ओढेर सेतो बर्को

खगेन्द्र गिरि ‘कोपिला’
१९ श्रावण २०८०, शुक्रबार
ओढेर सेतो बर्को

नियात्रा
ओढेर सेतो बर्को

‘जाउँ जाउँ जाउँ निस्किहालौं ढिलो नगरौं’ बिहानबिहान झिसमिसेमैं हतारिएको हुँ म । ‘यति छिटै जानु र अंकल ?’ अल्छी मानेजस्तो गरे गुरुप्रसाद बुलबुलले । विक्रम सम्वत् २०७९ साल पुस २ गते शनिवारको चिसो बिहान । गुरुप्रसाद बुलबुल भन्दा छिटै तयार भएका थिए तेजबहादुर माझी । बाहिर निस्किदा त कशेवराज आमोदी र गोकर्ण मल्लसरहरु त झन् छिटै तयार भएर हाम्रै बाटो हेर्द हुनुुहुँदो रहेछ । पाँच जना पुग्यौं । ओछ्यानमैं हुँदा म्यासेन्जर वार्ताद्वारा डुल्न जाने योजना बनेको हो अनायास । हतारहतार तयार भयौं । धेरै मान्छेलाई पर्खिने हो भने ढिलो हुन्छ भनेर झिस्मिसेमैं निस्कियौंैं । हरिप्रसाद तिमिल्सिनालाई फोन गरेर भनें ‘आउनुहोस् सर रामग्राम घुमेर आउँ, हामी त निस्कियौं’ ।
बिहानबिहान झिसमिसेको समय । टिमटिमटिमटिम बलेका बत्तीहरुले भूमहीको बजारमा उज्यालो हैन चकमन्नता छरिरहेका छन् । बास्लो हुस्सुले ढकमक्क ढाकेको छ सारा भूगोललाई । सेतो बर्कोमाथि कालो काम्लो थपेर ओढेजस्तै गरि सुतिरहेको छ सिङ्गो वातावरण । चिसो स्याँठको मार पनि उस्तै छ । स्याँठसंगै चुहिरहेको शीतलहरले वर्षात यामको सम्झना पनि गरायो । हाम्रो शरीरका बाक्ला लुगालाई पनि छेडेर भित्र मुटुसम्मै पुगेर उग्र अतिक्रमण गरिरहेको छ चिसोले ।

‘यस्तोमा के घुम्न जाने हो र ?’ बोल्नु भो आमोदी सर ।
‘हैन घुम्नुको आनन्द त यस्तै प्रतिकुलतामा हुन्छ नि’ जोश भर्नु भो गोकर्ण सरले ।

‘उघ्रिन्छ होला’ आश्वस्त पार्न खोजें मैले । तर अस्ती नेपालगंजदेखि भूमही पुग्दासम्म र हिजो दिनभरि भूमहीमा पनि घामको दर्शन गर्न पाइएन । आश्वस्त हुने आधार त आज पनि छैन ।

चोकैमा रित्तै बस भेटिइहाल्यो । टिनीटिनी मोबाइलमा घण्टी बज्यो । ‘कहाँ पुग्नु भो ?’ उतापट्टि हरि सरको स्वर सुनियो । ‘भूमही चोकमा छौं’ मैले यो भन्न नभ्याउँदै बस हिडिहाल्यो । रित्तै भए पनि बस हिडेपछि हामी पनि मख्ख । हरिसरलाई अब परासीमा पर्खिनु पर्ला । रित्तो बस रित्तो सडकमा एकोहोरो कुदिरह्यो । बाटो वरपरको चकमन्न वातावरणमा केही हेर्न पाइएको छैन । सेतो बर्को ओढेर अझैं सुतिरहेको छ भूगोल ।
परासी पुगुन्जेल आकाश खुलेकै थिएन । हुस्सुमैं डुबेका फाँटहरुको सौन्दर्यपान गर्न पाएनौं । बाटोमा एकोहोरो कुदिरहँदा बादलको माथिमाथि हिडिरहेजस्तो लाग्यो हामी चढेको बस । बसको अगाडि बालेका टर्चले पनि कुनै उज्यालो गर्न सकेको छैन । केही नदेखिएको बाटोमा पनि सुलुलुलुलु हाँकीरहे ड्राइभरले बस । एकैछिनमा पुगिहाल्यौं फुङ्ग उडेको परासी बजारमा । हुस्सु मैं छाडिएको हो भुमही । हुस्सुमै पुगियो परासी । हुस्सुमैं सङ्गालियो आँखाभरि उत्सुकता ।
भुमहीबाट एघार किलोमिटरमात्रै रहेछ परासी पुग्न । पुसको चिसो मौसममा परासीले पनि बिहानको छ बजुञ्जेल आँखा खोलेकै छैन । कस्तो अल्छी रहेछ परासी त । हामी एघार किलोमिटर परबाट आइसक्यौं । ऊ भने हुस्सुको सेतो बर्को ओढेर सुतिरेहकै छ । बसबाट ओर्लेपछि रित्तो सडकमा एकछिन मोर्निङवाक गरेझैं हिडिरह्यौं । पहिलोपल्ट आएको ठाउँमा कसैलाई नसोधिकन केही जानकारी पाइने कुरै भएन । हाम्रो गन्तव्य त रामग्राम स्तुप हो । चिसो बिहानको रित्तो सडकमा ती कहाँनिर पर्छन् ? कसलाई सोध्ने ?
बस बिसौनीको छेउमा एउटा चिया पसल खुलेको देखेर त्यतै लाग्यौं । ‘सरलोग कता से आउनु भएछ ?’ अवधीमिश्रित नेपाली भाषामा बोल्ने प्रयास गरे साहुजीले । हाम्रो परिचय दिएपछि मैले सोधें —‘हामी टंकप्रसाद आचार्यको जन्मस्थल हेर्न आएका हौं । त्यो ठाउँ कहाँनिर पर्छ होला नि साहुजी ?’
‘इ तो हम न कह पैबे !’ (यो त म भन्न सक्दिनँ) अनभिज्ञता जनाए उनले । फेरि अलमल भयो । कसलाई सोध्ने अब ? यो चिसो बिहानमा सडकमा त मान्छे कोही देखिदैनन् । एकछिन त्यही चियापसलमा चिया पिउँदै तातो चियाले शरीरलाई तताउने चेष्टा गयौं । परासीको चियामा नेपालगन्जको स्वाद भेटियो । पुसको जाडोमा न्यानोको तिर्खा मेटियो ।
सडकमा फाट्टफुट्ट मोर्निङवाक गर्दै हिड्न थालेका देखिन थाले मान्छे । परासीमा हामी टंकप्रसाद आचार्यको जन्मघर पनि हेर्न भनेर ओर्लिएका हौं । हामी जो भेटियो उसैलाई सोध्न थाल्यौं । तर कसैलाई पनि थाह रहेनछ । मालपोत कार्यालयनिर हो भन्ने मैले सुनेको थिएँ । मालपोत कार्यालय सोध्दै सडकमा हिड्न थाल्यौं । मूल सडकको पश्चिमपट्टि अलि भित्रपट्टि रहेछ मालपोत टोल । त्यहाँ एकजना वृद्ध सज्जन भेटिए । उनले भने—‘टंकप्रसाद आचार्यका बुवा परासीको मालपोत कार्यालयमा जागिरे भएर आउँदा उहाँको यहाँ जन्म भएको हो । ऊ त्यही जीर्ण घर नै हो पुरानो मालपोत कार्यालय’ । आधुनिक मालपोत कार्यालयको छेउमा पुरानो जीर्ण भवन देखियो । त्यो पुरानो समयको मालपोत कार्यालयको भग्नावशेष रहेछ । टंकप्रसादका पिताको त्यो बेला कतै डेरा थियो होला तर मान्छेहरु अचेल त्यही मालपोत कार्यालयलाई टंकप्रसादको जन्मघर ठान्दारहेछन् । हामीले उहाँको जन्मघर हेर्न नपाए पनि जन्म ठाउँ त हेरियो भन्दै चित्त बुझायौं । त्यही जिर्ण भवनको आकृतिमा टंकप्रसाद आचार्यका स्मृतिहरु खोज्दै केही फोटो खिच्यौं ।

यी तिनै टंकप्रसाद आचार्य हुन् जसलाई नेपाली समाजले जेठा राजनीतिज्ञ भनेर चिन्छ । जिउँदा शहीद भनेर चिन्छ । विक्रम संवत् १९९३ सालमा खुलेको नेपालको पहिलो राजनैतिक दल प्रजापरिषदका उनी अध्यक्ष थिए । राणाहरुले उनलाई १९९७ सालदेखि २००७ सालसम्म दश वर्ष जेलमा राखे । उनको नाम टंकको अर्थ घन वा छिनु हुन्छ । उनले जहानियाँ कठोर राणाशासनको टाउकैमा घन वा छिनुलेजस्तै प्रहार गरेर आफ्नो नामलाई सार्थक बनाएका थिए । २०१२ देखि २०१४ सालसम्म उनी नेपालको प्रधानमन्त्री रहे । नेपालका ती महान राष्ट्रवादी राजनीतिज्ञलाई सम्झिदै हामीले परासीको त्यस चिसोचिसो बिहानमा हृदयभरिको श्रद्धा चढायौं ।

‘परासी बजार सानो छ भन्थे यो त ठूलै रहेछ’ बोल्नु भो आमोदीसरले । तराईका अन्य जिल्ला सदरमुकामभन्दा परासी ठूलै रहेछ । सडक पनि फराकिला र अपेक्षाकृत सफा नै लागे ।
बजारको माझैमा उभिएको देखियो घण्टाघर । कदाचित् यो परासीको केन्द्रविन्दु हुनुपर्छ । मान्छेको चहलपहल भने छैन । चोकनिर उभिएर परासीको सम्झना भन्दै फोटो खिच्यौं तर हुस्सुले घण्टाघरलाई छेकिरह्यो । फाट्टफुट्ट टेम्पो चल्न थाले । एउटा टेम्पोसित भाडाको कुरा मिलायौं र लाग्यौं रामग्रामतिर ।

‘कहाँ हुनुहुन्छ तपाइँहरु ?’ परासीबाट हिड्दै गर्दा मोबाइलमा टिनिनिनिनिनि घण्टी बज्यो । उताबाट बोल्नु भो हरिसर । ‘हामी त परासीबाट रामग्रामतिर लाग्यौं सर’ फर्काएँ उत्तर मैले । ‘ल ल रामग्राममा पर्खिनु होला म भुमहीबाट हिड्न लागें’ उहाँले यही भनेको सुनें । टेम्पोको चर्को स्वरले अरु केही सुन्न दिएन । यो टेम्पो पनि अचम्मकै हुने रहेछ । गतिमा कुद्यो भने स्वर त्यति धेरै ननिकाल्ने । बिस्तारै दुगुरेको बेला भने चर्को ध्वनि निकालेर हैरान पार्ने । बाहिरतिर हेरौं बाक्लो हुस्सुले वरपर केही हेर्न दिएको छैन । यता टेम्पोभित्र टेम्पोकै ध्वनिले शान्त भएर बस्न दिएको छैन । दुगसरिइरहेको टम्ेपोसंगै दुगुरिरहे हाम्रा आँखा ।

परासी छाडेर गाउँतिर लाग्दा झन् बाक्लो हुँदै गयो कुहिरो । नजिकै पनि देखिन छाड्यो । हुरुरुरु कुदिरहेको टेम्पो बाटोमा कुदेको हो, या बादलमा ? ठम्याउन गाहारो भयो । बाटो त हामी दुगरिरहेको पनि बाटो नै होला । यो बाटो वरपर पनि गाउँ होलान् । घर होलान् । मान्छे होलान् । खेत होलान् । बारी होलान् । ती सबैलाई छेकेको छ बाक्लो हुस्सुले । कतैकतै कुकुरको भुकाई सुनिन्छ । कतै आगो बलेको आकृति पनि देखिन्छ । कतैकतैबाट कुखुराको भाले कराएको र गाईबस्तुका घण्टका स्वर आइरहेका सुनिन्छन् । नत्र सर्वत्र देखिन्छ केवल सेताम्ये कुहिरो । ती सबैलाई ओझेल पार्ने गरि एकोहोरो आइरहेको छ टेम्पो चलेको कर्कश स्वर । गाउँठाउँ हेर्न भनेर आएका हौं हामी । तर यहाँ त पुसको बाक्लो कुहिरो हाम्रो शत्रु बनेर उभिएको छ अगाडि । यद्यपि केही हेर्न नपाए पनि आँखाको उत्सुकता र मनको जिज्ञासा भने उर्लिरहेको छ आफ्नै लयमा ।

‘यो हरपुर रोड हो सर’ बोले टेम्पोवाला । फेरि थपे ‘हरपुर हुँदै नेपाल भारत सीमानाको महेशपुरसम्म पुग्छ यो सडक’ । यिनले नेपाली भाषा बोलेको निकै मीठो लागिरहेको छ । नरेश महतो रहेछ यिनको नाम । सुनवल र भुमहीमा महेन्द्र राजमार्गसंग दुईटा पक्की सडकले जोडिएको परासीबाट भैरहवा जाने पनि सडक छ भने भारतको सीमाना महेशपुरसम्म जाने पनि सडक पक्की नै रहेछ । चारैतिर जाने पक्की सडक भएको परासी त सडक सञ्जालको चौबाटो नै रहेछ । टेम्पोको दुगुराईले सडक फराकिलो र चिल्लो रहेछ जस्तो लाग्यो । अलि पर पुगेपछि सडक छोडेर देब्रे मोडियो टेम्पो । यो भने अघिको जस्तो राम्रो रहेन छ सडक । साँगुरोसाँगुरो बाटोमा ढलिमलिढलिमलि गर्दै पुगिहाल्यौं रामग्राम स्तुप । परासीबाट चार पाँच किलोमिटरभन्दा बढी रहेनछ रामग्रामको दुरी । हुस्सुमा डुबेका बस्ती र खेतहरुसंग हाम्रो मायाप्रिती बस्न सकेन । सिधै रामग्राममा पुगेर डुब्यौं हामी भगवान गौतम बुद्धको स्वप्नसोपानमा ।

हामी चढेको टेम्पाको कर्कश ध्वनिले रामग्राममा बिहानबिहानको शान्ति भंग ग¥यो । बिहानीको चिसो वातावरणमा ध्यानस्थ रहेछ यहाँको परिवेश । टेम्पोको ध्वनिले कल्याङ्मल्याङ गर्दै भुर्रभर्र उडे चराहरु । रामग्रामलाई पहरा दिइरहेका बोटविरुवाहरु भने निश्चल उभिइरहे । चिसोले कठ्याङ्रिएको वातावरण छ । एक दुई जना सरक्षाकर्मी र एक दुई जना कर्मचारी मात्रै देखिए ढोकानिर ठिङ्ग उभिएका ।

कच्ची बाटो, लहरे पीपलजस्ता लाग्ने रुखहरुको ताँती, इटाले बनेको रातो र सेतो रङको साधारण द्वार । न कुनै कला न कुनै श्रृङ्गार । मूलद्वारसम्म पुग्ने कच्ची बाटोको वरिपरि खसेका पात र फालिएका प्लास्टिकले रामग्रामको प्रथम दृश्य शोभनीय देखिएन । रामग्राम स्तुप यिनै बाक्ला रुखहरुको माझमा देखियो ।

बाहिरतिर अलमल नगरेर द्वारबाट भित्र पस्यौं । अनेकथरि बोट विरुवा उभिएको फराकिलो फूलवारी प¥यो आँखामा । हैन हैन यसलाई फूलबारी भन्न नमिल्ला । यो त सानो उपवन जस्तै छ । फूलका अनेकौं बोट ठिङ्ग उभिएका देखिए पनि फूल फुलेको भने कतै देखिएन । शिशिर ऋतुको स्वागत गरेर कतै अन्त आराम गर्न गएका हुन् कि क्या हो यहाँका फूलहरु ? फूल नभएको ठाउँमा भुइँभरि खसेका पातहरुको रजाई छ यहाँ त ।

मूल मार्ग सकिएपछि दुइटा बाटा छुट्टिए । ‘यताबाट जानुहोस् र परिक्रमा गरेर त्यो बाटो फेरि यतै आइपुग्छ’ देब्रेतिर जाने संकेत गरेर बोले सुरक्षाकर्मी । हामी त्यतै लाग्यौं । परपरका दृश्यहरु कुहिरोले गर्दा हेर्न पाइएको छैन । नजिकै देखिने दृश्यमा रुखहरु देख्यौं । चौर देख्यौं । लामा तेर्सा गरेर रुखरुखमा झुण्ड्याइका ध्वजा पताका देख्यौं । फराकिलो परिक्रमापथ देख्यौं र देख्यौं परिक्रमापथ वरिपरि फालिएको फोहोर पनि ।

रामग्राम भन्नु एउटा माटोको ढिस्को रहेछ । ढिस्को वरिपरि चौर छ । चौरलाई रुखहरुले घेरेका छन् । ढिस्कोलाई परिक्रमा गर्न बनाइएको परिक्रमापथ इटाले चिनेर बनाइएको छ । कतैकतै काठका फल्याक पनि ओछ्याइएका छन् । ‘यी भुईमा बसेर ध्यान गर्न सजिलो होस् भनेर बनाइएका हुन्’ सुनाए एकजना सुरक्षाकर्मीले ।

भगवान गौतम बुद्धको स्वर्गारोहण भएपछि उहाँलाई कुशिनगरमा समाधिष्ट गरिएको थियो । उहाँका शारीरिक अवशेषहरुलाई कुशीनगरबाट लगेर अन्य सात ओटा ठाउँमा पनि गाडिएको थियो । ती अवशेष गाडिएका ठाउँमा स्तुप बनाइए । त्यसरी उहाँका अस्थी धातुहरु गाडिएका कुशीनगर समेत धर्तीमा आठवटा स्तुप बने । तीनै आठओटा महत्वपूर्ण स्तुप मध्ये एक हो यो रामग्राम पनि । स्तुपको आकार सनातनी ब्राह्मणले सराद्धे गर्ने बेलामा बनाउने पिठोको पिण्डजस्तै हुने रहेछ । सृष्टिको प्रतिक मानेर बनाइने पिण्डजस्तै लाग्ने यी स्तुपको निर्माणमा पनि त्यही दर्शनले काम गरेको होला ।

अचेल कसैकसैले बौद्धमतलाई अर्कै धर्म हो भनेर चिनाउने प्रयास गरे पनि मलाई त यो सनातन वैदिक परम्पराकै एउटा हाँगो हो जस्तो लाग्छ । भगवान बुद्धले अबलम्बन गरेको ध्यान र करुणाको दर्शन महर्षि पतञ्जलिले प्रतिपादन गरेको योगदर्शनकै निरन्तरता हो । योगदर्शनले सिकाएका अनेकौं कुराहरुमध्ये बुद्धले ध्यान र करुणालाई मात्रै समाते । मानवको चोला लिएर आएका व्यक्तिहरुले भगवानको श्रेष्ठता प्राप्त गरे पनि उनी सबै कुरामा निपुण हुन्नन् भन्ने तथ्यका ज्वलन्त प्रमाण हुन् गौतम बुद्ध । बुद्धले ध्यान र करुणामा श्रेष्ठता पाउनु भएको थियो । तिमीमा जे संभावना छ त्यसैमा केन्द्रीत भयौ भने श्रेष्ठता पाउने छौ भन्ने संदेश नै बुद्धसाधनाको सार हो जस्तो लाग्छ मलाई । सनातन हिन्दु परम्परामा ईश्वरका तीन रुप, पाञ्चायन देवता र ३३ कोटी देवताको भूमिका बाँडफाँड हुनु पनि त्यही दक्षतालाई श्रेष्ठतामा केन्द्रीत गर्ने मान्यता नै हो जस्तो लाग्छ । जे होस् राजकुलमा जन्मेर संन्यासी बनेका हुनाले हामीले बुद्धलाई विष्णुकै अवतार मानेका हौं ।

बुद्धलाई पनि हामी पराइ मान्दैनौं । विष्णु भगवानको अवतार मान्दै जहाँ देखे पनि उहाँको मूर्तिका अगाडि हाम्रो शिर निहुरिहाल्छ । रामग्रामको भौतिक अवस्था त्यस्तो खासै प्रशंसा गरिहाल्ने स्थितिको नभए पनि बुद्ध भगवानप्रतिको हाम्रो आस्था भने श्रद्धानवत भैरह्यो शरणागत भैरह्यो ।

बुद्धकालीन इतिहाससित जोडिएको रामग्रामको जति नाम छ त्यति काम भने प्रभावकारी देखिएन यहाँ । हुन त यही स्तुपको नामबाट नगरपालिकाको नाम राखिएको छ । तर रामग्राम स्तुप भने अलपत्र र अव्यवस्थितजस्तै देखियो । दशेविदेशबाट आउने बौद्ध धर्मालम्बीहरुको निम्ति पूजा, आराधना, उपासनाको लागि सहज हुने कुनै व्यवस्था देखिएन । ध्यान गर्न आउने भिक्षुकहरुको लागि त्यति शान्त र स्वच्छ वातावरण पनि रहेनछ । घुमन्ते र रमाउन आउनेहरुले गरेको फोहोरले परिकमापथ वरिपरिको वातावरण प्रितिकर छैन । यात्रुको लागि बस्ने सिमेण्टेड स्टुल र बेन्च त बनेका छन् तर बस्न लायक भने ती पनि देखिएनन् । वर्षौदेखि नबढारिएकोजस्तो देखियो बाटो । वर्षौदेखि नपुछिएकाजस्ता देखिए बेञ्चहरु । चौर पनि चौरजस्तो छैन । भुइँमा बसेर ध्यान गर्न चाहने भिक्षुकहरु कसरी ध्यान गर्दा हुन् यस्तो ठाउँमा बसेर? नजिकैको बुद्ध पार्क पनि पार्क जस्तो लाग्दैन । व्यवस्थापन र सरसफाईको कमीले रामग्रामलाई उज्यालो हुन दिएको छैन । आध्यात्मिक स्थल र पर्यटन स्थलको फरक नछुट्टयाएर मान्छेले रामग्राममाथि अन्याय नै गरेजस्तो लागिरह्यो ।

भगवान बुद्धका अस्थी थातु समाधिष्ट भएको यस पवित्रस्थलमा आउनु पाउनु नै आफैमा सौभाग्यको कुरा हो । भौतिक कुरा क्षणिक हुन् भन्ने स्वामी अवधेशानन्दको वचन स्मरण गर्दै चित्त बुझाइरहेको छु म । ‘जे भोगियो त्यसैमा सन्तुष्ट हुनु पर्छ’ भन्ने भनाई पनि सम्झिएँ । रामग्राममा जे जति हेर्न पाइयो त्यही स्मृति बनेर मनभित्र अडियो । प्रकृतिसित पराजीत हुनु परे पनि प्राप्तिसंग रमाउन सक्यो भने यात्रा रमाइलो हुने रहेछ ।

‘जत्रो प्राप्ति भयो त्यसैमा सन्तुष्टिको त्यत्रै रङ मिसाएर अनुभूतिलाई गाढा बनायो भने आजको यात्रा पनि त नियात्रा बनिहाल्ला नि कसो आमोदीसर?’ बोले आमोदीसरतिर फर्केर । उहाँले पनि गहकिलो कुरा गर्नु हो —‘हामीले त जे देखिन्छ हेर्ने हो, हृदयमा कुन कुरालाई? के कसरी? र कत्रो स्मृति बनाएर राख्ने हो? त्यो त आँखाको काम हो’ ।

जसरी आएका थियौं रामग्राम उसैगरि फकियौं रामग्रामबाट । कुहिरोले छोपिएको वातावरणले वरपरका दृश्यहरु आँखामा सजाउन नदिएपछि हामी एकोहोरो मौन भएर डुबिरह्यौं रामग्रामकै शुण्य सोपानमा ।

अबको गन्तव्य हो पाल्ही भगवती मन्दिर । बुद्ध स्तुपमा बटुलिएको करुणाको सुवासमा देवीको मन्दिरमा गएर बटुलेको शक्ति र उर्जालाई मिसाएर आफूलाई बनाउनु छ बलियो ।

हरपुर रोडमा आइपुगेपछि टेम्पो दक्षिणतिर मोडियो । बाटो वरपरको भूगोलबारे हामी अनभिज्ञ नै छौं । एकछिन चाक्लो सडकमा कुदेपछि फेरि दाहिने मोडिएर गाउँतिर पस्यो टेम्पो । गाउँको बाङ्गोटिङ्गो बाटोमा कुदिरह्यौं आँखा चिम्लिएजस्तै गरेर । वरपरका कुनै दृश्यसित पनि साक्षात्कार हुन पाएन । एउटा साँगुरो गाउँको साँगुरो बाटो हुँदै पुगियो मन्दिरको ढोकैनिर ।

‘यही हो पाल्ही भगवति मन्दिर’ बोले टेम्पोवाला भाइ नरेश महतो ।
एउटा उज्यालो मन्दिरको दिव्य शोभा छरियो आँखा अगाडि । मन्दिर खासै त्यति ठूलो त हैन तर मन्दिरको मूल प्रवेशद्वार र मन्दिरको अग्रभाग भने मन्दिरभन्दा भव्य नै लागे । मूल प्रवेशद्वारको माथिल्लो भागमा खुकुरी र ऊँ कुदिएका छन् । खुकुरीले शक्ति र ऊँले मानव अस्तित्वको बोध गराइरहेका छन ्। देवीलाई मानव अस्तित्व र शक्तिकी श्रोत नै मानिन्छ । मन्दिरको अग्रभागको माथिपट्टि हनुमान, शिव र गणेशका मूर्ति कुँदिएका छन् । त्योभन्दा माथि छन् मयुरका मूर्ति । तल द्वारनिर देखिए सिंहका दुईटा मूर्ति सुरक्षार्थ उभिएको मुद्रामा ।

जुत्ता खोलेर हात खुट्टा धोयौं र मन्दिरभित्र पस्यौं । पुजारीले मन्त्र पढेर पूजा गराइदिए । टीका लगाइदिए । आँखा बन्द गरेर एकछिन उभियौं र देवीलाई ढोगेर फर्कियौं बाहिर ।

मन्दिरबारे केही जानकारी लिनु थियो । एकजना साधु भेटिए महादेवको मूर्तिनिर पद्यासन लगाएर बसेका । उनीभन्दा अरु को होलान् मन्दिरको इतिहास भन्न सक्ने । यही सोचेर उनैलाई सोध्न पुगें । ‘देवी शक्ति र पालनकी श्रोत हुन् । आफ्नो पालन गर्ने देवीलाई पाल्ही भन्दाभन्दै पाल्ही भगवति रहेको हो देवीको नाम’ भने उनले । ‘यही मन्दिरको नामले यो गाउँको नाम पनि पाल्ही रहेको हो । उहिले त पाल्ही भगवतीकै नामबाट त्रिवेणीदेखि भैरहवासम्मको क्षेत्रलाई पाल्ही माझखण्ड भनिन्थ्यो’ थपे उनैले । राणाकालदेखि नै पाल्ही माझखण्ड क्षेत्रको प्रशासनिक कार्य र मालपोत उठाउने ठाउँको रुपमा परिचित छ परासी’ यो भन्न पनि छुटाएनन् । तर पाल्ही मन्दिरको इतिहासबारे उनी पनि अनभिज्ञ नै रहेछन् । ‘हामीले देख्दादेखि नै यस्तै छ । केही भवनहरु थपिएका छन्’ साधुले यति भनेर कुरा टुङ्ग्याए ।

म पनि लागे मन्दिरको प्रदक्षिणा गर्न । पुसको चिसोमा सिमेन्टले बनेको भुइँमा नाङ्गो खुट्टाले हिड्न सकस नै प¥यो । मन्दिरको फराकिलो परिसरमा अनेक देवालय र भवनहरु छन् । देवीदेउताका अनेक मूर्ति पनि देखिए । ंिसंह, हात्ती र गाईका मूर्ति ठडिएका पनि देखिए । तर कुनै पनि भवन र मूर्तिमा कलाको सुन्दर सोपान देख्न पाइएन । हतारहतारमा बनेका जस्ता लागे भवनहरु र त्यस्तै हतारमैं बनाइएका जस्ता लागे मूर्तिहरु पनि । मूर्तिहरुमा चढाइएको फूल, अक्षता, टीका र धुपबत्तीले कतिपय मूर्तिहरु त कुरुप भैसकेका छन् । भक्तहरु मन्दिरमा देवीदेउतालाई सताउन र दुख दिनमात्रै आउँछन् कि क्या हो? यस्तै भावले मलाई लखेटिरह्यो एकोहोरो ।

‘जाउँ अब !’ गुरुप्रसाद बुलबलको स्वरले झस्किएँ म । घडि हेरेको आठ बजिसकेको रहेछ । भूमही पुगेर हामी सहभागि हुन आएको कार्यक्रम भ्याउनु छ । रामग्राममा बटुलेको शान्तिको सुवास र पाल्हीमा पाएको शक्तिको उर्जालाई मनको कुनामा कतै राखेर केही फोटो खिच्यौं । अनि फर्कियौं । उही हरपुर रोड, उही परासी हुँदै उही भुमही नपुगुञ्जेल सेतो बर्को ओढेर गमक्क परिरहेको कुहिरोले हामीलाई वरपरको भूगोलसित वार्तालाप गर्नै दिएन । तैपनि हतारहतारको यात्रु बनेर पनि आजको चिसो बिहानमा धेरै कुरा हेर्न पाइयो । यसैमा छ सन्तुष्टि । मैले पनि कुहिराको शेखी झार्न एउटा मुक्तक रचिहालें आस्थाको सेतै बर्को ओढेर मनको सेतो पानामाथि ः
डुलेर मन भेटिने भए यायावर भैदिन्थें म पनि
मनको शिखर टेकिने भए यायावर भैदिन्थें म पनि
सेतो पानाजस्तै कोरै फर्किदा रहेछन् रहरहरु
अक्षरमा मन लेखिने भए यायावर भैदिन्थें म पनि

खगेन्द्र गिरि ‘कोपिला’

ओढेर सेतो बर्को

खगेन्द्र गिरि ‘कोपिला’