कविता
खरले छाएको घर
आकाशमुनि ओत लाग्ने मेरो खरले छाएको घर ।
बस्दथे म आकाशमा हेरी नमानेर कुनै डर ।।
सोची बस्थे यो छानोलाई टिनले छाउन पाए हुन्थ्यो ।
खानलाई धौधौ परेको भनेर सम्झि मन रुन्थ्यो ।।
त्यो मेरो सानो झुपडीलाई देख्दैनथे कसैले नि ।
पिठ्युमा बोकि भोट हलाउने गाउँको नेताले पनि ।।
धेरै सपनाहरु बटुलेर बसेकी थिए म त्यहाँ ।
कसैले नचिन्ने कसैले नदेख्ने वस्ती थियो जहाँ ।।
झरी पर्दा तपतप पानी बस्नलाई ठाउँ नहुने ।
लाग्थ्यो हामी गरिबले कैलेसम्म होला रुँदै दिन काट्ने ।।
वर्षौँसम्म दुख खेतमा गरि महिनौसम्म नि खान नपुग्ने ।
विदेशीएका युवा पनि सकुशल घर नफर्किने ।।
थिएन त्यहाँ कुनै उपचार घ्यार घ्यार गर्ने वृद आमालाई ।
पुष माघको जाडोमा पनि हुँदैन लुगा शरीर ढाक्नलाई ।।
देख्थे समाज सोंच्दथे तब हामी कसरी बाँचिरहेका छांै ।
हजारौं इच्छा चाहानाहरु मनैभरि साँचेका छौं ।।
मिना बुढा