लजालु लोमान्थाङ्

खगेन्द्र गिरि ‘कोपिला’
२ भाद्र २०८०, शनिबार
लजालु लोमान्थाङ्

लजालु लोमान्थाङ्

‘पहिले ग्यालखाङ् हेर्न जानु डाई’ तासेदेलेक अतिथि गृहकी साहुनी कार्चेङ् विष्टले भनेकी थिइन् चिया पिउँदै गर्दा । तर मैले ग्यालखाङ् भनेको बुझिनँ ।
‘ग्यालखाङ् भनेको दरवार हो अङ्कल’ सजिलो पारिदिइन् उनकी सहयोगी केशमाया बुढामगरले । लोमान्थाङ्को भूगोलभन्दा धेरै चाखलाग्दो छ यहाँको संस्कृति पनि । त्यो संस्कृति जोडिएको छ यहाँको राजपरम्परासंग । त्यही राजपरम्पराका विष्ट राजा बस्ने दरवारलाई ग्यालखाङ् भन्दारहेछन् । लोमान्थाङ्लाई सबैभन्दा धेरै चिनाएको यहाँका राजाले नै हो । सर्वप्रथम उनै राजाको दरवार नै हेर्नु प¥यो । ‘हिड्नु भाइ ग्यालखाङ् नै जाउँ पहिले’ मेरो प्रस्तावमा लीलाराज भाइले पनि लजालु प्रेमिकाले जस्तै गरि सहमति जनाउँदै मुन्टो हल्लाए ।
तीन हजार आठ सय चालिस मिटरको उँचाईमा रहेको लोमान्थाङ्मा लेक लाग्ने समस्याले छुने हो कि भन्ने भयले पनि सताइरहेको छ । तैपनि मनका उत्सुकताहरु ज्वारभाटा बनेर उर्लिरहेका छन् छातीभित्र । सानो र साँगुरो ठाउँ । धेरै छन् कोट्याउनु, खोतल्नु र हेर्नु पर्ने कुरा । विवाहको प्रथम दिनकाजस्तै जिज्ञासाले थिचिरहेका छन् एकोहोरो । लजालु लोमान्थाङ्को घुम्टो उघार्न थालेपछि झन् के के हुने हो !


पर्खालैपर्खालले घेरिएको लोमान्थाङ् बस्तीको भित्रपट्टि पुग्दा बाटो पहिल्याउन नसकेर हामी एकछिन अलमलियौं । लखनौंको भुलभुलैयाजस्तै रहेछन् यहाँका पर्खाल र बाटाहरु ।
‘खोई कता हो ग्यालखाङ् दरवार जाने बाटो?’ सोधेँ एकजना युवालाई ।
‘ती देखिने होचाहोचा छतहरु जनताका र अग्लाअग्ला छतहरु दरवारका त हुन् नि ! ऊ त्यो गोजोकबाट पस्नु होस् भित्र !’ उनले देखाइदिए घरैघरको लामो पङ्क्ति । ढुङ्गा ओछ्याइएको साँगुरोसाँगुरो बाटो भएर हामी दरवारको ढोकानिर पुग्यौं । गोम्जोक भन्दारहेछन् ढोकालाई ।
ठूलो छोर्तेन र अग्लो गोम्जोक पार गरेर भित्र पस्यौं । गोम्जोकबाट भित्र पस्ने बित्तिकै स्वर्गीय राजा जिग्मे दोर्जी पलबर विष्ट र रानी सिदोलको चित्रलाई आँगनमा सजाएर राखेको देखियो । फोटोको माथिपट्टि लामाहरुका फोटो र अझमाथि बुद्ध भगवानको मूर्ति सजाइएको छ । सेतो खाँदाले सजाइएको सो चित्रमा ढोग्यौं हामीले पनि ।
आँखा अघिल्तिर उभियो सेतो रङ्को चारतले विशाल दरवार । सेतो माटोले पोतेको अग्लो पर्खाल । जतनले बुट्टा भरिएका ठूलाठूला झ्याल । अलि फराकिलो पटाङ्गिनीपट्टि दरवारको मूल द्वार । ढोका त झन् झ्यालभन्दा धेरै कलात्मक पो लाग्यो । लोमान्थाङ् पुगेदेखि मलाई दिशाभ्रम भएको छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण कता हो? मैले राम्ररी भेउ पाउन सकेको छैन । दरवारको मूलद्वारनिर उभिएर फोटो खिच्दा उल्टो प्रकाश परेकोले यो द्वार पूर्वतिर फर्केको रहेछ भन्ने अनुमान गरेँ ।
पटाङ्गिनीको पेटीमा बसेर केही मान्छे घाम ताप्दै छन् । हामी त्यतै लाग्यौं । एउटी युवती भेटिइन् । उनी दरवारकै एउटा कोठामा पसल थापेर क्युरियोका सामान बेच्दिरहिछिन् । उनैले सुनाइन् दरवारको वारेमा । ‘यो राजदरवार मुस्ताङ्का प्रथम राजा अमदपालले पाँचसय वर्षअघि बनाउनु भएको हो । २०७२ सालको महाभुकम्पमा यो दरवारको भित्रपट्टि क्षति भएपछि राजपरिवार लोमान्थाङ् गाउँभन्दा पश्चिमतिर बनेको अमदपाल रोयल रेजोर्टमा स¥यो । सांस्कृतिक उत्सवहरु गर्नु प¥यो भनेमात्र राजा यहाँ आउनुहुन्छ । कागजी रुपमा नेपालमा गणतन्त्र आइसके पनि हामी लोमान्थाङ्का जनताको मनबाट आफ्नो राजाप्रतिको आस्थामा रत्तिभर पनि कमी भएको छैन । पिता जिग्मे दोर्जी पलबर विष्टको २०७३ सालमा निधन भएपछि छोरा जिग्मे सिङ्गी पलबर विष्टले अचेल राजाको दायित्व निभाइरहनु भएको छ । अस्ती असारमा सम्पन्न भएको युवराजको विवाहमा देखिएको जनसहभागिताले राजाप्रतिको हाम्रो सांस्कृतिक सम्बन्धलाई झन् उजागर गरेको छ’ । ती युवतीले फररर सुनाइन् यहाँको संस्कृति र राजाको अन्तरसम्बन्धको निचोड । चाख मानेर सुनिरह्यौं हामीले ।


अचेल आगन्तुकहरुलाई पनि दरवारभित्र पस्न निषेध रहेछ । दरवारको भित्र पस्न नपाइएपछि बाहिरबाट हेर्ने कुरा धेरै छैनन् । हिमाली कलाले सिगारिएका ढोका र झ्याल, सेतो रङ् पोतिएका पर्खाल र ढुङगे पटाङ्गिीहरु नै देखिए परपरसम्म ।
‘दरवार यही हो पछाडिपट्टि तीन ओटा गुम्बा छन् त्यो हेर्न जानुहोस् दाइ’ भनेर उनैले बाटो देखाइदिइन् । दरवारलाई चारैतिरबाट परिक्रमा गर्ने साँगुरो बाटोमा हिड्न लाग्यौं हामी । ढुङ्गा ओछ्याइएको साँगुरोसाँगुरो बाटो । अग्लाअग्ला पर्खालले घेरिएर हिड्दा निसास्सिनेजस्तो । बतास छेल्न बनाइएका पर्खालले सुरक्षा पनि गरेका छन् दरवारको । परबाट कुनै बडेमानको याक वा घोडा आयो भने कता ओत लागेर जोगिने होला? भन्दै एउटा अज्ञात भयले समात्यो हामीलाई ।
साँगुरैसाँगुरो बाटो भएर पुग्यौं थुप्चेन गुम्बा । निकै पुरानो जीर्णजस्तो देखिदै छ गुम्बा । एकजना युवा लामाले ढोका खोलेर हामीलाई भित्र लगे । भित्र पसेपछि देखियो विशाल सभाकक्ष । अँध्यारोअँध्यारो सभाकक्षको छेउमा देखियो गौतमबुद्धको विशाल मूर्ति । भित्ताभरि सजाइएका छन् कलाकृति र लामाका सयौं मूर्तिहरु । शान्त र मौन छ भित्रको वातावरण । यहाँ राखिएका हरेक कुरा त्यो विशाल बुद्धमूर्तिजस्तै ध्यानमै डुबेकाजस्ता । अनेकथरि फूलबुट्टा भरिएका ठूलाठूला थाङ्काले भित्ताहरु सुशोभित छन् । भुइँभरि बेन्च र टेबिल ओछ्याइएका छन् । टेबिलभरि दीयो, कलश र पुस्तकका चाङ् देखेर रमाइरहे आँखा ।
थुप्चेन गुम्बाबाट निस्किएर छेवैको झाम्पा गुम्बा गयौं । यो गुम्बाको भित्रपट्टि पनि छ उस्तै अन्धकार र उस्तै मौनता । उस्तै ठूलो सभाकक्ष । उस्तै सजावट र उस्तै कलाकृति । त्यही कक्षको छेउमा सुशोभित छ मैत्रेय बुद्धको विशाल मूर्ति । यहाँ पनि उनै लामाले केही नबोली दर्शन गराइदिए । झाम्पा गुम्बाको भित्तामा चित्र कुदिरहेकी एकजना महिलाले हामीलाई टिकट मागिन् । टिकट त हामीसित थिएन । लोमान्थाङ्का प्राचीन तीन ओटा गुम्बाको दर्शन गर्नको लागि एक सय रुपियाँको टिकट लाग्दोरहेछ । उनै महिलाले दुई ओटा टिकट त्यही काटिदिइन् ।


थुप्चेन गुम्बाजस्तै झाम्पा गुम्बाको साजसज्जा र वनावट पनि भव्य लाग्यो । दुबै गेरु रङ्ले पोतिएका छन् । यहाँका विशाल मूर्ति, ठूलाठूला थाङ्का र भित्तामा कुदिएका चित्र त महिनौं लगाएर हेरे पनि हेरेर नसकिने रहेछन् । आस्था र कलाका साझा सङ्ग्रहालय नै हुन् यी गुम्बाहरु ।
छ्योदे गुम्बा भने अलिकति पर रहेछ । यस गुम्बामा श्री शाक्यमुनि बुद्धको विशाल प्रतिमा छ । गुम्बाभित्रका मूर्ति र कलाकृतिहरु भने सबैतिर उस्तैउस्तै लागे । गुम्बा परिसरमैं रहेको श्री महाकरुणा शाक्यप्पा विद्यालय नामको बौद्ध दर्शन पढाई हुने विद्यालयको भव्य भवन पनि देख्यौं । हामी पुग्दा वाद्यवादनका साथ प्रार्थना हुँदै थियो । यहाँ भेटिए अघिका भन्दा झनै युवा लामा । उनले ढोका खोलेर गुम्बाको दर्शन गराइदिए । वरपर डुलाएर सबै संरचनाहरुको परिचय गराइदिए । छ्योदे गुम्बाको छेवैमा रहेको छोप्राङ् गुम्बा र बाटोको पूर्वपट्टिको गोगाङ् महाकलागुम्बा पनि उनैले घुमाइदिए । छोप्राङ् गुम्बाको भित्रपट्टि एकजना स्वर्गीय लामाको समाधि रहेछ । त्यस समाधिमाथि दीयो बालेर हामीले पनि ढोग्यौं ।
लीलाभाइ फोटो खिच्न लागे । म लागें यी युवा लामासित भलाकुसारी गर्न । नाम यिनको सोनाम वाङ्दी लामा रहेछ । हुम्लाको ह्याक्पा गाउँबाट आएर यहाँ कक्षा आठमा अध्ययन गर्दा रहेछन् । तर उमेर भने आठ कक्षा पढ्न सुहाउनेभन्दा अलि धेरै भैसकेकोजस्तो लाग्यो । ‘कति वर्षको हुनु भो नि?’ भनेर सोध्दा मुसुक्क हाँसेमात्रै उनी ।
‘पहिलेपहिले त स्थानिय भाषा नमिल्ने भएकोले गाहारो प¥यो । अचेल त बानी परिसक्यो’ सुनाए उनले आफ्नै कथा । नेपालको हिमाली क्षेत्रमा धार्मिक र सांस्कृतिक गतिविधिहरु तिब्बती भाषामा लेखिएका ग्रन्थहरुद्वारा हुने र धार्मिक विद्यालयमा तिब्बती भाषामा पढाई हुने भएकोले पूर्वपश्चिम जताका पनि धार्मिक अनुष्ठान उस्तैउस्तै हुन्छन् । तर ठाउँठाउँको स्थानिय बोली भने फरक हुन्छ । उनैबाट पाइयो जानकारी ।


लोमान्थाङ् उपत्यकालाई एकातिरबाट डोक्पोल्हो खोला र अर्कोतिरबाट न्यानोडोक्पो खोलाले पहरा दिएका छन् । डोक्पोल्हो खोला तरेर लोमान्थाङ् प्रवेश गर्दा ठूलो स्वागतद्वार देखिएको थियो । न्यानोडोक्पो खोला ओर्लिने डिलनिर भव्य छोर्तेन रहेछ । छेवा छोर्तेन नामको यो छोर्तेन रातो र गेरु रङ्ले सुशोभित छ । ‘उत्तरतिरबाट आउने नकारात्मक उर्जाहरु गाउँभित्र नपसुन् भनेर बनाइएको छोर्तेन हो यो’ सुनाए हातमा माला बोकेका एक जना वृद्धले ।
छोर्तेनको कला हेरेर हामी फेरि लोमान्थाङ्को साँगुरो बस्तीभित्र पस्यौं । साँगुरासाँगुरा पर्खालभित्र साँगुरै बाटो । जताततै घरैघर, ढुङ्गा ओछ्याइएका बाटा र पेटीहरु । तर जनसङ्ख्या भने सारै पातलो । युवा जनशक्ति त बाहिरैतिर छ । बुढाबुढीहरु पेटीमा बसेर घाम तापिरहेका भेटिए । सबैका हातहातमा माला हुन्छ र मन्त्र जपिरहेका हुन्छन् । लजालु लोमान्थाङ्वासीका ओंठबाट लजाएर बोल्ने विनम्रता र निश्छलता हराएको छैन अझैं ।
उत्तर दिशाबाट दरवारभित्र पस्ने बाहिरी द्वारनिरको घेकोमा बसेका छन् केही मानिसहरु । एउटा ठूलो छोर्तेन पनि छ ढोकैनिर । ढोकाको कुनोलाई घेको भन्दा रहेछन् । घेकोमा बसेर गफ गर्ने चलन रहेछ बुढाखाँडाहरुको । त्यही भेटिए ढुक्के विष्ट नाम गरेका एकजना वृद्ध । लोमान्थाङ् गाउँपालिकाको वार्ड ५ का अध्यक्ष रहेछन् अचेल ।
बाटोमा जताततै घोडाका सुकेका लिदि देखिए तर घोडा भने कतै छैनन् । याक र चौरी पनि हेर्न पाइएनन् । कतैकतै ससाना गाई डुलेका देखिए । ‘युट्युबमा मुस्ताङ्गे राजाका छोराको विवाहमा दुई सयभन्दा बढी घोडामा चढेर जन्ती गएको देखेको थिएँ । यहाँ त घोडा, भेडा, च्याङ्ग्रा कतै देखिएनन् तर बाटोभरि भने गोबरैगोबर मात्रै छ त?’ मैले सोधिहालें । ‘घोडा, याक र चौरीहरु मान्छेले पाल्न छाडिसके । जे जति छन् माथि पहाडतिर छोडुवा छोडिन्छन् । काम परेपछि गएर लिएर आउने हो’ सुनाए ढुक्के विष्टले ।
घेकोकै छेउमा एकजना एकजना युवासित भेट भयो । ‘तपाईलाई कतै देखेदेखेजस्तो लाग्यो नि भाइ?’ भनेपछि उनले भने ‘मेरो युट्युब च्यानल छ त्यसमैं देख्नु भयो होला !’ ।
यिनी क्युरियोको सामान बेच्दारहेछन् । लोमान्थाङ्को संस्कृति र भूगोलको बारेमा सोध्दा गर्दा यिनी उत्साहित नै भए । सबैभन्दा बढी यिनीलाई उत्साहित बनायो मुस्ताङ्गी राजपरिवारको बारेमा कुरा गर्दा । ‘मैले सम्पन्न भएको युवराजको बिहेलाई कभर गरेर युट्युबमा धेरै सामाग्री हालेको छु । एक युगमा एकपटक आउने दिन हो हेर्नु होला है सर’ गर्वको भावमा सुनाए उनले ।
तीन दशकभन्दा अगाडिसम्म त उपल्लो मुस्ताङ्लाई लुकेको भूमि वा लजालु थलो नै मानिन्थ्यो । त्यतिखेर सरकारी अनुमति पाएका मान्छेहरु भन्दा बाहेक अरुले यहाँ प्रवेश पाउँदैन थिए । २०४९ सालदेखि यो ठाउँ सबैको लागि खुल्यो । त्यसपछि पर्यटकहरुको ओइरो लाग्न थाल्यो । बिस्तारै आधुनिकताले थिच्दै ल्यायो । संस्कृतिको बन्धन साँगुरिदै गयो । तैपनि जुनसुकै उमेर र जुनसुकै स्तरको मान्छे भए पनि लोमान्थाङ्वासीहरु आफ्नो संस्कृतिको बारेमा बोल्दा उत्साहित भैहाल्दारहेछन् । ‘जहाँ पुगे पनि हामीलाई जोडेर राख्ने भनेको हाम्रो संस्कृति नै हो’ सबैको मुखमा झुण्डिएको छ यो वाक्य ।
हिमाली क्षेत्र आफ्नै मौलिक संस्कृति, कला र सभ्यताको भण्डार हो । दार्चुलादेखि ताप्लेजुङ्सम्मको हिमाली क्षेत्रमा वसोवास गर्ने मानिसहरुको भाषा, रहनसहन र चालचलनमा भिन्नता भए पनि उनीहरुलाई बौद्ध धर्मको बज्रयान परम्पराले एक सूत्रमा बाँधेको छ । बज्रयान परम्पराका पुस्तकहरु तिब्बतमा प्रचलित लिपि र भाषामा लेखिएका हुन्छन् । त्यही भएर नेपालको उत्तरी हिमाली क्षेत्रको संस्कृतिलाई तिब्बती संस्कृति पनि भनिन्छ ।
प्रायः नेपालमा हिमाली क्षेत्रलाई भोट र भोटमा वसोवास गर्नेहरुलाई भोटे भन्ने चलन छ । तर भोटे भन्ने शब्दलाई लोमान्थाङ्मा भने हेपेको अर्थमा लिँदारहेछन् । भोटे जाती, भोटे भाषा, भोटे संस्कृति भनेर चर्चा गर्दा यहाँका स्थानियहरुले मन नपराएको जस्तो अनुभव गरेँ । आफूलाई तिब्बती भन्दा विदेशबाट आएको जस्तो देखिने भएकोले तिब्बती भनाउन पनि असजिलो मान्दा रहेछन् ।
हिमाली क्षेत्रमा पुरुष र महिलाका नाम उस्तैउस्तै भए पनि थर र जात लेख्ने चलन हुँदैन । २०१८ सालको नागरिकता ऐनले नामसित थर पनि लेख्नु पर्ने भएपछि मुस्ताङ् र मनाङ्तिरका वासिन्दाहरुले विष्ट, गुरुङ् र अन्यत्रकाले लामा थर लेख्न थालेका हुन् । तर थर लेख्ने यस्तो चलन बसे पनि जात, संस्कृति र सभ्यतालाई जनाउने एउटा स्पस्ट शब्दको भने अभाव भैरह्यो । अलग्गै जातीय पहिचान भएका हिमाली क्षेत्रकै ब्याँसी, थकाली, शेर्पा र तामाङ्जस्ता जातीहरुलाई पहिचानको लागि शब्दको कुनै समस्या नभए पनि तिब्बती संस्कृति मान्ने र नामसित जात र थर लेख्ने चलन नभएको हिमाली क्षेत्रको विशाल समुदाय र संस्कृतिलाई कुन शब्दले संबोधन गर्ने भन्ने अलमल नै देखियो ।
‘सिङ्गो हिमालको संस्कृतिलाई एकताको सूत्रमा बाँध्नको लागि त भोटे संस्कृति वा तिब्बती संस्कृति नभनेर हिमाली संस्कृति भन्दा उपयुक्त हुने रहेछ’ मैले यसो भनेपछि ढुक्के विष्टले पनि सहमतिमा टाउको हल्लाए । सोनमजस्ता युवाले पनि हो हो भने ।
‘दाजु भोटे भन्ने शब्द त उच्चारण गर्न नहुने रहेछ यहाँ, अबदेखि हामीले हिमाली लेख्ने गर्नु प¥यो’ ग्यालखाङ्बाट फर्किदै गर्दा लीलाभाइले निकालेको निचोडमा मैले पनि सहमति जनाएँ ।
‘लोमान्थाङ् हेरिहाल्नु भो अब तातोपानी कुण्ड पनि पुगिहाल्नु होस्’ चिया पिउँदै गर्दा भनेका थिए छेवाङ् गुरुङ्ले ।
‘यहाँ पनि तातोपानी छ र?’ आश्चर्यमा परेका थिए लीलाभाइ । ‘छ नि भूलभूल गरेर तातो र नुनिलो पानी निस्किन्छ । गाईबस्तुलाई हामीले नुन खुवाउनै पर्दैन । त्यही गएर आफै पिएर आउँछन्’ जाउँजाउँ जस्तो लाग्ने गरि बेलीबिस्तार लगाएका थिए छेवाङ्ले ।
‘जाउँ न दाजु पुगेर आउँ । ट्रेकिङजस्तो पनि हुने, हाइकिङ् जस्तो पनि हुने’ तत्परता पोखियो लीलाभाइको ।
‘टाढा छ कि? धेरै हिड्न त सकिन्न होला’ मभित्रका जिज्ञासालाई थिच्न खोज्यो मभित्रकै आशंकाले ।
‘हैन ऊ त्यही कालीगण्डकीको छेउनिर त हो । हामी त आधा घण्टामा पुगेर आउँछौ । बढीमा एक घण्टा लाग्ला तपाइँहरुलाई’ देखाएका थिए पूर्वपट्टि औंला सोझ्याएर छेवाङ्ले । लोमान्थाङ्को तलपट्टि भनौं या पूर्वपट्टि भनौं फराकिलो फाँटको पहेंलपुर तोरीले मलाई हिजैदेखि लोभ्याइरहेको छ । तिनै बारी हुँदै तातोपानी जाने बाटो देखाएपछि मन उत्सुक भैहाल्यो । एक बोतल पानी र केही खानेकुरा बोकेर हिडि पनि हाल्यौं म र लीलाभाइ ।
लोमान्थाङ्को घना बस्तीभन्दा बाहिरको खुकुलो ठाउँमा नयाँनयाँ होटल बनिरहेका छन् । त्योभन्दा बाहिरको खुला बारीभरि तोरी र फापर फुलिरहेको दृश्यले लोमान्थाङ्को सौन्दर्यमा अर्को रङ् थपिरहेको छ । कलकल बगिरहेको कुलो र कतै तोरी त कतै फाँपर फुलिरहेका गह्राले परैसम्म पछ्याए हामीलाई । ढुङ्गाले चिनेका अग्लाअग्ला पर्खालले घेरिएका यी बारीहरुले लोमान्थाङ्को जीवनी धानिरहेका छन् युगौंदेखि ।
‘यही फराकिलो फाँटले लोभिएर हाम्रा पुर्खाहरुले यहाँ बस्ती बसाएका हुन्’ सुनाएका थिए ढुक्के विष्टले । पहेलों, सेतो, रातो र हरियो रङ्ले आफ्नो यौवन पोखिरहेका छन् वारीभरि ।
हामी तोरीबारी र फापरबारीका डिलैडिल हिड्यौं परैसम्म । डिलहरुले पनि अलमल्याउन थाले । पर बारीमा तीन जना महिला निहुरिएर काम गर्दै गरेका देखिए । गोडमेल गरेका होलान् या घाँस काटेका होलान् ।
‘तातोपानी जाने बाटो कता हो दिदी?’ चिच्याएर सोधे लीलाभाइले । उनीहरु एकै स्वरमा कल्याङ्मल्याङ् गरेर बोल्न थाले । उनीहरुले बोलेको हामीले बुझेनौं । हाम्रो अलमल लेखेर उनीहरु त झन् खितखित गरेर हाँस्न पो थाले । हामी आफ्नै सुरमा हिड्यौं ।
बारीको डिलमा पुगेपछि अग्लो पर्खाल भेटियो । त्यसलाई नाँघेर उतापट्टि झर्न सकस नै प¥यो । जसोतसो पर्खाल नाँघेर उतापट्टि झरेपछि लाग्यो ढुङ्गे ओरालो । अघिसम्म तोरी र फापरका फूलहरुले आँखामा शीतलता पोखिरहेका थिए । ढुङ्गे ओरालोले छुट्टै रहस्य थप्यो । देब्रेतिरबाट बग्दै आएको छ कालीगण्डकी । दाहिनेतिर बग्दै आएको डोक्पोल्हो खोला गएर मिसियो त्यही कालीगण्डकीमा । दुबै खोला एक अर्कोलाई अंकमाल गरेर फेरि पूर्वतिरकै गन्तव्यमा दौडिदै एकाकार भए । त्यसैको छेवैछेउ हामी हिडिरह्यौं ।
नदीको बगर भए पनि बाटो उकालो ओरालो छ । तलमाथि गर्दा श्वासप्रश्वासमा पनि तल माथि हुन लाग्यो ।
एउटा झोलुङ्गे पुल आयो । त्यो पुल तरेर पारि गयौं । पारिपट्टि अलि राम्रो बाटो आयो । त्यो बाटो कालीगण्डकीको छेवैछेउ पूर्वै लागिरह्यो । ठाउँठाउँमा कालो हिलो बगाएर ल्याएका खोल्सा भेटिए पनि हामी हिडिरह्यौं । चर्को घाम, बेतोडले चलिरहेको हावा, सुनसान र एकान्त ठाउँ । कहाँ जाँदैछौं भन्ने टुङ्गो नभएका मान्छेजस्तै एकोहोरो हिडिरह्यौं । तालको आकृति र कुण्डको आकार भने बाटो वरपर कतै भेटिएन ।
एक ठाउँमा ढुङ्गा थुपारेर बनेको चौतारोजस्तो ठाउँ देख्यौं । त्यताबाट देब्रेतिरको नाङ्गो पाखोको उकालोमा ढुङ्गा चिनेर बनाएको लामै सिढि देखियो । त्यसको माथिपट्टि देखियो एउटा गुफाको आकृति । चौतारोनिर छ ओटा सूचनापाटी पनि राखिएका देख्यौं । राखिएका भन्दा पनि फालिएका भन्दा हुन्छ । मारजोङ् गुफा, कोन्छोलिङ् गुफा, रफुक गुम्बा, छोजुङ् गुम्बा र ठिङ्गर गाउँ लेखिएका छन् सूचानापाटीमा । तर अरु सङ्केत चिन्ह भने केही देखिएनन् । त्यो दृश्यले पनि हामीलाई कुनै गन्तव्य दिएन । ताल वा कुण्डको आकृति नदेखिउञ्जेल हिडिरहनुको विकल्प भएन ।
चर्को घामको हिडाईले असिनपसिन भैसक्यो ज्यान । बोकेको एक बोतल पानी पनि सकिइसक्यो । पानी भरुँला भनेर सोचेको थिएँ । रित्तो बोतल बोक्नको झण्झट मानेर लीलाभाइले कता फालिहाले छन् । हिमालतिर हिड्दा पानी पिइरहनु पर्छ भन्ने भनाई छ । अब पानी नपिएरै हिड्नु पर्ने भयो । चिसो बतासको प्रहारलाई झेल्न मैले गलबन्दी बेरेर कान र घाँटी पुरै छोपेको छु । आँखामा चश्मा र मुखमा मास्क पनि लगाएको छु । लीलाभाइको ताल भने स्वच्छन्द छ । न मास्क न टोपी न गलबन्दी । ‘कान त छोप्नु न’ भनेर मैले निकै कर गरेपछि रुमाल बाँधेर कान त छोपे तर ‘केही हुन्न दाजु ! केही हुन्न दाजु !’ भन्दै हिमाली मौसमसित जुध्न खोज्ने उनको ढिपी अझैं छुटेको छैन । ‘चिसोले केही गरिहाल्यो भने यस्तो सुनसान ठाउँमा के गर्ने होला?’ भन्ने अव्यक्त भय चल्मलाइरहेको छ मेरो मनभित्रभित्र ।
देब्रेतिरबाट कालीगण्डकीमा मिसिन आएको एउटा खोलाले हाम्रो बाटो छेक्यो । खोलामा पानी भन्दा धेरै कालोकालो हिलो बगिरहेको छ । यो खोलालाई तरेर पारि जाने संभावना देखिएन । त्यही खोलाको डिलमा बसेर हामी खाजा खान थाल्यौं । लोमान्थाङ्बाट हिडेको दुई घण्टा भैसक्यो । कुनै कुण्ड वा तालको आकृति देखिएको छैन अझैं । बिलखबन्दमा परिएजस्तो पो भयो । हिड्दाहिड्दा बाटो पनि सकियो । पर कालीगण्डकीपारि तीन जना युवाहरु हिडेको देखियो । पलायो अलिकति आश । उनीहरु नजिकनजिक त आए तर कालीगण्डकीको धारले हामीलाई छेकिरह्यो ।
नदीको कलकल स्वरले वारिबाट हामीले बोलेको स्वर पारि नसुनिने, पारिबाट उनीहरुले बोलेको स्वर वारि नसुनिने । मान्छे भेटेर पनि संवादविहिन भयौं । उनीहरुले हाम्रो अवस्था बुझेर हो कि हातको संकेतले फर्किनु भने । हामी फर्किदै वारिवारि हिड्न थाल्यौं । उनीहरु पारिपारि हिड्न थाले । तातोपानीको माया मारेर हाम्रो ध्याउन्ना अब लोमान्थाङ् फर्किनुमा केन्द्रीत भयो । अघि हिडेकै बाटो फर्किदै एकघण्टा जति हिडेपछि अघि तरेकै झोलुङ्गे पुलनिर आइपुग्यौं । पारिपट्टि हिडिरहेका युवाहरुसित बल्ल संवाद भयो ।
‘कहाँ हिड्नु भएको हो र तपाइँहरु ?’ सोधे एकजना युवाले ।
‘तातोपानी !’ अल्छीलाग्दो पाराले बोले लीलाभाइ ।
‘तातोपानी भनेर उति टाढा किन जानु भो त ? तातोपानी त ऊ यहीनिर त हो नि !’ आश्चर्य मान्दै बोले उनी ।
हत्तेरिका ! भन्नुभन्दा अरु कुनै उपाय भएन हामीसित ।
उनीहरु लोमान्थाङ्को प्रहरी चौकीका प्रहरी रहेछन् । ठिङ्गर गाउँको पहाडमा जिमु टिपेर फर्केका रहेछन् । ‘बिदामा घर जाँदा यहाँको कोसेली भनेर यही लिएर जाने हो’ भने एकजनाले । हामीलाई निकै तिर्खा लागेको थियो । उनीहरुसंग पानीको बोतल देखेपछि मागेर पियौं ।
उनीहरु उकालो लागे । हामी त्यही तातोपानी कुण्डपट्टि मोडियौं । यो कुण्ड त चट्टानले घेरेको सानोसानो गहिरो खाल्डोमा रहेछ । अघि यतैबाट हिड्दै गएका हौं । कसो यतातिर आँखा परेनन् ।
‘आँखै परे पनि यो तातोपानी कुण्ड हो भनेर पत्यार लाग्ने थिएन दाजु’ लीलाभाइले बलियो तर्क गरे ।
रातो रङ्को पानी चट्टानभित्रबाट भूलभूलभूलभूल गर्दै बाहिर निस्किरहेको छ । फोहोरफोहोर लाग्ने कुण्डमा टम्म भरिएको छ पानी । फेरि कुण्डबाट बाहिर बग्दैबग्दै तलतिर झर्दैझर्दै गयो र कालीगण्डकीमा मिसिएर कालो बन्यो । लीलाभाइले नुहाउन अल्छी गरे पनि मैले त नुहाइ हालें । कालीगण्डकीतिर फर्केर जलदेवतालाई अर्घ चढाएँ । चर्को घाममा पनि हिमाली बतासले एकैछिनमा लुगलुग कपाइहाल्यो ।
अघि व्यर्थैमा परपरसम्म भौंतारिनु परे पनि तातोपानीको नुनिलो र तातो पानी जिउमा परेपछि भने सबै थकाई मेटिएजस्तो भयो । एकछिन सोही कुण्डको छेउमा बसिरह्यौं । तातोपानी कुण्डको भुलभुले पानी र कालीगण्डकीको जलकला हेर्दाहेर्दै धेरै समय बित्यो ।
‘हिडौं दाजु अब !’ लीलाभाइको तरखरले म पनि जोसिएँ । हिड्यौं अघिकै बाटो, अघिकै ढुङ्गेलो बगर । उही बाटो अघि हिड्दा ओरालोओरालो जस्तो थियो । अहिले त उकालोउकालो जस्तो भयो । उकालो चढ्दा सास पनि बढन थाल्यो । पाइला पनि अघि सर्न अल्छी मान्न थाले । जसोतसो पुग्यौं माथिल्लो डिलमा । आँखा अगाडि छरिए लोमान्थाङ्का उनै राता, पहेंला, हरिया खेतबारी ।
अघि गाह्रोगाह्रो गरेर नाँघेको पर्खाल चढ्न अहिले निकै गाहारो भयो । पर्खाल नाघेर भित्र पस्न नसकेपछि त्यही पर्खालको छेवैछेउ हिडिरह्यौं परसम्म । बल्ल भेटियो भित्र पस्ने प्रवेश द्वार । ‘यसको ढोका बन्द नगरेको पाइएमा एक हजार रुपियाँ जरिमाना गरिने छ’ लेखेको देखियो त्यस द्वारमा । हामीले खुलै छाडिदिने कुरै आएन । खेतबारीका आलीआली हिड्दै, सानाठूला पर्खाल नाघ्दै बल्ल आइपुग्यौ गन्तव्यमा ।
दिनभरिको उज्यालो घाम मद्यिम हुँदैहुँदै पश्चिमपट्टिको पाखोमा डुब्ने तरखर गर्न लाग्यो । शरीरले जाडोजाडो अनुभूति गर्न लाग्यो । ‘चिसोबाट जोगिनु होला’ भनेका छन् धेरैले । यहाँका हरेक कुनाकाप्चा डुलेर मन भरिएकै छैन । लजालु लोमान्थाङ्का केही झल्याकझुलुक दृश्यहरु मात्रै हेरिएको छ । रहस्यका घुम्टोहरु उघार्न अझैं कति बाँकी छ कति ! तर बढ्दो चिसोबाट जोगिनको निम्ति फर्किहाल्नु प¥यो ताशेदेलेक अतिथि गृहतिर ।


खगेन्द्र गिरि ‘कोपिला’

लजालु लोमान्थाङ्

खगेन्द्र गिरि ‘कोपिला’