमाउरो बाटो सुललुलुलु कुदिरह्यो । यी पहाडी थुम्काहरुको रुप र आकृति निकै फरक छ । कोदालीले ताछेर बनाइएका हुन् या कुचोले बढारेर मिलाइएका हुन्? वा गल्फ खेल्नकै लागि बनाइएका चौर पो हुन् कि ? फूलबारी घुम्ती नपुगुञ्जेल आँखामा नाचिरहे ती नाङ्गा थुम्काहरु ।

‘आज त छ्याङ्गै देखिएका छन् हिमाली चुचुराहरु’ गाडीभित्र कसैले बोलेको सुनियो । तिहारको पूर्व सन्ध्यामा भएको ठूलो वर्षातले छ्याङ्ग खुलेको छ आकाश । हामीसंग आँखा जुधाउन पाएका छन् हिमालले पनि । ‘हिमाल हेर्न पनि अब त पानी नै परेको दिन पर्खिनु पर्ने भो’ फेरि बोले कोही अर्का । पानी परेर थामिएपछिको पारिलो मौसममा म यहाँ आएकोले हिमाललाई छ्याङ्गै हेर्न पाएको रहेछु मैले । यो सोचेर नै रमाउन लाग्यो मन । मेरोलागि आज हिमाल मात्र हैन वरपरका सबै पहाडी दृष्यहरु कुतुकमय बनेका छन् ।

आयो खरिढुङ्गा चौकी भन्ने ठाउँ । वरपर जताततै चुनढुङ्गा निकालेर फालिएका ढुङ्गाका रास देखिए । एउटा थोत्रोथोत्रो देखिने कारखाना पनि रहेछ । चिसापानी भन्ने ठाउँ नपुगुञ्जेल यिनै दृश्य हेरिरहनु प¥यो । ‘पहिले चुनढुङ्गाको कारखाना नै थियो यहाँ’ छेउका सहयात्री सुनाइरहेका छन् । सके यो कारखानाको संरचना त्यही होला । चर्नावतीको पुल पार गरेपछि बाटो ओरालो लाग्यो । बोंच, साखिने, चोथाङ र मकैबारीसम्म बाटो तेरपायाँतेरपायाँल तल च माथि गर्दै कुदिरह्यो । पारिपट्टिको पारिलो पाखोभरि छरिएका रुपौला दृश्य हेर्दै पुगियो बल्ल चरिकोट । दोलखा जिल्लाको सदरमुकाम । भगवान भीमेश्वरको तपोभूमि । खाडीचौरबाट ५३ किलोमिटरको दुरी रहेछ ।

चरिकोटको चोकैनिर उभिएको एम्बोरसिया होटलमा हुने भयो वास । प्रेम तामाङ् र प्रकाश उप्रेती नाम गरेका दुई जना युवाले मुसुक्क हाँसेर गरे सत्कार । व्यापारिक कत्र्तव्यसित जोेडिएको उनीहरुको औपचारिक स्वागतसत्कारमा पनि मैले पाइरहेँ अर्कैअर्कै मीठो स्नेह ।

‘चरिकोटमा हेर्नै पर्ने ठाउँ के के छन् नि भाइ ?’ कोठामा झोला नथन्क्याउँदै सोधिहालें मैले । प्रेम तामाङ्ले भने ‘सर यही होटेलको छतको टावरबाट पुरै चरिकोट देखिन्छ कतै जानै पर्दैन’ । साँच्चै हो रहेछ । एम्बोरसिया होटलको छतमा उक्लिएर चारैतिर आँखा डुलाएपछि देखिए पहाडी भूगोलका विहङ्गम दृश्य । म विहङ्ग अर्थात् चराजस्तै बनेर हेर्न लागें क्वारक्वार्ती । पारिपट्टिको शैलुङ्गेको डाँडो, आँखैनिरको चरिघ्याङको थुम्को, पछाडिपट्टि उभिएको सिम्पानीको पाखो र मानेडाँडा अनि माथिपट्टि टुप्पोमा ठडिएको भ्युटावर आफ्नै कुतुहल बोकेर मुस्कुराइरहे । चरिकोटको सौन्दर्यले यसरी लठ्याइह्यो कि म त घाम डुबुञ्जेल तल ओर्लिन पनि बिर्सिए छु ।

‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई’ भन्ने गीत सम्झिदै एक्लैएक्लै काटियो चरिकोटको पहिलो रात ।

भालिपल्ट उघ्रियो चरिकोटको पहिलो बिहान पनि । सखारै लागें कालिञ्चोक । चरिकोट त आधार शिविरजस्तो मात्रै हो । मेरो लक्ष भनेको त कालिञ्चोक नै हो । कमल पाखरिन नाम गरेका एकजना भाइ बिहानै आइपुगे मलाई लैजान । चरिकोटबाट तिन किलोमिटर पश्चिम आएर मकैबारी भन्ने ठाउँबाट ठाडो लाग्यो बाटो । सुस्पा क्षमावतीको भञ्ज्याङ काटेपछि पुग्यौं गैरी । गैरीबाट उकालैउकालो लाग्यो टमक्क वनले घेरिएको बाटो । खसरु, उत्तीस, सल्ला, गुरास चिमल, गोब्रेसल्लो, ठिङ्रेसल्लो, खोटेसल्लो नाम गरेका कति हो कति रुखहरु चिनाइरहे कमल पाखरिनले । रातो रङ्को वनऐसेलु पनि देखियो । पहिलोपल्ट थाहा पाएँ ऐसेलु त वन पनि हुनेरहेछ घर पनि हुनेरहेछ ।

हल्ल्दिैहल्लिदै डेड घण्टाजतिमा पुग्यौं कुरी । एउटा खाल्डोमा देखिए राता र नीला रङ्का घरहरु । ‘सबै होटल हुन्’ चिनाए कमलले । कुरीबाट केवलकार चढेर पुग्नु छ कालिञ्चोक । कुरीमा अलमल गर्नु छैन । कमल यतै बसे । म एक्लै चढेँ केवलकारमा । एक्लै भएँ कृबलकारको डब्बाभित्र । सय मिटर जति ठाडै उकालोमा सुलुलुलु उक्लियो केबलकार र ओरालीदियो एउटा थुम्कोमा लगेर । त्यहाँबाट माथिको यात्रा त हिडाई नै हो । अग्लो चट्टाने छाती वरिपरि बेरिएको साँगुरो बाटो हिड्दै माथि जाँदा रिङटा पनि लागेजस्तो हुने रहेछ । बाटो वरपरका पसलेहरु कराइकराइकन फूलमाला, नरिवल र त्रिशुल बेचिरहेका छन् । तानातानजस्ते पो हुने रहेछ । ‘टिरिशुल चडाउनु पर्छ डाइ यहाँ ट’ एकजना बुढो मान्छेले बाटो छेकेजस्तो गरेर बोलाए । उनकै पसलबाट किने पूजा सामाग्री मैले । यो उकालोका बीसबाइस वटा पसलहरु जम्मै तामाङ समुदायका रहेछन् ।

सय मिटरजति घुमाउरो बाटो उक्लिएपछि पुग्यौं थुम्कोमा । साँगुरो चुुचरोमाथि उक्लिदा छरिए त्रिशुलैत्रिशुल गाडिएका दृश्य । यहाँ मन्दिर वा थानको कुनै आकृति देखिएन । कालिञ्चोक भगवती कदाचित् यिनै त्रिशुलका पङ्क्तिभित्र कतै मुस्कुराइरहनु भएको होला । तर उहाँको उपस्थितिको आभास भने वायुमण्डलभरि व्याप्त छ ।

ठाउँठाउँमा गाडिएका त्रिशुलको छेउमा बसेर मान्छेहरु कोही पूजा गर्दैछन् कोही कोही ध्यान गर्दैछन् कोही पाठ गर्दैछन् । आआफ्नै शैलीले पूजामा निर्लिप्त देखिए सबै जना । म पुजारीको छेउ गएँ । एकछिन कुरा गर्ने मनशाय राखेपछि उनले आफ्नो जिम्मेवारी अर्कालाई दिएर मसित कुरा गर्न थाले । सुकमान तामाङ रहेछ यिनको नाम । कालिञ्चोक पल्लोपट्टिको गाउँका वासिन्दा रहेछन् । उनैले सुनाए यहाँ ‘ब्राह्मण पुरोहित र तामाङ पुजारीले सङ्युक्त रुपमा पूजा गर्ने चलन छ’ । नेपाली संस्कृतिको आफ्नै सुवास, आफ्नै सुगन्ध, आफ्नै प्रकारको विशिष्ट सामाजिक बन्धन । गुठीद्वारा सञ्चालित रहेछ मन्दिरको व्यवस्थापन । व्यवस्थापन समितिको वर्षेनी चुनाव हुने रहेछ । उनले पुजारीको दायित्व निभाए वाफत मासिक पन्ध्र हजार पारिश्रमिक पाउँदा रहेछन् ।

एकजना ब्राह्मण मन्दिरको अर्को पट्टिको थानमा बसेर संस्कृतका मन्त्र पढ्दै पूजा गराइरहेका छन् । म उनीसित पनि कुरा गर्न थालेँ । गणेशप्रसाद घिमिरे रहेछ उनको नाम । ‘यो काली माताले आराधना गरेको ठाउँ भएकोले कालिञ्चोक नाम रहन गएको हो । समुद्र सतहबाट ३८४२ मिटर अग्लो छ यो चुली ।’ सुनाए ती ब्राहमणले । फेरि बोले —‘यो चुलीमा तीन ओटा पानीका मूल छन् ती मूल तीन तिरबाट बग्दैबग्दै तामाकोशी, सुनकोशी र भोटेकोशीमा गएर मिसिन्छन्’ ।

यो चुलीमा पूजा गर्न आएका मान्छेहरु पूजा मात्रै गरेर ओर्लिन्नन् । यहाँबाट देखिने हिमाली दृश्यहरुको दृश्यावलोकन नगरी फर्किन्नन् । पूजा आस्था हो भने हिमालको दर्शन त्यो आस्थाको श्रृङ्गार हो । गणेश हिमाल गणेश भगवानजस्तै उज्यालिएका छन् । गौरीशङ्कर हिमालभरि भगवान शङ्कर र माता गौरीको प्रणयगाथा पोखिएको छ । पल्तिरबाट जुगल हिमालले पनि आफ्नै सौन्दर्य पोखिरहेका छन् । वरिपरिका अनगन्ती हिमाली चुचुराले घेरेको कालिञ्चोक थुम्को थालमाथि राखिएको पिठोको डल्लोजस्तो लाग्यो । हातैले पनि टिप्न सकिएलाजस्ता लाग्छन् परपरका अग्लाअग्ला हिमालहरु । कालिञ्चोकको चुली वरिपरिको हरियो वनले आफ्नै शोभा पस्किरहेको छ । यति नजिकै हिमाली श्रृङ्खला अनि यति नजिकै हरियो वन । यस्तो दृश्य अन्यत्र कदाचित भेटिएला । जति हे¥यो उति मोहक देखिन्छन् हिमाली चुचुराहरु ।

आँखाका हरेक हेराईमा कुतुहलताहरु फेरिफेरि थपिदै गए । कुतुहलताको चक्रव्युहमा अल्झिदै गएँ म । यो कुतुहल केको हो ? आफ्नै मनको, आफ्नै बुद्धिको वा आफ्नै कल्पनाको ? ध्यानस्थ भएर हिमालसित आँखा जुँधाउँदै छु म । र केलाउँदै छु कुतुहतलाको रङ् । कुन उत्सुकताले ल्याइपु¥यायो मलाई यहाँ ? र कुन एकाग्रताले ध्यानस्थ बनाइदिएको छ मलाई यस टाकुरामा ? उत्तरविहीन प्रश्नहरुको हुरी चलिरहेको छ मभित्र । म भने त्यही हुरीको एउटा छेउमा टोलाएर आफैलाई नियाली रहेको छु । बोलेर भन्न नसकिने, भनेर चिन्न नसकिने र चिनेर बोल्न नसकिने जिज्ञासु अनुभूतिले उचालिरहेको छ मलाई । विक्रम संवत् २०७९ साल कार्तिक ५ गते शनिवारको यो उज्यालो बिहानीमा ।

मान्छेको आउने जाने क्रम चलिरह्यो । टुप्पामा एकोहोरो चलिरहेको बतासले मान्छेलाई धेरै अडिन दिएको छैन । मलाई भने ओर्लिने अनुमति दिएको छैन मनको अविरल कुतुहलताले । आकाश खुल्दै गयो भीड बढ्दै गयो । मेरो मनको उत्सुकता भने झन्झन् बढ्दै गयो ।

घण्टी बज्यो मेरो मोबाइलको । भङ्ग भयो एकाग्रता । कमल पाखरिनको रहेछ । ‘सर ढिलो भयो फर्किनु प¥यो’ हो त मैले उनलाई एक घण्टा मात्रै लगाउँछु भनेर ल्याएको हुँ । मैले ढिलो गर्दा उनको अन्य काममा बाधा पुग्छ । एकदिनमा पाँच पटकसम्म चरिकोट—कुरी ओहोरदोहोर गर्छु भन्थे । सम्झिएँ उनको भनाई । धीत नमरेको रहरलाई रहरै रहन दिएर ओर्लिएँ म कालिञ्चोकको थुम्कोबाट ।

‘दाइ पदमचाल, शिलाजीत, ओखर, जडिबुटी लैजानु होस्’ फेरि चिच्याउन थाले ओरालोका पसलबाट साहुनीहरु । मलाई त्यतापट्टि लाग्नु छैन । कालिञ्चोेकमा बटुलिएका सम्झनाहरुलाई जस्ताको त्यस्तै लैजानु छ घरसम्म । अन्यत्र अलमलियो भने बिथोलिएलान् भनेर झरिरहेँ ओरालो । ओइलाउन दिनु भएन गौरीशङ्करको छायामा संगालेका यी सम्झनाहरु ।

थामिएको छैन मनको उत्सुकता यतिञ्जेल अनेकौं ठाउँ हेरेर पनि । हल्लिएको गाडीमा हिड्दा एकोहोरो हेरिह्यो भने आँखा दुख्छन् भन्ने कुरा थाह नभएको हैन । घाँटीले त दुख्न थालेको संकेत गरिसकेको छ । तर म न त सक्छु ढुक्कसँग निदाउन, न सक्छु आँखा चिम्लेर उङ्न । जति शान्त हुन खोज्छु उति झन्झन् उर्लिन्छन् जिज्ञासा र कुतुहलहरू । एकोहोरो आँखामा ठोक्किइरहेका छन् पहाडी दृश्यहरु । मन र मस्तिष्कको हारालुछ भैरह्यो प्रकृतिसित सन्निकट हुने रहरको प्रतियोगिता जस्तो । चलिरह्यो द्वण्द्व यथार्थ र कल्पनाको ।

चरिकोट पुगुञ्जेल केही पनि बोल्न मन लागेन । ‘सरले मन उतै कालिञ्चोकमैं छाडेर आउनु भयो कि क्या हो ?’ कमलको बोलीले झस्कायो मलाई । कालिञ्चोकका दृश्यहरुको परावर्तन भैरह्यो चरिकोट पुगुञ्जेल । खाना खाएर कमल पनि मसित छुट्टिए । म एकछिन आराम गरेर फेरि निस्किहालें चरिकोटको परिभ्रमणमा । चरिकोट बजारको मूल चोकबाट एकापट्टि चरिघ्याङ्को थुम्को छ भने अर्कोतिर मानेडाँडा । बौद्ध धर्मालम्बीहरुको घ्याङ भएको यस थुम्कोलाई कोट भन्दाभन्दै चरिघ्याङ्को नाम चरिकोटमा फेरिएको रहेछ । बजारबाट चरिघ्याङ्सम्म टमक्कै भरिएका छन् घरैघर । मानेडाँडा पुग्न भने चरिकोटभन्दा माथिपट्टिको वनभित्रभित्र हिड्नु प¥यो निकै । चरिघ्याङ्को थुम्कोमा पुगेपछि मात्रै छ्याङ्गै देखिए डाँडाहरु । मानेडाँडा उक्लिएपछि त हिमाल पनि देखिदारहेछन् । हिमालको दर्शन बिहानै गरिसकिएकोले म त एकोहोरो हेरिरहेँ दक्षिणपट्टिको शैलुङ्गेलाई । मानेडाँडा पुगेर आउन भने निकै समय लाग्यो । जति गाहारो भयो उकालो चढ्न उस्तै गाहारो भयो ओर्लिन पनि । मानेडाँडाबाट ओर्लेर होटेलमा आइपुग्दा झमक्क भैसकेको थियो चिसोचिसो साँझ ।

फेरि सम्झिएँ रातभरि उही गीत ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई’ ।

चरिकोटको दोस्रो बिहान मैले छुट्टयाएको छु भीमेश्वर दर्शनको लागि । बिहान झिसमिसेमैं लागें द्वाल्खातिर । चरिकोटबाट पाँच किलोमिटर जति टेम्पोमा कुदेपछि पुगियो द्वाल्खा । ठ्याक्कै चरिकोटभन्दा पल्तिरको पाखोमा रहेछ । भीमेश्वर मन्दिर भएको ठाउँको नाम हो द्वाल्खा ।

‘नेवारी भाषाको नाम द्वाल्खालाई पर्वते जिब्रोले दोलखा उच्चारण गर्दागर्दा द्वाल्खा दोलखा हुन पुगेको हो’ मन्दिरको सिढीमा बसेका एकजना ब्राहमणले सुनाए । ‘महाभारतकालीन पात्र भीमेसनले भगवान विष्णु र शिवको संयुक्त उपासना गरेको रुपलाई भीमेश्वर भन्छन्’ उनैले सुनाए । ढुङ्गाका खामा, ढुङ्गाका पटाङ्गिनी र ढुङ्गै ओछ्याइएका बाटा र ढुङ्गे सिढीले सुशोभित छ मन्दिरको सम्यक परिवेश । मन्दिरभन्दा तलको बाटो र मन्दिरबाट उकालो लागेको बाटोमा पनि परैसम्म ओछ्याइका छन् ढुङ्गा ।

ढुङ्गाले बनेको यस मन्दिरको छत तामाको छ तर मूल मन्दिरको गर्भगृहको माथिपट्टि भने ह्वाङ्गै खुला देखियो । यस्तै छत नभएको मन्दिर स्याङ्जाको लसर्घामा देखेको थिएँ । भगवानको विग्रहको माथिपट्टि खुलै राख्ने आफ्नै प्रकारको चलन यहाँ पनि रहेछ ।

दोलखाका भीमेश्वर भगवानलाई पसिना आयो भने नेपालमा केही न केही उथलपुथल हुन्छ भन्ने प्रचलित भनाई सम्झिएँ । मन्दिरको दर्शन र परिभ्रमण सकेर फर्किने बेला अर्का ब्राह्मणले भने— ‘ऊ त्यो तलको त्रिपुरासुन्दरी मन्दिर पनि दर्शन गरि हाल्नुहोस्’ । म उनले भनेकै बाटो हुँदै पल्तिरको पाखोमा ओर्लिन थालेँ ।

‘ओहो ! यहाँ पनि वाराणसी ?’ झस्किएँ म । तिरमिराए आँखा । वाराणसी तीर्थक्षेत्र प्रवेशद्वार लेखेको एउटा साइनबोर्ड देखियो बाटैमा । तर वाराणसी नै भनिहाल्नु पर्ने अरु कुरा भने केही देखिएनन् । त्रिपुरासुन्दरी मन्दिर देखियो त्यहीनिर । मन्दिर भन्दा पनि यो त पुरानो दरवारजस्तो लाग्यो । उक्लिएँ त्यतै । देवीको दर्शन गरेर ओर्लिएपछि लागियो वाराणसी तीर्थक्षेत्र खोज्न । त्यो त एउटा साइनबोर्डमा मात्रै सीमित रहेछ । बरु भेटियो चम्पूजा पार्क । हुन पुग्यो ढुङ्गा खोज्न गएको देवता भेटिएजस्तै ।

चम्पूर्जा पार्कबाट परपर देखिने दृश्यहरुले मनभरि आनन्दको वर्षा गर्न थाले । पार्कभित्रको वातावरण भने त्यति प्रितिकर लागेन । हलक्क बढेका झ्याङ र झाडी, नउखेलिएको घाँस, अनि मनलाग्दी पाराले बढिरहेका बोटबिरुवाका हाँगाबिंगाहरुले यसलाई पार्क भन्न दिएनन् । अलि परसम्म गएपछि भिरालोनिर एउटा ठूलो ढुङ्गो भेटियो । त्यसैमाथि चढेर हेरेँ चारैतिर । पारिपट्टिको सुनखानीको हरियो पाखोले मनलाई बाँधिरिह्यो निकै बेर । केही केटाकेटीहरु रमाएर फोटो खिच्दै छन् । मैले पनि एक जना बालिकालाई बोलाएर केही फोटो खिच्न लगाएँ । निमा तामाङ् रहेछ यिनको नाम । सुनसानीको हरिया पाखो र त्यो भन्दामाथिको गौरीशङ्कर हिमाललाई पृष्ठभूमिका पारेर खिचिदिइन् फोटो ।

फेरि फर्किएँ द्वाल्खा नै । अघि ओर्लिदा त टाढा लागेको थिएनँ । तर चम्पूजा पार्कबाट टेम्पो चढ्ने ठाउँसम्मको उकालो चढ्दा एकछिन त पसिनै आयो । भीमेश्वरबाट फर्केपछि मैले खाना खाएर एम्बोरसिया होटेलका भाइहरु प्रेम तामाङ र प्रकाश उप्रेतीसित बिदा लिएँ । मसित बिदा हुञ्जेल पनि उनीहरुले आफ्नो कत्र्तव्य बिर्सेका छैनन् । मलाई जिरीसम्म पुग्ने जीपको व्यवस्था गरिदिएका छन् । म पैसा तिरेर सेवा लिने ग्राहक भए पनि उनीहरुको सहयोगले अनुगृहित भै रहेँ ।

चरिकोटबाट बिदा लिएपछि मेरो यात्रा ओरालो लाग्यो । ठूलाचौर, धर्मघर, पिपलबोट, किरातीछापहुँदै घुमाउरो बाटो तलतल गै रह्यो । मेरो मन भने उडेर माथिमाथि गौरीशङ्कर हिमालको छेउछाउतिर पुग्न लाग्यो । गौरीशङ्करको छायामा मनको शान्ति खोज्न थालेँ । तलतल खोंचमा थुप्रिएको सेतो बादलले हिमालको छाया परेको आभास गरायो । पहाडको पाखामा धान खेती र खोंचतिर हिमाल डुल्न आएको भान पारिरह्यो नागबेली बाटोले । बाटो घुम्दैघुम्दै तामाकोशीको किनारमा पुग्यो । तामाकोशीको पुल तरेपछि रामेछाप जाने बाटो दाहिने लाग्यो । जिरी जाने बाटो सालघारीको उकालो चढ्न थाल्यो । बाटोमा कुस्ती, वैतेश्वर, नाम्दु, गैरीमुदी, मिर्गे नामका गाउँहरु आइरहे । गैरीमुदी पुगेपछि त्यतै अलमलियो एकछिन मेरो मन । उज्यालो पहाडी पाखोमा थपक्क बसेको यस गाउँले मलाई शेषराज शिवाकोटीज्यूको सम्झना दिलायो । न्यायाधीशको रुपमा काम गर्नु भएका शिवाकोटीज्यू साहित्यको परिचित नाम हो । उहाँका वंशजरा यही गाउँमा पलाएका हुन् र ती झाङ्गिएर यहाँबाट अमेरिकासम्म पुगीसकेका छन् । उहाँद्वारा प्रकाशित कानून र ज्ञानगुन नामका पत्रिकाको आफ्नै परिचय छ । उहाँ उच्च अदालतको न्यायाधीशको रुपमा नेपालगन्जमा कार्यरत हुँदा मैले मेरो पुस्तक ‘गजल सञ्चेतना सन्निधि’ को विमोचन उहाँका बाहुलीबाट गराउने अवसर पाएको थिएँ । सम्झिरहेँ उहाँलाई मैनापोखरी नपुगुञ्जेलसम्म ।

आज भेटिएका छन् रामकुमार घिसिङ् नाम गरेका हँसिला ड्राइभर । भीमबहादुर तामाङको जिल्ला भनेर चिनिएको दोलखामा जहाँ पुगेपनि तामाङहरुसित भेट भैरह्यो । अस्ती आउँदा पाल्देन तामाङले चलाएका थिए गाडी । हिजो कालिञ्चोक दर्शन गर्न कमल पाखरिनको गाडीमा गइयो । पूजा गराइदिए सुकमान तामाङले । होटलमा पाएँ प्रेम तामाङको सत्कार । चम्पुजा पार्कमा फोटो खिचिदिएकी थिइन् नीमा तामाङले । आज जिरी घुमाउन लादैछन् रामकुमार तामाङले । यिनको संगतले मैले तामाङ भाषाका दुई ओटा अभिवादन पनि सिकीसकेको छु — लासो र फ्याफुल्ला । तामाङ्का थरहरु पनि कण्ठै गराइसके बाटोमा यिनले । तामाङ जातीका एघार ओटा थर रहेछन् ‘घिसिङ, पाखरिन, बमजन, लोप्चन, गोले, घले, ग्यालन, नेगी, ब्लोन, घलान र थोकर’ । मैनापोखरीको उकालो काटेर खावा भञ्ज्याङ पार गदैगर्दा उनले जिस्क्याउँदै भने — ‘सर ! शेर्पाहरुको अभिवादन तासेधेले पनि सम्झिराख्नु होस् जिरीमा काम लाग्छ’ ।

खावाँको डाँडा र हाटडाँडा काटेर कलङ पुगेपछि जिरीको रहरिलो दृश्य प¥यो आँखामा । ५५ किलोमिटर बाटो काटेर पुगियो चरिकोटबाट जिरी । पहाडी सौन्दर्यका अनेक रङ देखिए दोलखा जिल्लामा । के के देखिने हुन् फेरि यो जिरीमा ? उत्सुकतामाथि उत्सुकता थपिदै छन् ।

जिरीखोलाको काखमा वारिपारि कुचुमुच्च भएको बसेको रहेछ जिरीको बजार । उत्तर, पूर्व र पश्चिमतिरबाट पहाडले घेरिएको सानो कटौराजस्तो । दक्षिणतिरको पहाड भने अलि परै छ । कोप्चो परे पनि उज्यालो रहेछ ठाउँ । खाल्डो भनौं या उपत्यका भनौं म अलमलमा परेँ । मानेडाँडा पनि दुईटा रहेछन् । चरिकोटमा पनि थियो जिरीमा पनि रहेछ ।

रामबहादुर घिसिङ् मलाई बजारको माझैमा ओरालेर फर्किहाले । एक्लै भएँ म अब जिरीमा । दिनभरि आकाशबाट उज्यालो छरिरहेका म एक्लो घुमन्तेका साथि सूर्य पनि पश्चिमतिरको पहाडले छेलिदैछेलिदै कता हराए कता । हिमाली चुचुराहरुलाई छोएर आएको चिसो सिरेटो मलाई जिस्क्याउन थाल्यो । अब त वास नखोजि भएन । यत्रो ठूलो जिरीको बजारमा यो नेपालगन्जको गिरिलाई एक रातको लागि वास कसो नमिल्ला र ?

खगेन्द्र गिरि ‘कोपिला’

गौरीशंकरको छाया

खगेन्द्र गिरि ‘कोपिला’