मरुभूमिमा हिमाल खोज्दै

खगेन्द्र गिरि कोपिला’
२४ श्रावण २०८०, बुधबार
मरुभूमिमा हिमाल खोज्दै

मरुभूमिमा हिमाल खोज्दै

पाण्डबखोलाले तर्साइहाल्यो आरम्भमैं । बिहान नौ बजे हिडेका हौं जोमसोमबाट । मिति २०८० साल साउन ८ गते सोमवारको पारिलो दिन । यतातिरको यात्रामा आफ्नै सवारी साधन ल्याएर आएकालाई भने हिड्डुल गर्न सजिलो हुने रहेछ । दुई जना अल्लारे यात्री बनेर आएका छौं म र लीलाराज दाहालभाइ । उतिसारो नियमित नचल्ने रहेछ यहाँको यातायात व्यवस्था । हिजैदेखि लोमान्थाङ् जाने जीपको जाँचोपाँजो मिलाउँदा बल्लबल्ल दुईटा साँगुरा आसन पाएका छौं । लामो पर्खाइपछि बल्लबल्ल जीप त हिडेको हो । तर गन्तव्यमा नपुगुजेल ढुक्क हुन सकेको छैन मन ।

आधा घण्टा पनि कुदिएको छैन । पाण्डबखोलाको डिलमा पुगेर घ्याच्च रोकियो जीप । खोलाको दृश्यले कताकता मनभित्र भय र आशंका उत्पन्न ग¥यो । दाहिनेतिरबाट आएर एउटा खोला कालिगण्डकीमा मिसिएको छ । यसलाई खोला भनौं भने पानी एकथोपा पनि छैन । खोला नभनौं भने पनि दुई सय मिटर जति चाक्लो ठाउँ ओगटेको खोलाको आकृतिले हाम्रो बाटो छेकिरहेको छ । पुरै पहाडलाई सोरेर ल्याएजसरी कालो माटो भरिएको छ खोलामा । पुल पनि छ खोलामा तर बाटो पुल भएर अघि बढेन । खोलाले बगाएर ल्याएको कालो माटो, हिलो र ससाना ढुङ्गालाई कुल्चिदै आफै बाटो बनाएर दुगु¥यो हामी चढेको जीप । पानी नपर्ने भनेर चिनिएको ठाउँमा बाढीले ल्याएको हिलो पो देख्न पाइयो ।

‘माथिमाथि थोरै पानी परे पनि कालो माटो बगाएर ल्याएर बाटैभरि हिलो थुपारिदिन्छ यो खोलाले’ खोलासितको गुनासो पोखे चालकले । त्यस्ता अनुशासित पाण्डबहरुको नामसित जोडेर यस्तो बौलाहा खोलाको नाम किन राखे होलान् पाण्डबखोला? मलाई खोलाको नाम कताकता नमिलेनमिलेजस्तो लाग्यो ।

पाण्डबखोला पार गरेपछि फेरि आरम्भ भो उस्तै ढुङ्गे बगर, उस्तै गिट्टी थुपारेजस्तै देखिने पहाडैपहाडले भरिएको भूगोल । उस्तै नाङ्गो भूखण्ड र उस्तै माटैमाटोले बनेका आकृतिहरुको संसार । देब्रेतिर कालीगण्डकीको फराकिलो फाँट । फाँटको माझैमाझ फुक्काहाल भएर दौडिरहेकी कालीगण्डकी । कालीगण्डकीको कालो पानी । सेतो बालुवा र सेता ढुङ्गाले भरिएको बगर ।

कालबेनीभन्दा अलि वल्तिर ट्राफिक प्रहरीले रोकिहाले हाम्रो जीपलाई । ‘नमस्ते हजुर!’ भन्दै प्रहरी सहायक निरीक्षकले आएर निरीक्षण गरे जीपको । चालकसहित एघार जना कोचिएका छौं जीपभित्र । जीपको छतमा पनि हुड नलगाएर टनाटन सामान कोचिएको छ । चालकले बेल्ट पनि बाँधेका छैनन् । प्रहरीले चाहने हो भने यो जीपलाई थुप्रै जरिमाना गराउन मिल्ने अवस्था छ । तर प्रहरीले निकै नम्र भएर ट्राफिक नियमको पालना गर्न सुझाए । ‘दण्ड जरिमाना तिराउनु हाम्रो उद्धेश्य हैन । यातायात नियमको पालना होस् र यात्रुको सुरक्षा होस् भन्ने हाम्रो उद्धेश्य हो’ प्रहरीको विनम्रताले हामी सबैलाई पगाल्यो । ‘साहेब जय नेपाल ! हामी नेचुङ् पोष्टका स्टाफ हौं । यो सामान पोष्टको हो सर !’ जीपभित्र बसेका एकजना युवाले अनुरोध गरेपछि कुनै दण्ड नगरेर जान दिए प्रहरीले । परै पुगुन्जेलसम्म चालकले प्रहरीका कुरा काटिरहे ।

‘नियम पालना नगर्ने आफू दोष प्रहरीलाई दिने ?’ म नभनी रहन सकिनँ । चालक पनि के कम? ‘तपाइँहरुलाई चढ्न मन लाग्दैन भने नचढ्नु न, मैले तानेर ल्याएर चढाएको हुँ र ?’ चालकको कुरा सुनेर हामी सबै तैं चुप मैं चुप भएका छौं । चित्त बुझायौं जसरी पनि लोमान्थाङ् पुग्नु छ भनेर !

दुगुर्दै पुगियो कागवेनी । मुक्तिनाथ जाने बाटो दाहिनेतिरको पहाडतिर उकालो लाग्यो । हामी दाहिनेतिरबाट आएको खोला तरेर देब्रे लाग्यौं । यो मूक्तिनाथ खोला हो । यसमा पनि पाण्डबखोलामा जस्तै कालै छ पानी । पानी भन्दा पनि हिलो बगिरहेको छ भन्दा हुन्छ ।

‘हिजो राती मुक्तिनाथ तिरका हिमालमा पानी परेछ !’ कालो हिलो बग्नुको सम्बन्ध पानी पर्नुसित जोड्दै बोले एकजना यात्रु ।

कागवेनी मुसुक्क हाँसेको छ । फिरफिर पात गरिरहेका अग्लाअग्ला पीपलका रुख, हरिया स्याउबारी र फापर उम्रेका गराहरुले सुशोभित छ कागवेनी । वरपरका नाङ्गा पहाडमा चलिरहेको बतासले कागवेनीलाई फकाइरहेझैं लाग्यो । पारिपट्टिको ठाडो चट्टाने भीरमा ध्वजापताका फिरफिर गरिरहेका छन् बतासमा । कतै माने कतै छोर्तेन देखिन्छन् थुम्काथुम्कामा । एक हुल मानिस व्यस्त छन् खोलाको छेउमा पर्खाल बनाउन ।

एकछिन कुनै थुम्कोमाथि टुसुक्क बसेर कागवेनीको सौन्दर्यपान गर्ने रहर नलागेको त हैन । तर यात्रामा हिडेको मान्छेलाई एकै ठाउँको सौन्दर्यसित बाँधिएर बस्ने समय कहाँ हुन्छ र ? कागवेनीका झल्याकझुलुक दृश्यहरुलाई मनले टिपेर कालीगण्डकीको छेवैछेउ कुद्न लाग्यौं ।

बाटो उभोउभो लाग्यो । बाटोको छेउछेउमा बिजुलीको लाइन पनि समानान्तर बनेर हिडिरहेको छ । तर त्यो तारमा बिजुली पनि छ कि छैन भन्न सकिएन । वरपर गिट्टी ल्याएर थुपारिएका जस्ता माटोका आकृतिहरु देखिन थाले । माटोका यी रङ्गीविरङ्गी दृश्यहरु कतिखेर मरुभूमिजस्ता लाग्छन् । कतिखेर कलाकारले जतनपूर्वक बनाएका कलाकृति जस्ता लाग्छन् । गाउँघर, मान्छे जीवजन्तुको उपस्थिति कतै छैन । हरियो वनस्पतिको उपस्थिति पनि कतै देखिन्न । तोङ्वे भन्ने ठाउँ आयो । डाँडामाथि ठिङ्ग उभिएको देखियो एउटा होमस्टे । जति वरिपरिको वातावरणमा निरवता छ, यो एक्लो होमस्टेलाई पनि त्यही निरवताले निलिसकेको जस्तो लाग्यो ।

तोङ्वेबाट ओरालो लाग्यो बाटो । घुमाउरो खोलासंगै घुमिरह्यो । बाटोमा पानी भने देखिएन । सेता, राता र गेरु रङका पहाडी चुचुरामा परेको बिहानीपखको घामले उज्यालो भयो वातावरण । अलिअलि हरिया फाँट पनि देखिन लागे बाटो वरपर ।

‘छुक्साङ् आयो सर’ पछिल्लो सिटमा बसेका एकजना युवा बोले । हामी चढेकै जीपमा पाँचजना रहरलाग्दो जीउज्यान भएका युवाहरु पनि चढेका छन् । बाटो काट्दै गर्दा बोलचाल भयो, परिचय भयो । उनीहरुमध्ये चार जना नेचुङ्स्थित सशस्त्र प्रहरी बलको पोष्टमा कार्यरत रहेछन् । नाम पनि सोधें । एकजना हँसिला युवा रेशम क्षेत्री रहेछन् । अर्का चुलुबुले अमृत विश्वकर्मा रहेछन् । अग्ला खाइलाग्दा युवाको नाम युवराज चापागाइँ रहेछ र गम्भीर मुद्रामा हाँसिरहने पातला युवा रामबहादुर राना रहेछन् । अर्का बोलीरहने युवा रहेछन् नेपाली सेनाका केदार पोख्रेल ।
कतै छुसाङ् कतै छुक्साङ् र कतै चुसाङ् लेखेको भए पनि यहाँका साङ्हरु भने निकै कलात्मक लागे । यी साङ्हरु पनि कोही खरानी रङ्का छन्, कुनै रातो रङ्का छन् कुनै गेरु रङ्का छन् कुनै त सेता पनि देखिए । यी चट्टान हुन् या माटो हुन् भन्न सकिएन । तर कुनै कलाकारले वर्षौ लगाएर पहाडमा कोपेर बनाइएका अमूर्त कलाजस्ता देखिन्छन् । कालीगण्डकी पारिपट्टिका यिनै कलामय पहाडले एकोहोरो आँखा तानिरहे ।

दाहिनेतिरबाट आएको एउटा खोला यहाँ कालीगण्डकीमा मिसियो । यो खोलामा पानी त कालीगण्डकीको भन्दा सफा र सेतो नै रहेछ । त्यही खोलामाथि बन्दै गरेको पुलमा उभिएर फोटो खिच्यौं । प्रहरी पोष्टमा गाडीको नम्बर लेख्ने र यात्रु गन्ने काम भयो । पुलको पारिपट्टिको होटलमा अरुले खाना खाए । मैले र लीलाभाइले चिया पियौं ।

छुक्साङ् छाडेर कालीगण्डकी तरेपछि बाटो चैलेको गाउँतिर उकालो लाग्यो । दक्षिणपट्टिको रातो पहाडले आफ्नो रङ् छरिरह्यो । चैले मुन्तिरको खोल्सामा उभिएका छ वटा पीपलका बोटले बताससित लय मिलाएर फिरफिर गरिरहे । पर दायाँतिरको दृश्यले झन् कुतुहल थप्यो मनभरि । माथितिरबाट आएको फराकिलो कालीगण्डकी यहाँनिर आएर साँगुरिदैसाँगुरिदै पहाडभित्र लुक्न गएको छ । अघि देखिएको रातो पहाडको मुन्तिर गल्छी बनाएर फेरि अर्को पट्टिबाट निस्किएर उस्तैगरि दुगुर्दै फराकिलो बन्यो । त्यही साँगुरो गल्छीनिर पुरानो बाटोको काठेपुल देखियो र काठेपुलको वल्तिरको ठूलो पुलबाट हाम्रो जीपले कालीगण्डकी तरेको हो । यो दृश्य माथिल्लो मुस्ताङ्लाई चिनाउने चिनारीको रुपमा धेरै ठाउँमा प्रकाशित र प्रसारित हुँदै आएको दृश्य हो । कतै देखेदेखेजस्तो परिचितपरिचित जस्तो लागिरह्यो यो दृश्य ।

चैले पनि वरिपरि पीपलका अग्लाअग्ला रुखले घेरिएर माटे पाखोमा थपक्क बसेको छ । परपरका कोप्चामा हरिया खेतबारी देखिए तर वरिपरिबाट चैलेलाई पनि मरुभूमिजस्ता माटे पहाडले नै घेरेका छन् । त्यही पहाडको माझैंमाझ एउटा डोरीजस्तो बाटो देब्रेतिर तन्कियो ।

‘घ्याकर जाने बाटो हो त्यो’ देखाए चालकले । जोसजोमबाट हिड्दा त यी चालक निकै घमण्डी र रिसाहाजस्ता देखिएका थिए । बाटो काट्दै गएपछि, बोल्दै गएपछि यिनले पनि आफ्नो स्वभाव फेर्दे ल्याए । अहिले त हाँसेरै कुरा गर्न लागेका छन् । जहाँनिर भन्यो त्यहाँनिर जीप रोकी दिन्छन् । हामीलाई ठाउँ पनि चिनाइरहेका छन् । ‘मान्छेले एकैसाथमा धेरैथरि स्वभावलाई बोकिरहेको हुन्छ । ती मध्ये सबैभन्दा बलियो एउटा मात्र स्वभावले नै त्यो मान्छेको व्यक्तित्व निर्माण गरेको हुन्छ’ स्वामी अवधेशानन्द महाराजका वाणि सम्झिएँ । यिनको नाम अर्जुन मगर रहेछ । बागुलङ् रहेछ यिनको घर । अघिको रिसाहा स्वभावलाई बिर्सेर यिनले यही फरासिलो स्वभावलाई आफ्नो व्यक्तिको आधार बनाइरहुन् । मैले कामना गरिरहें ।

नाङ्गा पहाडका छातीभरि फन्फनी घुमिरहने बाटोमा आफ्नै लयमा कुदिरह्यो जीप । भर्खर खाना खाएका यात्रुहरु उङ्न थाले । म र अर्जुनमात्रै जागै छौं । उनको ध्यान बाटोमा छ भने मेरो ध्यान परपरका भूदृश्यमा डुलिरहेको छ ।

‘वर्षको छ महिनासम्म त यी सबै भूभागहरु हिउँमा डुबेका हुन्छन् । फेरि छ महिना उस्तै शुष्कताले छोप्छ । यहाँका मानिसहरुको लागि हिउँ पर्नु शुभ हुन्छ भने हामी ड्राइभरहरुको लागि त यस्तै नाङ्गै मौसम शुभ हुन्छ’ आफ्नै सुरमा बोलिरहेका छन् अर्जुन । छ महिनासम्म हिउँमा डुबेका पाखाहरु कति छिटै उजाड भएछन्? कहाँ गयो होला त्यो हिउँ? हिउँले कुनै चिस्यान, कुनै आद्र्रता, कुनै रसिलोपन त छाडेर जानु पर्ने? कहिल्यै पानीको मुख देख्न नपाएका यी प्यासी पहाडहरुले हिमाललाई कहाँ लगेर लुकाए होलान् ? म आफैसित प्रश्न गरिरहेको छु ।

आइपुग्यो समरगाउँ । छुक्साङ्का भित्ते कलाले अचम्मसित लोभ्याएका थिए । समरको भूदृश्यले त्यसैमा अर्कै रोमाञ्चकता थपिदिए । बादलले ढाकिएका माथिमाथिका अग्ला चट्टाने पहाडलाई हेरेर आफै मोहित भएर चहकिलो घाममा आङ् तानिरहेको छ समर ।

समरमा जीप रोकायौं हामीले । कोही जिउ हलुङ्यो पार्नतिर लागे । कोही चिया पिउन थाले । लीलालाभाइ र म त भर्खर दाम्लोबाट फुत्किएको बाख्राजस्तै कुद्न थाल्यो समरका ढुङ्गे पाखामा । उफ्रिन थाल्यौं पिजडाबाट फुत्किएको चराजस्तै भएर । यता हेरौं कि ? उता हेरौं ? अलमलिए आँखा पनि ।

बादलले ढाकिएका माथिमाथिमा थुम्काहरु लजाइरहे । हामीले क्वारक्वार्ती हेरिरहे पनि घुम्टो खोलेन बादलले । वरपरका होचा पाखाहरु भो सर्वाङ्ग उदाङ्ग छन् । भर्खर जोतेर, माटो सम्याएर मिलाएजस्ता सर्लक्क परेका देखिए गराहरु । खेतका माझमाझमा मल ल्याएर थुपारेजस्ता आकृतिले आँखा ताने ।

‘ती कहाँ मल हुनु ? ती त नीलकांँडाका झ्याङ् हुन्’ सुनाए रेशम क्षेत्रीले । ओहो प्रकृतिको कला पनि कस्तो विचित्र ! झ्याङ्भन्दा पनि यिनलाई भुइँबुट्यान भन्न सुहाउला । छुक्साङ्का साङ्भन्दा समरका झ्याङ् त झन् सुन्दर रहेछन् । भुइँमै हराउलान् जस्ता यी झ्याङ्को दृश्य नै समरको शोभा हो । याक, चौरी, भेडा, घोडाको आहारा पनि नीलकाँडाको यही बुट्यान रहेछ ।
समरगाउँको माथितिर तीन्टा फन्को मारेर बाटो उकालो लाग्यो । पहाडी टुप्पोलाई बादलले ढाकेकै छ । छङ्छङ् बगिरहेको खोलाले ध्यान तान्यो । ‘झोखाला हो’ चिनाउँदै छन् अर्जुन । त्यही बादलभित्र लुकेको पहाडभित्र कतै मूल फुटेर आएको होला यो झोखोला । हामी हिडिरहेको सकडबाट देखिएको झोखोला त कतै छहराजस्तो देखिन्छ कतै छाँगाजस्तो देखिन्छ । झोखोला अलि तल गएपछि खोला बन्दोरहेछ यहाँनिर त झरनाजस्तै देखियो । जोमसोमभन्दा यता यस्तो सफा र सेतो पानी बगेको खोला देखेको यो पहिलो हो । झोखोलाले समरगाउँलाई रसिलो बनाउनमा कुनै अल्छी गरेको छैन ।

हिमालको यति अग्लो ठाउँमा आएर हिमालको दर्शन गर्न भने पाइएको छैन । मरुभूमिनै मरुभूमिले घेरिएको माथिल्लो मुस्ताङ्बाट कहाँ हराएर गएछन् सेता हिमालहरु? माथिल्लो मुस्ताङ्को भूगोलमा आफ्नै गणित छ । बादलले घेरिएका अग्ला पहाड हरिया देखिन्छन् । बादलले फर्केर पनि नहेर्ने होचा पहाड डढेलो लागेर जलेर बाँकी रहेको नाङ्गो ठाउँजस्ता देखिन्छन् । बादलले घेरेका पहाडहरुको बनोट चट्टानी छ । चट्टानमा त पानीको स्रोत पनि भेटिन्छ । नाङ्गो बाटो मात्रै भएको भुभागमा त पानी पनि नदेखिने रहेछ । उहींनिर उहींनिर पनि कति भिन्नता छ प्रकृतिको बाँडफाँडमा !
माथिल्लो मुस्ताङ्को कुरा गर्दा मान्छेहरु लोमान्थाङ्कै धेरै चर्चा गर्छन् । यति राम्रो समरको चर्चा किन नगरिएको होला ? धूपीका अग्लाअग्ला बोटले घेरिएको छ समरको माथिल्लो पाखो । पानी पर्दैन भनेर चिनिएको मुस्ताङ्को यो ठाउँमा त सिमसिम पानी परिरहेको पो भेट्यौं । भेडा र भेडा चराइरहेका गोठालाले बाटो ढाकिएको छ । हर्न बजाउँदा पनि नटेर्ने । बाटोमा आफ्नै रजाई भएजस्तो । पानी परेको चिप्लो बाटो, साँगुरो ठाउँ र तलतिर हेर्दा जिरिङ्ग आङ हुने भिरालो । ‘अपर मुस्ताङ्को सबैभन्दा अग्लो बाटो यही हो’ झन् तर्सायो चालकको कुराले ।

झोखोलाको भीर काटेपछि आयो फेरि उस्तै मरुभूमि । उस्तै माटो थुपारेकाजस्ता विहङ्गम दृश्य । भेना नामको सानो गाउँ आयो । दुईटा घर रहेछन् तर मानविय चहलपहल भने केही देखिएन । फेरि तीन वटा घर भएको सानो गाउँ आयो । साङ्बोचे रहेछ यसको नाम । देब्रेतिर ताम्ता गाउँ जाने गोरेटो लाग्यो । हल्लिदैहहिल्लदै घिलिङ् पुग्यौं । घिलिङ् भने ठूलै रहेछ । खोलाको छेउमा रहेको यो गाउँमा भने हरियाली देखियो । हरिया काँडेदार झ्याङ् उमे्रको फराकिलो फाँटको छेवैछेउ बाटो उभोउभो लाग्यो । छुङ्खर पुग्यौं । यो गाउँमा एउटा घर र एउटा छोर्तेनमात्रै रहेछ । छुङ्खरको पल्लो टोलमा तीन ओटा घर देखिए । वरिपरि सेतो माटो, सेता चट्टान र सेता पाखाहरुले उज्यालो छरिरहेका छन् । परपरका पाखाहरुमा हरियालीको कुनै उपस्थिति छैन । कतै माने, कतै छोर्तेन र कतै गुम्बाका आकृति भने देखिएकै हुन्छन् ।

उजाड र निरस भूगोलको छाती चिर्दै कुदिरहेको बाटोले हामीलाई घमी पु¥यायो । फराकिलो घमीको हरियो फाँटले मनै हरियो भएर आयो । मरुभूमिनै मरुभूमिले घेरेको भूगोलको माझमाझमा यस्ता ससाना हरिया फाँट देखिए भने मन पनि हरियो भएर आउँदो रहेछ । जहाँ पानीको स्रोत भेटिन्छ त्यस्ता ठाउँलाई बस्ती र खेतबारीमा रुपान्तरण गर्न यहाँका मानिसले भरमग्दूर प्रयत्न गरेकै छन् । घमीका घर र देवालयले पनि आफ्नै आकर्षण पस्किए ।

बाटोमा कतै कोसेढुङ्गो र नामपाटी छैनन् । कति किलोमिटर कुदियो र कुन ठाउँ पुगियो भनेर जानकारी पाउने हाम्रो स्रोत बनेका छन् केवल यिनै अर्जुन । वर्षौदेखि यो बाटो ओहोरदोहोर गरेका यी युवालाई यहाँका हरेक कुरा कन्ठै छन् । पछिल्लो सिटको ढोकापट्टि बसेका एकजना बृद्ध यात्रु पनि बेलाबेला हामीलाई केही सुनाउछन् । नत्र आँखा चिम्लेर उघिरहन्छन् ।

घमीबाट फेरि उकालै लाग्यो बाटो । सानो खोला पार ग¥यौं । फेरि झनै उकालोे लाग्यो । रातो चट्टानको मुन्तिरबाट ढकमर जाने बाटो छुट्टियो । खरानी खोस्रेका पहाड, भरखर जोतेका जस्ता भूभाग, उस्तै नीलकाँडाका ससाना झ्याङ्हरु देखिए वरपर । कति हेर्नु उस्तै दृश्य ? कतै त झुलुक्क हिमाल हेर्न पाए पनि हुने ? कहाँ गएर लुके होलान् साउनको महिनामा मुस्ताङ्का हिमालहरु ?
हल्लिदैहल्लिदै चराङ् पुग्यौं । गाउँको शुरुमै पहेलो रङ्को विशाल भवन देखियो । गुम्बा, धर्मशाला र विद्यालय सबै यही भवनमा छन् रे । त्यही भवनको अघिल्तिरबाट दामोदर कुण्ड जाने बाटो दाहिने तेर्सियो । धीगाउँ र यारागाउँ पनि त्यतै पर्छन् रे । दामोदर कुण्ड जाने अव्यक्त र सुशुप्त परिकल्पना त मैले पनि मनभित्र बनाएर आएको छु । हिजै मैले फेसबुकमा सुस्मिता धितालले पोष्ट गरेका दामोदरकुण्डका चित्रहरु हेरेपछि म झन् हौसिएको छु । पोहोर साल फेसबुकमैं ऋतु सेनले पोष्ट गर्नु भएका दामोदरकुण्डका श्रव्यचित्र र दृश्यचित्रमा हिउँ नै हिउँ देखिएको थियो । यो पाली हिउँको नामचिन्ह केही रहेन छ । हिउँविहिन दामोदरकुण्डमा म पनि पुग्न सक्छु कि? भन्ने आशा जागेको छ । पाखेराबाट फोन गरेर रामचन्द्र आचार्यसरले भन्नु भएको कुराले पनि मलाई उत्साहित पारेको छ— अपरमुस्ताङ पुगेर पनि दामोदरकुण्ड नजाने हो भने सो यात्रा अधुरै मानिने छ कोपिलाजी !’ । हेरौं भगवानले के गर्नु हुन्छ? के गराउनु हुन्छ ?

अरु चराङ्को खुला बतासमा रमाउन थाले । मभित्र भने यस्तैयस्तै कुरा खेलिरहे । चराङ्को माझैबाट कलकल बग्दै कुलो बगिरहेको छ । मुसुक्क मुस्कुराइरहेका छन् घाम । सिरसिर चलिरहेको छ बतास । फिरफिर गर्दै हल्लिरहेका छन् पीपलका पात । उज्याला र सेता हिमाली घरहरुका ताँती । ढुङ्गाले चिनेका पर्खाल । उस्तैउस्तै दृश्य भए पनि चराङ्ले आफूलाई फरक देखाउने प्रयत्न गरेकै छ । वरिपरिका शुष्क पाखाहरु पनि चराङ्लाई हेरेर मोहित भएझैं छन् । चराङ्मा पोखिएको यो हरियो रङ् परपरका पाखाहरुमा पनि लगेर छर्न पाए कस्तो हुँदो हो ? यही सोच्दासोच्दै चराङ् पनि पार ग¥यौं । चराङ्बाट ओरालो लागेर एउटा खोला त¥यौं । यो खोला अलि तल भएर कोरोलाबाट आउने खोलामा मिसिन्छ रे । त्यो खोला दामोदरकुण्डबाट आउने खोलामा मिसिन्छ रे । अनि बन्छ रे कालीगण्डकी ।

उस्तै धुलो उड्ने बाटोमा हल्लिदैहल्लिदै थुर्लुङ् पुग्यौं । वरिपरि नाङ्गा थुम्काहरुले घेरिएको थुर्लुङ् त नदीको बगरजस्तो ठाउँ रहेछ । तर नदी भने देखिएन । बालुवाजस्तो लाग्ने माटो छरिएको छ फाँटैभरि । नेपाली सेनाको नारायण दल गणको सानो व्यारेक रहेछ यहाँ । सेनाले अनेक थरि बोटबिरुवा रोपेर फाँटलाई सिगार्ने भरमग्दुर प्रयत्न गरेको रहेछ । ससाना बोटविरुवाहरु अहिले हिमाली बताससंग लय मिलाएर बाँच्ने अभ्यास गरिरहेका छन् । हिउँ परेपछि आफ्नो प्राण जोगाउन सक्लान् कि नसक्लान् ? भन्न सकिन्न । हामीसंगै यात्रा गरिरहेका केदार पाख्रेल ओर्लिए यहाँ । उदयपुर घरबाट बिदा मानेर फेरि यहाँ आफ्ने सेवामा हाजिर हुन आएका रहेछन् । जीपभरि कुराकानी भयो । गोरु बेचेको साइनो लगाउँदालगाउँदै लीलाराज दाहालभाइको त उनीसित नाता नै पर्ने रहेछ । उनी ओर्लिएपछि जीपभित्र अलिकति खुकुलो त भयो तर यत्रो लामो यात्रा संगसंगै गरेर आएको एउटा साथी छुट्टिदा नियास्रो पनि लागि हाल्यो ।

थुर्लुङ्भन्दा अगाडिको बाटो झन् धुलैधुलोले भरिएको रहेछ । बतास चल्ने क्रम पनि बढेजस्तो लाग्यो । बारह बजेपछि बतासको बेग बढ्ने रहेछ हिमालमा । वरपरका पाखाहरु पनि बतासले उडाएको धुलोभित्र डुबेका छन् । बाटोको छेउमा सुङ्दा छोर्तेन नामको देवालय आयो । छोर्तेन भनेको सानो आकारको मन्दिर नै हो । छोर्तेन आएपछि हिमालतिर गाउँ आएको संकेत दिन्छन् । छोर्तेनले गाउँको सुरक्षा गर्छ भन्ने आस्थाले प्रायः डाँडा, थुम्का वा परैबाट देखिने कुइनेटोमा बनाइएका हुन्छन् छोर्तेन । छोर्तेनजस्तै देखिन्छन् मानेहरु पनि । माने अलि एकान्त र अग्लो डाँडोमा बनेका हुन्छन् । माने भनेको त मान्छेलाई गाडिएको चिहान हो ।

सुङ्दा छोर्तेनलाई ढोगेर अघि बढ्यौं । एउटा डाँडाको कुइनेटोनिर पुगेपछि एककासी लीलाभाइ चिच्याएको सुनियो— ‘ओहो ! कस्तो पहेलो फाँट !’ माटे पहाडतिर डुलिरहेका मेरा आँखा त्यही दृश्यतिर सोझिए । ‘लोमान्थाङ् आइपुग्यो’ बोले अर्जुन । छ्याङ्गै देखियो लोमान्थाङ्को रहरलाग्दो उपत्यका । कुतुहलता र जिज्ञासाले भरिएको भूमि । हिमाली साङ्रिलाको जीवन्त उदाहरण । हेरेका हेरेई भए आँखा ।

खोलाको डिलनिर पुग्यौं । हामीसितै यात्रा गरिरहनु भएका एकजना वृद्ध यात्री छिमिक रिन्जिन गुरुङ्का अनुसार डोक्पोल्हो रहेछ यो खोलाको नाम । शुद्ध उचारण गर्न सकेन मेरो जिब्रोले । खोलातिर ओर्लिनुअघि निर्मिमेष हेरिरहेँ एकछिन लोमान्थाङ्लाई । भिरालोभिरालो परेको उपत्यका । ढुङ्गे पर्खालले घेरिएका खेतबारी । पहेलपुर तोरी, हरिया अन्नपातले टमक्क भरिएका बारी । फापर फुलेका सेता र राता रङ्का फूलहरु । ढुङ्गे पर्खालले घेरिएका बारी । बारीभित्र अर्को पर्खाल । पर्खालभित्र अर्को पर्खाल । त्यो पर्खालभित्र राता र सेता रङ्का ठूलाठूला घर र गुम्बाका आकृति । साँगुरो गरि एकै ठाउँमा डल्लो परेको बस्ती
। परपर सयौं राता, सेता, पहेंला, गेरु रङ्का माटे पहाडले यो ठाउँलाई पहरा दिइरहेजस्तो भान प¥यो । आफैमा डुबेर ध्यानस्थ भएजस्तो लाग्यो लोमान्थाङ् ।
डोक्पोल्हो खोलाको साँगुरो पुल त¥यौं । अलिकति उकालो उक्लियौं । डिलनिर देखियो हिमाली कलाले सुशोभित अग्लो स्वागतद्वार । त्यो द्वारभित्र प्रवेश गरेपछि टेकियो लोमान्थाङ्को भूमि । पर्खालभित्र आफ्नो छुट्टै संसार समेटेर बसेको रहस्यमय ठाउँ । जोमसोमबाट ५९ किलोमिटर कुदेर पुगिएको हाम्रो जिज्ञासु गन्तव्य ।

लोमान्थाङ्को चोकमा रोकियो जीप । खत्राकखुत्रुक ओर्लिए यात्रुहरु । नेचुङ्स्थित सशस्त्र प्रहरी बलको पोष्टमा जाने चार जना मित्रहरुलाई लिन आएको रहेछ जीप । फोटो खिच्यौं र नमस्ते गरेर छुट्टियौं । ‘छोटी सि दुनियाँ है कहीं न कहीं मुलाकात हो जाएगी’ भनि हालें मैले । गललल हाँसे सबैजना । त्यस जीपैमा चढेर हुरुरुरु गए अघिसम्मका रहरिला साथीहरु । हाम्रै सहयात्री छिमिक रिन्जिन गुरुङ्ले आफ्नो छोराको होटलमा बस्न आमन्त्रण गर्नु भो हामीलाई । होटल खोज्दै भौंतारिनुभन्दा हामी त्यतै लायौं । बस्तीको पूर्वपट्टि एकान्त ठाउँमा एउटा कलात्मक र भव्य भवन रहेछ तासेदेलेक अतिथिगृह । छेवाङ् गुरुङ् र कार्चेङ् विष्ट नाम गरेका हँसिला जोडीको अतिथि बनेर भित्रियौं हामी ।

बासको प्रबन्ध त भयो । अब लोमान्थाङ्को परिभ्रमण कहाँबाट आरम्भ गरौं ? एकोहोरो चलिरहने चिसो बतासलाई झेल्दै वरपर डुल्नु छ । लोमान्थाङ्को प्रकृतिसित एकाकार हुनु छ । यसको इतिहासलाई खोतल्नु छ । यहाँको मौलिक संस्कृतिलाई छुनु छ । मरुभूमिको माझमा टुक्रक्क बसेको ध्यानस्थ लोमान्थाङ्को ध्यान भङ्ग गर्नु छ ।
परपरबाट दौडिदै आएको चिसो बतास वर्षौपछि भेटिएकी प्रेमिकाले जस्तै छाती भित्रैसम्म पुगेर काउकुति लगाउन थालिसक्यो । तर हिमाल नाघेर यति वर आइसक्दा पनि अझैंसम्म देख्न पाइएको छैन हिमाल ।

खगेन्द्र गिरि कोपिला’

मरुभूमिमा हिमाल खोज्दै

खगेन्द्र गिरि कोपिला’