गजल: परिचय मेटेर परिचय भन्नू परेको छ

खगेन्द्र गिरि "कोपिला"
२६ असार २०८०, मंगलवार
गजल: परिचय मेटेर परिचय भन्नू परेको छ

गजल
परिचय मेटेर परिचय भन्नु परेको छ।
फेरि पनि हजुरकै जयजय भन्नु परेको छ।

छिमेकीहरु वंशजका नागरिक बने आजभोलि।
नेपालीहरु पो बिराना भए भन्नु परेको छ।

पराधीन त यो सर्वस्व पराधीन भैसक्यो तैपनि ।
स्वतन्त्र नै छ यो मेरो हृदय भन्नु परेको छ।

बुहारीले पो सासुको कन्यादान गर्न थालेका छन्।
यस्तै रहेछ अचेलको समय भन्नु परेको छ।

भन्न त मैले छाडिसकेको थिएँ गुनासाहरु।
फेरि बल गरिगरि कतिपय भन्नु परेको छ।

मनको दराजमा थुनेर राखे पनि आँखिझ्यालबाट।
गैजानेहरुलाई झन् नगए भन्नु परेको छ।

न हावाले उडायो न कुचोले बढार्न सकियो।
आइदिए पनि हुन्थ्यो प्रलय भन्नु परेको छ।

खगेन्द्र गिरि “कोपिला”

गजल: परिचय मेटेर परिचय भन्नू परेको छ

खगेन्द्र गिरि "कोपिला"