साम्ले गाउँकी आमा

खगेन्द्र गिरि ‘कोपलिा’
१४ भाद्र २०८०, बिहीबार
साम्ले गाउँकी आमा

साम्ले गाउँकी आमा

मुक्तिनाथको दर्शन गरेर जोमसोम फर्किदा बिहानीको घाम आफ्नो तप्त यौवनतिर उकालो लाग्दै थियो । वास र भोजनको व्यवस्था गर्दासम्म बारह बजिसकेको थाहै पाइएन । बारह बजेपछि त जोमसोमलाई बतासले उडाउलाउडाउला जस्तो गर्न थालिहाल्यो । कुरो हो २०८० साल श्रावण ७ गते आइतबार मध्यान्हको ।

‘दाजु ! जोमसोमे बजारमा बारह बजे हावा सरर भन्ने गीत त जानेरै लेखेका रहेछन् है’ लीलाभाइले सम्झाए एक समयको चर्चित गीत । आज हाम्रै आँखा अगाडि त्यो गीतको भाव चरितार्थ हुँदै छ । जोमसोममा बाटोकोे बिस्तार र ढर्ल ानर्माणको काम पनि भैरहेकोले बतासले उडाएको धुलोमा बाटोको धुलो पनि थपिएर झन् कुहिरीमण्डल भए जस्तो लाग्यो । ंगाउँपालिका भवनको अघिल्तिरको पुलनिर उभिएर फोटो खिच्दै गर्दा बतासले उडाइहाल्यो मेरो टोपी । धन्न कालीगण्डकी नदीको धारसम्म पुगेन ।

घुम्न आएका मान्छे, दिनभरि कोठामा सुतेर समय बिताउने कुरा भएन । कहाँ जाने ? जोमसोमको साँगुरो बगरमा के पो होलान् र हेर्नु पर्ने ठाउँ !

‘साहुजी यहाँ वरपर घुम्ने ठाउँ के के छन् नि ?’ सोधें मैले मुस्ताङ् हेरिटेज होटेलका साहुजीलाई । ‘माथि भ्यूटावर हेर्न गए भो, ढुम्बाताल हेर्न गए भो, गुम्बा हेर्न गए भो’ बेलीबिस्तिार लगाए साहुजीले । हिमालको छेउछाउमा आएर भ्युटावरमाथि चढेर हिमाल के हेर्नु ? भोलिपर्सी मुस्ताङ्का हिमाली चुचुराको नजिकै गएर बादलसित साउती मार्ने हाम्रो योजना छँदैछ । आज हामीले ढुम्बाताल हेर्न जाने निर्णय ग¥यौं ।

जोमसोमको पुरानो काठेपुल तरेर पारिपट्टि पुगेपछि गुम्बाको चित्ताकर्षक दृश्यले ध्यान कसको तान्दैन होला र ? हाम्रा आँखा पनि निकै बेर गुम्बाका कलाकृतिहरुसित नाँचिरहे । याङद्रुङ् कुण्डालिङ् गुम्बा रहेछ यसको नाम । हिमाली क्षेत्रमा प्रचलित बौद्ध धर्मको सबैभन्दा पुरानो बोन्पो सम्प्रदायको रहेछ यो गुम्बा । जोमसोमको निर्दयी बतासको प्रहारलाई झेलेर पनि गुम्बाका झ्याल र ढोकामा कुँदिएका मसिनामसिना कलाकृतिहरु पहेंलो रङको पिताम्बरी शोभासित मिसिएर मस्कुराइरहेकै छन् । गुम्बाको शान्त र सात्विक परिवेशमा रमाएको मन गुम्बा पछिल्तिरको उजाड पाखो देखेर एकछिन अलमलियो ।

त्यही पाखोको फेदीमा केही महिलाहरु ढुङ्गा फुटालेर गिट्टी बनाउँदै छन् । एकदुई तीन चारपाँच लीलाभाइ गन्न थालिहाले । नौ जना रहेछन् । एकजना महिलाको छेउमा टसुक्क बसेको छ सानो बालक । एउटी महिला पिठ्युमा सानो बालक बोकेर घनले ढुङ्गा फुटाल्दै छिन् । बेतोडले चलिरहेको बतास र धुलोको प्रहारलाई झेल्न सबैले मुख छोपेका छन् । तर दुईटा बालकका अनुहार भने ह्वाङ्गै देखिए । महिलाहरुका हातबाट ढुङ्गा फुटाल्न प्रहार भैरहेको घनले निकालेको सामुहिक स्वर परपरसम्म पुगेको छ । हामीले एकछिन उभिएर त्यो दृश्य हेरिरह्यौं । यन्त्रजस्तै उनीहरुका हात ढुङ्गामाथि परिरहेका छन् । ढुङ्गा फुटालीरहेका ती कोमल हातहरुले नारीशक्तिको आफ्नै महिमा बोली रहेजस्तो लाग्यो । को होलान् यी महिलाहरु ? कहाँबाट आएर यहाँ यसरी ढुङ्गा फुटालीरहेका होलान् ? अनुहारको छाँट हेर्दा यिनीहरु यहाँका स्थानिय जस्ता देखिन्नन् । यी महिलाहरुले फुटारेर थुपारेका गिट्टी जोमसोमको बाटो फराकिलो पार्ने काममा प्रयोग भैरहेको होला । भोलि त्यो बाटो ओहोरदोहोर गर्नेहरुले यी महिलाको श्रमलाई सम्झिएलान् कि नसम्झिएलान् ? यो श्रमको कतै उल्लेख होला कि नहोला ? यो मन पनि के के के के सोच्न पो लाग्यो ।

लमतन्न तन्किएको छ दाहिनेतिर ठिनीगाउँ जाने बाटो । त्यो बाटो भएर लीलाभाइ र म उँभोउँभो लाग्यौं । ढुङ्गा फुटालीरहेका महिलाहरुको दृश्यले निकै पर पुगुञ्जेलसम्म भावुक बनाइरह्यो । पेट पाल्ने जिम्मेवारीले मानिसलाई कहाँकहाँ सम्म ल्याइपु¥याउँदो रहेछ, के के गराउँदो रहेछ ? बुझिनसक्नु अपार छ यो जिजिविषाको महिमा ।

ठिनी जाने बाटो बिस्तारै उभोउभो लाग्यो । तल काली गण्डकीको बगरमा खुम्चिएको जोमसोम त माथिमाथि उक्लिदै गएपछि फराकिलो पो देखिन थाल्यो । बाटोकै मुन्तिरको बगरमा लमतन्न सुतेको हरियो बारीलाई हेर्दै हिडिरह्यौं हामी । जोमसोमको बजारभन्दा यो बारीले पो मोहनी लगाइरहेको छ । यतातिरका घरमा बरु पर्खाल, बार लगाएका देखिनन्न् । तर खेतबारीमा भने निकै बलियो गरेर तार, जाली र ढुङ्गाको बार लगाइएको हुन्छ । मान्छेले आफूलाई भन्दा यहाँ बारीमा उम्रिएका अन्नबाली र फलफूललाई बढी माया गरेका रहेछन् । हुन पनि किन नगरुन् ! वरिपरि नाङ्गानाङ्गा माटे पहाडको माझमा आफ्नो हरितिमा सौन्दर्य पोखेर सबैका आँखा लोभ्याइरहेको यस बारीलाई यस्तो बनाउन यहाँका मान्छेले थोरै परिश्रम त गरेका हैनन् होला । ‘मेरा साना दुक्खले आर्जेको मुलुक हैन यो’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको महावाक्य यहाँ पो चरितार्थ भएजस्तो लाग्यो ।

‘ठिनी पुग्न आधा घण्टा लाग्ला’ भनेका थिए अघि साहुजीले । तर हामीलाई यही हरियो बारी र पारिपट्टिको जोमसोम बजारका दृश्यहरुले यतै अलमल्याइरहेका छन् । बल्लबल्ल एकघण्टामा हामी ठिनीगाउँको वल्तिरको थुम्कोनीर पुग्यौं । त्यहाँ उभिएर पारिपट्टि हेर्दा लमतन्न सुतेको फाँटले आँखा तान्यो । जोमसोमको विमानस्थल रहेछ । बर्खाको याममा नीलगिरि पर्वतमा लागेको बादलले बाटो छेकिरहने भएकोले अचेल हवाई उडान अवरुद्ध भएको रहेछ । अरु ऋतुमा नेपालका सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हुन पुग्छ रे यो विमानस्थल । जोमसोम विमानस्थललाई पहिले पुथाङ विमानस्थल भनिन्थ्यो । अचेल घरपझोङ् विमानस्थल नामकरण भएको छ । कालीगण्डकी नदीको बगर पुथाङ् फाँटमा बनेको जोमसोम विमानस्थलको दृष्यलाई नियाल्दै, शाही नेपाली सेनाको गौरवमय अतीतलाई सम्झिन पुगें म ।

विक्रम संवत् २०३१ सालमा नेपालको हिमाली क्षेत्रमा खम्पा विद्रोह भएको थियो । तिब्बतबाट निर्वासित भएका खम्पाहरुले नेपाली भूमि प्रयोग गरेर तिब्बतमा रहेका चिनियाँ सैनिकहरुमाथि आक्रमण गर्नेहरु र नेपाली भूमिमा आएर लुक्ने गर्थे । जोमसोम नजिकैको केसाङ् भन्ने ठाउँमा नौ हजार जति सशस्त्र खम्पा विद्रोहीहरु लुकेर बसेको खबर आएपछि श्री ५ वीरेन्द्रबाट उनीहरुलाई निशस्त्र गर्ने आदेश दिइयो । खम्पाका गतिविधिका कारणले नेपाल र चीनको सम्बन्ध बिग्रिने स्थिति आएपछि खम्पा विद्रोहीलाई निशस्त्रीकरण गर्न सैन्य कारवाही गरिएको थियो । त्यतिखेर रक्षामन्त्रीमा स्वयम् प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए भने प्रधान सेनापति महारथी सिंहबहादुर बन्स्यात थिए । खम्पा विद्रोहीहरुलाई निशस्त्रीकरण गर्नको निम्ति प्रमुख सेनानी सत्चित शमशेर राणाको नेतृत्वमा सेना परिचालन गरिएको थियो । २०३१ साल साउन ७ गते उक्त पल्टनले जोमसोम पुगेर आफ्नो शिविर स्थापना गरेको थियो ।

खम्पा विद्रोहीहरुलाई निशस्त्रीकरण गर्न गएका शाही नेपाली सेनाका पल्टनहरु आफ्नो जिम्मेवारी पूरा गरी फर्किने क्रममा जोमसोममा पुनः एकत्रित भए । दुईचार दिन त्यत्तिकै बसेको सेनालाई जोमसोममा एअरपोर्ट बनाउने आदेश गयो । शाही नेपाली सेनाका श्रीनाथ गण, राजदल गण र गणेशदल गणका सैनिकहरुले मिलेर कोदाली र सावेलको भरमा कालीगण्डकीको बगरमा रहेको पुथाङ् फाँटलाई सम्याउने काम गरे । यो काम केही दिनमा सम्पन्न भयो । पछि सम्याइएको भूभाग पिच गरियो र तयार भयो जोमसोम विमानस्थल । सो कार्य गर्न सहायक सेनानी बज्र गुरुङ् र मदन सिजापतिको कमाण्डमा सैनिक टोलीहरु खटिएका थिए ।

नेपाली सेनाको परिश्रमसित जोडिएको यस विमानस्थलले कालान्तरमा जोमसोमको पर्यटन व्यवसायलाई ह्वात्तै बढायो । त्यही पर्यटन व्यवसायबाट चम्केका जोमसोमवासीहरुले कोदाली र बेल्चाको भरमा यत्रो विमानस्थल बनाइदिने ती परिश्रमी सैनिकहरुलाई अचेल सम्झिन्छन् होला कि सम्झिन्नन् होला ? मनभित्र अनायासै ज्ञिज्ञासा उठ्यो ।

जोमसोम विमानस्थल निर्माणको कथा सम्झिदैसम्झिदै ठिनी पुगिहाल्यौं । हिमाली कलाले भरिएको एउटा रहरिलो गाउँका दृश्यहरु छरिए आँखा अघिल्तिर । जोमसोमलाई आधुनिकताले छोप्दैछोप्दै ल्याएको छ भने ठिनी आफ्नो पुरानो रुपलाई संगालेर नीलगिरि पर्वतको काखमा मुसुक्क मुस्कुराइरहेको छ । नीलगिरि भने बादलभित्र लुकि नै रह्यो । हामीसित आँखा जुधाउन आउँदै आएन ।

‘हिमालतिर जाँदा पाँच मिनेट हिड्ने र एक मिनेट पर्खिने गर्नुपर्छ’ हिमालका यात्राकार प्रतीक ढकालज्यूले लेख्नु भएको कतै पढेको थिएँ । हामीले जोमसोमबाट यहाँ आउँदा त्यही नियमलाई पालना ग¥यौं । हिमाली प्रदेशमा थोरै उकालो चढे पनि धेरै चढेजस्तो लाग्छ । एकैछिनमा सास बढी हाल्छ । हामीलाई पनि धेरै माथि आइपुगेजस्तो लाग्यो । लीलाभाइले मोबाइलमा अल्टिचयुड हेर्दा ठिनीको दुई हजार आठ सय तीस मिटर देखायो । कति न हिड्यौं भनेको जोमसोमबाट एकसय बीस मिटर मात्रै माथि आएका त रहेछौं । पहाडको भिरालो पाखोमा घुमेर आएको बाटो बढीमा पाँच किलोमिटर हिडियो होला । उसो त पहाडमा पाँच किलोमिटर हिड्नु भनेको थोरै त हैन ।

बाक्ला घरहरुले घेरिएको ठिनीको गाउँभित्र पसेनौं हामी । ढुङ्गा ओछ्याइएका बाटा, ढुङ्गा चिनेका पर्खाल, उस्तै छत नभएका सेता घर, उस्तै कलात्मक ढोका, उस्तै झ्याल, घरमाथि उसैगरि राखिएका दाउराका चाङ् र घरको अघिल्तिर कुनै जनावरको टाउको झुण्ड्याइएको दृश्य । हिमाली क्षेत्रका गाउँहरुको साझा दृश्य हुन्छ यस्तैयस्तै । ठिनीका घरहरुका पङ्क्तिले पनि यस्तै दृश्य देखायो ।

‘ठिनी गएपछि घरपझोङ् किल्ला पनि पुगिहाल्नु होला’ अघि जोमसोमबाट हिड्दा भनेका थिए मुस्ताङ् हेरिटेज होटेलका साहुजीले । ‘कता पर्छ नि यहाँको किल्ला ?’ सोधें एकजना युवालाई । ‘ऊ त्यही थुम्कोमाथि छ’ देखाए उनले । ‘ढुम्बाताल नि ?’ फेरि सोधें मैले । ‘त्यही किल्लाको पल्तिर त हो’ भनेर पश्चिमपट्टि नै देखाए । हाम्रा दुइटै गन्तव्य ठिनीको पश्चिमतिर नै रहेछन् ।

हामी लम्किन लाग्यौं ठिनीबाट पश्चिमतिर गैरहेको गोरेटोमा । स्याउ र आरुका बोट उभिएका रहरलाग्दा बारीले गाउँभन्दा पश्चिमपट्टिको पाखोलाई पनि हरियो पारेका छन् । घुम्दैफिर्दै गएको ढुङ्गे बाटोले अलमल्याउन थालेपछि घास बोक्दै आइरहेका महिलाहरुलाई सोधिहालें—‘ढुम्बाताल जाने बाटो यही हो ?’

‘हो हो सिधै जानुहोस् कतै अलमल नगरिकन’ भनेको एकैछिनमा खोलाको डिल पो आयो । हामी त अलमलिइहाल्यौं । छ्याङ्ग तल गहिरोमा खोला देखेपछि निस्किहाल्यो लीलाभाइको मुखबाट ‘धन्न खसिएन दाजु !’ । साँगुरो खोलामा पानी थोरै भए पनि भूगोल भने निकै गहिरो रहेछ । माथिबाट खोलातिर झरेको बाटोले पनि तर्साइरह्यो । खोलाको बगरमा ओर्लिएपछि फेरि तीन ओटा बाटोले एकछिन अलमल्याइदिए । अघि ठिनीको थुम्कोबाट हेर्दा पर चुच्चे थुम्कोमा देखिएको थियो एउटा रातो गुम्बाको आकृति । त्यसैलाई गन्तव्य बनाएर हामी दाहिनेपट्टिको बाटो लाग्यौं । यो बाटो आएर ठिकै गरिएछ । खोलाबाट माथि उक्लिएपछि हरियो पाखो देखियो । त्यही पाखोको माझमा एउटा सानो गाउँ देखेपछि अघि गहिरो खोलाका ठाडा डिलहरुले तर्साएको मन ढुक्क भएर आयो ।

एकजना गोठालो भेटिए बाटोमा भेडा चराइरहेका । सुनसान ठाउँको बाटोमा कोही मान्छे देखियो भने आडजस्तो हुन्छ, भरोसाजस्तो हुन्छ । लीलाभाइले सोधिहाले ‘ढुम्बाताल जाने बाटो कता हो ?’ । ऊ बोल्न नसक्ने पो रहेछ । उसले नबुझिने स्वर निकालेर औंला सोझ्याएर देखाइ दियो पश्चिमपट्टि नै । अनौंठा आकृति भएका माटे पहाडको छातीमाथि कुल्चिदै एउटा धुले बाटो त्यतै गैरहेको छ । त्यही बाटोमाथि हिड्न लाग्यौ लखरलखर ।

सुनसान र उजाड पहाडको यो यात्राले अनौंठो आनन्द दिइरहेको छ । हेरौं हेरौं जस्ता दृश्यहरु केही नभए पनि यी उजाड पहाडका माटे कलाले अचम्मसित सम्मोहित पारेका छन् यी आँखालाई । माटोको जुन कला हे¥यो त्यसैले कुतुहलतामाथि कुतुहलता थपिरहेका छन् । ‘दाजु फोटो खिचिहालौं’ लीलाभाइको रहर उर्लिहाल्छ जे देखे पनि । तर यी माटाका कलाहरु फोटोमा भन्दा सिधै आँखाले हेर्दा नै सुन्दर र रहस्यमय लागिरहेका छन् । कहिल्यै पानीको दर्शन नपाएका व्याकुल यी माटे थुम्काहरुमा कतैबाट पानी ल्याएर छ्यापिदिउँजस्तो लागिरह्यो । कस्तो हुँदो हो यी पहाडहरुले पनि पानीसित होली खेल्न पाएको भए !

प्रकृतिको बाँडफाँड पनि यतातिर अचम्मकै छ । कुनै पनि कुरालाई एक अर्कोसित मिसाएको छैन प्रकृतिको रचनाकारले । हिमाल हिमाल कै ठाउँमा छ । चट्टान चट्टान कै ठाउँमा थपक्क बसेका छन् । हरिया रुखहरुको लागि पनि प्रकृतिले नै छुट्टै ठाउँ तोकिदिएझैं गरेको रहेछ । राता, सेता, सिन्दुरे, माटे पहाडहरु पनि आफ्नै रङ् बोकेर आफ्नो भागमा परेको ठाउँ मैं उभिएका छन् । कसैले कसैको सौन्दर्यमा हस्तक्षेप गरेका छैनन् । भूगोलको यस्तो व्यवस्थित भागबण्डा कसले गरिदियो होला ?

बाटो उकालोउकालो लाग्दै गयो । सानो सूचनापाटीमा लेखेको देखियो साम्ले गाउँ । हामी कतै नअलमलिएर उकालो चढ्दै गयौं । उकालो सकिएपछि अग्लाअग्ला सल्लाका रुखहरुको लहर दखियो । सैनिकहरुले संगै उभिएर पहरा दिइरहेजस्ता सल्लाका रुख लोभलाग्दो गरि हुर्किएका छन् यस्तो माटे मरुभूमिको पाखोमा पनि ।

‘दाजु कतै पानीको स्रोत होला यतातिर । नत्र कसरी हुर्किन्थे होलान् यत्रा रुख यस्तो शुष्क पहाडमा ?’ लीलाभाइले यो भनिनसक्दै देखिइहाल्यो नीलो पानीको कुण्ड ।

‘ढुम्बाताल’ लेखिएको सानो सूचनापाटीमा परे आँखा । दुई घण्टा हिडिेको थकाई एकाएक आफै मेटिएजस्तो भयो । आहा ढुम्बा ताल ! हाम्रो दुई घण्टाको हिडाईपछिको गन्तव्य हौ तिमी !

माटे पहाडको काखमा आफ्नो लागि छुट्टै ठाउँ मागेर त्यही ठाउँमा अटेसमटेस गरि थपक्क बसेको छ ढुम्बाताल । परबाट नीलोनीलो देखिने पानी नजिकनजिक पुगेपछि त हरियोहरियो देखिन थाल्यो ।

बार लगाएर संरक्षित पार्न खाजिएको ताल वरपरको परिवेश व्यवस्थित भन्दा अव्यवस्थित नै लाग्यो । ‘पार्क बनाउन खाजेका रहेछन्’ । बाटो र बस्ने बेञ्चहरु देखेपछि भनिहाले लीलाभाइले । एउटा प्रवेशद्वार, एउटा चियापसल र दुई वटा प्रतिक्षालय देखिए ढुम्बातालको आडैमा ।

हामी भित्र पसेर खुइँखुइँ हिड्न थालेपछि एकजना महिलाले चिच्याएर भनिन् ‘दाइ टिकट लिएर जानुहोस्’ । ओहो यी भौतिक संरचनाहरुले त व्यापार गर्न पो लागिसकेका रहेछन् । टिकट दिदै फेरि भनिन् ‘देब्रेपट्टिबाट परिक्रमा गर्दै दाहिनेतिर जानु होला । पर कुनामा नागको थान छ । त्यसमा कुल्चिने, बस्ने र फोहोर गर्ने काम नगरिदिनु होला है दाइ’ । हस् भन्दै हामी तालको वरिपरिको परिक्रमापथमा हिड्न थाल्यौं ।

फेवा, रारा, फोक्सुण्डो ताल हेरेकाहरुको लागि यो त्यति ठूलो ताल हैन । सानो कुण्ड नै हो । तर यहाँको भूगोललाई हेर्दा यो सानो जलस्रोतलाई पनि ठूलै मान्नु पर्छ । भौतिक विकासका पूर्वाधारहरुले यसलाई च्याप्दैच्याप्दै ल्याए पनि यहाँको वातावरण भने अझै स्वच्छ र प्रदुषण रहित नै छ । आन्तरिक पर्यटकहरु आउने क्रम बढ्दै गएपछि प्रदुषण बढ्ने कुरालाई त अस्वीकार गर्न सकिन्न । नेपालीहरु त हेर्न मात्रै आउँदैनन् । घुम्न आएको ठाउँ फाहोर गर्न पनि आएका हुन्छन् ।

तालको एक फन्को लगाउँदैमा तालको स्वच्छ जलभित्र देखिने वरपरका पहाडका आकृतिहरुले मोहनी लगाउन थालिहाले । त्यही जलमा पौडि खेलिरहेका सल्लाका अग्लाअग्ला रुखका छाया पनि हाम्रा आँखालाई जिस्क्याउन थालिसके । अघिसम्म वरपर उभिएका नाङ्गा पहाडहरुमा सौन्दर्य टिपिरहेका यी आँखाहरु तालको जलकलाले बिछट्टै गरि लोभिए ।

‘आहा क्या चिसो जल !’ तालको पानी छुन खोजे मैले । पानीको चिस्यानले मस्तिष्कसम्मै प्रभाव पु¥याइहाल्यो आफ्नो । छुँदैमा पनि कति कोमल अनुभूति गरायो हिमाली जलले । सिरसिरसिरसिर चलिरहेको चिसो बतासले आफ्नो अर्को झङ्कार थपिदियो त्यही अनुभूतिमा । चिसोसंगै भयो न्यानो आभास पनि ।

‘दाजु दाजु यहाँनिर खिच्दा फोटो राम्रो आउँछ’ भन्दै दुगरादुगर गरिरहेका छन् लीलाभाइ । ढुम्बातालको सम्पूर्ण सौन्दर्यलाई आज आफ्नो मोबाइलमैं समेटेर लैजाने सुर कसिसकेका छन् भाइले । म भने ताल र तालको मालिल्लो पाखोमा उभिएका सल्लाका रुखहरुको मायाप्रिती हेरेरै मुग्ध भएको छु । दृश्य र दृष्टिको सम्मिलनले छुट्टै आनन्दको अनुभूति गराइरहेको छ मलाई ।

भनिन्छ आनन्दका तीन चरण हुन्छन्—प्रेम, मोद र आमोद । कुनै कुरा देखियो भने त्यसको आकर्षणले लट्ठिनुलाई प्रेम भनिन्छ । त्यो आकर्षक कुरालाई भोगिसकेपछिको सुखद अनुभूतिलाई मोद भनिन्छ । त्यसपछि त्यो सुखद अनुभूति गुम्छ कि भन्ने जुन भय उत्पन्न हुन्छ त्यसलाई आमोद भनिन्छ । स्वामी अवधेशानन्द गिरिज्यूका मुखारविन्दबाट सुनेको प्रेम र आनन्दको यस परिभाषालाई म ढुम्बातालको डिलमा बसेर सम्झिरहेको छु । फोटो खिच्दै रमाइरहेका लीलाभाइ कदाचित् मोदकै स्थितिमा होलान् । म भने आमोदको स्थितिमा पुगिसकेको छु ।

पर माटे पहाडमाथि थपक्क बसेको खुछबतेरेङ्गा गुम्बाले अघिदेखि नै हाम्रो ध्यान तानिरहेकै थियो । ढुम्बातालको स्वप्न सोपानले हामी त यतै हराएजस्ता पो भयौं । जतिञ्जेल ढुम्बातालको डिलमा बसेर आनन्दको भोग गरियो उस्तै गाहारोगाहारो भयो यहाँबाट उठेर हिड्दा । सधैं भरि यहीनिर यसैगरि बसेर यही आनन्दको भोग गरिरहन मन लागे पनि हामी हिड्नै पर्ने बाध्यतामा छौं । जुन बाटो हिडेर यहाँसम्म पुगियो त्यही बाटो फर्केर पुग्नु छ आएकै ठाउँसम्म ।

तेरपायाँतेरपायाँ बाटो सोझियो गुम्बातिर । थुम्केलो पहाडको ढुङ्गेलो बाटोले पसिनामात्रै निकालेन स्वाँस्वाँ पनि गराइहाल्यो । नजिकै लाग्थ्यो खुछबतेरेङ्गा गुम्बा । जतिजति नजिक गयौं खुछबतेरेङ्गा गुम्बाको सात्विक परिवेशले हृदयभरि शीतलता पोख्न थाल्यो । गुम्बाको आँगनमा पुग्न त हामीलाई आधा घण्टा लागिहाल्यो ।

गुम्बाको शीतल परिवेशमा लट्ठिदै निकैबेर अलमलियौं गुम्बा परिसरमा पनि । हिमाली क्षेत्रमा गुम्बाहरु प्रायः थुम्केलो ठाउँमा नै हुन्छन् । तर यो गुम्बा यहाँ जस्तो थुम्कोमा छ यस्तो भूगोल भने अन्त कदाचित् नहोला । तल सुसेलिएर बगिरहेको कालीगण्डकी नदीको स्वर छ्याङ्गै सुनिन्छ तर आँखाले देखिएन । गुम्बा मुन्तिरका भिराला पाखाहरुले छेकिरहे । लामो पहाडको अनुहारमा उम्रिएको नाकको टुप्पोमै गुम्बा बनाइएको हो कि जस्तो लागिरह्यो । उसो त गुम्बाहरु हिमाल संसकृतिका नाक नै हुन् शिर नै हुन् अनुहार नै हुन । गरिमा र गौरव नै हुन् ।

गुम्बाको आँगनबाट वरपर कतै हिमालका आकृतिहरु हेर्न पाइन्छन् कि भनेर यत्रतत्र आँखा डुलाइरहेँ । कतै देख्न पाइएनन् हिमाली चुचुराहरु । नजिकैको नीलगिरि हिमाल पनि बादलभित्रै लुकिरह्यो । यस पटक मुस्ताङ् आएदेखि सूर्योदय हुने बेलाको सुनौलो रङ्मा नुहाइरहेका स्वर्णीम हिमालहरु हेर्न पाइएका छैनन् । बेलाबेला राता, पहेंला र सेता रङ्मा अनुवाद भएर चलचित्र देखाइरहने यहाँका हिमचुचुराहरु यो भूगोलबाट कतै अन्यत्र बसाइँ सरेका त हैनन् ?

‘साउनको महिनामा यस्तै हो, हिमाल हेर्न त असोजपछि आउनु पर्छ’ भने खुछबतेरेङ्गा गुम्बामा भेटिएका लामाले । यो पाली हिमालको फेदसम्म आएर पनि हिमालको साँटो बादलमात्रै हेरेर फर्किनु प¥यो भन्दै हामी गुम्बाबाट तल ओर्लन थाल्यौं ।

ढुम्बाताल र खुछबतेरेङ्गा गुम्बाको परिक्रमा गर्दा भोकको आभास भएको थिएन । तर साम्लेगाउँको ओरालो झदै गर्दा अघिसम्म मनभित्र थिचेर राखिएको भोकले आफ्नो प्रभाव देखाउन थालिहाल्यो । गाउँमा कतै पसौं र केही खाउँजस्ता होटल, लज केही देखिएनन् । सानो साम्लेगाउँ आफ्नै शूण्यतामा डुबिरहेजस्तो छ । ओरालोनिर एउटा सानो चिया पसल देखियो । त्यस पसलको आँगन र साजसज्जा देखेर त्यतै उक्लियौं । एकजना बुढी आमा भेटिनु भो पसलमा । हामीले ‘तासेधेले आमा’ भनेपछि ‘तासेधेले’ फर्काउँदै हिमाली शैलीमा सोध्नु भो ‘कता हिड्नु भएको हो र बाबुहरु ?’

‘आमा हामी त भोक लागेर खानेकुरा खोज्दै हिडेको !’ मेरो बोली भुइँमा खस्न नपाउँदै उहाँले प्लास्टिकका कुर्सी ओछ्याउँदै भन्नु भो—‘बस्नु बाबु बस्नु, के खानु हुन्छ ? उवाको कि स्याउको ? कोदोको त अचेल पाइन्न ।’

‘ओहो आमाले त अर्कै सोच्नु भएछ हामी त पिउन भनेर आएका हैनौं । केही खान भनेर आएको हौं । पिए पनि चिया पिउनु पर्ला’ मैले यसो भनेपछि आमाले भन्नु भो—‘हुन्छ हुन्छ बाबु उसो भए म चिया पकाउँछु फापरका रोटी छन् तताउँछु ।’ केही चाउचाउ बिस्कुट र चिजबलका पोका झुण्ड्याइका छन् पसलमा । त्यही पकाउन लगाएर खानुपर्ला भन्ने सोचेको थिएँ फापरको रोटी भनेपछि त ढुङ्गा खोज्दा देउता भेटिएजस्तै भैहाल्यो ।

आमाले पकाएको हिमाली जडिबुटी मिसाएको मीठो चिया पियौं । फापरको रोटी खायौं । ‘को को हुनुहन्छ नि आमाको घरमा ?’ लीलाभाइले कुराकानीको आरम्भ गर्नु भो । ‘ठूलै परिवार छ बाबु ! सबै आआफ्ना काममा छन् ।’ आमा आफ्नो बेलिबिस्तार लगाउन थाल्नु भो । उहाँले फररररर नेपाली बोले पनि हिमाली शैलीको छाँट आइरह्यो । उहाँले सुनाएका कुराभन्दा पनि मलाई उहाँले हिमाली शैलीमा बोलेको नेपाली भाषा निकै मीठो लाग्यो ।

आमाको नाम छेतेन डोल्मा रहेछ । सुनाउनु भो—‘अठहत्तर पुगेर उनासी वर्षमा लागिसकें बाबु’ । उहाँका पति बितिसक्नु भएको रहेछ । छोरा, बुहारी, नाती, नातिनाहरुको भरिपूर्ण परिवार रहेछ । आमा भगवान मुक्तिनाथ र बुद्ध भगवानप्रति निकै आस्थावान हुनुहुँदो रहेछ । दलाई लामा र कर्मपा लामाका बारेमा निकै कुरा गर्नु भो । लुम्बिनी र स्वयम्भूको तीर्थयात्रामा गएका कुरा पनि सुनाउनु भो ।

‘पहिला त त्यो जोमसोम भन्ने बस्ती नै थिएन । खम्पालाई समात्न आएका सेनाले हौजाज बस्ने गिरान बनाएपछि बसेको बस्ती हो । आफ्नै आँखाअगाडि कस्तो थियो कस्तो भैसक्यो !’ जिउँदो इतिहासको मुखारबिन्दबाट इतिहासका कुराहरु फररर निस्किरहे ।

‘हाम्रो भाषामा झोमसोम भनेको भरखरको नयाँ हुन्छ । हाकिमहरुले जोमसोम भन्न लागेपछि हाम्रो पनि त्यही भन्ने बानी परिसक्यो अचेल त’ उहाँले जोमसोम नामकरणको व्याकरण पनि खोल्नु भो ।

‘ऊ त्यो घरपझोङ्मा उहिले दरबार थियो । थकाली राज्यका राजा त्यही बस्थे । अचेल त राजा पनि कता हराए कता । घरपझोङ् नाम मात्र बाँकी छ ।’ साम्लेगाउँको पूर्वतिरको थुम्कोपट्टि औंला सोझ्याएर देखाउदै भन्नु भो आमाले । थुम्कोमा ठूलो गुम्बाको जस्तै आकृति देखियो । अघि ठिनीबाट आउँदा हामी त्यही थुम्कोको मुन्तिरबाट आएका थियौं । अहिले त त्यो थुम्कोमा पुग्न निकै सकस हुनेजस्तो पो देखियो त !

दिनभरी बेतोडले हावा चलिरहने र वरिपरि शुष्क माटे पहाडहरुले घेरिएको साम्लेगाउँ पनि उजाड नै छ । वरिपरि काँडे झ्याङ्भन्दा अरु कुनै वनस्पति छैनन् । ससाना राताराता फल फलेको यस झ्याङ्लाई ताङ्सु भन्दारहेछन् । आमाको घर आँगनमा मात्रै हरियाली देखियो । उहाँले आँगनमा जतनपूर्व अनेक फूल हुर्काउनु भएको रहेछ ।

“आमा ! हजुरसंग यही फूलबारीमा बसेर एउटा फोटो खिच्नु प¥यो है’ मैले यसो भनेर आग्रह गर्दा भन्नु भो–‘हुन्छ बाबू ! ऊ त्यो लाहुरे फूलनीर गएर खिचौं । नातिले काठमाडौंबाट ल्याएको हो । मैले भेडा पालेभन्दा पनि धेरै दुक्ख गरेर हुर्काएकी हुँ’ । आमासित उहाँले माया गरेर हुर्काएको त्यही लाहुरे फूलनीर बसेर मैले र लीलाभाइले फोटो खिच्यौं । जति चोटी फोटो खिचे पनि आमाले आँखा चिम्म गरेको गरेकोगरेइ गर्नु भो । ‘हुन्दिनु बाबु नागरिकता बनाउने हो र ? जसो आए पनि भैगो त’ आमालाई हामीले थप दुक्ख दिएनौं । जोमसोम पुगेपछि आमाले आँखा चिम्म गरेको त्यो फोटो पनि फेसबुकमा पोष्ट नगर्दासम्म मनले मान्दै मानेन ।

उहाँको माइती ल्होमान्थाङ् रहेछ । हामी ल्होमान्थाङ जाँदै छौं भनेपछि उहाँले टिमुर र अन्य जडिबुटी मिसाएको औषधिको पोको दिदै भन्नु भो–‘बाटोमा यो खानु लेक लाग्दैन बाबु ।’ आमालाई ढोग गरेर बिदा मागी हामी ओरालो लाग्यौं ।

घरको वल्तिरको डिलसम्म आएर उहाँले भन्नु भो ‘उता ठिनी भएर जानु पर्दैन । सोझैं त्यो खोलैखोला देब्रे लागेपछि झोलुङ्गे पुल आउँछ । त्यो पुल तरेपछि पारि जोमसोम आइहाल्छ है बाबु ।’

हामी साम्लेगाउँकी मायालु आमाले भनेको अर्ती सम्झिदै लाग्यौं जोमसोमतिर । खुछबतेरेङ्गा गुम्बाको श्वेत आकृति र ढुम्बातालको पाखोमा उभिएका सल्लाका रुखहरुले हामीलाई पछ्याइरहे परैसम्म ।

खगेन्द्र गिरि ‘कोपलिा’

साम्ले गाउँकी आमा

खगेन्द्र गिरि ‘कोपलिा’