पिलर नम्बर २४

खगेन्द्र गिरि कोपिला
८ भाद्र २०८०, शुक्रबार
पिलर नम्बर २४

पिलर नम्बर २४

बिहानीपख निकै ढिलोसम्म सुतिएछ । राती निद्रा नलागेजस्तो, अलिअलि टाउको दुखेजस्तो भएको थियो । निधारमा भिक्स लगाएपछि र तातो पानी पिएर प्राथमिक उपचार गरेपछि बिहानीपख भने राम्रै निन्द्रा प¥यो । चहकिलो घाम लिएर आँगनमैं आइपुग्यो लोमान्थाङ्को बिहान । हामी उठ्यौं । नित्य कर्म ग¥यौं । चियासित फापरको रोटी खायौं तयार भयौं ।

रातीको निंद्रा नलागेको कुरालाई बिर्सेर आज बिहानैदेखि मन एकतमासले रमाएको छ कोरोला नाका घुम्न जाने उत्सुकताले । आठ नबज्दै आइपुगे जीप लिएर टेकबहादुर बुढामगर पनि ।

‘बाक्लो लुगा लगाएर जानु दाइ जाडो हुन्छ माथितिर त !’ साहुनी कार्चेङ विष्टको सल्लाहलाई मैले त शिरोपर गरें । तर लीलाभाइले भने हलुङ्गै भएर निस्किने सुर गर्नु भो । टेकबहादुर बुढामगरको जीपमा हामी दुई जनासित थपिइन् ‘म पनि जान्छु’ भन्दै हामी बसेकै होटलकी सहयोगी केशमाया पनि ।

हिजो हेरेको कलात्मक मानेलाई ढोगेर जीप ओर्लियो न्यानोडोक्पो खोलाको बगरतिर । खोला तरेर फेरि माथितिर उक्लियो र कुद्न थाल्यो माटे पहाडको छेवैछेउ । न्यानेल नामको सानो गाउँ आयो । गाउँ सानो भए पनि खेतवारी भने फराकिलो र हराभरा रहेछ । त्यही गाउँको दाहिनेदाहिने सडक उँभोउँभो लाग्यो । फेरि आरम्भ भयो भूगोलमा उस्तै निरव हिमाली शूण्यता । बाटोको छेउमा मातारिङ् नाम गरेको सानो गाउँ देखियो । गाउँ सानासाना भए पनि यतातिर गुम्बा त प्रत्येक गाउँमा ठूलाठूला नै देखिए ।

देब्रेतिरबाट आएको किमलिङ् खोला कालीगण्डकीमा मिसियो । किमलिङ् खोलाको जललाई नहर बनाएर निकै राम्ररी सिंचाई गरिएको देख्दा हाम्रा पनि आँखा रसाए र हृदय पनि रसिलो भएर आयो । किमलिङ् खोला तरेपछि लाग्यो छोसेर गाउँ ।

छोसेर कालीगण्डकी नदीको वारिपारि छरिएको छ । यहाँ त कालीगण्डकी पनि सानो खोलाजस्तो देखियो । उपल्लो मुस्ताङ्का सयौं खोलानाला मिसिदै गएपछि तल जोमसोम पुगुञ्जेल त ठूलै भैहाल्छ । कालीगण्डकी भनेको कुनै एउटा खोला नभएर खोलैखोलाको संयुक्त बगाईजस्तो लाग्यो ।

भगवान विष्णु हिमालयमा आएर तपस्यामा बस्दा उहाँको गण्डस्थलबाट बगेको पसिना नै बगेर गण्डकी नदी बनेको हो भन्ने पौराणिक मान्यता छ । उहाँको तपस्याबाट भगवान शिव प्रसन्न भएर ‘अबबाट मुक्तिनाथ भएस’् भनेर वरदान दिनु भएको प्रसङ्ग पनि पुराणमा भेटिन्छ । यस्ता आस्थामय कथासित जोडिएको गण्डकीमा मिसिने जुनसुकै खोला, खोल्सा, झरणहरु हाम्रालागि पावन छन् । पवित्र छन् । श्रद्धेय छन् ।

छोसेरमा पुग्दै गर्दा कुन बाटो हो ? कुन कुलो हो ? र कुन नदी हो ? कुन बगर हो ? एकछिन त छुट्टयाउन गाहारो भो । आँखा अगाडिको भूगोल बाढी थामिएपछिको क्षतिग्रस्त नदीको बगरजस्तै देखियो । ढुङ्गे बगरैबगर कुदिरह्यो जीप । खोलाभरि ढुङ्गा बटुल्दै गरेका थुप्रै ट्रेक्टर देखिए । जताततै ढुङगा र माटोका रास भएको ठाउँमा पनि यी ढुङ्गा बोकेर कहाँ लैजादा होलान् ट्रेक्टरहरुले ?

ढुङ्गे बगरको भित्तातिर निकै जतनपूर्वक हुर्काइएका देखिए बोटबिरुवाहरु । मुस्ताङ्तिर देखिने बिरुवा भनेको सर्वत्र उही पीपल हो । यहाँको पीपल अन्यत्रको जस्तो अजङ्गको ठूलो नहुने रहेछ । पातलापातला सर्लक्क बढेका बोट हुँदारहेछन् । तराईतिर हुने लहरे पीपलजस्तै लाग्ने । पीपलैपीपलका हरियाहरिया रुखहरुको पङ्क्तिलाई हेर्दा माटे मरुभूमिको बीचमा कसैले हरियो रङ् छर्केजस्तो लागिरह्यो । वरपरका राता, सेता, पहेंला, नीला, गेरु रङ्गका माटे पहाडहरुमा छुक्साङ्का राता पहाडहरुभन्दा पनि बेग्लै आकर्षण रहेछ । हरेकले आफ्नै रङ्मा उजेलिएर आफ्नै सौन्दर्य पस्किरहेका छन् । यी पहाडका अनुहारभरि देखिने कालाकाला प्वालजस्ता गुफाहरुले त्यो सोन्दर्यमा झन् रहस्य थपिदिएजस्तो लाग्यो । छोसेर भन्नु कतै यिनै गुफाहरुको बस्ती त हैन ? भन्ने आभास पनि भयो । थपक्क आएर आँखैमा बसी हाल्यो छोसेर ।

यहाँ कालीगण्डकीलाई न्हीचुङ् खोला भनिदोरहेछ । त्यही न्हीचुङ् खोलाको बगरमा देखियो शेल्कार रेस्टोरेन्ट । छोसेरका गुफा र गुम्बाहरु हेर्नको लागि त्यही रेस्टोरेन्टमो टिकट काट्नु पर्ने रहेछ । प्रति व्यक्ति तीन सय रुपियाँको दरले टिकट काटेपछि सबैभन्दा पहिले पुग्यौं सिजाजोङ् गुफा । न्हीचुङ् खोलाको बगरैबगर हिडेर केही बेर ठाडै उकालो चढ्यौं । रातो पहाडको काखनिर पुगेपछि देखिए पहाडका छातीभरि कालाकाला असङ्ख्य प्वालहरु । यिनै रहेछन् गुफा । तल्लो गुफाको मुखनिर बसेर पहरा दिइरहेका एक जना बुढा मान्छेले भने ‘यी गुफा हाम्रा पुर्खाका घर हुन् । हाम्रा इतिहास हुन् ।’

सिढि चढेर पस्यौं भित्र । आगो बालेर भित्ताहरु कालो भएको गुफा देखियो । फेरि त्यस गुफाको भित्रभित्रपट्टि जाँदा ससाना गुफैगुफा देखिए । अलि पर गएपछि अँध्यारोले बाटो अवरुद्ध भयो । गुफाको माथिल्लो तलामा जान काठको सिढी बनाइएको छ । त्यही सिढी उक्लिदै माथि चढ्यौं । माथिल्लो तलाको रुप, रङ् र छाँट, काट तल्लो तलाकै जस्तो लाग्यो । भित्तानिर फेरि उस्तै सिढि भेटियो । फेरि उक्लियौं उस्तै तलामाथि । माथिमाथि पनि गुफैगुफाका तलैतलाजस्ता आकृति देखिए पनि हामी धेरै माथि उक्लिएनौं । ‘पाँच तला छन्’ अघि भनेका थिए गुफाको मुखनिर भेटिएका बृद्धले । हरेक गुफाका प्वालबाट बाहिर हेर्दा छोसेरका रातापहेला पहाडहरुका विहङ्गम दृश्य देखिएपछि उडुँउुडँ लाग्न थालिहाल्यो ।

‘दाजु ! यहाँबाट हाम फालेर तल माटोमा खस्यो भने के मरिएला र है ?’ लीलाभाइको जिज्ञासा हो या रहर हो ? पोखिन थाल्यो ।

‘भैगो भाइ ! घरमा बुहारीले बाटो हेरिरहेकी होलिन् । यस्तो उटपट्याङ् गर्नु हुन्न’ थम्थम्याएँ भाइलाई । हाँस्दै एकछिन त्यही माटेझ्यालनिर उभिएर हेरिरह्यौं छोसेरका पहाडी आकृतिहरुलाई । माथि उक्लिनुभन्दा गुफाका झ्याल भन्न मिल्ने प्वालबाट बरु बाहिरका दृश्यहरु हेर्नुमैं रमाइलो लागिरह्यो ।

भित्रभित्रसम्म घरका कोठाजस्तै फैलिएका गुफाका प्रत्येक खण्डखण्ड गन्ने हो भने ‘सयको हाराहारीमा पुग्लान्’ लीलाभाइको गणितमा सहमति जनाएँ मैले पनि । ससाना ढुङ्गा र माटैमाटोभित्र छन् यी गुफा । तराईको जस्तो पानी पर्ने हो भने सबैलाई एकै पटक बगाएर लैजालाजस्तो लाग्छ ।

‘यहाँ त्यस्तो पानी पर्दैन । हिउँ पर्ने हो । हिउँ त बाहिरबाहिर पग्लेर जान्छ । हिउँले अहिले खासै क्षति गरेको छैन’ सुनाए उनै बृद्धले । त्यहाँबाट ओर्लिएर चेन्या कोन्छोलिङ् गुफाभित्र पस्यौं । यस गुफाको आकृति पनि सिजाजोङ् गुफाजस्तै लाग्यो । बरु शेल्केर गुफा भने सानै भए पनि त्यसभित्रको सङ्ग्रहालयले हामीलाई निकै बेर अलमल्याइदियो । सङ्ग्रहालयमा सङ्ग्रहित बस्तुको आर्कषण र जिज्ञासाले हामी धेरै बेर अलमलियौं । हिमाली संस्कृतिका अनेक बस्तुहरु सङ्कलन गरेर राखिएका रहेछन् त्यहाँ । प्रायजसो छाला, धातु, ऊन र काठबाट बनेका देखिए पुरानापुराना बस्तुहरु । त्यहीं हिमाली परिधान लगाएर फोटो पनि खिच्यौं ।

गुफा सङ्ग्रहालयबाट निस्किएर माथिपट्टिको थुम्कोमा रहेका लोगर्फु गुम्बा र लोनिफु गुम्बा पुग्यौं । लोनिफु गुम्बा एउटा माटे पहाडको काखमा कङ्गारुले छातीमा आफ्नो बालक लुकाएजस्तै गरेर थपक्क बसेको देखियो । एउटा सेतो र अर्को गेरुरङ्गका दुईटा भवनहरु आधा गुफाभित्र र आधा गुफा बाहिर रहेछन् । कतै अन्यत्रबाट गिलो माटो ल्याएर थुपार्दैथुपार्दै पोत्दैपोत्दै बनेको जस्तो लाग्यो लोनिफु गुम्बामाथि पट्टिको पहाड । गुम्बाभित्रको संरचना त मुस्ताङ्मा जहाँ पनि उस्तै हुन्छ । अँध्यारो र शान्त ध्यानकक्ष, बुद्धको विशाल मूर्ति, टेबिलभरि दियो कलश अनि पुस्तकका ठेली, थाङ्का, लुङ्दर र ध्यार्चोकले सिंगारिएका भित्ताहरु ।

पश्चिमपट्टि अलि परै देखिने न्याम्दो गुम्बालाई भने हामीले टाढैबाट हेरेर चित्त बुझायौं । छोसेरका घर, गुम्बा, गुफा र होटेलमात्र हैन डाँडाकाँडा थुम्का, बाटो, घाटो र चौतारोहरुमा हिमाली संस्कृति र कला पोखिएको छ । प्रायः सर्वत्र सेतो र रातो रङ् पोतिएका भवनहरु मुस्कुराइरहेका छन् । लुङ्दर र ध्यार्चोकहरु बतासमा फिरफिर गर्दै छोसेरको जीवन्ततामा आस्थाको रङ् पस्किरहेका छन् । ढुङ्गैढुङ्गाका पर्खालहरुले सुरक्षा दिएको छोसेरभित्र आधुनिकताले प्रवेश नपाएको भने हैन । पसलहरु चिनियाँ सरसामानले भरिएका छन् । भारतबाट आएका जीपभन्दा चीनबाट आएका मोटरसाइकलहरुलाई दुलहादुहलीलाई सिगारेभन्दा झन् राम्रो गरि सिंगारेको पनि देखियो । तैपनि यहाँको संस्कृतिको अगाडि आधुनिकताले छाती तन्काएर उभिन सकेको छैन । ऋषि, मुनि, रिम्पोछे, लामाज्यूहरुले तपस्या गरेर ज्ञान प्राप्त गर्नु भएका पवित्र गुफाहरुको उत्तरी मुस्ताङ्मा राम्रै गरि संरक्षण गरिएको देख्दा हृदय हर्षित भएर आयो । लोमान्थाङ्जस्तै आफ्नो आस्था र संस्कृतिको जगेर्ना गर्नमा पछाडि रहेनछ छोसेर पनि ।

पुग्न त छोसेरसम्म सडक पुग्यो, गाडी पुग्यो, डिजल पुग्यो, यात्री पुगे, लामखुट्टे पुगे, प्लास्टिक पुग्यो, एनजिओ पुगे, मिशेनरी पुगे, कम्युनिस्ट पुगे, सोसलिस्ट पुगे, पार्टी पुगे, नेता पुगे, राजनीति पुग्यो, ठेकेदार पुगे र दलाल पनि पुगे । तीसितै झगडा पुग्यो, विकृति पुग्यो, विसंगति पुग्यो र फोहोर पनि पुग्यो । यी कुराहरुलाई झेलेर आफूलाई कहिलेसम्म सङ्लो राख्न सक्ला यो छोसेरले ?

छोसेरका गुफा, गुम्बा र सङ्ग्रहालयहरुको एकसर्को फन्को मारेपछि हामी फेरिे सेल्कोर रेस्टोरेन्टमा पस्यौं । कफी पिउने निहुँले पसेका हौं तर नास्ता नै खायौं ।

‘खानामा बल गर्नु’ भनेका छन् मान्छेहरुले ।

‘यहाँभन्दा अगाडि केही पाइन्न’ भन्ने सुनेपछि दिनभरिको लागि भनेर पेट भर्ने काम भयो । हाम्रा चालक टेकबहादुर बुढा र उनीसित जीपमा साथी बनेर आएकी केशमाया एउटै गाउँका रहेछन् । सेल्कोर रेस्टोरेन्टमा काम गर्ने एकजना केटी मान्छेसित भेटिदा रुँलारुँलाजस्तो गरेर उनीहरुले अँगालो हाले । अनि हाँस्दै जिस्किदै कुरा गर्न थाले । उनीहरुले मगर खाम भाषामा कुरा गरेका रहेछन् । ती केटी पनि उनकै गाउँकी रहिछन् र धेरै समयपछि भेट भएको रहेछ । मैले ती केटिलाई उनको नाम सोधें । उनले भनिन् ‘परिमाता सुनार’ । परिमाताले मगर भाषा टेकबहादुर र केशमायाकै जस्तो गरेर फररर बोलेको देखर म र लीलाभाइ छक्क प¥यौं । लाग्यो मान्छेको जिब्रोमा बसाउन सक्यो भने जे पनि आएर थपक्क बस्दो रहेछ । अनुहारले केही भिन्न देखाए पनि बोली सुन्दा त परिमाता पनि टेकबहादुर र केशमायाजस्तै मगर सुमदायकै लागिरहिन् ।

छोसेरमा निकै बेर अलमलिएपछि फेरि हिड्यौं अर्को गन्तव्यतर्फ । बाटोमा देखिन थाल्यो फेरि उस्तै भूगोल । उस्तै भूदृश्य, उस्तै खोला, उस्तै ढुङ्गा, माटो र उस्तै उजाड परिवेश । खोलैखोलाको बाटो सकिएपछि नेचुङ् पुग्यौं । नेचुङ् उपल्लो मुस्ताङ्को सबैभन्दा माथिल्लो बस्ती रहेछ । यहाँ सशस्त्र प्रहरी बलको पोष्ट देखियो । पोष्टको आँगनमा हरिया बोटहरु हुर्किरहेका छन् । ओहो ! तरकारीबारी पनि देखियो । चालकले जीपको नम्बर र याुत्रको विवरण टिपाउन लागे । हिजो जोमसोमबाट संगै आएका चारजना मित्रहरु पनि देखिनु भो । पोष्टको सरसफाइमा जुट्नु भएको रहेछ । हिजोको परिचय एक रातमैं गाढा भएर हामी त पुराना साथि भेटिएजसरी भेटियौं र गफियौं एकछिन । केशव पौडेल नाम गरेका प्रहरी निरीक्षकको कमान्डमा रहेछ यो पोष्ट । उहाँले पनि ढोकैमा आएर सोधपुछ गर्नु भो । सोधपुछ भलाकुसारीमा मोडियो । लीलाराज भाइ र उहाँले पढेको एउटै कानून विषयको साइनो जोडिएपछि त झन् गफले लामै चरण पुरा गरिहाल्यो ।

‘यो पोष्ट चार हजार मिटर उचाईमा छ । माथि कोरोलाको चारहजार छ सय हो । त्यहाँ धेरै अलमल नगर्नु होला । बतास र चिसोबाट जिउलाई जोगाउनु होला । सीमास्तम्भ नाघेर पर नजानु होला !’ सम्झाउनु भो हामीलाई । उहाँसित बिदा मागेर हामी उभो लाग्यौं । एक हुल हिमाली भेडाहरुको बथान पुरै बाटो छेकेर उभोउभो लागिरहेको छ । माटे पहाडतिर भेडाहरुको यत्रो बथान गैरहेको देखिनु हाम्रालागि झन् कुतुहलको विषय बन्यो । के चर्दा होलान् यी भेडाहरु यस्तो नाङ्गो पहाडमा ?

बादलले ढाकिएका रित्ता पहाड छन् तर ढाक्नु पर्ने कुरा केही छैनन् । तीव्र गतिमा एकोहोरो चलिरहने बतास छ, तर बतासले उडाउने कुरो केही छैन । वनस्पतिलाई कुनै ठाउँ नदिएको यहाँको प्रकृतिले बादललाई भने माया गर्दाे रहेछ । यी भेडाहरुको लागि जीवनयापनको व्यवस्था के गरेको होला यो प्रकृतिले ? कुतुहलतामाथि कुतुहलता थपिन लागे ।

नेचुङ्मा पश्चिमतिरबाट आएको हिउजुङ् खोला र पूर्वतरबाट आएको खुक्यु खोला मिसिएपछि न्हीचूङ् खोला भनिंदो रहेछ । न्हीचूङ् खोलालाई लोमान्थाङ्भन्दा तल गएपछि मुस्ताङ् खोला भनेको पनि सुनियो कसैककसैको मुखबाट । कसैले चराङ्बाट तल गएपछि कालीगण्डकी भनिन्छ भने त कसैले चैले भन्दा तल गएपछि मात्रै कालीगण्डकी भनिन्छ भने । हाम िकालीगण्डकीको नाम र उत्पत्तिको निक्र्योल गर्न नसकेर अलमलिइरह्यौं ।

जोमसोमभन्दा माथितिर गण्डकी नदीको मूल धार कुन हो ? भन्ने कुरामा मान्छेपिच्छे पृथकपृथक भनाई सुनिदा रहेछन् । कसैले मुक्तिनाथबाट बग्दै आउने खोलालाई त कसैले दामोदरकुण्डबाट बग्दै आउने खोलालाई गण्डकीको मूल धार हो भन्दारहेछन् । कसैले छोसेरभन्दा उत्तरपश्चिम भागबाट आउने खोलालाई गण्डकीको मूलधार मान्दारहेछन् । यी दुबै नदीहरु चराङ्को मुन्तिर खोंचमा मिसिएपछि मात्रै कालीगण्डकी अलि ठूलो बन्दोेरहेछ । त्यही कालिगण्डकीमा कागवेनीनिर मुक्तिनाथखोला पनि मिसिन्छ । धार्मिक ग्रन्थहरुमा दामोदरकुण्डबाट आउने खोलालाई नै गण्डकीको मूल धार मानिएको छ । तर दामोदरकुण्डबाट आउने खोलाको जल सेतो र छोसेरतिरबाट आउने खोलाको जल कालो देखिने भएकोले कालीगण्डकीको मूलधार छोसेरतिरबाट आउने खोलालाई भन्नु उपयुक्त लाग्यो मलाई त । गण्डकीमात्र भन्ने हो भने त केही समस्या भएन । गण्डकीको अगाडि काली थपिदिने हो भनेपछि त नामको छिनोफानोमा जलको रङ्द्वारा निर्णय गरिनु उपयुक्त हुन्छ ।

नेचुङ्बाट अगाडि लागेपछि प्रकृतिको शूण्यताले झन् घेर्दै ल्यायो । खोल्सैखोल्सा, पहाडैपहाड घुम्दै फिर्दै बाटो उकालो लाग्दै गयो । पहाड भनेर यहाँका पहाडहरु पहाडजस्ता पनि छैनन् । ढुङ्गा थुपारेका होचाहोचा थुम्काजस्ता देखिन्छन् । कतिखेर पानी नभएका खोल्सा त कतिखेर तिनै ढुङ्गे थुम्काका वरिपरि फन्को मार्दै बाटो माथिमाथि गैरह्यो । बेतोडले बतास चलिरहेकै छ । बादलले ढाकिरहेकै छन् वरपरका पाखाहरु । कतैकतै नीलकाँडाका बुट्यानमात्रै उम्रेका देखिन्छन् बाटो वरपर । अनौंठो शूण्यता, अनौठो निरवता र अनौंठो खालीपन छ वातावरणमा । बादल लागेको ठाउँमा त बतास चल्ने हो भने बादल फाट्नु पर्ने हो । तर यहाँको बादल त निकैनिकै अटेरी रहेछ । ढुङ्गा नै उडाएर लैजालाजस्तो तिब्र बतासलाई पनि नटेर्दो रहेछ ।

‘चिसोभन्दा तातो कुरा पिउनमा बल गर्नु होला’ भनेका छन् धेरे मान्छेले । त्यही भएर म तातोपानी, चिया वा कफी पिउने अवसर आयो भने नाइँ भन्दिन म । लीलाभाइको त मुखमैं बसेको छ ‘भैगो नखाउँ होला अहिले, खासै खान मन लागेको छैन’ भन्ने शब्दावली थेगोजस्तै बनेर ।

आँखा अगाडि नितान्त भिन्न भूगोल उभिएको छ । मरुभूमिजस्ता देखिने भूवनोट, धारिलो बतास, पारिलो घाम र नाङ्गा पहाडहरु । यहाँको भूगोल यी आँखाको लागि नितान्त नयाँ छ । हुन त हिमाल पनि देखिएको हो, पहाड पनि देखिएको हो, समथर भुभाग पनि देखिएको हो र मरुभूमि पनि देखिएको हो । ती सबैभन्दा पृथक र नौलो लागि रहेछ यो ठाउँ । यो ठाउँलाई मरुभूमि भनौं भने बालुवाको मरुभूमि होइन यो । माटो र ढुङ्गाकै रास देखिन्छन् यत्रतत्र । पहाड भनौं भने पनि न भिर छन् न कराला भिराला भूभाग छन् । न पहाडमा देखिने हरिया देउराली, पहरा र पाखाहरु हेर्न पाइएको छ । हिमाल नै भनौं भने पनि हिमालका नित्यनुतन सेता हिमाद्री, हिमानीहरु पनि कतै देखिन्नन् । नीलो आकाशको पनि बेग्लै छटा देखियो यहाँ । आकाशमा कहिले आकाशे रङ्का देखिन्छ, कहिले निख्खर नीलो रङ् । कतिखेर बादलका टुक्रा भरिएर पुरै सेतो देखिन्छ । परपर देखिने फुङ्ग उडेका पहाडहरु पनि बेलाबेला रङ् फेरेजस्तो गर्दछन् । साँच्चै हो या मेरो दृष्टिभ्रम हो ? म भन्न सक्दिन । चञ्चल मन पनि मौन भएको छ यहाँ पुगे पछि त । यो ठाउँको व्याख्या र वर्णन गर्न पनि शब्द अपुग भएजस्तो भैरहेछ । वर्णन गर्न पनि वाक्य अपर्याप्त भएजस्तो लागिरहेछ ।

घोकटाङ् भन्ने ठाउँको उकालो चढ्दै गर्दा लीलाभाइले वाकवाक लागेजस्तो गरिहाले । कान छोप्नु भनदा पनि मानेका छैनन् । उमेरले जेठो भएपछि अर्ती उपदेश दिन मन लागिहाल्दो रहेछ । थर्मशमा तातोपानी बोकेका थियौं । त्यो पानी पिएपछि भाइको वाकवाक थामियो । ‘अब त पचाइन्छ’ भनेर आँट देखाए भाइले । ‘छोसेरमा कफी नपिएर तपाइँ घाटामा पर्नु भो भाइ ?’ घोकटाङ्को उकालो नकाटुञ्जेल मैले जिस्क्याइरहें लीलाराजभाइ ।

परपरका भूगोलहरु राम्ररी हेर्न पाइएको छैन । बादल लाग्ने, हराउने र फेरि ढाक्ने क्रममा आक्कलझुक्कल जे देखियो तिनै दृश्यलाई आँखाले टिपिरहेका छौं । एउटा भन्ज्याङ्जस्तो ठाउँ काटेपछि पहाडी थुम्काहरु हराउन लागे । समथर भूभाग आरम्भ भो । तराईकै जस्तो गरेर एकोहोरो कुद्न लाग्यो जीप । पक्की नभए पनि पक्कीभन्दा झन् सफा रहेछ बाटो । पाँच किलोमिटर जति कुदेपछि देखिन थाले अग्लाअग्ला भवनहरु ।

‘कोरोला यही हो सर !’ बल्ल बोले हाम्रो जीपका चालक । अघिसम्म केही सोधे पनि बागलुङ्गे भाका निकालेर ‘म ट केइ ठा पान्न’ (म त केही पनि थाह पाउन्न) भनिरहन्थे । कोरोलाको फराकिलो बाटोमा जीप कुदाउन पाएपछि त यिनमा पनि फुर्ति आएजस्तो भएको छ ।

देखियो २४ नम्बरको पिलर । ओर्लियौं जीपबाट । यता दुगुरौं कि उता दुगुरौं ? उडौं कि गुडौं ? जस्तो गर्न थाले । खुट्टाहरु । मन त उडेर परपर कता पुगिसकेको छ कता बताससितै भाका मिलाएर ।

मान्छे ,जनावर र चराचुरुङ्गीको कुनै उपस्थिति छैन । नेपालपट्टिको भूभागमा अनौठो शूण्यताले घेरेको छ । अघि आउँदा देखिएका ती अग्लाअग्ला भवनहरु पारिपट्टि चिनियाँ भूभागका हुन् । मान्छेको चहलपहल त उतापट्टि पनि केही देखिएन । एक दुई जना सैनिक पहरा दिइरहेका देखिए । हाम्रा चर्तिकलालाई आँखा नझिम्क्याएर हेरिरहेका छन् उनीहरु ।

चौबिस नम्बर लेखिएको पिलर हुन त पिलर भनेर पक्कि घरमा राखिने अग्लाअग्ला पिलरजस्तो हैन यो । सिमेन्टको ससानो संरचना हो । सेतो रङ् पोतेको त्यही पिलरलाई नेपालपट्टि फर्काएर लेखिएको छ नेपाल र त्यसको मुन्तिर रातो अक्षरमा लेखिएको छ २४ र २०१९ । अनि पिलरको चीनपट्टि फर्काएर अङ्रेजीमा लेखिएको छ २४ र त्यसको मुन्तिर १९६२ लेखिएको छ । माथिपट्टि हामीले नबुझ्ने भाषामा लेखिएका ेशब्द संभवतः चीन नै होला ।

चार हजार छ सय मिटर अग्लो स्थानमा अवस्थित कोरोला कुनै रुख, वृक्ष, वनस्पति नभएको ठूलो फराकिलो उपत्यकाजस्तो लाग्यो । परपर देखिए ससाना थुम्का । ससाना ढुङ्गा, फुसुफुसे माटो र उनै नीलकाँडाका सानासाना बुट्टान देखिन्छन् परपरसम्म । ठिङ्ग उभिएको एक्लो २४ नम्बर सीमास्तभ नै रहेछ नेपाल र चीनलाई छुट्टयाउने । नत्र जताततै परपरसम्म देखिने भूगोलमा कुनै भिन्नता छैन । नेपाली भूभागपट्टि एउटा मोटरसाइकल उभिएको छ । मोटरसाइकलमा कुनै नम्बर अङ्कित छैन । उहिलेउहिले नेपालगंजबाट रुपैडिया जाने टाङ्गालाई जस्तै गरेर सजाइएको छ मोटरसाइकल । कस्को होला यो मोटर साइकल ?

२०१८ साल असोजमा नेपाल र चीनको सीमालाई व्यवस्थित प्रकारले रेखाङ्कन गर्ने अभिप्रायले सम्झौता भै सीमा कार्यदल गठन गरि सीमाको रेखाङ्कन गर्ने काम आरम्भ भएको थियो । फिल्डमा सीमालाई रेखाङ्कन गर्ने काम एक वर्षमैं २०१९ सालभित्रै सम्पन्न भएको थियो । नेपाल र चीनले सीमा रेखाङ्कन गर्दा पहाडको दक्षिणी पानी ढलोलाई नेपाल र उत्तरी पानी ढलोलाई चीनपट्टि पारेर पहाडको चुचुरोलाई सीमाना मान्ने आधार बनाएको थियो भन्ने सुनिएको हो । तर पठार र समथर परेको ठाउँमा के गरेर सीमा छुट्ट्यायो होला ? भन्ने कुरा मनभित्र खेलिरह्यो कोरोला पुग्दा ।

कोरोला नेपालबाट तिब्बत पस्ने भञ्ज्याङ्हरुमा सबैभन्दा होचो भञ्ज्याङ् हो रे । यहाँ तलतिरबाट गएका मान्छेलाई १० मिनेटभन्दा बढी बस्दा लेक लाग्ने समस्याका सङ्केत देखिन थालिहाल्दो रहेछ । यस्तो भौगोलिक प्रतिकुलतामा पनि आफ्नो भूभागपट्टि चीनले ठूलाठूला भवन निर्माण गरिसकेर सैनिक व्यारेक नै राखेको देखियो । नेपालतिर सीमा विन्दुसम्म कच्ची सडक र विद्युतको लाइन पुगेको भए पनि अन्य भौतिक संरचना केही पनि देखिन्नन् । कोरोलामा पानीको व्यवस्था गर्ने हो भने ठूलै शहर बसाउन सकिने ठाउँ त रहेछ । थुर्लुङ्मा रहेको नेपाली सेनाको ब्यारेक र नेचुङ्मा रहेको सशस्त्र प्रहरीको ब्यारेकलाई कोरोलामा राखेको भए झन् राम्रो हुन्थ्यो होला ।

कोरोलालाई उहिले तिब्बततिर आउने जाने सजिलो बाटो हुनाले नाका भनिए पनि अहिले नाका भन्न सक्ने स्थिति छैन । दुई देशका मान्छेहरुले एक अर्काे देशमा आउन जान पाउने व्यवस्था र सुविधा केही देखिएन । बरु कोरोलालाई कोरोलानाका नभनेर कोरोलाबन्द भन्दा हुने रहेछ ।

चराङ्, घमी, लोमान्थाङ्, छोसेर, मातारिङ्, न्यानेलका वासिन्दाहरुमा कोरोलासम्म जाने सडकको निर्माण र कोरोलामा बस्ती बसाउने कल्पनाले निकै उत्साहित पारेको छ । तर यो सानो बजेट र सानो प्रबन्धनले सम्पन्न होला जस्तो भने देखिन्न । कोरोला लेखेका बस, जीप र होटेलहरुले कोरोलाको नाम बेचेर २५० किमि वर पोखरादेखि नै अहिलेदेखि नै व्यापार भने गर्न लागि सकेका छन् ।

दक्षिण, पूर्व र पश्चिम दिशामा भारतसित जोडिएको सीमा क्षेत्रको दुई देशीय रोटी चेली सम्बन्धको बारेमा निकै चर्चा हुन्छ । तर उत्तरी सीमा क्षेत्रको रोटी चेली सम्बन्धको बारेमा कुनै चर्चा भएको देखिन्न । ६४ वर्षअघि तिब्बतलाई चीनले निलेदेखि तिब्बत र नेपालको निर्बाध आवागमन मात्र होइन युगौंयुगदेखिको सांस्कृतिक सम्बन्ध पनि अवरुद्ध भएको छ । अचेल यता नेपालको उत्तरी सीमावर्ति क्षेत्रका सोनम, छिरिङ्, जिग्मे र पेमाहरु अपरिचित भइसकेका छन् उता तिब्बतका डोल्मा, दावा, छोइङ् र टासीहरुसित ।

यी सबै सपना र घटनाक्रमहरुको एक्लो साक्षी भएर उभिएको छ त्यही पिलर नम्बर २४ ।
खगेन्द्र गिरि कोपिला

पिलर नम्बर २४

खगेन्द्र गिरि कोपिला